२९ जेठ २०८३, शुक्रबार
नथाकेका देवराज

झोलामा औषधि बोकेर गाउँगाउँ पुग्ने देवराज, सय बेडको ट्रमा अस्पतालको सपनालाई मूर्तरूप दिँदै

पुस २७, २०८१
सुर्खेत
झोलामा औषधि बोकेर गाउँगाउँ पुग्ने देवराज, सय बेडको ट्रमा अस्पतालको सपनालाई मूर्तरूप दिँदै

दैलेखको आठबीस नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखका रूपमा कार्यरत आठबीस-७ का देवराज तिमिल्सेना अहिले आठबीसमा स्वास्थ्य क्षेत्रमा ‘क्रान्ति’ल्याउने महाअभियानमा जुटेका छन् ।

चार वर्षको हुँदा आफ्ना पिता गुमाएका तिमिल्सेनाको बाल्यकाल सुखद् रहेन । २०३४ सालमा साविकाको तिलेपाटा गाविसको बेरुपाटामा जन्मिएका उनले २०३८ सालमा पिता गुमाए । 

शैक्षिक क्षेत्रमा पहुँच नभएको, अन्य कुनैपनि सेवा सुविधा नभएको उतिबेलाको दुर्गम गाविसमा शैक्षिक गतिविधि प्रायः न्यून नै थियो । उनी कक्षा पाँचसम्म गाउँमै रहेको तत्कालीन नारायण प्रावि (हाल मावि)मा अध्ययन गरे ।

कक्षा ६ मा अध्ययन गर्न साविकको लकान्द्र गाविसमा रहेको कृष्ण मावि, कक्षा सातमा अध्ययन गर्न साविकको सिंहासैन गाविसको वडा नं. ५ मा रहेको गणेश निमावि, कक्षा ८ र ९ मा अध्ययन गर्न बर्दियाको चुरे मावि पुगे । एसएलसी भने साविकको चामुण्डामा रहेको हाडाकोट माविबाट २०५२ सालमा उत्तीर्ण गरे ।

‘मेरो बुवा र आमा नभएका कारण आफन्त, इष्टमित्रको घरमा गएर मैले अध्ययन गर्नुपर्ने अवस्था थियो । त्यही भएर मैले हरेक वर्षजस्तो अरुकै घरमा बसेर अध्ययन गरेँ । त्यसैले एकै विद्यालयबाट एसएलसी दिन नसकेको हो ।’ 

उनलाई अध्ययन गर्ने बेला रोलका उदयराम आचार्य र धनराम थापाले धेरै सहयोग गरेको तिमिल्सेना बताउँछन् । 

विगत स्मरण गर्दै भन्छन्, ‘बुवा आमा नभएपछि टुहुरो हुँदाका पीडा मैले राम्रोसँग बुझेको छु । त्यतिबेला माविमा शुल्क लिने गरिन्थ्यो, म टुहुरो भएका कारण सरकारले नै निःशुल्क पढ्ने व्यवस्था मिलाइदियो ।’

null

उनका अनुसार उनले कक्षा १ देखि १० सम्म पढदा एक दिन पनि किताब हेर्न पाएनन् । उनका पालामा पाठ्यपुस्तक पर्याप्त पाइँदैनथे । उनी भन्छन, ‘पढ्ने इच्छाशक्ति तीव्र भएका कारण मैले सरहरूले लेखेको नोट अध्ययन गरेर एसएलसी परीक्षा पास गरेको हो ।’

उनी त्यसपछि तत्कालीन समयमा आईएड पढ्न भनेर नेपालगञ्जमा रहेको बहुमुखी क्याम्पस गए । तर, क्याम्पसको वातावरण राम्रो नलागेपछि कैलालीको टीकापुरमा गएर सीएमए अध्ययन गरे ।

‘२०५५ सालमा मैले सीएमए उत्तीर्ण गरेँ । त्यसपछि झोलामा औषधी राखेर गाउँमा उपचार गर्न जान थालें । अर्थात् म ‘झोले’ स्वास्थ्यकर्मीको भूमिकामा त्यहाँ डुल्न थालें’, उनी भन्छन्, ‘२०५६ असारमा आफ्नै गाउँ दैलेखको बेरुपाटामा झोले स्वास्थ्यकर्मीको रूपमा काम गर्दै गाउँमा उपचार गर्न थालें ।’ 

आफूसँग झोले स्वास्थ्यकर्मी बन्नुको कुनै विकल्प नभएका कारण गाउँमा खटिएको उनले बताए । त्यसपछि अहेवको तयारी गर्न दुई महिना नेपालगञ्जमा बसे । २०५६ सालको भदौ महिनामा दिपायल पुगेर परीक्षा दिए । लिखित र मौखिकमै उत्तीर्ण भए । उनको पहिलो पोस्टिङ अछामको बाराला स्वास्थ्यचौकीमा भयो ।

‘बाराला स्वास्थ्यचौकीमा म प्रमुखको रूपमा २०५६ कात्तिक १२ गते हाजिर भएँ । त्यहाँ स्थानीयको गोठबाट सेवा प्रवाह गर्नुपर्ने अवस्था थियो । गाउँमा धामी झाँक्री गरिसकेपछि मात्रै स्वास्थ्य संस्थामा बिरामी आउने गर्थे । मैले लामो प्रयास गरेपछि बिरामीहरू चेकजाँचका लागि आउन थाले’, उनी भन्छन, ‘म त्यहाँ पाँच वर्ष बसेर सेवा गरें । त्यसबेला त्यहाँ स्वास्थ्यचौकी भवन निर्माणका लागि केन्द्रमा कुरा गरेर दुई करोड ५० लाखको भवनसमेत निर्माण गराएँ ।’

उनको परिवारमा दुई दाजु छन् । आठबीस नगरपालिकामा २०७४ सालमा नगरप्रमुख बनेका खड्गराज उपाध्याय जेठा हुन् भने उनका माइला दाजु जीवराज तिमिल्सेना दैलेख बजारमा रहेको एक विद्यालयमा अध्यापन गराइरहेका छन् ।

बारालाबाट उनी सिनियर अहेव बनेर नेपालगञ्जका विभिन्न स्वास्थ्य संस्थामा काम गर्न गए । नेपालगञ्जमा उनले भण्डै ११ वर्ष बिताए । त्यसपछि २०७२ सालमा एचए बने । एचए बनिसकेपछि  जुम्लाको सिंजामा रहेको शनिगाउँमा पोस्टिङ भए । त्यहाँ उनी एक वर्ष बसे ।

त्यसपछि २०७३ सालमा उनी रोल्पा जिल्ला जनस्वास्थ्य कार्यालयको सूचना अधिकारीको रूपमा काम गर्न पुगे । २०७६ सालमा भने स्थानीय तहमा समायोजन भई हाल आठबीस नगरपालिका अन्तर्गत स्वास्थ्य शाखा प्रमुखको रूपमा कार्यरत छन् ।

आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ठानेर नै स्थानीय तहमा समायोजन भएको उनी बताउँछन् । ‘मैले आफ्नो पालिकामा नै स्वास्थ्य क्षेत्रमा केही राम्रो गर्नुपर्छ भनेर समायोजनको बाटो रोजेको हुँ। राकम कर्णाली केन्द्र रहेको यो पालिकामा स्वास्थ्य क्षेत्र कमजोर बनेको हुँदा त्यसलाई सबल, सक्षम बनाउन यहाँ आएको थिएँ’, तिमिल्सेना भन्छन् ।

उनले आठबीसमा आइसकेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग साझेदारी गरेर ट्रमा सेन्टर निर्माण गर्ने योजना बनाए । त्यसका लागि उनले प्रदेशदेखि केन्द्रसम्म पहल गरे । राकम कर्णाली स्वास्थ्य चौकीमा चिकित्सक खटाउने सहमति गरे । आजसम्म पनि  स्वास्थ्यचौकीमा जुम्लाले एक जना चिकित्सक खटाइरहेको छ ।​

तिमिल्सेनाले ट्रमा सेन्टर खोल्नका लागि जग्गाको खोजी गर्न थाले । चार महिनापछि जाक्सीको कुमाल खाडामा जग्गाको व्यवस्थापन भयो । यो क्रममा स्थानीय युवा गगन कार्कीले जग्गा दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । तत्कालीन प्रदेश र पालिकाका जनप्रतिनिधि, सबै राजनीतिक दलहरूको सहयोगका कारण डीपीआरदेखि पूर्वाधार निर्माण गर्न भन्दै सामाजिक विकास मन्त्रालयले एक करोड साठी लाख बजेट विनियोजन गरेको थियो । तर, त्यो वर्ष जम्मा ६० लाखको मात्रै भुक्तानी मन्त्रालयले दियो । त्यो बजेटबाट माटो परीक्षणदेखि  डीपीआर निर्माणको काम सम्पन्न भयो ।

nullसंघीय सरकारबाट आर्थिक वर्ष २०७९/०८० मा नीति तथा कार्यक्रममा यो योजना समेटियो तर, बजेट आएन । त्यसपछि आर्थिक वर्ष २०८०/०८१ मा १२ करोड १० बेडको ट्रमा सेन्टरका लागि बजेट स्वीकृत भयो । अहिले ट्रमा सेन्टरको भवन निर्माण कार्य तीव्र रूपमा भइरहेको छ । राजनीतिक दल, स्थानीय सरोकारवाला निकाय सकारात्मक भएको खण्डमा अबको चार महिनाभित्र सेन्टर सञ्चालनमा ल्याइने र त्यहाँबाट विशेषज्ञ सेवा प्रवाह गरिने उनको भनाइ छ ।

अहिले राकम कर्णालीमा नै १५ बेडको अस्पतालको भवन निर्माण सम्पन्न भइसकेको छ । अहिले यही भवनबाट विशेषज्ञ सेवा शुरू गर्ने तयारी स्वास्थ्य शाखाले गरेको छ । उक्त भवन एक महिनाभित्र पालिकालाई हस्तान्तरण हुँदैछ ।

‘यहाँ विशेषज्ञ सेवा सञ्चालन गर्ने मात्रै उद्देश्य छैन । अस्पताल निर्माण गरेर प्रतिष्ठानसँगको सम्झौता अनुसार स्वास्थ्य क्षेत्रमा विभिन्न संकायमा अध्यापन गराउने योजना पनि छ । एमपीएच, बीपीएच जस्ता शैक्षिक कार्यक्रमहरूको अध्यापन गराउने योजना छ । हालका उपकुलपति डा. मंगल रावत, राजिष्टार नृपेन्द महत र रेक्टर डबल बहादुर धामी धेरै खटेर लाग्नु भएको छ’, उनी भन्छन, ‘राजनीतिक ऐक्यबद्धता भएको खण्डमा हामी चार महिनाभित्रै सेवा सञ्चालन गर्छौं ।’ 

उनले अस्पताल सञ्चालनका लागि प्रदेश, स्थानीय र संघीय सारेकारवाला निकाय, जनप्रतिनिधिहरूसँग आवश्यक ‘मोडालिटी’बारे छलफल गर्ने तयारी भइरहेको समेत बताए ।
कालीकोट, अछाम, जुम्ला, बाजुरा, दैलेखलगायतका जिल्लाका लाखौं नागरिकलाई सेवा प्रवाह गर्न उपयुक्त स्थान राकम कर्णाली नै भएको बताउँदै उनले यसका लागि सबैको पहल हुन जरुरी रहेको पनि बताए ।

आठबीस नगरपालिकामा ५५ जना स्वास्थ्यकर्मी कार्यरत छन् भने १० जना प्राविधिक र डाक्टरको जनशक्ति छ । ‘अहिले पनि राता, रोल, झोज, सिस्ने, लयापाताल, लेखगाउँ जस्ता दुर्गम बस्तीमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको छैन । त्यहाँ स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि हामी लागिरहेका छौं । कम्तीमा एक घण्टाको पैदल दूरीमा स्वास्थ्य संस्था हुनुपर्छ भन्ने मान्यताका आधारमा काम अघि बढाइरहेका छौं’, उनले भने, ‘ट्रमा सेन्टरका लागि जग्गा दान गर्ने दाताहरूलाई उपचारमा ५० प्रतिशत छुट दिने, उनीहरूलाई रोजगारीको व्यवस्था गर्ने र स्वास्थ्य उपचारका लागि कार्डको व्यवस्था गर्ने योजना बनाएका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्