०९ असार २०८३, मंगलबार
सडकमै  संघर्ष, सडकमै सुख

भारतको 'पेन्सनवाला जागिर' छाडेर साढे तीन दशकदेखि रिक्सासँगै दौडिरहेका कृष्णप्रसाद

माघ ५, २०८१
बुटवल
भारतको 'पेन्सनवाला जागिर' छाडेर साढे तीन दशकदेखि रिक्सासँगै दौडिरहेका कृष्णप्रसाद

स्याङजाको वालिङमा जन्मिएका कृष्णप्रसाद तिवारी बुटवल झरेर रिक्सासँगै दौडिन थालेको साढे तीन दशक पुग्यो । उमेरले ६६ वर्ष लागेका तिवारीले कहिलेदेखि रिक्सासँगको सम्बन्धबाट विश्राम लिने हुन् थाहा छैन । 

साढे तीन दशक रिक्सा क्षेत्रमै बिताएका तिवारीले यही क्षेत्रमा संघर्ष, सम्भावना र सफलता पनि देखे । २०४८ मा बुटवलमा पाइडल रिक्साको नेतृत्वदेखि ई–रिक्सा क्षेत्रमा लागेका उनी अहिलेसम्म श्रमशील मजदुर वर्गको सबैभन्दा भरोशायोग्य मित्र मानिन्छन् । 

उनी दैनिक रिक्सा र मजदुरकै काममा प्रहरी चौकी, अस्पताल मात्र होइन सडकमा आउने भैपरी समस्याका बेला पनिटुपलुक्कै पुगिहाल्छन् । मजदुरदेखि सञ्चालकले रिक्सा क्षेत्रमा समस्या पर्‍यो भने, उनको मोबाइलमा घण्टी बजिहाल्छन् । 

‘भारतको उडिसामा सरकारी पेन्सन हुने जागिर छाडेर बुटवल आई रिक्सा क्षेत्रमा लागें’ तिवारी भन्छन्, ‘रिक्सा क्षेत्रलाई व्यवस्थित, सुरक्षितर व्यवसायीको पक्षमा अनवरत लडाइँ लडियो । संघर्ष अझै पनि जारी छ ।’

२०१५ को असोजमा वालिङ–८ मा जन्मिएका उनी आफ्नै गाउँको पूर्णमित्र भवानी माविबाट २०३६ सालमा तत्कालीन एसएलसी दिएपछि रोजगारीको सिलसिलामा साथीसँग भारतको उडिसा पुगेका थिए । त्यहीँ सवारी चलाउन सिकेर त्यहाँको सीडीओको गाडी चलाउन थाले । राम्रो चालकको पहिचान बनाएपछि उनी सबैको रोजाइमा परे । 

तर, जागिर गरेको केही वर्षपछि घरमा बाबा अकस्मात बिरामी परे । कार्यालयमा बिदा मागे । दुर्भाग्य उनलाई कार्यालयले बिदा दिएन । त्यसपछि उनको मन नराम्रोसँग बिथोलियो । जागिरको माया मारे । 

परिवारमा अप्ठ्यारो पर्दासमेत कार्यालयबाट छुट्टी नपाएपछि पेन्सन हुने जागिर चटक्कै छाडेर कृष्णप्रसादन स्वदेश फर्किए । झण्डै १२ वर्ष भारतमा काम गरेर फर्किएपछि उनले एकाध वर्ष गाउँमै बिताए । त्यसपछि आफन्तहरू पनि बुटवल भएकाले २०४८ मा परिवारसहित बुटवल झरे । 

बुटवलमा के गर्ने कसो गर्ने कुनै टुंगो थिएन । विस्तारै उनी रिक्सा क्षेत्रसँग ठोक्किन पुगे । रिक्सामा कमाइ पनि राम्रो हुने भएपछि ९ वटा पाइडल रिक्सा किनेर भाडामा लगाए । केही समय आफैंले पनि चलाए । 

२०५० तिर तराई मूलमा मानिसलाई दैनिक २० रूपैयाँ भाडामा रिक्सा लगाउँथे । ९ वटा रिक्साले दैनिक १८० रूपैयाँ भाडा दिन्थे । मर्मत खर्च पनि निकाल्थे । रिक्सा चालकहरूले गल्ती गरे समाधानको जिम्मेवारी भने तिवारीकै थाप्लोमा आइपर्थ्यो । दुई छोरा र दुई छोरीलाई बजारमा पढाउन चल्नुपर्ने बाध्यता पनि थियो । रिक्सा चालकलाई प्रहरी र टोले गुण्डाहरूको दुर्व्यवहार गर्ने, दु:ख दिने गर्न थालेपछि उनले रिक्सा धनी र मजदुरको संगठन बनाएर सक्रिय हुनुपर्छ भनेर लागे ।

रिक्सा धनी तथा चालक भलाई कोषलाई व्यवस्थित बनाउँदै लगे । रिक्साधनीहरू संस्थामा जोडिँदै गए । संगठन मजबुत बन्दै गएपछि उनीहरूका आवाज सुन्न थालिए । संस्थामा २ हजार २०० रिक्सा आवद्ध थिए । ‘त्यो बेला बुटवलमा लु.अ. ३ भन्ने रिक्सा चल्थे’ तिवारी भन्छन्, ‘पछि बु.न.पा. भन्ने रिक्सा चल्न थाले । त्यो बेला बुटवलमा रिक्साको छुट्टै पहिचान थियो ।’

अहिले बुटवलमा पाइडल रिक्सा हराइसके । तिवारीले नेतृत्व गरेको रिक्सा व्यवसायी संघले बुटवलमा ई-रिक्सा (विद्युतीय) भित्र्याउने तयारीमा थियो । त्यही (बेला संविधान जारी भएको समय, २०७२ मा) देशमा अघोषित नाकाबन्दी भयो । इन्धन अभाव टार्ने भन्दै त्यो बेला अन्धाधुन्द ई–रिक्सा भित्रिए । बजारको क्षमताभन्दा बढी रिक्सा भित्रिएपछि यसलाई रोक्नुपर्छ भन्ने बहस पनि तिवारीले नै छेडे । 

विस्तारै नयाँ रिक्सा विक्री वितरण रोकिए पनि । तर, अन्यन्त्रबाट पनि बुटवलमा रिक्सा ल्याएर चलाउँदा समस्या विकराल बन्दै गयो । अनियन्त्रित रूपमा रिक्सा शहरमा भरिन थालेपछि पालिकाहरूले संख्या निर्धारण गर्न थालेका छन् । आफूहरूको आवाजले नै स्थानीय सरकारले रिक्साको संख्या निर्धारण गर्ने अवस्थामा पुगेको तिवारीको बुझाइ छ ।

‘अहिले बुटवलले १ हजार ४४० रिक्साको संख्या तोकेको छ’, तिवारी भन्छन्, ‘शहरलाई शौन्दर्यकरण गर्न अब तराईका धेरैजसो शहरमा भित्रिएका रिक्सालाई कम गर्नुपर्छ र व्यवस्थित रूपमा सञ्चालन हुनुपर्ने भन्ने मैले शुरूदेखि आवाज निकालें  । अहिले यसलाई नीतिगत रूपमा पनि कार्यान्वन हुने चरणमा पुगेको छ ।’ 

रिक्सालाई अहिले दोहोरो करमा मारमा पारिएको भन्दै यसलाई रोक्न नसके मजदुरहरू पलायन हुने अवस्था आउने उनको चिन्ता छ । अहिले रिक्सालाई स्थानीय सरकारले पनि कर लिन्छ भने, यातायात कार्यालयले पनि कर लिने गर्छ । 

‘रिक्साकै लागि पटक पटक लडेँ । अहिले पनि यही क्षेत्रमा लडिरहेको छु । यसलाई धेरैले राम्रो रूपमा लिएको देख्दा आफूलाई पनि सन्तुष्टि महसुस हुने रहेछ’, उनी भन्छन् । 

कर एउटा क्षेत्रमा मात्र तिनुपर्ने रिक्सा मजदुरहरूको माग छ । सामान्य कारणमा पनि प्रहरीले चालकलाई ठूलो जरिवाना तिराउने गरेको छ । त्यो तत्काल रोकिनुपर्ने तिवारी बताउँछन । 

यही क्षेत्रमा लागेर उनले २ छोरालाई इन्जिनियर बनाए । दुई छोरीलाई मास्टर डिग्रीसम्म पढाए । 

‘सफलता केलाई मान्ने भन्ने हो, सन्तुष्टि आफ्नो काममा रहेछ । यही क्षेत्रबाहेक अन्य केही जानिएन । यही क्षेत्रमा जिन्दगी बित्यो’, उनी भन्छन् । 

आफ्नो आत्मसन्तुष्टिकै लागि किन नहोस् समाजलाई राम्रो काम गर्ने क्षमतावान युवाको धेरै खाँचो रहेको तिवारीको ठम्याई  छ ।

salt training

कमेन्ट गर्नुहोस्