०२ असार २०८३, मंगलबार
सडक सुरक्षामा नयाँ चुनौती

राजमार्गमा बाक्लै भेटिन थाले लापसे गरेका चालक, गाँजा खाएर बस हाँक्न थालेको पाइयो

२५ दिनको अवधिमा ८ जिल्लाका ४९ चालक कारबाहीमा, सिन्धुलीमा रुटमा सबैभन्दा बढी
पुस २६, २०८१
काठमाडौं
राजमार्गमा बाक्लै भेटिन थाले लापसे गरेका चालक, गाँजा खाएर बस हाँक्न थालेको पाइयो

मादक पदार्थ सेवन (मापसे) जाँचमा ट्राफिक प्रहरीले कडाइ गरेपछि पछिल्लो समयमा चालकले लागू पदार्थ सेवन (लापसे) गरेर सवारी हाँक्न थालेको पाइएको छ । 

चेकजाँचका क्रममा यात्रुबाहक तथा मालबाहक सवारी चलाउने चालकले समेत लापसे सेवन गरेको पाइएको प्रदेश प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

‘दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले लापसे चेकिङलाई तीव्रता दिएको छ । यही पुस १ देखि २५ गतेसम्म मात्रै बागमतीका १० जिल्लाका ४९ चालक लापसे कारबाहीमा परेका छन्,’ सुवेदीले लोकान्तरसँग भने, ‘मापसे कारबाहीबाट जोगिन चालकले लापसे गर्न थालेको पाइएको छ ।’

null

उनका अनुसार क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, विना हेलमेट र तीनजना सवार भएर मोटरसाइकल/स्कूटर चलाउने प्रवृत्ति पनि बढेको छ । यो प्रवृत्तिलाई निरुत्साहित गर्न राजमार्ग तथा अन्य सहायक मार्गमा सवारी जाँचमा कडाइ गरिएको छ । 

लापसे गरेका चालकलाई ठाउँको ठाउँ जाँच गरेर कारबाही गर्दै आएको जानकारी सुवेदीले दिए । 

उनका अनुसार यो महिनाको २५ गतेसम्म गरिएको लापसे चेकिङअन्तर्गत सबैभन्दा धेरै सिन्धुली रुटमा चल्ने सवारीका चालक कारबाहीमा परेका छन् । 

null

सिन्धुली रुटमा चल्ने लामो दुरीका सवारीसाधनका २५ चालक कारबाहीमा परेका हुन् । सिन्धुलीपछि चितवनमै लामो दुरीका चालकहरू लापसे गरेर सवारी हाँक्दै गरेको अवस्थामा भेटिएका छन् । चितवनमा ६ चालकलाई लापसे सेवनमा कारबाही गरिएको छ । 

त्यस्तै, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र धादिङमा पनि केही सवारी चालक लापसे गरेर सवारी हाँकेको पाइएपछि कारबाहीमा परेका छन् । झण्डै एक महिना लामो चेकजाँचमा नुवाकोट र रसुवामा भने लापसे गरेका सवारी चालक भेटिएका छैनन् ।

लागुपदार्थ सेवन गरे/नगरेको पत्ता लगाउन ठाउँको ठाउँ पिसाब जाँच गर्ने गरिएको छ ।

null

एसपी सुवेदीले भने, ‘चालकको युरिन चेक गरेर लापसे गरे/नगरेको तत्कालै पत्ता लाग्छ । राजमार्गमा ट्राफिक जाँचका क्रममा जुन रुटका चालकले लापसे गरेको पत्ता लाग्छ, कारबाहीका लागि सोही जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पठाउँछौं ।’

सुवेदीले लापसे चेकिङलाई निरन्तर दिइने बताए ।

‘लापसे गरेका चालकको युरिन परीक्षण गर्दा अधिकांशले गाँजा सेवन गरेको देखियो,’ सुवेदीले लोकान्तरसँग भने, ‘लापसे गरेर सवारी हाँकेपछि दुर्घटना जोखिम बढिरहेको छ ।’

आर्थिक वर्ष २०८०/०८१ मा काठमाडौं उपत्यकाका उपत्यकाका ३ बाहेक बागमती प्रदेशका १० जिल्लामा २८ हजार २०२ सवारी चालक कारबाहीमा परेका थिए । ट्राफिक प्रहरीले कारबाहीबापत १७ करोड ७८ लाख १७ हजार राजस्व संकलन गरेको थियो ।

null

उक्त अवधिमा १ हजार ५३६ वटा सवारी दुर्घटना भएको थियो । दुर्घटनामा परी ३१५ जनाको मृत्यु भयो । ३ हजार १९९ जना घाइते भए ।

आर्थिक वर्ष २०७९/०८० मा १ हजार ३६२ वटा दुर्घटना भएको प्रहरीको तथ्यांक छ । दुर्घटनामा ३०४ जनाको मृत्यु भएको थियो । 

उक्त अवधिमा ट्राफिक प्रहरीले २ लाख ९१ हजार २९३ सवारीमाथि कारबाही गरेको थियो । कारबाहीबाट २६ करोड ३६ लाख ८३ हजार ५ सय राजस्व संकलन भएको थियो । 

null

यो आर्थिक वर्षको मंसिरसम्ममा ९२२ वटा दुर्घटना भएका छन् । दुर्घटनामा तीव्र गति तथा चालकको लापरबाही प्रमुख कारण रहँदै आएको छ ।

त्यस्तै, जीर्ण र कच्ची सडक, उकालो–ओरालो, साघुँरो र घुम्ती मोड, हुस्सु, कुहिरो, बाढीपहिरो र छाडा चौपायाका कारण समेत सवारी दुर्घटना हुने गरेको छ ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले राडार गनमार्फत स्पीड जाँच गर्दै आएको छ । साथै, लामो रुटका बसमा दुईजना चालक अनिवार्य गरिएको छ ।

हेर्नुहोस् कारबाहीमा परेकाहरूको विवरण

salt training

कमेन्ट गर्नुहोस्