०४ साउन २०८३, सोमबार

स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल

माघ १५, २०८१
काठमाडौं
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको पेसागत हकहित समेटिने बताएका छन् । 

नेपाल नर्सिङ संघको ६३औं वार्षिकोत्सव तथा साधारणसभामा उनले स्वास्थ्य सेवा ऐनको मस्यौदा बनिरहेको जानकारी दिँदै भने, ‘ऐनको मस्यौदा बन्दै छ । नर्सिङको हकहितका लागि पनि विषय समेट्छौं । सम्भवतः यही ‘सेसन’मा पास गर्छौं ।’

नर्सिङ जनशक्ति पलायन हुन नदिन सुविधा वृद्धि गर्ने, सुरक्षित वातावरणमा काम गर्ने अवसर प्रदान गर्ने, राम्रो काम गर्नेलाई प्रोत्साहन र पुरस्कृत गर्ने, व्यक्तित्व विकासमा ध्यान दिएर काम गर्ने वातावरण तयार गरिने मन्त्री पौडेलले बताए । उनले व्यक्तिगत पहुँचका आधारमा नभई पदोन्नतिका विधिका आधारमा गरिनुपर्ने समेत बताए । 

मन्त्री पौडेलले भने, ‘श्रम ऐनले तोकेको दक्ष जनशक्तिलाई २२ हजारभन्दा तल दिन पाइँदैन । यसबारे रिपोर्ट गरेमा प्रमाणका आधारमा अस्पतालको सम्बन्ध खारेज गर्छौं । धेरैले रिपोर्ट गर्न डराउनुहुन्छ । आफ्नो अधिकारको लागि आफैं लड्नुपर्छ ।’

नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले नर्सहरू विकराल अवस्थामा काम गरिरहेको बताउँदै यसमा सरकारले ध्यान दिनुपर्ने बताइन् । ‘विश्वव्यापी नै नर्सहरूको खडेरी भइरहेको अवस्था छ । नर्सजस्तो प्राविधिक जनशक्तिलाई दैनिक ज्यालादारीमा काम गराइरहेका छन् । तलब भत्ता, सेवा सविधा न्यून छ । तलब सरकारले भनेअनुसार पाएका छन् वा छैनन् भन्नेमा अनुगमन हुनुपर्छ’, उनले भनिन् । 

नर्सिङ संघकी पूर्वअध्यक्ष तारा पोखरेलले नर्सहरूलाई देशमै बस्ने वातावरण सरकारले मिलाउनुपर्ने धारणा राखिन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्कीले नर्सबिना चिकित्सकहरू जहिल्यै पनि अपुरो हुने बताए । उनले नर्स र चिकित्सकलगायत स्वास्थ्यकर्मीको जनशक्तिको आवश्यकताबारे नबुझिएको बताए । 

उनले भने, ‘हाम्रो राजनीतिक नेतृत्वले स्वास्थ्यको जनशक्तिलाई बुझ्नै चाहेन । स्वास्थ्यका जनशक्तिलाई प्राथमिकतामा नराखेका कारण स्वास्थ्य क्षेत्र पछि परेको हो ।’

salt training

कमेन्ट गर्नुहोस्