
भागवतमा व्यासजीले विराट् सृष्टिको कुरा गरेका छन् । सामान्यतया विराट्को अर्थ हुन्छ ठूलो । यस अर्थमा कतिलाई लाग्न सक्छ उनले कुनै स्थूल चीज सृष्टिको कुरा गरेका होलान् तर, वास्तविकता त्यो होइन । उनले जुन विराट्को कुरा गरेका छन्, त्यो भनेको चराचर जगत् गर्भित सृष्टिपूर्वको परमाणु हो ।
उनका अनुसार सृष्टिपूर्व प्रच्छन्न अन्धकारबाहेक केही पनि थिएन, जसले गर्दा त्यसमा विद्यमान आत्माको पनि आत्मा परमात्मा परमाणुले खिन्नताबोध गर्यो र आफैँभित्र सुषुप्तावस्थामा रहेको मायाशक्तिलाई जागृतगरी उसैमार्फत् महत्तत्व प्रकट गरे, जसमा समग्र सृष्टिबीज स्थापित थियो । त्यसलाई सोही मायाशक्तिले विस्तारै रूपान्तरित गर्यो । फलतः अहङ्कार उत्पन्न हुन पुग्यो, जो कार्य (अधिभूत) कारण (अध्यात्म) र कर्ता (अधिदैव) रूप हुनाले पञ्चमहाभूत, इन्द्रीय तथा मनको समेत कारण थियो ।
विस्तारै सोही मायाशक्तिका कारण सो अहङ्कार सात्विक, राजसिक र तामसिकगरी तीनभागमा विभक्त हुन पुग्यो । यीमध्ये सात्विक अहङ्कारबाट मन र इन्द्रीयका देवता अर्थात् इन्द्रीयका विषय ज्ञान गराउने शक्ति उत्पन्न भए । राजसिक अहङ्कारबाट १० इन्द्रीय र तामसिक अहङ्कारबाट तन्मात्राहरू र आत्माको बोध गराउने तत्व आकाश प्रकट भयो । विस्तारै आकाश तत्व विकृत भई वायु उत्पन्न हुन पुग्यो । पछि क्रमशः विकृत हुँदै वायुबाट रूपतन्मात्रा तथा उसको कार्य तेज र त्यसैबाट रसतन्मात्राको कार्य जल उत्पन्न भयो । त्यसपछि अर्को चरणमा पुगेर सोही रसतन्मात्राको कार्य गन्धगुणमयी पृथिवी उत्पन्न भयो तर छरिएर रहेकाले तिनले कुनै कार्य गर्न सकेनन् ।
जब परमात्मास्वरूप ईश्वरले सङ्ठित नभएकाले तिनीहरूले कार्य गर्न सकेनन् भन्ने थाहा पाए त्यसपछि उनी उल्लिखित महत्तत्व, अहङ्कार, पञ्चमहाभूत, पञ्चतन्मात्रा र मनसहित ११ इन्द्रीयको सामूहिक स्वरूप २३ तत्वलाई एकत्रित गरी त्यसमा आफैं प्रवृष्ट भए । त्यसपछि त्यस अदृष्ट परमाणुले विराट् उत्पन्न गर्यो । अर्थात् ती विश्व रचना गर्ने महत्तत्वादि २३ तत्व सङ्गठित भई परिणामउन्मुख भए । यिनै परिणामउन्मुख उल्लिखित २३ तत्वको सामूहिक रूप नै विराट् हो, जहाँ चराचर जगत विद्यमान छ । यसरी विराट् उत्पत्ति त भयो तर त्यो पनि हजारौँ वर्षसम्म निष्क्रिय अवस्थामै रह्यो ।
जब विराट्समेत घना अन्धकारमा निष्क्रिय रहेको पाए त्यसपछि उही परमाणुरूपा परमात्माले आफ्ना तेजद्वारा त्यसलाई प्रकाशितगरी जागृत गराए । जब विराट जागेर चलमल गर्न थाल्यो तब उसलाई भोक लाग्न थाल्यो । त्यसपछि सोही भोकले मुख प्रकट गरायो । मुख प्रकट हुनु के थियो त्यसमा आफ्नो अंश वागिन्द्रीयसहित अग्नि प्रवृष्ट भए । त्यसपछि बिस्तारै सोही विराट्को शरीरमा तालु उत्पन्न हुन पुग्यो, जसमा आफ्नो अंश रसनेन्द्रीयसहित उसको देवता वरुणले प्रवेश गरे । त्यसपछि बिस्तारै विराट्को शरीरमा नाक प्रकट भयो, जसमा आफ्नो अंश घाणेन्द्रीयसहित अश्विनीकुमारले प्रवेश गरे ।
त्यसपछि विस्तारै विराट्को शरीरमा आँखा उत्पन्न भयो, जसमा आफ्नो अंश नेत्रेन्द्रियसहित सूर्यले प्रवेश गरे । त्यसपछि कालक्रममा विराट्को शरीरमा त्वचा उत्पन्न हुन पुग्यो, जसमा आफ्नो अंश त्वगिन्द्रीयसहित वायुले प्रवेश गरे । त्यसपछि क्रमशः विराट्को शरीरमा कर्णछिद्र उत्पन्न भयो, जसमा आफ्नो अंश श्रवणेन्द्रीयसहित दिशाहरूले प्रवेश गरे । त्यसपछि कालक्रममा विराट्को शरीरमा छाला उत्पन्न भयो, जसमा आफ्नो अंश रोमसहित औषधिहरू स्थित भए । त्यसपछि अघिकै क्रममा विराट्को शरीरमा लिङ्ग उत्पन्न भयो, जसमा आफ्नो अंश वीर्यसहित प्रजापतिले प्रवेश गरे ।
त्यसपछि सोही विराट्को शरीरमा गुदद्वार प्रकट भयो, जसमा आफ्नो अंश वायुसहित मित्र प्रविष्ट भए । त्यसपछि विराट्को शरीरमा हात प्रकट भयो, जसमा आफ्नो अंश ग्रहण गर्ने र त्याग गर्ने शक्तिसहित इन्द्रले प्रवेश गरे । त्यसपछि विराट्को शरीरमा गोडा प्रकट भए, जसमा आफ्नो अंश गतिसहित विष्णुले प्रवेश गरे । त्यसपछि सोही विराट्मा बुद्धि प्रकट भयो, जसमा बुद्धिशक्तिको अंशसहित वाक्पति ब्रह्माले प्रवेश गरे । त्यसपछि सोही विराट्को शरीरमा हृदय प्रकट भयो, जसमा आफ्नो अंश मनसहित चन्द्रमाले प्रवेश गरे ।
त्यसपछि विराट्को शरीरमा अहङ्कार प्रकट भयो, जसमा आफ्नो अंश क्रियाशक्तिसहित अभिमानी रुद्रले प्रवेश गरे । त्यसपछि विराट्मा चित्त प्रकट भयो, जसमा आफ्नो अंश चित्शक्तिसहित महत्तत्व ब्रह्माले प्रवेश गरे । यही नै व्यासजीको सृष्टिविज्ञानको व्याख्यान हो तर यहाँनेर प्रष्ट हुनुपर्ने के हो भने यो व्याख्यान अविधा अर्थमा मात्र हो । यसको लक्षणार्थ त अर्कै छ ।
जस्तो विराट् भनेको कुनै ठूलो आकृतिको चीज नभई सृष्टिको समग्र बीजगर्भित परमाणु हो भन्ने माथि नै प्रष्ट भइसकेको छ । विराट्बाट महत् उत्पन्न भयो भनेको सोही सृष्टिबीज गर्भित परमाणु विस्फोट भई अनेक किसिमका पदार्थ उत्पन्न भए भन्ने हो । उनीहरू छरिएर रहेकाले काम गर्न सकेनन् भन्नुको अर्थ तिनीहरू एकआपसमा सम्मिलित हुनुभन्दा पूर्वको अवस्था हो ।
भगवान्ले तिनलाई एकत्रित गरी परिणामउन्मुख गराए भन्नुको अर्थ तिनीहरू एकत्रित भई कार्यान्वयनको चरण पुगेको अवस्था हो, जसबाट निर्जीव ब्रह्माण्ड र सजीव ब्रह्माण्ड सृष्टि हुन पुगेको छ । यसमा निर्जीव ब्रह्माण्ड त तत्कालै बनिहाल्यो जब विस्फोटित परमाणुहरू एकत्रित भएका थिए तर सजीव अर्थात् चेतन ब्रह्माण्डको संरचनामा भने निकै लामो चरण पार गर्नुपरेको देखिन्छ, जुन कुरालाई व्यासजीले उपोक्तानुसार चरणबद्धरूपमा अथ्र्याउने काम गरेका छन् ।
यसरी अलिकति गहिरिएर विश्लेषण गर्ने हो भने निर्जीव र सजीव ब्रह्माण्ड सृष्टिमा आधुनिक विज्ञानले अहिले आएर जुन कुरा गर्न थालेको छ आध्यात्मिक विज्ञानले त्यसको चर्चा हजारौँ वर्षपूर्व नै गरिसकेको प्रष्टै अनुभूत गर्न सकिन्छ । अस्तु आजलाई यति नै ।