
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कसुरदार होइनन् भन्ने सक्ने अवस्था नरहेको अदालतले जनाएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले रविसँग ६० लाख धरौटी माग्ने आदेश गर्दा यस्तो कारण उल्लेख गरेको छ ।
आदेशमा भनिएको छ, 'प्रतिवादी रवि लामिछाने कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएकाले प्रस्तुत मुद्दाको प्रकृतिसमेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई यी प्रतिवादी रवि लामिछानेबाट ६० लाख रूपैयाँ नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्नू।’
साथै, फरार रहेका प्रतिवादीहरूका हकमा अदालतबाट पक्राउ पुर्जी जारी गरी पक्राउ भई आएपछि बयानका लागि पेश गर्न समेत आदेश गरिएको छ ।
यसअघि कास्की जिल्ला अदालतले समेत लामिछानेलाई धरौटीमा छाड्ने आदेशमा उनी कसुरदार होइनन् भन्ने आधार नभएको बताएको थियो । ‘अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएको’ न्यायाधीश नीतिज राईले पुस २५ गते ६५ लाख धरौटीमा छाड्ने आदेशमा लेखेका छन् ।
रविलाई कसूरदार होइनन् भन्न नसकिने भनेर काठमाडौं जिल्ला अदालतले लिएका आधारहरू :
‘प्रतिवादी रवि लामिछाने गोर्खा नेटवर्क मिडिया प्रालिमा शेयर होल्डर एवं प्रबन्ध निर्देशक हुनु भन्दा अघि नै प्रतिवादी रवि लामिछाने समेतको हस्ताक्षरबाट खाता सञ्चालन हुने गरी गोर्खा नेटवर्क मिडिया प्रालिको ग्लोबल आईएमई बैंकमा खाता खोली सञ्चालनमा ल्याएको, निज प्रबन्ध निर्देशक भएको बेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोर्खा नेटवर्क मिडिया प्रालिको सोही खातामा उक्त सहकारी संस्थाबाट रकम आएको देखियो’, आदेशमा भनिएको छ ।
‘प्रतिवादीहरू रवि लामिछाने र गितेन्द्र बाबु राईको नाममा ऋण खाता खोली ४६ लाख ९८ हजार रूपैयाँ फोर व्हिलर लोन र ४६ लाख ४८ हजार रूपैयाँ ईको सेभेन सीटर भ्यान लोन लिएको, प्रतिवादी रवि लामिछानेको हस्ताक्षरबाट काटिएको चेकबाट ९० लाख १६ हजार ६६० रूपैयाँ स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ऋण भुक्तान गरेको, गोर्खा मिडिया नेटवर्क प्रालिको खाताबाट प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिँदा अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत बारदातमा कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको’, आदेशमा भनिएको छ ।
‘स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट आफूले कुनै रकम लिए खाएको नहुँदा निर्दोष छु भनी कसुरमा इन्कार रही बयान गरेको देखिएता पनि प्रतिवादी रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका बिक्रीमा रहेको १ लाख ८० हजार थान शेयरमा लगानी गर्न इच्छा भएको निवेदन माग बमोजिम यस प्रालिमा बिक्रीमा रहेको शेयर मध्ये १ लाख ८० हजार शेयर खरिद गर्न अनुमति पाउँ भनी निवेदन दिई शेयर लिएको देखिँदा निजले उक्त प्रालिको शेयर खरिद गरिलिएको देखिइ निज प्रतिवादी गोर्खा नेटवर्क मिडिया प्रालिको शेयर होल्डर एवं प्रबन्धक निर्देशक समेत रहेको देखियो’, आदेशमा उल्लेख छ ।
हेर्नुहोस् आदेश :



