
बुटवलको मिलनचोकस्थित बुटवल सिटी सेन्टरमा रहेको ‘क्यू बक्स सिने’मा एकसाथ दुई वटा ‘मूभी’ चल्छन् । दुई वर्षअघिदेखि सञ्चालनमा आएको सिटी टावरको ‘मल्टिप्लेक्स’ क्यू बक्समा सफल मानिएका ‘फिल्म’ हेर्न दुई वटा हलमा दैनिक ६ ‘सो’ लाग्ने गर्छन् । बुटवलकै भाटभटेनी सुपर स्टोर रहेको भवनमा सञ्चालित ‘क्यूएफएक्स’ सिनेमा पनि ‘मल्टिप्लेक्स’ हो । तीन वर्ष अघिदेखि सञ्चालनमा आएको ‘क्यूएफएक्स’ देशभर आफ्नो शाखा फैलाइरहेको छ ।

कपिलवस्तुको चार नम्बरमा सञ्चालित ‘मल्टिप्लेक्स’ ओएसीस सिनेमाले पनि दर्शकको राम्रो साथ पाएको छ । नेपालगञ्जमा जय बागेश्वरी ‘मल्टिप्लेक्स’मा नेपाली र भारतीय दर्शकको बलियो उपस्थिति छ ।
क्यू बक्स, ‘क्यूएफएक्स’ ओएसीससहित बुटवलमा सुविधासम्पन्न उच्च प्रविधियुक्त द्वारिका उदय सिनेमा र फेन्डस् सिनेमा, भैरहवाको काशी सिने प्लेक्स, ‘सिंगल ‘स्क्रिन’का भए पनि ‘मल्टिप्लेक्स फेज’ हुन् ।
पछिल्लो चार/पाँच वर्षयता नेपाली सिने हलमा करोडौं रूपैयाँ लगानीगरी ‘मल्टिप्लेक्स’मा ‘जम्प’ गरेपछि दर्शकको रोजाइमा परेका छन् । मनोरञ्जन र सूचनाको स्रोत मानिने सिनेमा हल सुग्घर, फराकिला, सुविधासम्पन्न, आधुनिक प्रविधिमा चल्ने, थ्रिडी, फारेके प्रोजेक्सन, उत्कृष्ट अडियो क्वालिटी, अर्डरअनुसारको खाजा ‘मल्टिप्लेक्स फेज’का सिनेमा हलका विशेषता मानिन्छन् ।

६ दशक लामो सिने इतिहास रहेको रूपन्देहीमा २०३०/०३५ को दशकदेखि विस.२०७० सम्म एकछत्र ‘राज’ गरेका बुटवल चलचित्र मन्दिर, कालिका चलचित्र हल, पञ्चरन्त, दाङको महालक्ष्मी, आधुनिक हलको फड्कोसँगै बन्द भइसकेका छन् ।
पुराना मध्येका मिलन, पदमश्री सिनेमामा व्यावसायिक रूपले निकै सफल मानिएका र दर्शकले रुचाइदिएका ‘मूभी’ अन्य हलमा टिकट बुकिङ ‘फूल’ भएपछि मात्र दर्शक त्यहाँ पुग्ने अवस्थाले अस्तित्व संकटमा देखिन्छ । आधुनिक र पुरानो समयदेखि चल्दै आएका हलमा सेवा, प्राविधिक गुणस्तर र दर्शकको अनुभवमा ठूलो भिन्नता छ ।
‘अब पुराना फिल्म हल चल्न छाडिसके, त्यसैले भएको हल पनि केही समयपछि भत्काएर ‘मल्टिप्लेक्स’ बनाउनुपर्छ,’ नेपाली चलचित्र नियमित हेर्ने शंकर रिजाल भन्छन्, ‘प्रविधिको विकाससँगै संसारभर ‘मल्टिप्लेक्स’ खुल्ने ट्रेन्ड आएकोले दर्शकको रोजाइ यसैमा छ ।’
नयाँ पुस्ताका दर्शक फिल्म हेर्ने अनुभवलाई थप सुविधाजनक, आधुनिक र प्रिमियम बनाउन चाहन्छन् । आरामदायी सिट, फुड कोर्ट, सपिङ मल र अन्य सेवा सुविधाले ‘मल्टिप्लेक्स’ हलतर्फ दर्शक ढल्किएको देखिन्छ । बलिउड, हलिउड र अन्य अन्तर्राष्ट्रिय फिल्मको प्रदर्शनको लागि मल्टिप्लेक्स उत्तम मानिने हल सञ्चालक बताउँछन् ।

नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ हेर्न दर्शकले टिकट नपाएपछि यस क्षेत्रमा फेरि अर्को मल्टिप्लेक्स सिनेमा घर बनाउनुपर्ने चर्चा थपिएको छ । क्यू बक्स सिनेमा सञ्चालक महेन्द्र नारायण श्रेष्ठ ठूला शहरमा अहिले ‘मल्टिप्लेक्स’मा मूभी हेर्ने बानी परिसकेको बताउँछन् । ‘अहिले नेपालमा मल्टिप्लेक्स निर्माणको होडबाजी चलेको देखाउँछ’ सञ्चालक श्रेष्ठ भन्छन्, ‘नयाँ सिने घरहरू अत्याधुनिक प्रविधि र सुरक्षालाई ख्याल राखेर निर्माण गरिएका छन् क्वालिटी र क्वान्टिटी दुवै पाइन्छ ।’
नेपालमा मल्टिप्लेक्स विस्तारसँगै नेपाली चलचित्रको स्तर उकासिनेमा उनी आशावादी छन् । तथापि महँगो शुल्क तिर्न नसक्ने आम नेपालीका भने अझै पनि पुराना हलमा जान्छन् । प्रविधि ‘अपग्रेड’ गर्न नसक्नु यी हलहरूको समस्या हो ।
नेपाल चलचित्र संघका केन्द्रीय उपाध्यक्ष ओम जैसीले पुराना हललाई सुधार गरेर अझै पनि सञ्चालन गर्न सकिने बताउँछन् । ‘मास पब्लिक अझै पनि पुराना हलमा आएको पाइन्छ,’ काशी सिने प्लेक्स भैरहवाका सञ्चालकसमेत रहेका जैसी भन्छन्, ‘पुरानालाई सुधार, सरसफाई र आधुनिक प्रविधि भित्र्याएर चलाउन सकिने अवस्था अझै छ ।’

नेपाली चलचित्र क्षेत्रलाई राज्यले उद्योगको मान्यता दिनुपर्ने उनको भनाइ छ । भारतमा फिल्मी इन्डष्ट्रिज भन्छ, हलिउड मूभी इन्डष्ट्रिज भन्छ, तर हाम्रो नेपाली फिल्म क्षेत्रले उद्योगको मान्यता दिन राज्य हिच्किचाएको उनको गुनासो छ ।
अहिले काठमाडौं बाहिर मोफसल तथा व्यापारिक शहरमा सिने हल खोल्ने ‘ट्रेन्ड’ बढ्दो छ । सपिङ मलमा मल्टिप्लेक्स खोलिएपछि आर्थिक रूपमा मध्यम र उच्च वर्गका दर्शकलाई तानेका छन् । मल्टिप्लेक्सको व्यापार र भीड देखेर अहिले सबै ठूला भवनमा फिल्म हल बनाउने चर्चा सुनिन्छ । बढ्दो इन्टरनेटको प्रयोग भए पनि राम्रो नेपाली र हिन्दी राम्रा मूभी हेर्न दर्शक हलसम्म पुगेकै हुन्छन् । बढ्दो शहरीकरणसँगै नेपाली फिल्मको बजारलाई सुदृढ र व्यवस्थित गर्न हरेक शहरमा कम्तीमा एउटा आधुनिक फिल्म हल बनाउने क्रम बढ्दो छ ।
चलचित्र पत्रकार संघ रुपन्देहीका संस्थापक अध्यक्ष सुमन श्रेष्ठ अहिले दर्शकको उपस्थिति पनि मल्टिप्लेक्सहरूमै बढी देखिएको बताउँछन् । ‘पैसा तिरेर फिल्म हेरेपछि दर्शकले सुविधा पनि खोज्छन्, समयअनुसार प्रविधि र सुविधा मल्टिप्लेक्स दर्शकको रोजाइमा पर्नु स्वाभाविक हो,’ श्रेष्ठ भन्छन्, ‘सिनेमा हलमा नजाने मध्यम र उच्च वर्गका नेपाली दर्शकलाई सपिङ मलमा खुलेका मल्टिप्लेक्सले मज्जाले तानेको छ ।’

महँगो टिकट मूल्यका कारण सबैको मल्टिप्लेक्समा फिल्म हेर्ने हैसियत रहँदैन । आधुनिक हलको असन्तुलित विस्तारले साना शहरमा दर्शकको पहुँचलाई असर परेको छ । आगामी दिनमा नयाँ प्रविधि आईएमएएक्स र फोरडी नेपालमा भित्र्याउन पहल भइरहेको छ । सिने हललाई सांस्कृतिक कार्यक्रम सभा र अन्य उद्देश्यमा पनि प्रयोग गराउने गर्नुपर्ने देखिन्छ । मोफसलमा दैनिक बिदाको दिनमा २ हजार दशक सिने हलमा पुग्ने अनुमान छ ।
रुपन्देहीमा नेपाली चलचित्रको राम्रो बजार छ । हरेक नयाँ चलचित्र रिलिज हुँदा निर्माता बुटवल नआई छाड्दैनन् । नेपाली फिल्महरूको पनि गुणस्तर सुधार हुँदै गइरहेको छ । मल्टिप्लेक्स हलको कमाइसँगै खर्च पनि बढी नै छ ।