
छाती र मेरुदण्ड शरीरका महत्त्वपूर्ण अंगहरू हुन्। जसले शरीरलाई बलियोपन र लचकता प्रदान गर्छन्। छाती र मेरुदण्डलाई स्वस्थ र बलियो बनाए राख्न योगासनहरू अत्यन्त प्रभावकारी छन्।
नियमित अभ्यासले केवल मेरुदण्डलाई लचकदार बनाउँदैन, छातीलाई खुला पार्न र सास फेर्ने गुणस्तर सुधार गर्न पनि मद्दत गर्छ।
योगको माध्यमबाट छातीका मांसपेशी बलियो हुन्छन् र छातीको आकार वृद्धि हुन्छ। काँध बलियो बन्ने मात्र होइन, सास फेर्ने प्रक्रियामा सुधार हुन्छ।
फोक्सोको क्षमता बढाउन र पाचन शक्ति मजबुत बनाउन पनि योग उपयोगी छ। यी योगासनलाई आफ्नो दैनिक तालिकामा समावेश गरेर तपाईं छाती र मेरुदण्डलाई स्वस्थ र लचकदार राख्न सक्नुहुन्छ। नियमित अभ्यासले शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ।
छाती र मेरुदण्डका लागि प्रभावकारी योगासन के-के हुन् त? आउनुहोस् त्यसबारे थाहा पाइराखौं :
भुजंगासन (सर्पासन)

भुजंगासन छातीलाई खुला पार्न र मेरुदण्डलाई बलियो बनाउन अत्यन्त उपयोगी छ। यस आसनले मेरुदण्डको लचकता बढाउँछ र छाती फराकिलो बनाउँछ। सास सम्बन्धी समस्यामा राहत दिन्छ।
पेटको बल पल्टिनुहोस् र हातहरू काँधको नजिक राख्नुहोस्। गहिरो सास लिँदै छाती र टाउको माथि उठाउनुहोस्। काँधलाई पछाडि तान्नुहोस् र गर्दनलाई सीधा राख्नुहोस्। १५-३० सेकेन्डसम्म यो अवस्थामा बस्नुहोस् र विस्तारै पुरानै स्थितिमा फर्किनुहोस्।
मार्जरी आसन (बिरालो आसन)

यो आसन मेरुदण्डलाई लचकदार बनाउन र छातीलाई खुला पार्न मद्दत गर्छ। घुँडा र हथेलीको सहारामा भुइँमा आउनुहोस्। गहिरो सास लिँदै छातीलाई माथि उठाउनुहोस्।
सास फाल्दै मेरुदण्डलाई माथि तान्नुहोस् र टाउको तल झुकाउनुहोस्। यो प्रक्रिया ५-१० पटक दोहोर्याउनुहोस्।
धनुष आसन

यो योगासन छाती र मेरुदण्डलाई बलियो र लचकदार बनाउन सहयोगी छ। पेटतिरबाट पल्टिनुहोस् र दुवै खुट्टा मोडेर पैतालाको माथि समात्नुहोस्।
गहिरो सास लिँदै छाती र खुट्टालाई माथि उठाउनुहोस्। यस अवस्थालाई १५-२० सेकेन्डसम्म कायम राख्नुहोस्।
यो आसनले छाती खुला पार्न, सासको क्षमता बढाउन, र मेरुदण्डलाई बलियो बनाउन मद्दत गर्छ।