०७ असार २०८३, आइतबार

खराब कर्जाले बैंकहरू दबाबमा, चुनौतीपूर्ण बन्दै कर्जा असुली

माघ ८, २०८१
काठमाडौं
खराब कर्जाले बैंकहरू दबाबमा, चुनौतीपूर्ण बन्दै कर्जा असुली

चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन अनुसार बैंकहरू खराब कर्जाले दबाबमा देखिएका छन् । बैंकहरूले सार्वजनिक गरेको दोस्रो त्रैमास (साउनदेखि पुससम्म)को अपरिष्कृत वित्तीय विवरणले यस्तो तथ्य देखाएको हो । 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरूको नाफा साढे ४ प्रतिशतको कमी आएको छ । औसतमा वाणिज्य बैंकहरूको खराब कर्जा ४.४८ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३.३९ प्रतिशत रहेको थियो । यसका साथै केही बैंकहरूको खराब कर्जा साढे ५ प्रतिशतभन्दा माथि पुगिसकेको छ ।

अहिले बैंकहरूलाई कर्जा असुलीमा सकस भइरहेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला बताउँछन् । कर्जा असुली प्रभावित हुँदा बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढेर वितरणयोग्य नाफामा असर गरेको उनको भनाइ छ । 

‘खराब कर्जा बढेको छ । कर्जा असुलीमा चुनौती छ । जसले गर्दा बैंकहरूको खराब कर्जा र वितरणयोग्य नाफामा केही असर गरेको देखिन्छ’, अध्यक्ष कोइरालाले भने, ‘तर, खराब कर्जा बढ्दैमा आत्तिनुपर्ने अवस्था भने छैन । हामीले चाहेजस्तो लगानी हुन सकेको छैन ।’

खराब कर्जाको मारमा बैंकहरू
कर्जा रिकभरी हुन नसकेपछि बैंकहरूको खराब कर्जा बढेको छ । अर्धवार्षिक रिपोर्ट अनुसार तीन वाणिज्य बैंकहरूको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ । दोस्रो त्रैमासमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक र लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि छ ।

सबैभन्दा बढी ५.८६ प्रतिशत नेपाल इनभेस्टमेन्ट मेगा बैंकको रहेको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको ५.६७ प्रतिशत र प्रभु बैंकको ५.०६ प्रतिशत पुगेको छ ।

खराब कर्जा बढ्दैमा बैंकहरूको अवस्था कमजोर नहुने नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मी बताउँछन् । बजारमा माग नै नभएकोले बैंकहरूको कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसकेको उनको भनाइ छ ।

null
 
नाफामा गिरावट 

वाणिज्य बैंकहरूको खुद नाफामा प्रभाव परेको देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको खुद नाफा ४.६२ प्रतिशतले गिरावट आएको छ । दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूले २७ अर्ब ४३ करोड ७९ लाख ९६ हजार रूपैयाँ खुद नाफा कमाएका छन् । जबकि गत वर्षको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूले २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रूपैयाँ खुद नाफा कमाएका थिए । जुन चालू आर्थिक वर्षमा १ अर्ब ३२ करोड ७२ लाख(४.६२ प्रतिशत) ले घटेको छ । 
null
 
दोस्रो त्रैमासको अन्तिम महिना पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह बढेको देखिन्छ । पहिलो त्रैमाससम्म बैंकहरूको कर्जाको ब्याजदर न्यून हुँदा पनि कर्जा प्रवाह बढ्न सकेको थिएन । 

बैंकहरू पुरानै कर्जाको रिकभरीको दबाबमा थिए । पहिलो त्रैमासपछि बैंकहरूले केही मात्रामा कर्जा प्रवाह बढाएका छन् । 

पहिलो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाहरूबाट ५२ खर्ब ९६ अर्ब रूपैयाँ कर्जा प्रवाह भएको थियो । कात्तिकमा कर्जा प्रवाह घटेर ५२ खर्ब ८९ अर्बमा खुम्चिएको थियो । तर, मंसिरमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह ४४ अर्बले बढाएर ५३ खर्ब ३३ अर्ब पुर्‍याएका छन् ।

दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाहरू पहिलो त्रैमासिकपछि लय समाउन थालेको देखिन्छ ।  चालु आवको शुरूआती महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको ५१ खर्ब ७३ अर्ब रूपैयाँ ६ महिनामा बढेर ५४ खर्ब नाघेको छ । 

कर्जा निक्षेप अनुपातमा केही सुधार 
अपेक्षित रूपमा कर्जा प्रवाह बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात ७८.२६ प्रतिशतसम्ममा झरेको थियो । जुन अहिले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ७९.२१ प्रतिशत पुगेको छ । 

चालु आर्थिक वर्षको शुरूआतदेखि नै बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७८.८० प्रतिशत थियो । भदौमा कर्जा निक्षेप अनुपात घटेर ७८.२६ प्रतिशतमा झरेको थियो । असोजमा केही बढेर सीडी रेसियो ७८.३६ प्रतिशत रहेको थियो । 

कात्तिकमा पुन: सीडी रेसियो ७८.२६ प्रतिशतमा झरेको थियो । मंसिरमा सीडी रेसियो केही बढेर ७८.५४ प्रतिशत रहेको थियो । जुन पुस मसान्तसम्म आइपुग्दा ७९.२१ प्रतिशत पुगेको छ ।

कमेन्ट गर्नुहोस्