
चितवनमा २० दिनअघि प्रहरीका जुनियर अफिसर (असई) ले एक युवकलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भरतपुरको बाइपास रोडमा रातको समयमा ‘चेकिङ’ गर्ने क्रममा कागज पत्र माग्दा नदिएपछि असई बुद्धिबहादुर भुजेलले युवकमाथि बुट बजारेका थिए । भिडियोमा भुजेल लखेटेरै ती युवकमाथि जाइलागेको देखिन्छ ।
मरणासन्न हुने गरी कुटपिट गरेको घटना सामाजिक सञ्जालमार्फत बाहिरिएपछि मात्रै प्रहरीको उपल्लो दर्जाको ध्यानाकर्षण भयो ।
अनुशासित फौजभित्र बर्दीका आडमा गरिने यस्ता गैरव्यावसायिक हर्कतले प्रहरी संगठनको आलोचना हुँदै आएको छ ।
भिडियोमा असई भुजेलले ‘कसलाई फोन गर्ने ? पावर देखाएको ?’ भन्दै ती युवकलाई लात्ती प्रहार गरेको देख्न सकिन्छ । ती युवकले सवारी अनुमति पत्र नबोकेको, ब्लु बुक नबोकेको वा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी हाँकेको अवस्था थियो भने प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिन सक्थ्यो ।
अथवा, ती युवक मापसे गरेर मोटरसाइकल हाँक्न नसक्ने अवस्थामा थिए भने पनि आफन्त बोलाएर जिम्मा लगाएर पठाउनुपर्थ्यो । तर, यी सबै जिम्मेवारीबाट पन्छिएर असई भुजेल कुटपिटमा उत्रिएको देखिन्छ ।
दुई वर्षअघि ट्रमा सेन्टरमा कार्यरत डा. जेनिथ सिंहलाई वरिष्ठ हवल्दार शम्भु श्रेष्ठले हातपात गर्दा पनि प्रहरी आलोचित बनेको थियो ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा सम्बोधन गर्न जाँदा बाटो खाली गराउने क्रममा हवल्दार श्रेष्ठले सिंहलाई रोकेका थिए । सिंहले जबर्जस्ती अगाडि बढ्न खोजेपछि श्रेष्ठले हातपात गरेका थिए ।
२०७९ भदौ १८ मा धनगढी विमानस्थलमा कञ्चनपुर बेलडाँडीका नरेश गिरीमाथि प्रहरी हवल्दार कृष्णबहादुर पाण्डेले अनुहार नै सुन्निने गरी हातपात गरेका थिए ।
५ लाख रुपैयाँ बोकेका गिरीलाई काठमाडौं उड्न खोज्दा रोकिएको थियो ।
उक्त रकमको स्रोत खोई भन्दै हवल्दार गिरीले इन्चार्जको कोठाभित्र लगेर कुटपिट गरेका थिए । यो घटना पनि भाइरल भएको थियो ।
२०७७ जेठ १ गते रुकुम पश्चिमस्थित बगरकोटमा मदिराले मातिएकी स्नेहा विष्टलाई नगरप्रहरी र नेपाल प्रहरीका चारजना मिलेर कुटपिट गरेका थिए ।
आफन्तको जिम्मा लगाएर पठाउनुपर्ने दायित्व भुलेर उल्टै विष्टमाथि लाठी बजारिएको थियो । महिलालाई ‘ट्याकल’ गर्न महिला प्रहरी नै आवश्यक पर्ने भएपनि त्यहाँ पुरुष प्रहरीहरूले संवेदनशील अंगमा समातेर लछारपछार परेको भिडियो बाहिरिएको थियो ।
ठूला प्रदर्शनमा प्रहरीले भीड नियन्त्रण गर्दा अपनाउने तौर/तरिका छुट्टै छ । शुरूमा सम्झाइ–बुझाइ गर्ने, माइकिङ गर्ने, त्यति गर्दा पनि भीड तितरबितर भएन भने पानीको फोहोराले हान्ने, अश्रुग्याँस प्रहार गर्ने, लाठीचार्ज गर्ने र अन्तिम विकल्प भनेको हवाई फायर गर्ने हो ।
तर, भीड तितरवितर पार्ने बहानामा प्रहरीले संयम गुमाएर गोली चलाउँदा ललितपुरको बालकुमारीमा अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । २०८० पुसमा कोरियन भाषा परीक्षा (ईपीएस) का लागि भएको विवादमा परीक्षार्थीहरू प्रदर्शनमा उत्रिएका थिए ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पार्टीको कार्यक्रम जाँदा उनी सवार गाडी प्रदर्शनकारीले रोकेका थिए ।
गाडी तोडफोड र आगजनी हुन थालेपछि प्रहरीले आफ्नो लाज छोप्न गोली चलायो र अन्धाधुन्ध लाठी बर्सायो । शाह एसएलआरको गोली लागेर ढले । अर्का व्यक्ति दैलेखका सुजन रावत पनि प्रहरीको बज्र लाठी सहन नसकेर सडकमै ढले ।
यो घटनामा छानबिन समिति र आयोग नै बन्यो । घटनास्थलमा खटिएका केही प्रहरी निलम्बित भए । भीड नियन्त्रणको तालिम प्राप्त प्रहरी खटाउँदा पनि संयम गुमाएपछि दुई युवाले अनाहकमा ज्यान गुमाए । यो घटनाले पनि प्रहरीको शीर निहुर्यायो ।
‘रक्षक नै भक्षक’ भनेजस्तै प्रहरी यदाकता लुटपाट, ठगी, घुस, कर्तव्य ज्यानलगायतका मुद्दामा परिरहेका हुन्छन् । प्रहरी संगठनमा भर्ती हुने बेला हुने परीक्षा होस् वा भर्ती भइसकेपछि गरिने तालिममा अनुशासन र संयमताको पाठ पढाइन्छ । तर, व्यवहारमा लागू नगर्दा सम्बन्धित प्रहरी अधिकारी कारबाहीको भागीदार बन्छन् ।
प्रहरीका केही ‘स्लोगन’ पढ्दा र सुन्दा रमाइला छन् । प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी सेवा, जिब्रोको गरिमा, मीठो बोलीमा लगायतका स्लोगन व्यवहारमा भने कार्यान्वयन भएका देखिँदैनन् ।
प्रहरीका यस्ता गैरव्यावसायिक हर्कतलाई सुधार गर्नुपर्ने बताउँछन्, नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी ।
प्रहरीमा ‘ब्रिफिङ टु डी ब्रिफिङ’ अभ्यास विस्तारै हराउँदै गएको ठकुरी बताउँछन् ।
‘तालिममा सिकाएको पाठले मात्रै पुग्दैन, प्रहरीलाई गर्न हुने र गर्न नहुने कामका विषयमा निरन्तर ब्रिफिङ गर्नुपर्छ,’ ठकुरीले लोकान्तरसँग भने, ‘फिल्डमा खटेर आएपछि त्यहाँका कमीकमजोरी, सुधार गर्नुपर्ने कुराहरू र अब कसरी जाने लगायतका विषयमा समेत डी–ब्रिफिङ गर्नुपर्छ । तर, यो अभ्यास विस्तारै कम हुँदै गएको संगठनकै अधिकृतहरूले मलाई बताउँदै आएका छन् ।’
एउटा सदस्यले गरेको हर्कतलाई लिएर समग्र संगठनलाई नै बदनाम गराउने विषयमा संवेदनशील हुनुपर्ने उनी बताउँछन् ।
‘अनुगमन र निरीक्षण देखाउनका लागि मात्रै गरेर हुँदैन, त्यसबाट सुधार भयो/भएन भनेर सुपरिवेक्षणको काम पनि हुनुपर्छ,’ उनले भने ।
प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले एउटा सदस्यको कमजोरीलाई लिएर समग्र संगठनलाई दोष थोपार्न नहुने बताए ।
उनले भने, ‘जसले गलत हर्कत गर्छ, ऊ विभागीय कारबाहीमा पर्छ । कारबाही गरेका पनि छौं । ७९ हजारको फौजमा केहीको प्रवृत्तिलाई लिएर समग्र संगठनलाई मुछ्नुहुँदैन ।’
उनका अनुसार गत आर्थिक वर्षमा ३ एसएसपीसहित १ हजार ७ सय प्रहरी कर्मचारीलाई अनुशासन उल्लंघन र आचरणविपरित काम गरेकोमा कारबाही गरिएको थियो । यो आर्थिक वर्षको मंसिरसम्ममा १ एसपीसहित ८ सय जनालाई कारबाहीको दायरामा ल्याइएको प्रहरी मुख्यालयले जनाएको छ ।
चितवनको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।