
सिस्नुपानी नेपालका अध्यक्ष एवं हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेको हास्यव्यङ्ग्य कृति, निबन्ध सङ्ग्रह ‘दलालशाला’को विमोचन भएको छ ।
मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको पुस्तक गाम्नागेको कुल एघारौं र हास्यव्यङ्ग्यमा आठौं कृति हो । ‘नेपाल’ पत्रिकामा लामो समय ‘झटारो’ स्तम्भ लेखेका गाम्नागेका छानिएका झटारोहरू यस पुस्तकमा सङ्ग्रहित छन् ।
यही पुस २९ गते लेखक गाम्नागेको ६०औं जन्मदिनको सन्दर्भ पारेर ‘दलालशाला’को विमोचन सम्पन्न भएको हो । एकै साथ झापाको गौरादहस्थित लेखकको निवास र दुबईको बुर्ज खलिफा टावरमा विमोचन समारोह सम्पन्न भएको हो ।
आमाको गम्भीर अस्वस्थ्यताका कारण दुबईको भ्रमण रद्ध गरी गृहनगर गौरादहमा रहेका लेखकको परिवारले आयोजना गरेको जन्मोत्सव तथा पुस्तक विमोचन कार्यक्रममा लेखकका माता पिता र परिवारजनका दुई दर्जन व्यक्तिहरूको उपस्थिति थियो ।
उता सप्ताहव्यापी ‘दुई थोपा हाँसो’ शीर्षकको चेतनामूलक हास्यव्यङ्ग्य कार्यक्रम लिएर संयुक्त अरब इमिरेट्स्को भ्रमणमा रहेको सिस्नुपानी नेपालको समूहले आयोजना गरेको ‘दलालशाला’ पुस्तकको विमोचन कार्यक्रम विश्वकै अग्लो टावर बुर्ज खलिफाको १२५औं तलामा सम्पन्न भयो ।
सिस्नुपानी नेपालका उपाध्यक्ष प्राज्ञ धीरेन्द्र प्रेमर्षी, उपाध्यक्ष वरिष्ठ हास्य कलाकार मनोज गजुरेल, महासचिव टंकराज आचार्य, सचिव सरोज घिमिरे, सदस्य चक्र दवाडी, एनआरएनए दुबईका अध्यक्ष विकास शाही, मध्यूर्व प्रमुख रमेश श्रेष्ठ, समाजसेवी ठाकुर ढुंगाना, भीम मल्ल, मन्जु पोखरेल, लगायतले संयुक्त रूपमा पुस्तकको विमोचन गरे ।
१३८ छोटा निबन्धहरू सङ्ग्रहित २८४ पृष्ठ रहेको पुस्तकको मूल्य ५६५ रूपैयाँ रहेको छ ।