
कुनै समय वार्षिक २ करोड पिससम्म इँटा उत्पादन गर्ने रौतहटको ‘दाइभाइ इँटा उद्योग’ अहिले ३०/४० लाख पिस उत्पादनमा झरेको छ ।
भारतभन्दा सस्तोमा उपलब्ध गराउँदा पनि माग ४० प्रतिशतसम्म घटेको उद्योगका सञ्चालक मुकेश चौधरीले बताए ।
दुईवटा भट्टा चलाइरहेका चौधरीले एक वर्षअघि मात्रै एउटा बन्द गरेका रहेछन् । चलेको एउटा भट्टाबाट वार्षिक ३०/४० लाख इँटा मात्र उत्पादन भइरहेको छ ।
‘दुई भट्टा खोलेर चलाइएको थियो । एउटै भट्टाबाट १ करोडभन्दा बढी इँटा उत्पादन गरिन्थ्यो । दुईवटा भट्टा हुँदा २ करोडभन्दा बढी नै उत्पादन थियो’, उनले भने, ‘पछिल्लो ३/४ वर्षमा रौतहट जिल्लाभरि नै भट्टाहरू धमाधम बन्द भए । बजारमा माग पनि निकै कम भयो । एउटा भट्टा बन्द गरेर भत्कायौं । एउटा सञ्चालनमा छ । त्यसको उत्पादन पनि ३०/४० लाखमा सीमित छ ।’
जिल्लाभरीमा २३/२४ प्रतिशत भट्टा मात्रै सञ्चालनमा रहेको उनको दाबी छ । विशेष गरी रौतहटका इँटा काठमाडौं, पोखरा, चितवनलगायतका ठूला शहरमा जाने गर्दछन् ।
देशको अर्थतन्त्र आर्थिक मन्दीको चपेटाबाट बाहिर आएपछि उद्योगहरू पुनः लयमा आउने आशा गरिरहेको चौधरीले लोकान्तरसँग बताए ।
****
७ वर्षदेखि रौतहटमा इँटा उद्योग सञ्चालन गरिरहेका लालबाबु सहानीले लगानी डुबेर भट्टा बन्द गर्नुपर्ने अवस्था आएको गुनासो गरे । वार्षिक ८० लाखसम्म इँटा उत्पादन हुने गरेकोमा अहिले ३०/४० लाखमा खस्किएको उनले लोकान्तरसँग बताए ।
‘वार्षिक उत्पादन १ करोड पिससम्म हुनुपर्ने हो, हामीले ८० लाखसम्म उत्पादन गर्यौं । शुरूमा बजार राम्रै थियो र लगानी पनि राम्रै गरियो । दुई/तीन वर्षसम्म ठिकै चलिरहेको थियो’, उनले सुनाए, ‘त्यसपछि घट्दै गयो । अहिले उत्पादन आधाभन्दा तल झरिसकेको छ । लगाएको पुँजी मात्र पनि निकाल्न सकिन्छ कि भनेर सञ्चालन गरिरहेको छु । बन्द नै गरिसकेको भन्दा फरक पर्दैन ।’
****

कोभिड– १९ महामारीअघि वार्षिक ३५/४० लाख इँटा उत्पादन गर्ने एमबी इँटा उद्योग अहिले २० लाखमा खुम्चिएको सञ्चालक उमेश साहले बताए ।
विशेषगरी रौतहटको एमबी इँटा काठमाडौं, पोखरा र चितवनसम्म पुग्ने गरेको थियो । पछिल्ला २/३ वर्षदेखि ४० प्रतिशतसम्म उत्पादन घटिसकेको छ ।
‘४० लाखसम्म वार्षिक उत्पादन गर्थ्यौं । अहिले २० देखि अधिकतम २५ लाखको हाराहारीमा उत्पादन भइरहेको छ’, स हले भने, ‘प्राविधिक कारणले उत्पादन घटेको होइन । बजारमा माग नै घटेको छ । माग घटेपछि उत्पादन स्वतः घटिहाल्यो ।’
गत वर्षकै १० लाख इँटा स्टकमा रहेको साहले लोकान्तरलाई जानकारी दिए ।
****
सिरहाको गोलबजारमा २ वर्षअघिसम्म २ वटा भट्टा चलाइहेका चन्द्रदेव यादवले अहिले एउटा भट्टा मात्र चलाइरहेका छन् । उनले एउटा भट्टा भत्काएका रहेछन् । व्यापार घटेका कारण भट्टा भत्काउनुपरेको उनले बताए ।
वार्षिक ७०/८० लाख इँटा उत्पादन गर्ने यादवले अहिले बैंकको दोहोरो कर्जाको मारमा रहेको गुनासो गरे । उनका अनुसार सिरहा जिल्लामा रहेका भट्टामध्ये आधा बन्द अवस्थामा छन् । त्यसमा पनि ३० प्रतिशत भट्टामात्र पूर्ण क्षमतामा चलेका छन् ।
‘दुईवटा भट्टा चलाइयो । नराम्रोसँग डुबेर एउटा बन्द गर्नुपर्यो । शुरूआति समयमा राम्रै थियो’, उनले भने, ‘अहिले एउटा भट्टा मात्र चलिरहेको छ । त्यो पनि कहिले बन्द हुन्छ थाहा छैन । छोराले चलाइरहेको छ । म पुरानै कर्जामा डुबेको छु । कर्जाको ब्याज बुझाउनै ठिक्क छ ।’
कोइला, डिजेल र कामदारको लागत बढिसकेको, तर इँटाको मूल्य घटेर मारमा परेको गुनासो उनले गरे । सिरहा जिल्लामा २०७२ सालको भूकम्पपछि झन्डै ७ सयको हाराहारीमा सञ्चालन भएका इँटा उद्योग ७० प्रतिशत सखाप भएको चन्द्रदेव यादव बताउँछन् ।
‘मा जानकी इँटा भट्टा’ चलाइरहेका यादवले माग नै नभएकाले भट्टा बन्द गर्नुपर्ने अवस्था आएको गुनासो गरे ।
****
काठमाडौं उपत्यकालाई सबैभन्दा बढी इँटा सप्लाइ गर्ने जिल्ला हो, धादिङ । धादिङमा पनि पछिल्ला वर्षमा इँटा उद्योगको संख्या र उत्पादन दुवै घटेको छ ।
वार्षिक ८० हजारसम्म इँटा उत्पादन गर्ने शिवम् इँटा उद्योगले पछिल्ला वर्षहरूमा ५०/६० हजार मात्रै उत्पादन गर्दै आइरहेको सञ्चालक रामकृष्ण महर्जनले बताए । उत्पादनका साथै बजार माग पनि ४० प्रतिशतसम्मले घटेको उनको भनाइ छ ।
‘समग्रमा भन्दा ४० प्रतिशत माग घटेको छ । १४ रुपैयाँमा बेच्ने गरेको इँटा १२ रुपैयाँमा झरिसकेको छ’, उनले भने, ‘कोभिडपछि माग र उत्पादन दुवै घट्दै गएको हो । वार्षिक ८० लाखको उत्पादन ५०/६० लाखमा झरेको छ । गत वर्षकै ७ लाख इँटा स्टकमा छन् । माग नभएर स्टक बढेको हो ।’
धादिङ जिल्लामा कुल ३३ प्रतिशत इँटा उद्योग मात्रै सञ्चालनमा रहेको धादिङ इँटा उद्योग व्यवसायी संघका अध्यक्ष निराजन रेग्मीले बताए । जसमध्ये ३० प्रतिशतले मात्रै उत्पादन गरिरहेको उनको भनाइ छ ।
‘काठमाडौंमा झन्डै २५ प्रतिशत इँटाको माग धादिङ जिल्लाबाटै पूर्ति हुने गरेको छ । तर, पछिल्ला वर्षहरूमा कुल इँटा उद्योगमध्ये ३३ प्रतिशत मात्र सञ्चालनमा छन् । त्यसमा पनि ३० प्रतिशतले मात्रै उत्पादन गरिरहेका छन् ।’
वार्षिक ३३ करोडसम्म इँटा उत्पादन गर्ने धादिङ जिल्लामा अहिले ६/७ करोड इँटा उत्पादन भइरहेको अध्यक्ष रेग्मीले बताए ।
‘धादिङले वार्षिक ३३ करोडसम्म इँटा उत्पादन गर्ने गर्दथ्यो, जुन अहिले ६/७ करोड मा झरेको छ । गत वर्ष ७ करोड इँटा उत्पादन भएको थियो । त्यसअघि ५ करोडको हाराहारीमा उत्पादन भएको थियो । २/३ वर्षदेखि उत्पादन निरन्तर घटेको देखिन्छ’, उनले भने, ‘वार्षिक ६ करोडको हाराहारीमा इँटा उत्पादन गर्दा पनि ३ करोड इँटा स्टकमै बस्ने गर्छ । बजारमा माग नै छैन ।’
वार्षिक ८० लाख इँटा उत्पादन गर्ने भट्टाको उत्पादन ४० प्रतिशतसम्म घटेको धादिङ इँटा उद्योग व्यवसायी संघका सचिव सुमन सापकोटाले बताए । सापकोटाका अनुसार धादिङबाट काठमाडौंमा आउने इँटाको माग निकै कम भएको छ ।
****
भक्तपुरको चाँगुनारायण नगरपालिका– ९ स्थित ‘श्री सरस्वती इँटा भट्टा’ले अहिले ४० लाखको हाराहारीमा इँटा उत्पादन गरिरहेको छ । १० लाखभन्दा बढी पुरानै इँटा स्टकमा छन् ।
आफूहरू मात्र नभएर समग्र भट्टाको माग निकै घटेको उक्त इँटा उद्योगका सञ्चालक नातिभाइ होम्बाले लोकान्तरसँग बताए ।
‘धमाधम भट्टा खोल्नेहरू मात्रै बढे । तर, बजारमा इँटाको माग बढ्न सकेन, उल्टै घट्यो’, उनले भने, ‘त्यसले गर्दा पुराना र राम्रो पकड बनाएका उद्योगीहरू पनि डुबे । अहिले त पूर्णरूपमा यो व्यवसाय नै धराशायी अवस्थामा छ ।’
पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकाभित्र भट्टा सञ्चालनमा कडाइ गरिएको छ । यसका साथै उपत्यकाभित्रका स्थानीय तहले पनि भट्टा बन्द गराइरहेका छन् ।

मजदुर पनि भारतबाटै ल्याउनुपर्ने बाध्यता
नेपालका अधिकांश इँटा भट्टामा काम गर्ने मजदुर भारतबाट आउँछन् । एउटै भट्टामा २ सयदेखि ३ सयसम्म जनशक्ति आवश्यक हुन्छ । ९० प्रतिशत मजदुर भारतीय रहेको रौतहटको दाइभाइ इँटा उद्योगका सञ्चालक मुकेश चौधरीले बताए ।
‘हाम्रो भट्टामा २ सयभन्दा बढी कामदार आवश्यक पर्छन् । त्यसमा पनि ९० प्रतिशत कामदार भारतबाटै आउने गरेका छन्’, उनले भने ।
नेपालीहरूले आफ्नै ठाउँमा काम गर्न नरुचाउने गरेको उनको भनाइ छ ।
इँटा उद्योगीहरूका समस्या
विशेष गरी इँटा बनाउने तयारी भदौ/असोजबाट शुरू हुने गर्दछ । असोजसम्म पनि झरी पर्न सक्ने भएकाले काँचो इँटा बनाउने काम भने कात्तिकबाट शुरू हुन्छ ।
कात्तिक र मंसिरमा बनाइएका काँचा इँटालाई पुस र माघमा भट्टाभित्र राखेर पोलिन्छ । पुस, माघ र फागुनमा विभिन्न लटमा इँटा पोलेर निकाल्ने काम हुन्छ ।
कतिपय भट्टामा चैतसम्म पनि इँटा पोल्ने काम जारी रहन्छ ।
वर्षको एक मौसम अर्थात् ६/७ महिना मात्रै चल्ने इँटा उद्योगलाई सरकारका विभिन्न निकायबाट दुःख दिने काम मात्र भइरहेको उद्योगीहरूको गुनासो छ ।
माघदेखि मात्रै भट्टामा आगो लगाएर इँटा पोल्नुस् भनेर दिइएको आदेशले निकै सकस भइरहेको रौतहटका इँटा उद्योगीहरूले बताए ।
गृहमन्त्रालयकै निर्देशनमा स्थानीय प्रशासनले माघपछि मात्र इँटा पोल्न आदेश दिएको दाइभाइ इँटा भट्टाका सञ्चालक चौधरीको गुनासो छ । सरकारको यो आदेशले पनि उत्पादनमा नराम्रोसँग प्रभाव परेको उनले बताए ।

‘मंसिर/पुसदेखि नै भट्टा शुरू हुने हो । गृह मन्त्रालयले माघदेखि मात्रै पोल्न भनेको छ । यसै पनि माग कम छ । अझ माघदेखि मात्र पोल्न शुरू गर्ने हो भने २ लट इँटा निकाल्न पनि भ्याइँदैन । फागुन/चैतदेखि नै पानी पर्ने सम्भावना हुन्छ’, उनले भने, ‘कतिपय भट्टा शुरू भइसकेका थिए । त्यसलाई बन्द गर्न लगाइयो । एकचोटि भट्टामा आगो लगाइयो र त्यसलाई बन्द गर्नुपर्यो भने करिब ५ लाखसम्म इँटा नेक्सान हुन्छ ।’
यसका साथै बजार मूल्यमा पनि प्रतिस्पर्धा गर्ने अवस्था नै नरहेको उद्योगीहरूको भनाइ छ । मूल्य घटाउँदा पनि इँटाको माग बढ्न नसकेको उनले बताए ।
पढ्नुहोस्, आर्थिक मन्दीसम्बन्धी थप स्टोरी :
आर्थिक मन्दीको असर– थला परे रोडा उद्योग, थन्किएका टिप्परमा उम्रिन थाल्यो झार !
घरजग्गाको मन्दीले अर्थतन्त्रमा भयंकर डेडलक: व्यवसायीले ज्यान गुमाउने, सरकारले राजस्व !
मन्दीको मारले थिचिँदै छड उद्योग, समग्रमा ५० प्रतिशत पनि छैन बजार माग