
समुद्र बीचबाट बनाइएको बाटोबाट हामी हेरिटेज भिलेजका छेउमा पुगेका थियौं ।१८औं शताब्दीमा अमेरिका कस्तो थियो होला भन्ने कल्पनामा डुब्दै हामी गेटभित्र पसेका थियौं ।
हेरिटेज भिलेजको कलात्मक गेटको मीठो सम्झना गर्दै म पलङमा पल्टिरहेको थिएँ । हामी पहिलेको अमेरिकामा थियौं । हाम्रासामु सिकारको प्रतीक्षामा बसिरहेका एक बुढाको छायाँछवि देखा पर्यो । बुढा सिकारी बन्दुक बोकेर काठको घरको टाँडमा बसेका थिए । उनका काखमा बन्दुक र छेउमा एउटा कुकुर थियो । नजिकै धिपधिपे लालटिनको उज्यालो । त्यो देख्दा मैले उहिले महेश्वर झोडामा सिकार खेल्न हिँडेका हाम्रा मितबा भक्तबहादुर शाही बाबुसाहेबलाई सम्झेँ । हामी सानै छँदा उहाँ त्यसैगरी बन्दुक भिरेर कम्मरमा गोलीको पेटी लगाएर हिँड्नुहुन्थ्यो ।
हेरिटेज भिलेजभित्र स–साना काठका घरहरू यत्रतत्र छरपस्ट देखिन्थे । ती घरहरूले मलाई झण्डै साठी वर्ष पहिलेको अवस्थामा पुर्याए । मोरङको दुलारीमा पर्ने महेश्वर झोडामा जंगल फाँडेर आबादगरी बस्ने हामी झोडालीका घरहरूको सम्झना गराउँथे । सबै रुख ढालेका थिएनन्, अजंगका रुखका छेउमै हाम्रा घर हुन्थे, हुरीबतास आउँदा ती रुख लडेर घरै किच्ने हुन् कि भनेर हामी थर्कमान हुन्थ्यौं । त्यहाँ जताततै त्यस्तै घर टहराहरू थिए ।
ती कुनै घरका बाहिर अर्धनग्न युवतीहरू आफ्ना नितम्ब प्रदर्शन गरेर बसेका देखिन्थे । एउटा घरका आँगनमा भने पहिले कहिल्यै नदेखेका, अनौठा पोशाकले शरीर ढाकेका मसिना बालबालिका, युवायुवती र बुढाबुढीहरू नाच्दै गाउँदै हात हल्लाएर अठारौं शताब्दीको संयुक्त राज्य अमेरिकामा हामीलाई स्वागत गरिरहेका थिए ।
नाचगान देख्दा हाम्रा गाउँमा लिम्बू जातिका युवायुवतीले हातमा हात समातेर धान नाचेको सम्झना भयो । उनीहरूले रंगीचंगी कपडाका लुगा र विभिन्न स्टोनका गहना लगाएका थिए । सोधखोज गरेपछि थाहा भयो उनीहरूले त अमेरिकाका परम्परागत पोसाक पो लगाएका रहेछन् । ‘हेरिटेज भिलेजमा तपाईंहरूलाई स्वगत छ । तपाईंहरू कुन महादेशबाट आउनुभएको हो ?,’ एक नवयुवकले विनम्रतापूर्वक अंग्रेजी भाषामा मसित सोध्यो । ‘एसिया महादेशबाट,’ मैले विस्तारै जवाफ दिएँ ।
झण्डै ६ फिट अग्ली खाइलाग्दी अधबैंसे गोरी महिलाले नजिकै आएर मलाई च्याप्प अँगालेमा बाँधी । भित्र पसेका मेरा गालामा फुलेका रोटीजस्ता उसका गाला मिलाई अनि अर्कातिर फर्केर ‘च्वाक्क’ पारी । मलाई हजार भोल्टको करेन्ट लागेको अनुभूति भयो । मनमनै मैले भने ‘हैट !’
‘एसियाको कुन देश ?’ अर्की नवयुवतीले सुन्तलाका केस्राजस्ता ओठबाट फुस्कन मुस्कान समाल्दै प्रश्नको अङ्कुसेले मलाई स्वाट्ट तानी ।
‘नेपाल’ मैले भनें, ‘डु यु नो ? कन्ट्री अफ माउन्ट एभरेस्ट ?’
मेरा कुरा सुनेर ती दुवै जना निकै रोमाञ्चित देखिए । मप्रति निकै सद्भाव प्रकट गर्न थाले । युवतीले मेरा पाखुरा समातेर भनी ‘वाओ, कन्ट्री अफ माउण्ट एभरेस्ट ?’
उनीहरूले गरेको सम्मानले म खुसी हुनु स्वाभाविकै थियो । सम्मान पाउँदा खुसी नहुने र अपमान हुँदा दुःखी नहुने यो सिंगो भूगोलभित्र नै को होला र ?
‘आज संसारभरि कै उच्च पहाडी क्षेत्रबाट यो भिलेज हेर्न आएका मानिसहरूलाई केहीबेर हामीले यहाँ रोकेर ती अग्ला हिमाल र पहाडका नजिक बसेर आफूले गरेका आफ्ना मीठामीठा अनुभव आदानप्रदान गर्ने एउटा परिचयात्मक कार्यक्रम राखिएको छ । तपाईं पनि त्यस कार्यक्रममा भाग लिन सक्नुहुनेछ । माउण्ट एभरेस्टका देशबाट आउनुभएको भन्ने सुन्दा पनि हामीलाई धेरै खुशी लाग्यो । विश्वकै सर्वोच्च शिखरको मुलुकबाट आएका पाहुनाको पनि हामीले स्वगत गर्न पायौं, यो हाम्रो ठुलो भाग्य पनि हो,’ युवकले अंग्रेजीमा भन्यो ।
मैले उसलाई भने ‘थ्याङ्कयु ।’
‘माउण्ट एभरेस्टमा त यति भन्ने स्नो मेन हुन्छ रे, त्यो तिमीले देखेका छौ ?,’ त्यही युवतीले मलाई सोधी ।
‘मैले भने यति त देखेको छैन । तर उसका हिउँमा परेका पाइलाहरूका डोब भने हिमाल चढ्नेहरूले देखेको कुरा गर्छन्,’ मैले विस्तारै भने ।
हाम्रो टोलीमा भएका मेरी पत्नी, छोरी ज्वाइँ कोही पनि कार्यक्रममा बसेनन् । अरू तीनै जना कार्यक्रममा सहभागी नहुने भएर हेरिटेज भिलेजबाट हिँडेछन् । म यहाँको महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने भएर ती आयोजकका पछि पछि लागें । आयोजकहरूले मलाई हेरिटेज भिलेजभित्र एउटा काठैकाठको ठुलो घरभित्र लगे ।
त्यो चिरान नगरी गोलागोला काठैकाठको ठुलो घर थियो । घरले मलाई उहिले इटहरी चोकमा भएको महेश्वर लिम्बूको ठुलो घरको सम्झना दिलायो । महेश्वर लिम्बूको पनि चिरान नगरेका गोला काठहरूबाट बनेको विशाल घर थियो । हेरिटेज भिलेजभित्रको त्यस विशाल घर देखेर मैले जिभ्रो टोकें । त्यहाँ भुईँ, भित्ता र दलिनमा सबैतिर चिरान नगरेका गोलागोला काठहरू थिए । त्यहाँ विभिन्न रुपरंगका मानिसहरू बसेका थिए ।
आयोजकले मलाई सबैका सामु उभ्याएर भने ‘यहाँ आज माउण्ट एभरेस्टबाट आउनुभएका हाम्रा पाहुना पनि हुनुहुन्छ । उहाँलाई करतल ध्वनिका साथ स्वगत गरौं ।’ उनीहरूले ताली बजाएर मेरो स्वगत गरे । मैले सबैलाई आफ्ना दुवै हातका मुठी कसेर माथि लगी सबैलाई अभिवादन गरें । ला, मैले त कम्युनिस्ट अभिवादन पो गरेछु । त्यो पनि अमेरिकाजस्तो कम्युनिस्ट विरोधी देशमा । पहिले-पहिले कम्युनिस्ट पार्टीमा लाग्दाको भूतले आज पनि मलाई नछोडेको कटु अनुभूति भयो । नेपालका कम्युनिस्ट पार्टीका भ्रातृ संगठनहरूले पनि आफ्ना नाममा कम्युनिस्ट राख्दा रहेनछन् । लाग्यो, मैले कम्युनिस्ट अभिवादन गर्न नहुने थियो । त्यसबेला मैले मेरी स्वर्गवासी आमालाई झलक्क सम्झिएँ । आमा भन्नुहुन्थ्यो ‘कम्युनिस्टले साठी नाघेका बुढाबुढीलाई मार्छन् भन्थे, होइन रहेछ , बरु बुढाबुढीलाई भत्ता दिँदा रहेछन्, कति राम्रो, तर उनीहरूले नमस्ते गर्दा मुड्की उजाएको चाहिँ पटक्कै राम्रो लागेन है बाबु ! सक्छस् भने उनीहरूका नेतासम्म मेरा कुरा पुर्याई दे ।’ मेरी आमाले भन्नुभएको कुरा मेरा कानमा गुन्जेजस्तो भयो ।
त्यहाँ जति मानिस थिए ती सबै भुइँको कार्पेटमा अनुशासित भएर बसेका थिए, मलाई पनि उनीहरूले ओछ्याएको कार्पेट मै बसाए । कार्पेटको अघिल्लो भागमा चार/पाँच जना बौद्ध भिक्षुहरू पनि बसेका थिए । बौद्ध भिक्षुहरूलाई देख्दा मेरो शिर श्रद्धाले निहुरियो ।
मैले त्यहाँको कार्पेटमा बसेका सबैको अनुहारमा आलोपालो हेरेँ र त्यहाँ कोही जापानी, कोही चिनियाँ, कोही फ्रेन्च त कोही अमेरिकीजस्ता देखिने मानिसहरू बडो शान्तसित बसेका देखेँ । मेरा छेउमा एक जना हाम्रा राई लिम्बूजस्तै अनुहार गरेका मानिस बसेका थिए । मैले उनलाई नेपालीमा सोधें तपाई नेपाली हो ? उनले कुरा नबुझेर मलाई अंग्रेजीमा भने ‘सरी !’ ‘ह्वेर ह्याब यु कम फ्रम ?’ मैले प्रश्न गरिसकेपछि उनले विस्तारै भने ‘फ्रम भियतनाम । डु यु नो भियतनाम ?’ उनले मसित प्रश्न राखे ।
‘कन्ट्री अफ हो चि मिन’ मैले भनेको सुनेपछि उनी ज्यादै खुशी भए । उनले मलाई नाम सोधे मैले भने ‘एलडीजी’ र उनले आफ्नो नाम ‘मानो’ भएको बताए । हामी दुवै जना बडो रमाइलोसित साउती मारेर कुरा गरिरहेका थियौं । हाम्रो कुराकानीलाई त्यहाँका आयोजकहरूले उत्सुकता साथ हेरिरहेका थिए ।
मैले मोबाइल क्यामेरा मिलाएर हाम्रो फोटो लिई दिन एक जना सहभागीलाई अनुरोध गरेको थिएँ । सुनजस्तै कपाल भएकी एउटी गोरी मान्छे आफ्ना तीन जना छोराछोरी वरिपरि राखेर बसेकी थिई । ऊ जुरुक्क उठेर हाम्रा नजिकै आएर विस्तारै भनी ‘हेरिटेज भिलेजको आजको यस कार्यक्रमको फोटो नखिच्नुहोला, हामी आज अठारौं शताब्दीको अमेरिकामा छौं । हामीले आज धेरै पहिलेको अमेरिकाको सम्झना गर्दैछौं । फेरि यहाँ बौद्ध भिक्षुहरू पनि हुनुहुन्छ । आज बौद्धमार्गी गुरुहरू पनि आउनुभएको छ । उहाँहरूले र यस कार्यक्रममा फोटो नखिच्ने शर्तमा मात्र यहाँ सहभागिता जनाउनुभएको हो । फेरि त्यस बेलाको अमेरिकामा यसरी फोटो खिच्ने चलन पनि त थिएन,’ ती महिलाले ठट्यौलो रूपमा भनिन् ।
उनका कुरा सुनेपछि मैले, ‘ओ के नो प्रोब्लम’ भन्दै मोबाइल राखेँ । कतिपय धर्म मान्नेहरू आफ्नो फोटो खिच्दा आयु घट्छ भन्ने ठान्दा रहेछन् । त्यहाँ कपाल खौरेका र गेरु वस्त्र लगाएका बौद्ध भिक्षुहरूलाई पहिले नै देखेर मैले नमन गरेको थिएँ ।
त्यहाँ भेला भएका अरूहरू पहाडी क्षेत्रका मानिससँग पनि मेरो पनि परिचय गराए । परिचय हुँदा विदेशीहरू कोही मसित हात मिलाउँथे, कोही छातीमा छाती जोडेर र गालामा गाला जोडेर अर्कातिर फर्केर च्वाक्क पार्दथे । आ-आफ्नो अभिवादनको तरिका ।
मलाई एक तमासको रमाइलो अनुभव हुँदै थियो । त्यसैबीच एउटी झण्डै छ फिट अग्ली गोरी खाइलाग्दी अधबैंसे महिला मेरा नजिकै आई । उसले मलाई आफ्नो अँगालेमा च्याप्प पारेर बाँधी, उसका छातीले मेरा छातीलाई कचक्क पारेर थिची, मेरा भित्र पसेका गालामा उसका पुटुक्क फुलेका रोटीजस्ता गाला ट्याप्प पारेर जोडी अनि अर्कातिर फर्केर सायद च्वाक्क पारी । मलाई हजार भोल्टको नाङ्गो तारले छोएको अनुभूति भयो । मैले भने ‘हैट !’ त्यसबेला टाढा एउटा गीत बजिरहेको थियो ‘बिजुलीको तार तार तार ...।’
मैले त्यसबेला सोचें धन्न अहिले मेरी पत्नी र छोरी ज्वाइँ कार्यक्रममा भाग लिन नआएको पनि राम्रै भयो । उनीहरूले यो दृश्य देखेका भए के भन्थे होला ?, हैट ! सोचें अभिवादनका किसिम पनि ठाउँ पिच्छे फरक फरक, लाग्यो दुवै हात जोडेर नमस्ते गर्ने हाम्रो जति राम्रो अभिवादन त अरू कुन होला र ? बरु मुड्की उजाउने पनि राम्रै रहेछ ।
माउण्ट एभरेस्टका देशका मानिस भनेर त्यहाँ उपस्थित प्रायः सबै जनाको ध्यान मतिरै खिचिएको बुझ्न मलाई गाह्रो थिएन । उनीहरू आ-आफ्नै भाषामा नेपाल र नेपालीका विषयमा कुरा गरिरहेका थिए । उनीहरू मसित लामो कुराकानी गर्न चाहन्थे । एउटी गोरीले मलाई अँगालोमा बाँध्दै विस्तारै भनी ‘त्यत्रो माउण्ट एभरेष्ट भएका देशका मान्छे कति विशाल होला तिमीहरूको छाती ?’
म मनमनै भनिरहेको थिएँ, सगरमाथाका देशको मानिस भए पनि मैले सगरमाथा त फोटाबाहेक अन्त कतै देखेको होइन । मेरा आँखाले आफ्नो देशमा हिउँ परेको देख्न पाउँदै पाएका थिएनन् । न मेरा पैतालाले नै कहिले स्वदेशमा हिउँ कुल्चने मौका पाएका थिए ।
मैले सबैभन्दा पहिले जर्मनीको फ्याङफर्टमा हिउँ कुल्चिएको हुँ, अनि अमेरिकाका शिकागो शहरमा कपास झरेजस्तो गरेर बाक्लैगरी हिउँ परेको देखेको हुँ ।
त्यसबेला सगरमाथाका काखमा बसेको नाम्चेबजारसम्म पनि आफू नपुगेकोमा मलाई आत्मग्लानि भएको थियो ।
हिमाली भेकको कुनै दिन मैले भ्रमण गरेको भए त्यहाँका विषयमा मैले धेरै कुरा बताउन सक्ने थिएँ । आफूलाई अनुभव नभएको हुनाले हिमालय पहाडका विषयमा धेरै कुरा भन्न मेरो मुख पनि लागेको थिएन । उनीहरूका कुरा सुनेर माउण्ट एभरेस्टका देशको मान्छे म नबोली चुपचाप हाँसहरूकाबीच बकुलो बनेर बसें, बसिरहें ।
मैले भने ‘सर्वोच्च शिखर माउण्ट एभरेस्टले त नेपाललाई विश्वमा चिनाइरहेको छ । माउण्ट एभरेस्टबाहेक अरू हिमशिखरहरूको भने खासै चर्चा हुँदैन । विश्वका टप टेनमध्ये नेपालमा रहेका बाँकी सात वटा उच्च हिमालहरू मकालु, कञ्चनजङ्घा, लोत्से, चोयु, धौलागिरि, मनास्लु र अन्नपूर्ण हिमाल हुन् ।’ उनीहरू हामीलाई भनिरहेका थिए ‘संसारप्रसिद्ध धेरै हिमालहरू आफ्नै देशमा पाउने तिमी नेपालीहरू कति भाग्यमानी छौ ।’
पेपरवेटले कागजलाई थिचेजस्तो एक चोइली भातले कचक्क किचेका मेरो देशका हुँदा मात्र हातमुख जोड्न पाउन मेरा दाजुभाइको मलिन अनुहार मैले झलक्क सम्झिएँ । जुन देशका जनताका अङ्गप्रत्यङ्ग गरिबी र अभावले सधैं चिहाउने गर्छ । अनमोलको युरेनियम यही देशमा छ, जलसम्पदाको राजा देश हो , प्राकृतिक सौन्दर्यको खानी नै हो, तैपनि देश गरीब छ । एकजना चिनियाँले एकपटक लेखेका थिए रे ‘नेपाल सुनको कमण्डलु लिएर भीख मागिरहेको छ ।’ यो कथित राजा र नेताहरूले बिगारेको देश हो, यहाँका नेताहरू जनताको रगत र पसिनाबाट उठाएको करमा ढलिमली गरेर विदेशमा लगानी गर्छन्, दलाल नेता, भ्रष्ट कर्मचारी, कालाबजारिया र कुत्तेका दाना खाने पत्रकारले ध्वस्त पारेको देश हो,’ विदेशी भूमिमा मैले त्यो भन्नु त आफ्नै आङ कन्याएर छारो उडाउनु हो भन्ने मलाई राम्रो हेक्का थियो ।
यहाँ सिंगो धरती ओछ्याएर अनि आकाश ओढेर सुत्ने जनताको संख्या दिनहुँ बढिरहेको छ । मैले केही त बोल्नै पर्यो भन्ने ठानेर भने ‘आगो र हिमाल टाढा भएका आँखाका लागि मात्र सुन्दर लाग्छन्, तिनीहरूलाई भोग्न पर्यो भने त्यसको पीडा वर्णन गर्नै नसकिने हुन्छ ।’ मेरा कुरा सुनेर उनीहरूले ताली पिटे ।
उनीहरूलाई मैले मनमनै भने ‘भाग्यमानी र अभागी भन्ने कुरा त नेपालमा जन्मेका भए थाहा पाउँथ्यौं, त्यहाँको जीवन कति कष्टकर छ भनेर ।’ तर उनीहरूलाई मैले मुखले ठिक पार्दै भन्न बिर्सिन ‘धन्यवाद ! धन्यवाद ! तपाईंहरू सबैलाई धेरै धन्यवाद !’
आल्पस, माउण्ट किलोमन्जरोदेखि फुजी पहाडसम्मका मानिस त्यसदिन त्यहाँ भेला भएका रहेछन् । नारितो ताकाहासीकी एक जापानी महिलाले मेरा नजिकै आएर मलाई नेमकार्ड दिँदै भनी ‘तिमी र म दुवै एसियाका हौं नि, हामी एसियन भएकोमा गर्व गर्दछौं ।’ उसले मसित आफ्ना रुवाजस्ता नरम हात र काश्मिरका स्याउजस्ता गाला मिलाई ।
जुन हलमा हाम्रो भेला भएको थियो नि, त्यो हल प्राचीन कालमा टोल छरछिमेकका मानिसहरूबीच झैंझगडा भयो भने स्थानीय भद्र भलाद्मी मानिसहरू भेला भएर नियाँ निसाफ दिने ठाउँ रहेछ । पञ्च कचहरी बसेर निर्णय गर्ने ठाउँ रहेछ । आयोजकले त्यसका विषयमा जानकारी गराए ।
केहीबेरको छलफलपछि त्यो कार्यक्रम समाप्त भएको उनै सुनकेसी युवतीले उद्घोष गरिन् । सबै त्यस घरबाट बाहिर निस्किए । म पनि उनीहरू सीतै हेरिटेज भिलेज भित्रका बस्तीहरू हेर्न निस्किएँ । कतिपय मानिसले त त्यहाँ मसित सम्झनाका लागि अटोग्राफ मागे । अटोग्राफमा सही गर्दै आफ्नो नेमकार्ड दिँदै सबैसित पालैपालो मैले हात मिलाएँ ।
हामीलाई सबैभन्दा पहिले हेरिटेज भिलेजमा सम्मेलनको कुरा बताउने आयोजक युवकले भन्यो ‘एसियाबाट आउनेले त सजिलै यहाँको भिलेजका विषयका बुझ्न सक्नुहुनेछ ।’
उसको यो भनाइको अर्थ खोज्न मैले निकै बेर निदार खुम्च्याएँ । उसले अहिलेसम्म पनि तिमीहरूको एसिया महादेश यस्तै छ भनेको पनि हुन सक्छ, अथवा अति पुरानो सभ्यता र संस्कृति भएका एसियाका मानिसहरू आँ गर्दा अलंकार बुझ्छन् भनेको पनि त हुनसक्छ । मैले फेरि सोचें यी दुवै नभएर कुनै तेस्रो पनि हुन के आइतबार !
हुन पनि हाम्रो देशका ग्रामीण क्षेत्रमा हिजोआज पनि यस्तै कच्ची घरहरू छन् । त्यहाँ कुनै घर त छाउपडी झुपडी जत्रा मात्र पनि थिए । हेरिटेज भिलेजभित्र भएका राम झुपडीहरू हेरेर अमेरिका पनि पहिले त हामीभन्दा खासै फरक रहेनछ भन्ने लाग्यो । हेरिटेज भिलेजभित्रका बाटाहरू पनि साँघुरा थिए, धेरै त गोरेटाहरू थिए ।
हामी अठारौं शताब्दीको अमेरिका हेर्दै अगाडि बढ्यौं । हाम्रा गाउँमा विश्वकर्मा काकाहरूले, फाली, करुवा, हँसिया, कोदाला, खुर्पा, बन्चरा र अरू औजार बनाउने परम्परागत कारखाना आरनजस्तै एउटा निकै ठुलो आरन पनि थियो त्यहाँ ।
अमेरिका र युरोपबाट हेरिटेज भिलेजको मजा लिन आएकाहरू खलाँतीले आगो फुकेको देखेर पनि अनेक प्रश्न गरिरहेका थिए । एउटी सुन्दरी अर्धनग्न युवती र अधबैंसे लोग्नेमानिस पालो गरी गरी उनीहरूका जिज्ञासा शान्त पारिरहेका देखिन्थे । हाम्रा लागि त न खलाँती अचम्मको थियो न सनासो, न हथौडा, न घन न कोइला ।
त्यहाँबाट हामी केही अगाडि बढ्यौं । त्यहाँ एउटा चर्च थियो । चर्चमा पास्टरले उभिएर प्रवचन गर्ने ठाउँमा एउटा स्ट्यान्ड थियो । क्याम्पसहरूमा प्राध्यापकहरूले कक्षामा प्रयोग गर्ने अग्लो टेवलजस्तै टेबलमाथि एकप्रति बाइबल कपडामाथि राखिएको थियो । एकजना सहभागीले सोधी ‘होइन यो बाइबल पनि त्यसै बेलाको जस्तो पो छ त ।’ मैले त्यसलाई निकै मसिनोसँग हेरें त्यो लेटरप्रेसमा छापिएको प्रति रहेछ ।
पत्रकारिताको इतिहास पढाउँदा जोहन्स गुटेनवर्गले विश्वमा पहिलो पटक सन् १४५६ मा आधुनिक प्रिन्टिङ प्रेस अर्थात् वाइन प्रेसको आविष्कार गरेको त्यही प्रेसमा विश्वमै सबैभन्दा पहिले तीनसयप्रति बाइबल छापिएका कुरा पढेको मलाई झलक्क सम्झना भयो । पेजपेज लेमिनेसन गरेर राखिएको त्यो बाइबल मैले निकैबेर ओल्टाइपल्टाई हेरें ।
चर्चबाट हामी अझै अगाडि बढ्यौं । त्यहाँ एउटा धरान थियो । सपनाले पनि धरान नदेखेको कुरा गरिन् । मैले भने हाम्रो धरान छ नि पहिले पहिले त्यहाँ चारकोसे झाडीबाट मुडा ल्याएर धरान बनाएर चिरानी गर्दथे । यस्तै धरान नै धरान भएका हुँदा यो ठाउँको नाम नै धरान रहन गएको इतिहास उनीहरूका अगाडि मैले राखिदिएँ ।
त्यहाँ एउटा गहिरो खाडल खनिएको थियो, खाडलका माथि एउटा ठूलो काठको मुढो तेर्सो पारेर राखिएको थियो । त्यसका बीचमा लामो आरा थियो । त्यसलाई मुढामाथि भएका मानिस र खालडभित्र भएका मानिसले आलोपालो तान्ने र ठेल्ने काम गर्दथे । त्यसबाट मुढो चिरिँदै जान्थ्यो । त्यसरी काठ चिरानी गर्ने कारखानालाई धरान भनिन्थ्यो । अठारौं शताब्दतिर अमेरिकामा पनि त्यस्तै धरानमा मुढा चिरिँदा रहेछन् ।
हामीले जाँदाजाँदै अन्न राख्न बनाइएका त्यसबेलाका भकारीहरू देख्यौं । त्यसबेलाका मानिसहरू आफूलाई चाहिने अन्न हावापानी केही पनि छिर्न नपाउनेगरी कसरी सञ्चित गर्दा रहेछन् भन्ने हामीले देख्यौं । हाम्रो तराईतिर घरैपिच्छे बनाइने भकारीसित ती भकारी पनि मिल्दाजुल्दा देखिन्थे । बाँसका भाटाले बेरेर बनाइएका भकारी गोबरमाटो आदिले बाक्लोसित लिपेर माथितिर अन्न हाल्न मिल्ने प्वाल राखिएको हुन्थ्यो । त्यसभित्रको अन्न झिक्न तलतिर बनाइएको प्वाललाई टालेर राखिएको थियो ।
हेरिटेज भिलेजभित्र भएको एउटा अग्लो टहरो देखाउँदै सपनाले सोधिन के रहेछ त्यो टहरो ? ‘धेरै पहिले अमेरिकीहरूलाई सूचना दिने घर हो । एक जना मानिसले त्यस घरमाथि चढेर बाजा बजाइदिएपछि सूचना लिन वरिपरिका मानिसहरू भेला हुन्थे अनि उनीहरूलाई जानकारी उपलब्ध गराइन्थ्यो ।’ त्यहीका एकजना मानिसले भने ।
हामीले त्यहाँ पहिलेको अमेरिकाकाका पोसाकहरू, ढिकीजाँतो, भाँडाकुँडा आदि धेरै कुरा देख्यौं । हेरिटेज भिलेजभित्र त्यस बेलाको एउटा दमकल पनि एउटा कोठामा बन्द गरी राखिएको रहेछ । घण्टी बजाउँदै आगो निभाउन हिँड्ने त्यस्तो दमकल आफू सानै छँदा विराटनगरमा देखेको मलाई सम्झना भयो ।
आफ्ना पुराना थोत्रामोत्रा कवाडी सरसामानहरू देखाएर पनि अमेरिकीहरू विदेशीसित पैसा तान्न पछाडि पर्दा रहेनछन् भन्ने कुरा हेरिटेज भिलेज देखेपछि मेरा मनमा लाग्यो ।
हामीले पनि हाम्रा पहिलेका डाला, थुन्से, गुन्द्री, सुकुल, मान्द्रा, ढिकी जाँतो, हलो जुवा, जोतारो, हल्लुँड, फाली, करुवा, भाँडाकुँडा, लुगाफाटो, राखनधरन गर्ने सरसामानहरू, पुराना पोशाक, भोटे ताल्चाहरू, झुलो, चकमक, कर्द, खुकुरी, तरबार, खुर्पा, खुर्पेटो, बक्खु, भोटो, कछाड, छिटका गुन्यू, चौबन्दी चोला आदि प्रदर्शनीमा राखेर विदेशीलाई जानकारी दिनुपर्ने खाँचो रहेछ भन्ने मनले सोच्यो ।
हाम्रो देशमा पनि प्रत्येक जिल्लामा त्यहाँका छुट्टाछुट्टै संस्कृति, भेषभूषा, आदिको फरक फरक म्युजियम निर्माण गरेर टाढाटाढाबाट आएका पर्यटकहरूलाई परम्परागत म्युजियमको अवलोकन गराउने, परम्परागत पोसाकमा तस्विर खिँचेको निश्चित रकम लिने हो र त्यसरी प्राप्त भएको रकम आफ्नै समाजको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी आदिमा लगाउने हो भने विकास गर्न धेरै सहज हुने रहेछ भन्ने मलाई लाग्यो ।
हामी फर्केर हेरिटेज भिलेजको गेटमा पुगेका थियौं । गेटमा उही सुनकेसी युवती हाम्रो बिदाइमा बसेकी रहिछे । उसले भनी ‘एलडीजी, आई वान्ट टु हक यु !’
मैले भने ओ के बाई बाई, सुनकेसी सी यु एगेन । होइन , यो राति को सुनकेसी आई ?’ यतिभन्दै सपनाले घचघच्याँदा पो झल्याँस्स बिउँझिएँ । घडी हेरेका रातको २ बजेछ । हेरिटेज भिलेजभित्रका एक/एक कुराको पुनरावृत्तिले म फेरि रोमाञ्चित भएँ ।