
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग जिल्ला अदालत काठमाडौंमा बयान शुरू भएको छ ।
सरकारी वकिल कार्यालय काठमाडौंले रविसहित ३९ जनालाई प्रतिवादी बनाएर अदालतमा अभियोजन गरेपछि आइतबारदेखि बयान शुरू भएको हो ।
अदालतको कठघरामा रवि सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको, सहकारीकै पैसाले गाडी खरिद गरेर लोन नतिरेको, रेमिट्यान्समार्फत कुन आम्दानीको पैसा पठाएकोजस्ता प्रश्नले घेरिने देखिन्छन् ।
जिल्ला सरकारी सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा दर्ता गरेको अभियोग पत्रमा स्वर्णलक्ष्मीको जीसीएस बैंकिक सफ्टवेयरमा रवि र उनका पार्टनर एवं गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक गितेन्द्रबाबु (जीबी) राईको संयुक्त ऋण खाता देखिएको उल्लेख गरिएको छ ।
२०७८ भदौ ४ गते रवि र जीबीको संयुक्त नाममा स्वर्णलक्ष्मीबाट ४६ लाख ९८ हजार र २०७८ पुस १ गते ४६ लाख ४८ हजार ऋण प्रवाह भएको देखिन्छ । शुरूको ऋणको ३२ लाख २१ हजार ६ सय ३३ रुपैयाँ ५१ पैसा र दोस्रो ऋणको २९ लाख ५२ हजार ४ सय ३७ रुपैयाँ ३९ पैसा अझै तिरिएको छैन ।
सरकारी वकिल कार्यालयका एक न्यायाधिवक्ताका अनुसार जीबी आफैं अध्यक्ष रहेको स्वर्णलक्ष्मी सहकारीबाट आफू र रविको नाममा संयुक्त ऋण प्रवाह गरेर सवारी खरिद गरेको र नतिरेको देखिएकाले ठगीको कसुर स्वतः स्थापित हुने आधार देखिन्छ ।
रविले १० पटक गरी रेमिट्यान्समार्फत विदेशमा रकम भुक्तानी गरेको प्रमाण समेत अभियोग पत्रमा उल्लेख गरिएको छ । उक्त प्रमाणलाई रविले खण्डन गर्ने आधार देखिँदैन । १० पटकमा रविले ७५ लाख १० हजार २ रुपैयाँ ६ पैसा विदेश पठाएका थिए ।
गोरखा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंकको खाता नम्बर ००४०१०१००००५७७ बाट सन् २०२० सेप्टेम्बर १३ देखि २०२४ फेब्रुअरी १४ सम्ममा रविसहित अन्य कम्पनी सञ्चालकहरूको हस्ताक्षरबाट जारी भएको १ हजार २ सय ३७ वटा चेक विभिन्न शीर्षकमा गरी ५९ करोड ४९ लाख ४४ हजार ९ सय ५५ रुपैयाँ जम्मा भएको देखिन्छ ।
त्यस्तै, सिद्धार्थ बैंकको खाता नम्बर ००११५९७८०८९७ बाट सन् २०२० सेप्टेम्बर ८ देखि २०२२ सेप्टेम्बर २ सम्ममा २ करोड १९ लाख ९७ हजार ३० रुपैयाँ गरी ६१ करोड ६९ लाख ४१ हजार ९ सय ८५ रुपैयाँ स्वर्णलक्ष्मीसहित अन्य व्यक्ति र कम्पनीलाई भुक्तानी गरेको देखिन्छ ।
सहकारीबाट रकम गोरखा मिडिया नेटवर्कमा आएको थाहा नभएको बयान दिएका रविले यत्रो रकम स्वर्णलक्ष्मीसहितका कम्पनी र अन्य व्यक्तिलाई तिर्दा उनी पूर्व जानकार थिए भन्ने कुराको पुष्टि हुन्छ ।
स्वर्णलक्ष्मीबाट गोरखा मिडियामा रकम आएको विषयमा रवि जानकार थिए भन्ने विषय अर्को तथ्यले समेत पुष्टि गरेको अभियोग पत्रमा उल्लेख छ ।
रविले गोरखा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा १६ वटा आफ्नै हस्ताक्षर भएको चेकमार्फत ९० लाख १६ हजार ६ सय ६० रुपैयाँ जम्मा गरेका छन् । सन् २०२१ अप्रिल २३ देखि २०२२ मे ३१ सम्ममा उनले १६ वटा चेकमार्फत उक्त रकम जम्मा गरेका हुन् ।
प्रहरी अनुसन्धानबाट खुलेका तथ्य र सरकारी वकिल कार्यालयले दर्ता गरेको अभियोजन अनुसार रविले सहकारीको रकम गोरखा मिडिया नेटवर्कको नामको बैंक खातामा रकमान्तर गरेका हुन्, जसबाट रविले सहकारीको रकम गोरखा मिडियामा लगानी भएको सम्बन्धमा जानकार हुँदाहुँदै कारोबार गरेको पुष्टि हुने आधार सरकारी वकिल कार्यालयले अभियोग पत्रमा समेटेको छ ।
सहकारीको लेखा हिसाब–किताब राख्ने जीएससी बैंकिङ सफ्टवेयरमा जीबी र रविको नाममा खोलिएको ऋण खाता नम्बर ००१–००१–०१–००१३६३९ मा विभिन्न शीर्षकमा ८२ लाख ९७ हजार ६ सय रुपैयाँ पेश्की एवं ऋणस्वरूप लिइएको तथ्य अभियोग पत्रमा समावेश गरिएको छ । तर, त्यो रकमलाई रवि आफैंले चेकमा हस्ताक्षर गरेर सहकारीलाई फिर्ता गरेर कर्जा हिसाब मिलान गरेको देखिन्छ, जुन विषयमा अभियोग पत्रमा भनिएको छ, ‘सहकारीबाट गैरकानूनी रूपमा कर्जा लिई सहकारी संस्था र बचतकर्ता समेतलाई हानी नोक्सानी पुर्याएको र फाइदा लिई संगठित रूपमा ठगी गरेको स्पष्ट देखिएको छ ।’
रविले जीबीसँग लागेर बदनियतपूर्ण र गैह्रकानूनी तबरले स्वर्णलक्ष्मीमा कुनै धितो समेत नराखी कृत्रिम ऋण खडा गरेर सहकारीका बचतकर्ताको रकम अपचलन गरी बेइमानी पूर्वक आफू आबद्ध रहेको गोरखा मिडिया नेटवर्कमा रकमान्तर गरी खर्च गरेको तथ्य सरकारी वकिल कार्यालयले अभियोजन पत्रमा उल्लेख गरेको छ ।