२४ असार २०८३, बुधबार
विशेष स्टोरी

मन्दीको मारमा पिल्सिए इँटा उद्योग– धमाधम भत्काइँदै भट्टा, पलायन हुँदै उद्योगी

माघ १०, २०८१
काठमाडौं
मन्दीको मारमा पिल्सिए इँटा उद्योग– धमाधम भत्काइँदै भट्टा, पलायन हुँदै उद्योगी

कुनै समय वार्षिक २ करोड पिससम्म इँटा उत्पादन गर्ने रौतहटको ‘दाइभाइ इँटा उद्योग’ अहिले ३०/४० लाख पिस उत्पादनमा झरेको छ ।

भारतभन्दा सस्तोमा उपलब्ध गराउँदा पनि माग ४० प्रतिशतसम्म घटेको उद्योगका सञ्चालक मुकेश चौधरीले बताए ।

दुईवटा भट्टा चलाइरहेका चौधरीले एक वर्षअघि मात्रै एउटा बन्द गरेका रहेछन् । चलेको एउटा भट्टाबाट वार्षिक ३०/४० लाख इँटा मात्र उत्पादन भइरहेको छ ।

‘दुई भट्टा खोलेर चलाइएको थियो । एउटै भट्टाबाट १ करोडभन्दा बढी इँटा उत्पादन गरिन्थ्यो । दुईवटा भट्टा हुँदा २ करोडभन्दा बढी नै उत्पादन थियो’, उनले भने, ‘पछिल्लो ३/४ वर्षमा रौतहट जिल्लाभरि नै भट्टाहरू धमाधम बन्द भए । बजारमा माग पनि निकै कम भयो । एउटा भट्टा बन्द गरेर भत्कायौं । एउटा सञ्चालनमा छ । त्यसको उत्पादन पनि ३०/४० लाखमा सीमित छ ।’ 

जिल्लाभरीमा २३/२४ प्रतिशत भट्टा मात्रै सञ्चालनमा रहेको उनको दाबी छ । विशेष गरी रौतहटका इँटा काठमाडौं, पोखरा, चितवनलगायतका ठूला शहरमा जाने गर्दछन् ।

देशको अर्थतन्त्र आर्थिक मन्दीको चपेटाबाट बाहिर आएपछि उद्योगहरू पुनः लयमा आउने आशा गरिरहेको चौधरीले लोकान्तरसँग बताए ।

****

७ वर्षदेखि रौतहटमा इँटा उद्योग सञ्चालन गरिरहेका लालबाबु सहानीले लगानी डुबेर भट्टा बन्द गर्नुपर्ने अवस्था आएको गुनासो गरे । वार्षिक ८० लाखसम्म इँटा उत्पादन हुने गरेकोमा अहिले ३०/४० लाखमा खस्किएको उनले लोकान्तरसँग बताए ।

‘वार्षिक उत्पादन १ करोड पिससम्म हुनुपर्ने हो, हामीले ८० लाखसम्म उत्पादन गर्‍यौं । शुरूमा बजार राम्रै थियो र लगानी पनि राम्रै गरियो । दुई/तीन वर्षसम्म ठिकै चलिरहेको थियो’, उनले सुनाए, ‘त्यसपछि घट्दै गयो । अहिले उत्पादन आधाभन्दा तल झरिसकेको छ । लगाएको पुँजी मात्र पनि निकाल्न सकिन्छ कि भनेर सञ्चालन गरिरहेको छु । बन्द नै गरिसकेको भन्दा फरक पर्दैन ।’

****

null

कोभिड– १९ महामारीअघि वार्षिक ३५/४० लाख इँटा उत्पादन गर्ने एमबी इँटा उद्योग अहिले २० लाखमा खुम्चिएको सञ्चालक उमेश साहले बताए ।

विशेषगरी रौतहटको एमबी इँटा काठमाडौं, पोखरा र चितवनसम्म पुग्ने गरेको थियो । पछिल्ला २/३ वर्षदेखि ४० प्रतिशतसम्म उत्पादन घटिसकेको छ । 

‘४० लाखसम्म वार्षिक उत्पादन गर्थ्यौं । अहिले २० देखि अधिकतम २५ लाखको हाराहारीमा उत्पादन भइरहेको छ’, स हले भने, ‘प्राविधिक कारणले उत्पादन घटेको होइन । बजारमा माग नै घटेको छ । माग घटेपछि उत्पादन स्वतः घटिहाल्यो ।’ 

गत वर्षकै १० लाख इँटा स्टकमा रहेको साहले लोकान्तरलाई जानकारी दिए ।

****

सिरहाको गोलबजारमा २ वर्षअघिसम्म २ वटा भट्टा चलाइहेका चन्द्रदेव यादवले अहिले एउटा भट्टा मात्र चलाइरहेका छन् । उनले एउटा भट्टा भत्काएका रहेछन् । व्यापार घटेका कारण भट्टा भत्काउनुपरेको उनले बताए । 

वार्षिक ७०/८० लाख इँटा उत्पादन गर्ने यादवले अहिले बैंकको दोहोरो कर्जाको मारमा रहेको गुनासो गरे । उनका अनुसार सिरहा जिल्लामा रहेका भट्टामध्ये आधा बन्द अवस्थामा छन् । त्यसमा पनि ३० प्रतिशत भट्टामात्र पूर्ण क्षमतामा चलेका छन् ।

‘दुईवटा भट्टा चलाइयो । नराम्रोसँग डुबेर एउटा बन्द गर्नुपर्‍यो । शुरूआति समयमा राम्रै थियो’, उनले भने, ‘अहिले एउटा भट्टा मात्र चलिरहेको छ । त्यो पनि कहिले बन्द हुन्छ थाहा छैन । छोराले चलाइरहेको छ । म पुरानै कर्जामा डुबेको छु । कर्जाको ब्याज बुझाउनै ठिक्क छ ।’ 

कोइला, डिजेल र कामदारको लागत बढिसकेको, तर इँटाको मूल्य घटेर मारमा परेको गुनासो उनले गरे । सिरहा जिल्लामा २०७२ सालको भूकम्पपछि झन्डै ७ सयको हाराहारीमा सञ्चालन भएका इँटा उद्योग ७० प्रतिशत सखाप भएको चन्द्रदेव यादव बताउँछन् । 

‘मा जानकी इँटा भट्टा’ चलाइरहेका यादवले माग नै नभएकाले भट्टा बन्द गर्नुपर्ने अवस्था आएको गुनासो गरे ।

****

काठमाडौं उपत्यकालाई सबैभन्दा बढी इँटा सप्लाइ गर्ने जिल्ला हो, धादिङ । धादिङमा पनि पछिल्ला वर्षमा इँटा उद्योगको संख्या र उत्पादन दुवै घटेको छ ।

वार्षिक ८० हजारसम्म इँटा उत्पादन गर्ने शिवम् इँटा उद्योगले पछिल्ला वर्षहरूमा ५०/६० हजार मात्रै उत्पादन गर्दै आइरहेको सञ्चालक रामकृष्ण महर्जनले बताए । उत्पादनका साथै बजार माग पनि ४० प्रतिशतसम्मले घटेको उनको भनाइ छ । 

‘समग्रमा भन्दा ४० प्रतिशत माग घटेको छ । १४ रुपैयाँमा बेच्ने गरेको इँटा १२ रुपैयाँमा झरिसकेको छ’, उनले भने, ‘कोभिडपछि माग र उत्पादन दुवै घट्दै गएको हो । वार्षिक ८० लाखको उत्पादन ५०/६० लाखमा झरेको छ । गत वर्षकै ७ लाख इँटा स्टकमा छन् । माग नभएर स्टक बढेको हो ।’ 

धादिङ  जिल्लामा कुल ३३ प्रतिशत इँटा उद्योग मात्रै सञ्चालनमा रहेको धादिङ इँटा उद्योग व्यवसायी संघका अध्यक्ष निराजन रेग्मीले बताए । जसमध्ये ३० प्रतिशतले मात्रै उत्पादन गरिरहेको उनको भनाइ छ । 

‘काठमाडौंमा झन्डै २५ प्रतिशत इँटाको माग धादिङ जिल्लाबाटै पूर्ति हुने गरेको छ । तर, पछिल्ला वर्षहरूमा कुल इँटा उद्योगमध्ये ३३ प्रतिशत मात्र सञ्चालनमा छन् । त्यसमा पनि ३० प्रतिशतले मात्रै उत्पादन गरिरहेका छन् ।’

वार्षिक ३३ करोडसम्म इँटा उत्पादन गर्ने धादिङ जिल्लामा अहिले ६/७ करोड इँटा उत्पादन भइरहेको अध्यक्ष रेग्मीले बताए । 

‘धादिङले वार्षिक ३३ करोडसम्म इँटा उत्पादन गर्ने गर्दथ्यो, जुन अहिले ६/७ करोड मा झरेको छ । गत वर्ष ७ करोड इँटा उत्पादन भएको थियो । त्यसअघि ५ करोडको हाराहारीमा उत्पादन भएको थियो । २/३ वर्षदेखि उत्पादन निरन्तर घटेको देखिन्छ’, उनले भने, ‘वार्षिक ६ करोडको हाराहारीमा इँटा उत्पादन गर्दा पनि ३ करोड इँटा स्टकमै बस्ने गर्छ । बजारमा माग नै छैन ।’

वार्षिक ८० लाख इँटा उत्पादन गर्ने भट्टाको उत्पादन ४० प्रतिशतसम्म घटेको धादिङ इँटा उद्योग व्यवसायी संघका सचिव सुमन सापकोटाले बताए । सापकोटाका अनुसार धादिङबाट काठमाडौंमा आउने इँटाको माग निकै कम भएको छ ।

****

भक्तपुरको चाँगुनारायण नगरपालिका– ९ स्थित ‘श्री सरस्वती इँटा भट्टा’ले अहिले ४० लाखको हाराहारीमा इँटा उत्पादन गरिरहेको छ । १० लाखभन्दा बढी पुरानै इँटा स्टकमा छन् ।

आफूहरू मात्र नभएर समग्र भट्टाको माग निकै घटेको उक्त इँटा उद्योगका सञ्चालक नातिभाइ होम्बाले लोकान्तरसँग बताए ।

‘धमाधम भट्टा खोल्नेहरू मात्रै बढे । तर, बजारमा इँटाको माग बढ्न सकेन, उल्टै घट्यो’, उनले भने, ‘त्यसले गर्दा पुराना र राम्रो पकड बनाएका उद्योगीहरू पनि डुबे । अहिले त पूर्णरूपमा यो व्यवसाय नै धराशायी अवस्थामा छ ।’

पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकाभित्र भट्टा सञ्चालनमा कडाइ गरिएको छ । यसका साथै उपत्यकाभित्रका स्थानीय तहले पनि भट्टा बन्द गराइरहेका छन् । 

काठमाडौंको चन्द्रागिरिमा इँटाभट्टा भत्काएर प्लटिङ गरिएको जग्गा

मजदुर पनि भारतबाटै ल्याउनुपर्ने बाध्यता

नेपालका अधिकांश इँटा भट्टामा काम गर्ने मजदुर भारतबाट आउँछन् । एउटै भट्टामा २ सयदेखि ३ सयसम्म जनशक्ति आवश्यक हुन्छ । ९० प्रतिशत मजदुर भारतीय रहेको रौतहटको दाइभाइ इँटा उद्योगका सञ्चालक मुकेश चौधरीले बताए ।

‘हाम्रो भट्टामा २ सयभन्दा बढी कामदार आवश्यक पर्छन् । त्यसमा पनि ९० प्रतिशत कामदार भारतबाटै आउने गरेका छन्’, उनले भने ।

नेपालीहरूले आफ्नै ठाउँमा काम गर्न नरुचाउने गरेको उनको भनाइ छ ।

इँटा उद्योगीहरूका समस्या 

विशेष गरी इँटा बनाउने तयारी भदौ/असोजबाट शुरू हुने गर्दछ । असोजसम्म पनि झरी पर्न सक्ने भएकाले काँचो इँटा बनाउने काम भने कात्तिकबाट शुरू हुन्छ ।

कात्तिक र मंसिरमा बनाइएका काँचा इँटालाई पुस र माघमा भट्टाभित्र राखेर पोलिन्छ । पुस, माघ र फागुनमा विभिन्न लटमा इँटा पोलेर निकाल्ने काम हुन्छ ।

कतिपय भट्टामा चैतसम्म पनि इँटा पोल्ने काम जारी रहन्छ । 

वर्षको एक मौसम अर्थात् ६/७ महिना मात्रै चल्ने इँटा उद्योगलाई सरकारका विभिन्न निकायबाट दुःख दिने काम मात्र भइरहेको उद्योगीहरूको गुनासो छ ।

माघदेखि मात्रै भट्टामा आगो लगाएर इँटा पोल्नुस् भनेर दिइएको आदेशले निकै सकस भइरहेको रौतहटका इँटा उद्योगीहरूले बताए ।

गृहमन्त्रालयकै निर्देशनमा स्थानीय प्रशासनले माघपछि मात्र इँटा पोल्न आदेश दिएको दाइभाइ इँटा भट्टाका सञ्चालक चौधरीको गुनासो छ । सरकारको यो आदेशले पनि उत्पादनमा नराम्रोसँग प्रभाव परेको उनले बताए ।

null

‘मंसिर/पुसदेखि नै भट्टा शुरू हुने हो । गृह मन्त्रालयले माघदेखि मात्रै पोल्न भनेको छ । यसै पनि माग कम छ । अझ माघदेखि मात्र पोल्न शुरू गर्ने हो भने २ लट इँटा निकाल्न पनि भ्याइँदैन । फागुन/चैतदेखि नै पानी पर्ने सम्भावना हुन्छ’, उनले भने, ‘कतिपय भट्टा शुरू भइसकेका थिए । त्यसलाई बन्द गर्न लगाइयो । एकचोटि भट्टामा आगो लगाइयो र त्यसलाई बन्द गर्नुपर्‍यो भने करिब ५ लाखसम्म इँटा नेक्सान हुन्छ ।’

यसका साथै बजार मूल्यमा पनि प्रतिस्पर्धा गर्ने अवस्था नै नरहेको उद्योगीहरूको भनाइ छ । मूल्य घटाउँदा पनि इँटाको माग बढ्न नसकेको उनले बताए ।

पढ्नुहोस्, आर्थिक मन्दीसम्बन्धी थप स्टोरी :

आर्थिक मन्दीको असर– थला परे रोडा उद्योग, थन्किएका टिप्परमा उम्रिन थाल्यो झार !

घरजग्गाको मन्दीले अर्थतन्त्रमा भयंकर डेडलक: व्यवसायीले ज्यान गुमाउने, सरकारले राजस्व !

मन्दीको मारले थिचिँदै छड उद्योग, समग्रमा ५० प्रतिशत पनि छैन बजार माग

salt training

कमेन्ट गर्नुहोस्