
स्याङजाको वालिङमा जन्मिएका कृष्णप्रसाद तिवारी बुटवल झरेर रिक्सासँगै दौडिन थालेको साढे तीन दशक पुग्यो । उमेरले ६६ वर्ष लागेका तिवारीले कहिलेदेखि रिक्सासँगको सम्बन्धबाट विश्राम लिने हुन् थाहा छैन ।
साढे तीन दशक रिक्सा क्षेत्रमै बिताएका तिवारीले यही क्षेत्रमा संघर्ष, सम्भावना र सफलता पनि देखे । २०४८ मा बुटवलमा पाइडल रिक्साको नेतृत्वदेखि ई–रिक्सा क्षेत्रमा लागेका उनी अहिलेसम्म श्रमशील मजदुर वर्गको सबैभन्दा भरोशायोग्य मित्र मानिन्छन् ।
उनी दैनिक रिक्सा र मजदुरकै काममा प्रहरी चौकी, अस्पताल मात्र होइन सडकमा आउने भैपरी समस्याका बेला पनिटुपलुक्कै पुगिहाल्छन् । मजदुरदेखि सञ्चालकले रिक्सा क्षेत्रमा समस्या पर्यो भने, उनको मोबाइलमा घण्टी बजिहाल्छन् ।
‘भारतको उडिसामा सरकारी पेन्सन हुने जागिर छाडेर बुटवल आई रिक्सा क्षेत्रमा लागें’ तिवारी भन्छन्, ‘रिक्सा क्षेत्रलाई व्यवस्थित, सुरक्षितर व्यवसायीको पक्षमा अनवरत लडाइँ लडियो । संघर्ष अझै पनि जारी छ ।’
२०१५ को असोजमा वालिङ–८ मा जन्मिएका उनी आफ्नै गाउँको पूर्णमित्र भवानी माविबाट २०३६ सालमा तत्कालीन एसएलसी दिएपछि रोजगारीको सिलसिलामा साथीसँग भारतको उडिसा पुगेका थिए । त्यहीँ सवारी चलाउन सिकेर त्यहाँको सीडीओको गाडी चलाउन थाले । राम्रो चालकको पहिचान बनाएपछि उनी सबैको रोजाइमा परे ।
तर, जागिर गरेको केही वर्षपछि घरमा बाबा अकस्मात बिरामी परे । कार्यालयमा बिदा मागे । दुर्भाग्य उनलाई कार्यालयले बिदा दिएन । त्यसपछि उनको मन नराम्रोसँग बिथोलियो । जागिरको माया मारे ।
परिवारमा अप्ठ्यारो पर्दासमेत कार्यालयबाट छुट्टी नपाएपछि पेन्सन हुने जागिर चटक्कै छाडेर कृष्णप्रसादन स्वदेश फर्किए । झण्डै १२ वर्ष भारतमा काम गरेर फर्किएपछि उनले एकाध वर्ष गाउँमै बिताए । त्यसपछि आफन्तहरू पनि बुटवल भएकाले २०४८ मा परिवारसहित बुटवल झरे ।
बुटवलमा के गर्ने कसो गर्ने कुनै टुंगो थिएन । विस्तारै उनी रिक्सा क्षेत्रसँग ठोक्किन पुगे । रिक्सामा कमाइ पनि राम्रो हुने भएपछि ९ वटा पाइडल रिक्सा किनेर भाडामा लगाए । केही समय आफैंले पनि चलाए ।
२०५० तिर तराई मूलमा मानिसलाई दैनिक २० रूपैयाँ भाडामा रिक्सा लगाउँथे । ९ वटा रिक्साले दैनिक १८० रूपैयाँ भाडा दिन्थे । मर्मत खर्च पनि निकाल्थे । रिक्सा चालकहरूले गल्ती गरे समाधानको जिम्मेवारी भने तिवारीकै थाप्लोमा आइपर्थ्यो । दुई छोरा र दुई छोरीलाई बजारमा पढाउन चल्नुपर्ने बाध्यता पनि थियो । रिक्सा चालकलाई प्रहरी र टोले गुण्डाहरूको दुर्व्यवहार गर्ने, दु:ख दिने गर्न थालेपछि उनले रिक्सा धनी र मजदुरको संगठन बनाएर सक्रिय हुनुपर्छ भनेर लागे ।
रिक्सा धनी तथा चालक भलाई कोषलाई व्यवस्थित बनाउँदै लगे । रिक्साधनीहरू संस्थामा जोडिँदै गए । संगठन मजबुत बन्दै गएपछि उनीहरूका आवाज सुन्न थालिए । संस्थामा २ हजार २०० रिक्सा आवद्ध थिए । ‘त्यो बेला बुटवलमा लु.अ. ३ भन्ने रिक्सा चल्थे’ तिवारी भन्छन्, ‘पछि बु.न.पा. भन्ने रिक्सा चल्न थाले । त्यो बेला बुटवलमा रिक्साको छुट्टै पहिचान थियो ।’
अहिले बुटवलमा पाइडल रिक्सा हराइसके । तिवारीले नेतृत्व गरेको रिक्सा व्यवसायी संघले बुटवलमा ई-रिक्सा (विद्युतीय) भित्र्याउने तयारीमा थियो । त्यही (बेला संविधान जारी भएको समय, २०७२ मा) देशमा अघोषित नाकाबन्दी भयो । इन्धन अभाव टार्ने भन्दै त्यो बेला अन्धाधुन्द ई–रिक्सा भित्रिए । बजारको क्षमताभन्दा बढी रिक्सा भित्रिएपछि यसलाई रोक्नुपर्छ भन्ने बहस पनि तिवारीले नै छेडे ।
विस्तारै नयाँ रिक्सा विक्री वितरण रोकिए पनि । तर, अन्यन्त्रबाट पनि बुटवलमा रिक्सा ल्याएर चलाउँदा समस्या विकराल बन्दै गयो । अनियन्त्रित रूपमा रिक्सा शहरमा भरिन थालेपछि पालिकाहरूले संख्या निर्धारण गर्न थालेका छन् । आफूहरूको आवाजले नै स्थानीय सरकारले रिक्साको संख्या निर्धारण गर्ने अवस्थामा पुगेको तिवारीको बुझाइ छ ।
‘अहिले बुटवलले १ हजार ४४० रिक्साको संख्या तोकेको छ’, तिवारी भन्छन्, ‘शहरलाई शौन्दर्यकरण गर्न अब तराईका धेरैजसो शहरमा भित्रिएका रिक्सालाई कम गर्नुपर्छ र व्यवस्थित रूपमा सञ्चालन हुनुपर्ने भन्ने मैले शुरूदेखि आवाज निकालें । अहिले यसलाई नीतिगत रूपमा पनि कार्यान्वन हुने चरणमा पुगेको छ ।’
रिक्सालाई अहिले दोहोरो करमा मारमा पारिएको भन्दै यसलाई रोक्न नसके मजदुरहरू पलायन हुने अवस्था आउने उनको चिन्ता छ । अहिले रिक्सालाई स्थानीय सरकारले पनि कर लिन्छ भने, यातायात कार्यालयले पनि कर लिने गर्छ ।
‘रिक्साकै लागि पटक पटक लडेँ । अहिले पनि यही क्षेत्रमा लडिरहेको छु । यसलाई धेरैले राम्रो रूपमा लिएको देख्दा आफूलाई पनि सन्तुष्टि महसुस हुने रहेछ’, उनी भन्छन् ।
कर एउटा क्षेत्रमा मात्र तिनुपर्ने रिक्सा मजदुरहरूको माग छ । सामान्य कारणमा पनि प्रहरीले चालकलाई ठूलो जरिवाना तिराउने गरेको छ । त्यो तत्काल रोकिनुपर्ने तिवारी बताउँछन ।
यही क्षेत्रमा लागेर उनले २ छोरालाई इन्जिनियर बनाए । दुई छोरीलाई मास्टर डिग्रीसम्म पढाए ।
‘सफलता केलाई मान्ने भन्ने हो, सन्तुष्टि आफ्नो काममा रहेछ । यही क्षेत्रबाहेक अन्य केही जानिएन । यही क्षेत्रमा जिन्दगी बित्यो’, उनी भन्छन् ।
आफ्नो आत्मसन्तुष्टिकै लागि किन नहोस् समाजलाई राम्रो काम गर्ने क्षमतावान युवाको धेरै खाँचो रहेको तिवारीको ठम्याई छ ।