०७ साउन २०८३, बिहीबार
सुप्रिम सहकारी ठगी मुद्दामा सरकारी वकिलको दावी

‘फ्रुट्स अफ द पोइजनस ट्री’को सिद्धान्तअनुसार सहकारी ठगीमा रविको संलग्नता पुष्टि हुन्छ’–सरकारी वकिल

माघ ७, २०८१
काठमाडौं
‘फ्रुट्स अफ द पोइजनस ट्री’को सिद्धान्तअनुसार सहकारी ठगीमा रविको संलग्नता पुष्टि हुन्छ’–सरकारी वकिल

जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले बुटवलको सुप्रिम सहकारी संस्थाको बचत दुरुपयोग गरेर गोरखा मिडियामा लैजाने काम संगठित अपराध भएको र त्यसमा रवि लामिछानेको संलग्नता पुष्टि भएको दाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । 

आइतबार रुपन्देही जिल्ला अदालतमा दायर गरिएको पूरक अभियोजनमा लामिछानेले आफ्नो नाममा भीआईपी खाता खोल्न लगाएको दाबी गरिएको छ । 

‘यी प्रतिवादीले सहकारीको बचत अपचलन गर्ने कार्यमा गितेन्द्रबाबु राई (जीबी) सँग मिलेमतो गरी सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र व्यवस्थापक सागर केसीलाई परिचालन गरी/गराई आफ्नो परिचय गोप्य राख्न लगाई भीआईपी एकाउन्ट बनाई संगठितरूपमा बचत अपचलन गरेको पुष्टि हुन्छ,’ अदालतमा पेश गरिएको अभियोजन पत्रमा भनिएको छ । 

सहकारीको रकम संगठितरूपमा दुरुपयोग गर्ने क्रममा ‘फ्रुट्स अफ द पोइजलन ट्री’को सिद्धान्त अनुसार गलत कार्य गरेको अभियोजन पत्रमा दाबी गरिएको छ । यो एउटा कानूनी सिद्धान्त हो, जुन अमेरिकी न्याय प्रणालीमा विशेष रूपमा प्रयोग गरिन्छ। यो सिद्धान्तले भन्छ– यदि गैरकानूनी तरिकाले (जस्तै: चोरी, ठगी, या कानूनको उल्लंघन गर्दै) कुनै स्रोतबाट धन, सम्पत्ति वा लाभ प्राप्त गरियो भने त्यस स्रोतबाट उत्पन्न हुने सबै फाइदा वा परिणाम पनि गैरकानूनी हुन्छ।

लामिछानेले गोरखा मिडियामा श्वेट शेयर पाएको दाबी गरे पनि अभियोजन पत्रमा सहकारीको रकम दुरुपयोगमार्फत शेयर खरिद गरिएको दाबी गरिएको छ । 

‘गोरखा मिडिया नेटवर्क संगठितरूपमा रहेको समूहले सञ्चालन गरेको विभिन्न सहकारीको बचत रकम हिनामिना गरी सञ्चालनमा ल्याएको देखिन आएबाट कानूनविपरीतको कार्य भएकाले सोको परिणाम पनि कानून विपरीत नै हो,’ अभियोजन पत्रमा भनिएको छ, ‘यसबाट रवि लामिछाने उक्त संगठित समूहसँग मिलेर संगठित संस्थाको पदाधिकारी एवं प्रबन्ध निर्देशकको हैसियतमा सहकारीको बचत रकम अपचलन गरी प्राप्त रकम प्रयोग गरेर कम्पनीको शेयर धारण कार्य गैरकानूनी भए/गरेको देखिन आएबाट संगठितरूपमा गरिएको सहकारी ठगीमा संलग्नता पुष्टि हुन्छ ।’

null

पूरक अभियोजनमा लामिछाने सञ्चालक रहेको गोरखा मिडियामा सहकारीको १० करोड ९९ लाख हिनामिना भएको दाबी गरिएको छ । अभियोजनपत्रमा लामिछानेले सहकारी ठगी गर्ने अभिप्रायले सरकारी निकायमा झुटा प्रमाण पेश गरेको समेत आरोप लगाइएको छ । 

लामिछानेले गोरखा मिडियाको आर्थिक पाटो आफूलाई थाहा नभएको दाबी गरेपछि उनको बयान प्रमाणले खण्डित हुने अभियोजन पत्रमा उल्लेख छ । 

‘प्रतिवादी रवि लामिछानेले झुटा प्रमाण पेश गरी निजको नाममा रहेको शेयर बिक्री गरी सकेपश्चात ०७९ असार १ बाट अलग भएपश्चात पनि विभिन्न व्यक्ति र कम्पनीलाई भुक्तानी गरेको देखियो । उक्त खाताबाट आफू स्वयंले हस्ताक्षर गरी ७१ लाख ८० हजार भुक्तानी दिएको र आफ्नो नाममा समेत ९ लाख ८५ हजार ७ सय ४९ रुपैयाँ रकम लिएकाले निजको रकम अपचलन गर्ने मनसाय प्रस्ट देखिन्छ,’ अभियोजनपत्रमा भनिएको छ । 

सुप्रिमबाट लामिछानेको नाममा २ करोड रुपैयाँ गएको यसअघि सार्वजनिक भएपनि लामिछानेले आफूलाई थाहा नभएको बताएका थिए । प्रतिवादी कुमार रम्तेलले गोरखा मिडियामा रकम लैजाने मशिन र रवि लामिछानेको नाममा रकम लैजाने व्यक्ति एकै हुन् भनेर दिइएको बयानका आधारमा रकम रविले नै लगेको दाबी अभियोजन पत्रमा गरिएको छ । 

प्रतिवादी रोशनी गुरुङको बयानमा समेत २ करोड सहकारी संस्थाको तर्फबाट गोरखा मिडिया नेटवर्कमा जम्मा भएको सहकारी संस्थाको सफ्टवेरबाट खुलेको अभियोजन पत्रका उल्लेख छ ।

‘लामिछाने सञ्चालक रहेको मिडियामा १० करोड ९९ लाख ३६ हजार हिनामिना गरी फिर्ता भएको देखिएन,’ अभियोजनपत्रमा उल्लेख छ । 

लामिछानेको नाममा सहकारीबाट २ करोड ऋण स्वीकृत भई मिडियाको नाममा १ करोड ९६ लाख जम्मा भएको देखिएको अभियोजन पत्रमा उल्लेख छ । लामिछानेसँग ८ करोड ३३ लाख ६ हजार बिगो दाबी गरिएको छ । 

सहकारी ठगीको अनुसन्धानका लागि कात्तिक २ गते पक्राउ परी कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा रिहा भएका लामिछाने काठमाडौं जिल्ला अदालतबाट पनि ६० लाख जमानतमा रिहा भएका छन् । लामिछाने उपस्थित भएपछि बयान शुरू गर्ने अदालतको तयारी छ । 

कमेन्ट गर्नुहोस्