२६ असार २०८३, शुक्रबार

एसएसपीको पदस्थापन र सरुवा सँगै गर्ने तयारी, मालदार जिल्ला जान एसपीको दौडधूप

माघ १०, २०८१
काठमाडौं
एसएसपीको पदस्थापन र सरुवा सँगै गर्ने तयारी, मालदार जिल्ला जान एसपीको दौडधूप

प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएपछि ४ जिल्लाको इञ्चार्ज खाली भएको छ । बाराका एसपी महेन्द्र खड्का, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्का, इलामका एसपी प्रभु ढकाल र नुवाकोटका एसपी शान्तिराज कोइरालाले एसएसपीमा बढुवा भएर बुधबार मात्रै दर्ज्यानी चिह्न लगाएका छन् । 

यी जिल्ला कमाइका हिसाबले पनि मालदार मानिन्छ । नुवाकोट र सिन्धुपाल्चोकमा धेरै क्रसरहरू छन् । रसुवा नाकाबाट आउने तस्करीका माल वस्तु नुवाकोट हुँदै काठमाडौं छिर्छ । 

उता सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपनि चोरबाटोबाट तस्करी हुँदै आएको छ । 

बारा जिल्ला प्रहरी कार्यालय मधेशको मालदार अड्डामध्येको एक हो । भन्सार कार्यालय नभएको बाराबाट खुला सिमाना भएका कारण तस्करीका माल वस्तु विशेषगरी लागुऔषध ओसारपसार हुन्छन् । इलाम पहाडी जिल्ला भएपनि भन्सार नाका पशुपतिनगर छ । पशुपतिनगर भन्सारबाट सेटिङमा चोरी निकासीका सामान बाहिरिने/भित्रिने गर्छन् । 

बढुवा भएका एसएसपीहरूको पदस्थापन (जिम्मेवारी तोक्ने काम) हुनै बाँकी छ । एसपीहरू जिल्ला जान शक्तिकेन्द्र धाउन थालिसकेका छन् । प्रहरी प्रधान कार्यालयले भने एसएसपीको पदस्थापन र सरुवा एकसाथ गर्ने तयारी थालेको छ । 

गृहमन्त्री रमेश लेखकले मन्त्री पद सम्हालेको महिना दिनमै जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखहरू क्रमशः वसन्त रजौरे र सानुराम भट्टराईको सरुवा गर्न खोजेका थिए । 

दाङका रजौरेले आफ्नो क्षेत्रका नेता एवं नेकपा एमालेका महासचिव शंकर पोखलेरलाई समातेपछि तत्काल उनको सरुवा रोकिएको थियो । अहिले फेरि उनीहरूको सरुवाको चर्चा सुनिन थालिएको छ ।

काठमाडौंमा एसएसपी विश्व अधिकारी (प्रहरी मुख्यालयको सह–प्रवक्ता) र रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एसएसपी रमेश बस्नेतमध्ये एक जनाको सरुवा गर्ने तयारी छ । विराटनगरका बस्नेतले शेखर कोइरालमार्फत काठमाडौं परिसर जान दबाब दिइरहेको स्रोत बताउँछ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भने सचिवालयमै कार्यरत एसएसपी अधिकारीलाई काठमाडौं पठाउन खोजेको बुझिएको छ । अनुसन्धान कार्यालयमा हालै बढुवा भएका रमेश थापा, होबिन्द्र बोगटी, कृष्णप्रसाद कोइराला र अजय केसीमध्ये एकजनाको पदस्थापन गर्ने तयारी प्रहरी मुख्यालयले गरेको छ । 

मालदार अड्डाको रूपमा पहिलो नम्बरमा आउँछ, जिल्ला प्रहरी कार्यालय पर्सा । पर्साका प्रहरी प्रमुख एसपी कुमुद ढुंगेलको कार्यकाल आगामी फागुन १ गते एक वर्ष पुग्दैछ । पर्सा जान २ एसपी कम्मर कसेर लागेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको पीएसओ बसिकसकेका एसपीहरू सन्तोष तामाङ र राजन लिम्बूले पर्सा जान शक्तिकेन्द्रमार्फत दबाब दिइरहेका छन् । लिम्बूको यसअघि नै जिल्ला प्रहरी कार्यालय मोरङमा काज सरुवा निस्किए पनि उनी पर्सा जाने भन्दै गएनन् । आफूले गरेको काज सरुवालाई चुनौती दिएका लिम्बूलाई पर्सा पठाउनुपर्ने दबाब महानिरीक्षक कुँवरलाई छ । तर, गृहमन्त्री लेखकलाई मनाएर लिम्बू र तामाङ दुवैलाई पर्सा नपठाउने मुडमा कुँवर छन् ।  

जिल्ला प्रहरी कार्यालयहरू कैलाली, धनुषा, झापा, रुपन्देही, बाग्लुङ, कञ्चनपुर, पाल्पा, बर्दिया, काभ्रे, गोरखा, धनकुटा, डोटी, गुल्मी, सुर्खेत र स्याङ्जाका एसपीहरूको कार्यकाल फागुन १ मै एक वर्ष पुग्दैछ ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले भने, ‘शक्तिकेन्द्रको आडमा मालदार अड्डामा सरुवा हुन आईजीसाबलाई दबाब दिइरहेका छन् । अब गृहमन्त्रीसँग परामर्श लिएर कसलाई कता पठाउने भन्ने निर्णय होला ।’ 

बुधबार मात्रै एसएसपीको दर्ज्यानी चिह्न लगाएका एसएसपीहरू एसपी हुँदा महत्त्वपूर्ण स्थानमा थिए । एसपी थापा प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय, केसी गृह मन्त्रालयको इन्टेलिजेन्स शाखा, जबरा सशस्त्र प्रहरी गण १ नम्बर, बोगटी सीआईबी, पंगेनी सम्पत्ति शुद्धीकरण विभाग, राठोर काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणमा कार्यरत थिए । एसपी इन्चार्ज हुने यी स्थान खाली भएकाले त्यहाँ पूर्ति गर्नुपर्ने देखिन्छ । 

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले सरुवा/बढुवा नियमित प्रक्रिया भएको बताए । उनले लोकान्तरसँग भने, ‘एसएसपीसाबहरूले हिजोमात्रै दर्ज्यानी चिह्न लगाउनुभएको हो । उहाँहरूको पदस्थापन हुन्छ । बढुवा भएका एसएसपीले काम गरेका जिल्ला र अन्य केही जिल्लामा एसपीहरूको एक वर्ष पुग्न लागेकाले सरुवा गर्ने आन्तरिक तयारी छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्