
रौतहटको तत्कालीन ब्रम्हपुरी गाविस वडा नम्बर ९ (हाल राजदेवी नगरपालिका– ९) का ५६ वर्षीय राजु सिंहलाई १६ वर्षकै उमेरमा ज्यान मुद्दा लाग्यो ।
२०४१ मा स्थानीय थुपकली देवीका श्रीमानको हत्यामा राजुको नाम समेत जोडियो ।
थुपकलीका श्रीमानको हत्यामा भाला प्रयोग गरिएको थियो । भालामा राजुका बुवा रत्नेश्वरप्रसाद सिंहको नाम लेखिएको थियो । प्रहरीले तत्कालीन समयमा रत्नेश्वरलाई पक्राउ गर्यो । गाउँलेकै सल्लाहमा राजु भागे ।
उनले भारतको रक्सौल र पटनामा चल्ने बसमा सहचालकको रूपमा ६/७ वर्ष काम गरे । त्यही बीचमा सर्लाहीको चक्रघट्टाका एक व्यक्तिसँग राजुको चीनजान भयो ।
राजुको कार्यशैली मनपराएका ती युवाले आफ्नी बहिनी सलिनाको विवाह उनीसँग गराइदिने भन्दै सर्लाही ल्याए । मुस्लिम समुदायकी सलिना र हिन्दू समुदायका राजुबीच विवाह गर्न बाधा पुग्ने देखियो ।
राजुले धर्म नै परिवर्तन गर्ने निधो गरे । जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट राजुले मोहम्मद सरोजा नाम गरेको नागरिकता बनाए । सलिनासँग लामो समय सर्लाहीमै घरजम गरेर बसे ।
४ छोरी र २ छोरा गरी ६ सन्तान जन्मिए । गृहकलक मच्चिएपछि सलिनाले राजुलाई छाडिन् । राजुले दोस्रो विवाह गरे, सर्लाहीको ब्रम्हपुरीकै सखिनासँग । सखिनाबाट ४ सन्तान भए ।
राजु सर्लाहीमै बस्दा पनि खेतमा ज्यालादारीका लागि चितवनको माडीसम्म आउजाउ गर्थे । त्यतिबेला सर्लाहीबाट चितवन आउँदाजाँदा प्रहरीले पक्राउ गर्छ कि भन्ने भय उनलाई हुन्थ्यो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले अदालतमा मुद्दा दर्ता गरेलगत्तै राजुलाई फरार सूचीमा राखेको थियो । पक्राउ गरी सहयोग गर्न अन्य जिल्लामा समेत परिपत्र गरिएको थियो ।
२० वर्ष कैद सजाय तोकिएका राजुलाई शुक्रबार प्रहरीले चक्रघट्टीबाटै पक्राउ गर्यो ।
गाउँमा केहीले राजुले नाम र धर्मपरिवर्तन गरेपनि उनलाई सिंहजी भनेर सम्बोधन गर्थे । मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले उनलाई सुराकीकै आधारमा पक्राउ गर्यो ।
पक्राउलगत्तै सर्लाही प्रहरीसँग राजुले भने, ‘त्यतिबेला गाउँको व्यक्तिको हत्यामा प्रयोग भएको भालामा मेरो बुवा रत्नेश्वरको नाम थियो । पीडितले प्रहरीमा उजुरी दिँदा मेरो पनि नाम राखेका थिए ।’
पीडितको किटानी जाहेरीमा आफ्नो नाम पनि परेकाले प्रहरीले विस्तृत अनुसन्धान नै नगरी आफूलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको दाबी राजुको छ ।
‘मैले आफ्नो धर्म, जात सबै गुमाएँ, नातिनातिना समेत भइसके । यो उमेरमा अब जेल गएर के गर्ने ?’ राजुको बयान उद्धृत गर्दै सर्लाही प्रहरीका एक अधिकृतले भने, ‘पक्राउ पर्ने डरले धर्म र नाम परिवर्तन गरेर मात्रै हुँदो रहेनछ ।’
सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार राजु हुलिया नै परिवर्तन गरेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।
‘हामीले राजु सिंह भनेर खोज्दा रहेछौं, उसले नामै परिवर्तन गरेर मोहम्मद सरोजाको नाममा नागरिकता लिइसकेको रहेछ,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘कतैकतै सिंहजी भनेर समेत चिनिने मान्छेलाई पछ्याउँदा मात्रै राजु फेला परे ।’
राजुलाई पक्राउ गरेर रौतहट प्रहरीको जिम्मा लगाएको जानकारी उनले दिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलिप घिमिरेका अनुसार राजुलाई पुस २८ मै जिल्ला कारागार रौतहट चलान गरिएको छ ।
उनले भने, ‘अदालतको फैसला कार्यान्वयनका लागि राजुलाई अदालत बुझाइएको थियो, उनी अदालतको आदेशमा कारागार चलान भइसके ।’
अदालतमा राजुको मुद्दाको अभिलेख भेट्टाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
‘१६ वर्षमा अपराध गरेर भागेको व्यक्ति एकैपटक ५६ वर्षमा भेट्दा त एकपटक हामी नै अलमलमा पर्यौं,’ एसपी घिमिरेले भने, ‘पक्राउ परेका व्यक्ति राजु नै हुन् वा होइनन् भनेर पत्ता लगाउन समेत समय लाग्यो ।’