
सात वर्षीया कोपिला बीसी शनिबार आफ्नी आमासहित वीरेन्द्रनगरको पर्यटकीय स्थल बुलबुले तालमा घुम्न आएकी थिइन् । बुलबुले तालमा बोटिङ्ग गर्न जिद्दी गरेर आएकी उनले दुई सय रुपैयाँको टिकट काटेर एक घण्टापछि मात्रै पालो पाइन् । मोटरबोटमा शयर गर्न पाउँदा उनी औधी खुसी थिइन् । तर, उनकी आमा भने अलि बेखुस देखिइन् ।
‘मसहित छोराछोरी र श्रीमान मोटरबोटमा दुई राउण्ड घुम्यौं तर, तीन मिनेट पनि नघुमेको मोटरबोटमा आठ सय तिर्दा मन पोल्यो । अलि महँगो नै भएजस्तो लाग्यो,’ उनले गुनासो गरिन् ।
शनिबार नै दैलेखको महाबु गाउँपालिकाबाट सुर्खेत आएका ६८ वर्षका रमेश शाहीले आधा घण्टा पालो कुरेर मोटरबोटमा बुलबुले तालको परिक्रमा लगाए । ‘मोटरबोटमा चढ्दा रमाइलै भयो । मोटरबोटमा कर्णाली नदीमा यात्रा गर्दा कस्तो मज्जा आउँथ्यो होला ?’ उनले कल्पना गरे, ‘सडक यात्राभन्दा यस्तो साधनमा यात्रा गर्दा धेरै आनन्द आउँथ्यो ।’ तर, उनले पनि भाडा भने महँगो भएको बताए । ‘दुई सय रुपैंया भनेको महँगो नै हो । राज्य सञ्चालन गर्नेहरूलाई राजश्व पाए भइहाल्दो रहेछ । एउटा मोटरबोटमा आठदेखि जना राख्दा रहेछन्,’ उनले थपे, ‘हामीबाट लिएको दुई सय रुपैंया के मा खर्च गर्दा हुन कुन्नि ? त्यो थाहा भएन ।’
यी दुई त उदाहरण मात्रै हुन् । सार्वजनिक बिदाको दिनमा यहाँ मोटरबोटको मज्जा लिनेहरूको संख्या सयौं हुन्छ । केटाकेटीदेखि वृद्धसम्मका लागि दुई सय रुपैंया टिकट छ । चार वर्षे बालबालिका साथमा भएको खण्डमा दुई सय पचास रुपैंया तिर्नुपर्ने हुन्छ । यसरी टिकटमा सानादेखि ठूला व्यक्तिलाई एकै टिकट दर तोकिएको भन्दै मन अमिलो बनाई फर्किनेहरूको जमात ठूलै छ ।
बुबुले ताल परिसरमा प्रवेश गर्न छुट्टै २५ रुपैंया तिर्नुपर्ने व्यवस्था वीरेन्द्रनगर नगरपालिकाले गरेको छ । गत वैशाख १२ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा आएको मोटरबोट सुविधा भने जेठ ३० गते मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक रूपमा शुभारम्भ गरेका थिए ।

चितवनको बोटेबोरा कम्पनीले तालमा तीन वटा मोटरबोट सञ्चालन गर्दै आइरहेको छ । दश सिटे दुई ओटा र आठ सिटे एउटा मोटरबोटबाट यहाँ आउने पर्यटकलाई तालको परिक्रमा गराइने गरिएको छ ।
प्रदेश सरकारको लगानीमा ताल क्षेत्र विस्तार भए पनि हालसम्म वीरेन्द्रनगर नगरपालिकाले प्रदेश सरकारलाई मनोरञ्जन करका रूपमा कूल टिकट दरको पाँच प्रतिशतवापत हुन आउने रकम दिएको छैन । एकातिर प्रदेश सरकारबाट करोडौं रुपैंया लगानी भइरहेको छ भने त्यसबाट प्रदेश सरकारले करसमेत संकलन गर्न पाएको छैन ।
सुर्खेत उपत्यका नगर विकास समिति मातहत रहेको तालमा पछिल्लो समयमा मासिक हजारौं आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । ती पर्यटकबाट एकातिर नगरपालिकाले प्रवेश शुल्कका रूपमा २५ रुपैंया लिन्छ भने अर्कोतिर मोटरबोट कम्पनीले दुई सयका दरले टिकट लिँदा पर्यटकहरू मारमा परेको बताउँछन् ।
त्यतिमात्रै होइन, टिकट काटेर लाइनमा बसेकाहरूले कम्पनीका प्रतिनिधिहरूबाट हप्की दप्कीसमेत खानुपर्ने अवस्था आइरहेको कतिपयको गुनासो छ ।
केहिदिन अघि मात्रै बुलबुले तालमा आफूमाथि अभद्र व्यवहार गरिएको भन्दै एक जनाले कम्पनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिएका थिए तर पछि आगामी दिनमा त्यस्तो व्यवहार नगर्ने शर्तमा मिलापत्र भएको थियो ।
कम्पनीले मोटरबोट सञ्चालन गरेवापत वीरेन्द्रनगर नगरपालिकालाई मासिक ९७ हजार ६ रुपैंया बुझाउँदै आएको छ । ‘कम्पनीले दैनिक नै ९७ हजार कमाउने गरेको छ,’ नाम उल्लेख नगर्ने शर्तमा सुर्खेतकै एक पर्यटन व्यवसायीले भने, ‘यो भनेको सिधैं नगरपालिकालाई मासिक रूपमा हुने आम्दानीमा ठूलो नोक्सानी हो । यसलाई अब नगरपालिकाले पुर्नविचार गर्न जरुरी छ ।’

बोटेबोरा कम्पनीले अरू दुई वर्ष यहाँ यसरी नै मोटरबोट चलाउने छ । यसबाट कर्णाली प्रदेशलाई करोडौं रुपैयाँ नोक्सान हुने ती व्यवसायीको भनाइ छ ।
उनले आन्तरिक राजश्व संकलनमा कमी आइरहेको समयमा बुलबुले तालबाटमात्रै नगरपालिकाले मासिक रूपमा लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने बताए । यसबारे मोटरबोट सञ्चालक विष्णु ढकालको प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् ।
यता, नगर विकास समितिकी अध्यक्षसमेत रहेकी वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले सार्वजनिक खरिद ऐनबमोजिम कम्पनीसँग सम्झौता भएकाले सम्झौताअनुसार अघि बढनुको विकल्प नभएको बताइन् । ‘टिकट दरदेखि सबै कुरामा हामीले सम्झौता गरेका हौं । यसमा हामी तलमाथि केही पनि गर्न सक्दैनौं,’ उनले भनिन्, ‘हामीले उहाँहरूलाई ताल मात्र दिएका हौं । बाँकी व्यवस्थापनदेखि अन्य खर्चमा हाम्रो कुनै चासो छैन । हामीसँग भएको सम्झौताअनुसार अब यो कम्पनीको म्याद दुई वर्ष बाँकी छ ।’ उनले दुई वर्षपछि हाल सञ्चालनमा आएको तालको अवस्था हेरेर पुनः टेण्डर गर्ने बताइन् ।