२६ असार २०८३, शुक्रबार
'अलबिदा वस्ती सर'

प्रकाश वस्ती : सम्झाउनी-बिर्साउनी– १

पुस २५, २०८१
काठमाडौं
प्रकाश वस्ती : सम्झाउनी-बिर्साउनी– १

वस्ती सर र मअन्त्यदेखि शुरू:
सबैले जानेको र उहाँले पनि अधिकांश समय चिनाउने नाम ‘प्रकाश वस्ती’, वास्तविक पूरा नाम ‘प्रकाशचन्द्र शर्मा वस्ती’, छद्म नामहरू ‘प्रबल’ र “सर्जक शर्मा” तथा मैले सम्बोधन गर्ने नाम ‘वस्ती सर’सँग लामो समयसम्म मेरो बसाउठी भयो । मैले उहाँबाट धेरै कुरा सिकेँ । तर पनि म उहाँको औपचारिक विद्यार्थीचाहिँ होइन । त्यसैले हामीहरूको सम्बन्ध शिक्षक-विद्यार्थीको रूपमा शुरू भएको होइन, तापनि कतिपय विषयमा म उहाँको चेलो हुँ भनेर गर्वसाथ भन्छु । हाम्रो सम्बन्धको यो लामो अवधिका धेरै कुराहरू छन् । ती अर्कोपल्ट भनूँला ।

उहाँ र मबीचमा लामो समय प्राज्ञिक अन्तरङ्ग सम्बन्ध रह्यो । प्राज्ञिकरूपमा अन्तरङ्गता र अत्यन्त घनिष्टता भए पनि त्यसभन्दा बाहेक अन्य किसिमको अन्तरङ्गता हाम्रो थिएन । कतिसम्म भने उहाँको घर मेरो सवारी चालक भाइलाई थाहा छ, तर मलाईचाहिँ थाहा छैन । त्यसको कारण म उहाँलाई घरसम्म पुर्‍याइदिन लगाउथेँ । कहिले उहाँले मागेका पुस्तक वा सामग्रीहरू पुर्‍याइदिन लगाउँथे । कहिले लिन पठाउँथेँ । उहाँले शम्भुप्रसाद ज्ञवाली मेमोरियल लेक्चर दिने हुनुभयो । मलाई त्यसविषयमा सहयोग गर्न भन्नुभयो । मलाई २००८ देखि २०१६ सालसम्मका राजपत्र पठाइदिन भन्नुभयो, अन्तिमपटक मेरो चालक भाइले ती राजपत्र बोकेर उहाँको घरसम्म पुर्‍याइदिए । यी प्राज्ञिक कर्मबाहेक पारिवारिक आदि कुरा फाट्टफुट्ट हुने भए पनि त्यति परसम्म पुग्दैनथे ।

हाम्रो सम्बन्धको शुरूको चरणमा केही विषमताको सिर्जना पनि भयो । त्यो सम्पादकीय कारणले भएको हो । त्यो पनि शायद स्वाभाविक नै थियो, किनभने म ‘डाँड तिरेपछि राँड पनि मैले नै स्याहार्न पाउनुपर्छ’ भन्ने झोडी अनि उहाँचाहिँ शान्त कूटनीतिक स्वभावको । त्यो पनि करिब धेरै वर्षअघिको कुरा । के कारणले त्यस्तो भयो र कसरी सुलह भयो, त्यो पनि अर्कोचोटी भनूँला । अहिले भने यस उप-शीर्षकमा भनेजस्तै अन्त्यबाट कुरा शुरू गरौं ।

****

पुस १२ गते बेलुका उहाँको हृदयाघातबाट स्वर्गारोहण भएछ । म उस्तो सामाजिक सञ्जाल नचलाउने भएकाले त्यही दिन थाहा पाइनँ । भोलिपल्ट १३ गते शनिबार मित्र डा. चन्द्रकान्त ज्ञवालीले फेसबूकमा समवेदना राखेको देखेँ । मेरा लागि यो अकल्पित कुरा थियो । त्यसैले एकछिन त म अक्क न बक्क भएँ । तीन दिनअघि विभिन्न विषयहरूमा लामो कुराकानी गरेर छुटेको मान्छेको विषयमा अकस्मात् त्यस्तो खबर पाउँदा अक्क न बक्क नहुने कुरै भएन ।

फेरि, मचाहिँ बरु मधुमेही उहाँलाई केही रोग भएको थाहा थिएन । स्वस्थ लाग्थ्यो । म्हेपी घरदेखि सबैतिर सकेसम्म हिँडेरै पुग्ने ! ७१ वर्षे भए पनि पट्ठो ! उहाँ अपवादमा पर्नुभयो वा हिँड्ने मान्छेलाई हृदयाघात हुँदैन भन्ने कुरा पूरा सत्य होइन, त्यो जानकारी भएन, तर हिँडेमा हृदयाघात नहुने भए उहाँलाई हुनु हुँदैनथ्यो । यी दुईमध्ये जे भए पनि नहुनु पर्ने कुरा भयो । अब तर्कना गरेर केही लाभ हुँदैन । जे भए पनि सकियो । अब उहाँ हुनुहुन्न । भौतिक रूपमा त हुनुहुन्न नै, संस्कारगत रूपमा पनि उहाँ अब पितृ भइसक्नु भयो । त्यसैले यसमा तर्क गर्नुको सार्थकता छैन । जसरी र जे प्रयोजनका लागि लगे–लगे । उनैले जिते, हामीले हार्‍यौं । दैवसँग बहस गर्ने कुरा पनि भएन । गतिला तर्क दिएको आधारमा उहाँ फर्कने पनि होइन । त्यसैले मेरा मनका यी तर्कनालाई यहीँ बिसाएँ ।

****

 बबरमहल रिभिजिटेडको मूलचोक रेस्टुरा उहाँ र मेरो भेटघाट गर्ने ‘अखडा’ । त्यहाँ जाऊँ भन्नलाई म ‘अखडा जाऊँ’ भन्थेँ । उहाँ हुन्छ भन्नुहुन्थ्यो । यसैगरी हाम्रालागि त्यसको नाम अखडा रह्यो । पछि उहाँ पनि त्यही भन्नुहुन्थ्यो । अन्यत्र पनि नबस्ने होइन, तर लामा कुरा गर्नुछ भने हामी प्राय: त्यहीँ अड्डा जमाउँथ्यौं ।

दशैं बिदा हुनुभन्दा ३/४ दिनअघि त्यहीँ ‘अड्डा’ जमाएका थियौं । उहाँले “हाम्रो कानूनी इतिहासको नालीबेली”को दोस्रो संस्करण करिब तयार रहेको जानकारी दिनुभयो । दोस्रो संस्करणको लागि पनि थप सामग्री दिएकोमा धन्यवाद दिनुभयो (भारतीय नागरिक हरिप्रसाद प्रधानलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्ति गरेपछि विश्वेश्वरप्रसाद कोइरालाले गृहमन्त्रीकै हैसियतमा नियुक्तिको प्रतिरक्षा गरी वक्तव्य दिनुभएको थियो । त्यो वक्तव्यको पाठलगायत केही थप सामग्री दोस्रो संस्करणमा थप्न दिएको थिएँ)। साथै, कानून व्यवसायी क्लबबाट प्रकाशित “न्याय विकासिनी” पुस्तक पनि नेपाली, अंग्रेजी तथा चिनियाँ भाषामा तयार गर्ने कार्यको विषयमा अद्यावधिक गर्नुभयो । अरू–अरू पनि कुरा भए । त्यसपछि दशैंको शुभकामनासहित हामी छुट्टियौं ।

त्यसपछि उहाँ उहाँको “ड्रिम प्रोजेक्ट” उही “नालीबेली” को दोस्रो र विस्तारित संस्करणलाई अन्तिमरूप दिन तीव्ररूपमा लाग्नुभएको र म पनि घर सर्ने काममा रहेकाले टेलिफोनमा बाहेक भौतिक रूपमा लामो समयसम्म भेटघाट गरेनौं । आ-आफ्ना कामहरूबारे बीचबीचमा एकअर्कालाई अद्यावधिक गर्ने कामचाहिँ टेलिफोनबाट नै गरियो ।

पूर्वसल्लाहअनुसार नै उहाँको पुस्तकको प्रेसप्रति आउने दिन भनेर मंसिर २४ गते बिहान उहाँले नै फोन गर्नुभयो । मैले बधाई दिएँ । साथै, नेपालको साबिकको कानूनी शिक्षाको चार पासको प्रश्न-पत्र पुस्तकमा राखियो कि राखिएन भनेर सोधेँ । नमूनात्मक रूपमा राखियो भन्ने जवाफ दिनुभयो ।

उहाँको बुबा लक्ष्मीप्रसाद वस्तीले आफूले चार पासको परीक्षा दिँदा सोधिएका प्रश्‍न-पत्रहरू सुरक्षितसाथ राख्‍नुभएको रहेछ । तिनीहरूलाई पुस्तकमा राख्‍ने कि नराख्‍ने भन्ने विषयमा ‘नालीबेली’ को पहिलो संस्करण प्रकाशन हुनुभन्दा अघि नै छलफल भएको थियो । मैले राख्‍नुपर्छ भनेँ । उहाँले, “विचार गर्छु । स्रोत खोल्नु पर्छ । स्रोत खोल्दा बुबाको नाम लेख्‍नुपर्छ । आफ्नो बाउको ‘क्वेसन पेपर’ पनि छापेछ भनेर आरोप लगाउँछन्” भन्नुभयो । “भन्नेले जेसुकै भनून् । तर ऐतिहासिक सामग्री हो । त्यसको सुरक्षा र अभिलेखीकरणका लागि पनि छाप्‍नुपर्छ ।” भनेर सुझाव दिएँ । तर पुस्तकमा आएन । शायद त्यही आरोप लाग्छ भन्ने नै सोचेर पहिलो संस्करणमा नछाप्नुभएको थियो होला ।

पहिलो संस्करणमा त्यो नछापिएपछि मैले उहाँलाई छापिनुपर्थ्यो र नयाँ संस्करणमा छापिनु पर्छ भनेर मज्जैले कचकच गरेँ । मैले उहाँलाई कतिसम्म कचकच गरेँ भने “मैले सानो कागजको टुक्रो भनेर मुलुकी बन्दोबस्त अड्डाबाट सल्यान गौंडालाई ऐनको संशोधित दफा पठाएको पूर्जी मिल्काइदिएको भए तपाईंले पुस्तकमा त्यो छाप्न पाउनुहुन्थ्यो ?” पनि भनेँ (त्यो पूर्जीको तस्बीरसहित नालीबेलीको पृष्ठ १०२६ मा “एक्काइसौं मिथक” शीर्षकमा छापिएको छ) । ज्ञाइन्द्र श्रीमान्‌ले (ज्ञाइन्द्रबहादुर श्रेष्ठ)ले आफू न्यायाधीश हुँदा मुद्दाका पक्षले प्रमाणको रूपमा पेश गरेको कागजको ऐतिहासिक महत्त्व बुझेर सनदको नक्कल सारेको प्रति नभएको भए तपाईंले नेपालमा वकिलको व्यवस्था वि. सं. १९९१ मंसिर ८ गतेदेखि नै थियो भनेर १९९२ देखि वकिल प्रथाको शुरूवात भएको भन्ने गलत कुरालाई सुधार गर्न पाउनुहुन्थ्यो ?” भनेर कड्केरै कुरा गरेँ (त्यो “नालीबेली”को पृष्ठ … मा छापिएको छ)”। त्यसपछि उहाँ चार पासका प्रश्‍न-पत्रहरू नमूनात्मक रूपमा भए पनि राख्‍न सहमत हुनुभयो र त्यो अहिलेको नयाँ संस्करणमा आउँदैछ ।

मंसिर २४ गतेको टेलिफोन कुराकानीमा नालीबेलीको दोस्रो संस्करणको प्रेसप्रति भोलिपल्ट आउने र अन्तिमपटक शुद्धाशुद्धि हेरेर कानून दिवसको दिन सार्वजनिक गर्ने योजना सुनाउनुभयो । त्यसपछि उहाँले प्रमाण कानूनको ‘इन्साइक्लोपेडिक’ संस्करण निकाल्ने र त्यो पुस १ गतेदेखि लेख्‍न शुरू गर्ने जानकारी दिनुभयो । त्यसपछि हामीहरूको कुराकानी अन्त्य भयो ।

स्वर्गारोहण हुनुभन्दा ४ दिनअघिको भेट हामीहरूको अन्तिम भेट भयो । “नालीबेली” अन्तिम रूपमा सिद्धिइसकेको थियो । उहाँले प्रमाण कानूनको ‘इन्साइक्लोपेडिक’ संस्करणको लेखन शुरूवात गरिसक्नुभएको थियो । त्यो दिन मेरो कुरा सुनाउने पालो थियो । मैले आफूले गरिरहेको काम अद्यावधिक गराएँ । त्यसपछि उहाँलाई एउटा प्रस्ताव राखेँ ।

उहाँको बुबा लक्ष्मीप्रसाद वस्ती न्याय सेवाको लामो समयको कर्मचारी र न्यायाधीशमात्र नभएर अभिलेखहरूलाई माया गर्ने व्यक्ति पनि हुनुहुँदो रहेछ । लक्ष्मीप्रसादले हरिप्रसाद प्रधानले लेखेका चिठ्ठीहरू सुरक्षित राख्‍नुभएको रहेछ । ती चिठ्ठीहरूमध्ये तीनवटा ‘नालीबेली” मा पनि प्रकाशित छन् (पृष्ठ ६१७, ६१८ र ६१९)। अबको संस्करणमा आउने चार पास आदिका प्रश्‍न-पत्रहरू पनि उहाँले नै संगालेर राख्‍नुभएको रहेछ । त्यसैले मैले, “तपाईंको बुबाले त्यस्ता अनमोल कुराहरू संगालेर राखिदिनु भएको रहेछ । “नालीबेली” को दोस्रो संस्करणको काम सकिइहाल्यो । बुबाको सम्मान पनि हुने र अभिलेख सुरक्षण पनि हुने, त्यसैले बुबाले संगालेका चिठी-पत्र तथा अन्य कागजातहरूलाई “मेरो बुबाका कानूनी अभिलेख” भनेर प्रकाशन गरिदिनूस् भनेँ । उहाँले, “तपाईं सम्पादन गरिदिनूस् न त । म प्रमाण कानूनको इन्साइक्लोपेडिक संस्करणमा लागेँ” भन्नुभयो । मैले ‘मलाई तपाईंको पेन्सन आधा दिनूस् न त, नत्र मैले मुद्दा गरेर खानु पर्दैन ?” भनेर जिस्किएँ । उहाँले “किन आधा, पूरै लैजानूस् न । खाता नम्बर दिनूस् त, सिधै तपाईंको खातामा जाने गराइदिन्छु” भन्नुभयो ।

खासमा हामी दुवै हास्यरस नभएका मानिस हौं तापनि कहिलेकहीँ यसरी जिस्कियौं । शायद हाम्रो बोलचाल त्यति नै थियो । त्यही नै सम्झाउनी-बिर्साउनी भयो । त्यसपछि मैले कति छन् कागजहरू भनेर सोधेँ । छन् अलिअलि भन्नुभयो । त्यसो भए मलाई ६/७ महिना लाग्छ । धेरै छन् भने त अझ त्यतिले पनि नपुग्ला । जति भए पनि बूढी (मेरी पत्‍नी) र म भएर गरौंला भनेँ ।

त्यो पुस्तकको सम्पादकमा तीनैजनाको नाम राख्‍ने । प्रकाशन पैरवी प्रकाशनबाट पदम सिवाकोटीजीले गर्न रुचाए त्यहीँबाट गर्ने, नभए वस्ती सरले नै निजीरूपमा प्रकाशन गर्ने । किताबको नाम मैले भनेको “मेरो बुवाका कानूनी अभिलेख” नै राख्‍ने । प्रकाशनको तरिकामा पुस्तकको एकापट्टि ती अभिलेखको स्क्यानप्रति अर्कोपट्टि त्यसको कम्प्युटर टाइप गरेको पाठ राख्‍ने भन्ने भयो । सम्पादन गरिसकेपछि सम्पादित सामग्री र ती मूल कागजातहरू उहाँलाई नै फिर्ता दिने भन्ने भयो । सम्पादनका लागि उहाँको बुबाले संगालेका ती पुराना ऐतिहासिक कागजातहरू र शम्भुप्रसाद ज्ञवाली मेमोरियल लेक्चरका लागि मबाट लगेका २००८ देखि २०१६ सालसम्मका नेपाल गजेट (राजपत्र) फिर्ता लिएर उहाँ माघ २ गते मेरो नयाँ घरमा आउने । त्यो दिन उहाँलाई लिन र पुर्‍याउन मैले मोटर पठाइदिने निस्तुक गरेर छुट्टियौं ।

तर, दैवको लीला, त्यो माघ २ गते आउनुभन्दा २० दिनअघि नै उहाँ बिदा हुनुभएछ ! हाम्रा योजनाहरू सबै भताभुंग भए । ‘नालीबेली’ को गुणस्तर सुधारसहितको दोस्रो संस्करण सार्वजनिक गर्ने तपाईंको उत्कट रहर पनि खेर गयो । उहाँलाई थाहा भएन तापनि सदाका लागि भनेर पुस १४ गते विद्युतीय शवदाह गृहमा बूढी र मैले भेट्यौं । उहाँ धुवाँ भएर आकासमा रंगमंगिदै बिलिन भएको हेरेर बस्ने आँट हामीमा रहेन । त्यसपछि अलबिदा भन्दै गर्दा लिएका तस्बीर लिएर फर्क्यौं ।

आजलाई बिसाउँदाबिसाउँदै, ‘वस्ती सर ! तपाईंसँग एउटा गुनासो छ मेरो । मलाई भन्नुपर्ने कुरा शेषराज सर (शेषराज शिवाकोटी) लाई भन्नुभएछ ।’ त्यो कुरा उहाँले मलाई त्यही विद्युतीय शवदाह गृहको दलानमा भन्नुभयो । त्यस विषयमा अलिकति गुनासो छ मेरो । अलिकति मनखत पनि छ । तपाईंले थाहा पाए पनि नपाए पनि अर्कोचोटी म यही गुनासोबाट शुरू गर्छु ।

(अरू कुरा अर्कोपल्ट)

salt training

कमेन्ट गर्नुहोस्