
करिब ३ वर्षअघि (२०७९ फागुनमा) मलेसिया गएका कैलालीका एक युवा ‘लेजर इन्डस्ट्रिज’ नामक कम्पनीमा काम गरिरहेका छन् । साउँद थरका ती युवा मासिक १५ सय मलेसियन रिंगिट तलब पाउने भनेर मलेसिया उडेका थिए । अहिले १ मलेसियन रिंगिटको नेपाली सटही दर ३१.५३ रुपैयाँ छ । जुन ३० रुपैयाँदेखि ३२ रुपैयाँसम्म तलमाथि भइरहन्छ ।
‘मलेसिया आउँदा न्यूनतम् १५ सय रिंगिट भनिएको थियो । तलब मात्रै १५ सय हो, बाँकी खर्च आफैंले बेहोर्नुपर्छ । ५० रिंगिट गाडी भाडा र ५० रिंगिट रुम भाडा तिर्नुपर्छ । खाना पकाउने भाँडाहरू दिइएको हुन्छ । पाकाउने त आफैँले भइहाल्यो । खानपिनका मात्रै मासिक ३०० देखि ४०० रिंगिटसम्म खर्च निस्कन्छ । त्यो पनि सामान्य खाएर हो । कहिले मासु खान मन लाग्छ, कहिले चिसोतातो खान मन लाग्छ, त्यसको हिसाब छुट्टै हुन्छ,’ साउँदले भने ।
मासिक ५०० रिंगिटको हाराहारीमा खर्च हुने गरेको हिसाब उनले सुनाए । अत्यावश्यक खर्च कटाएर उनले महिनाको १ हजार रिंगिटको हाराहारीमा बचाउँछन्, जसको नेपाली सटहीदर ३० देखि ३२ हजार रुपैयाँ हुन्छ । यसैबाट लत्ताकपडा, घुमघाम र परिवारका लागि खर्च गर्नुपर्ने हुन्छ ।
मलेसिया जानका लागि साउँदले २ लाख ६३ हजार रुपैयाँ म्यानपावरलाई बुझाएका थिए । उक्त २ लाख ६३ हजार रुपैयाँको ऋण बढेर ३ लाख पुगिसकेको थियो । त्यो ऋण तिर्न नै उनलाई करिब २ वर्ष लाग्यो ।
‘महिनाको ५०/६० हजार रुपैयाँ कमाउन सकिन्छ भन्ने हिसाब लगाएर आइएको थियो । पहिलो महिना त १५/१६ हजार रुपैयाँ मात्र बच्यो । महिनाको ५० हजार घर पठाउँछु भनेर आएको मान्छे, त्यति पैसा पठाउनै लाज भयो,’ उनले भने, ‘४/५ महिना त बिरामी भएँ भनेर पैसा पठाइनँ । त्यसपछिचाहिँ बचेको समयमा महिनाको ३०/३५ हजारसम्म पठाउन सकेको छु ।’
ओभर टाइममा काम गर्न पायो भने मात्र केही पैसा जोगाउन सकिने उनको भनाइ छ ।
****
२२ वर्षको उमेरमा कतार हानिएका धामी थरका एक युवा खासै प्रगति गर्न नसकेको सुनाउँछन् । कञ्चनपुरका ती युवा राम्रो भविष्यको सपना बोकेर विमान चढेका थिए ।
अहिले नेपाली रुपैयाँमा हिसाब गर्ने हो भने महिनाको ३५ देखि ४५ हजारको हाराहारीमा बचाउँछन् । तर, परिवारको अपेक्षा र आफ्ना सपना पूरा गर्न त्यो पैसा एक छेउ पनि नभएको उनको गुनासो छ ।
‘समाजले पैसा र पैसाबाट आउने सम्पत्ति मात्रै देख्छ । दुःख कसैले देख्दैन । परिवारबाट टाढा गएर दुःख गरिन्छ, पैसा कमाइन्छ, अनि बल्ल समाज र परिवारले राम्रो नजरले हेर्छ’, धामीले लोकान्तरसँग भने, ‘नेपालमा काम गरेपछि कसैले पत्याउँदैनन् । कि सरकारी जागिरे हुनुपर्यो, होइन भने विदेशिनु हाम्रो बाध्यता नै बनिसक्यो । पैसा नकमाएसम्म समाजमा बस्नै गाह्रो छ ।’
यसरी विदेशिन पनि सजिलो छैन । महिनाको ३०/४० हजार कमाउनका लागि म्यानपावरहरूलाई २ देखि ३ लाख बुझाउनुपर्ने बाध्यता छ । त्यो पैसा तिर्नै लामो समय पसिना बगाउनुपर्ने बाध्यता रहेको विदेशिएका युवाहरू बताउँछन् ।
खाडी मुलुक जाने अधिकांश नेपाली त्यहाँ कष्टकर काममा मजदुरी गर्छन् । केही होटल लाइनमा पनि छन् । त्यति दुःख गर्ने हो भने नेपालमा पनि सो बराबर पैसा कमाउन सकिने अवस्था छ, तर समाजले हेर्ने नजर र आफ्नो ठाउँमा काम गर्न हिच्किचाउने शैलीका कारण अधिकांश युवा विदेशिएको पाइन्छ ।
नेपालमा भारत र बंगलादेशबाट मगाइन्छ कामदार
नेपालीहरू कामका लागि विदेश जाने र नेपालमा काम गर्नका लागि विदेशबाट कामदार ल्याउनुपर्ने बाध्यता बढ्दै गइरहेको एएम कन्स्ट्रक्सन (ललितपुर) का सञ्चालक राजन बस्नेतले बताए ।
इन्जिनीयरसहितका दक्ष जनशक्तिदेखि कामदार समेत पाउन गाह्रो भइरहेको उनको भनाइ छ ।
‘इन्जिनीयर पाउन त गाह्रो छ नै, श्रमिकहरू पनि भरतीयहरूमा भर पर्नुपर्छ,’ बस्नेतले भने, ‘एउटा कन्स्ट्रक्सनको काम गर्दा २५ प्रतिशतभन्दा बढी श्रमिक भारतबाटै ल्याउनुपर्ने बाध्यता छ । अझ टायल/मार्बलको काममा त भारतीयको विकल्प नै छैन ।’
पछिल्लो २/३ वर्षदेखि नेपालमा निर्माणको कामका लागि श्रमिकहरू पाउन गाह्रो हुँदै गइरहेको युनिर्भसल कन्स्ट्रक्सन एन्ड वाटर ट्रिटमेन्ट प्रालि (झापा)का सञ्चालक दुर्गा पोखरेलले बताए । निर्माणका लागि दक्ष र अर्धदक्ष दुवै कामदारको अभाव हुँदै गएको उनको भनाइ छ ।
निर्माणका कामका लागि सकेसम्म बाँके, बर्दिया, सर्लाही, सिरहाबाट सब कन्ट्र्याक्टरले श्रमिक आपूर्ति गर्ने गर्दछन् । त्यो पनि कम हुँदै गइरहेको उनको भनाइ छ ।
‘नेपालमा काम गर्ने मानिसहरू कम हुँदै गइरहेका छन् । निर्माणको काम पनि सुस्ताएकाले त्यति समस्या नभएको हो’, उनले भने, ‘निर्माणको कामले गति लिने हो भने निकै गाह्रो पर्नेवाला छ ।’
निर्माण कम्पनीहरूले सरकारबाट समयमा भुक्तानी नपाएका कारण जनशक्ति पलायनमा बल पुगेको तर्क ज्योति निर्माण सेवा प्रालि (महोत्तरी) का सञ्चालक राजकिशोर गुप्ताले गरे । नेपालमा काम गर्दा सबै कामको भुक्तानी हुन्छ, समयमा पैसा पाइन्छ र सधैँ काम पाइन्छ भन्ने कुराको ग्यारेन्टी नभएकाले जनशक्ति पलायन भइरहेको उनको बुझाइ छ ।
‘नेपालमा जनशक्ति नभएर बाहिरबाट आइरहेका छन् । नेपालमा विश्वासको वातावरण नभएर काम गर्ने जनशक्ति बाहिर गइरहेका छन्’, उनले भने, ‘समयमा पैसा पाइन्छ, सधैँ काम पाइन्छ भन्ने कुराको ग्यारेन्टी नभएकाले धेरै बाहिरिएका हुन् ।’
निर्माण व्यवसायीका अनुसार नेपालमा श्रमिकको न्यूनतम ज्याला दैनिक १ हजार रुपैयाँ छ । त्यसमा पनि काठमाडौंमा श्रमिकहरूलाई खाना खुवाएर १२ सय रुपैयाँसम्म दिइने गरेको छ ।
नेपालीहरूले खाडी मुलुकमा खटेर काम गर्दा कमाउने बराबर पैसा नेपालमै कमाउन सकिने व्यवसायीहरू बताउँछ । तर, पनि विदेश नै जाने प्रतिस्पर्धा बढिरहेको छ ।
नेपालीहरूले नेपालमा काम गर्न नरुचाउनु र विदेश जानुको प्रमुख कारण सामाजिक मनोविज्ञान रहेको समाजशास्त्री डा. दिलिपकुमार मल्लले बताए ।
समाजमा स्तरीकरणको गलत बुझाइ र विशेषण भइरहेकाले नेपालमा बस्ने र नेपालमै काम गर्नेहरूलाई हेर्ने दृष्टिकोण फरक भइरहेको डा. मल्लको भनाइ छ ।
उनका अनुसार नेपाली समाजमा धन सम्पत्तिलाई मात्रै सम्मान मिल्ने गरेको गलत बुझाइ छ । पछिल्लो समय विदेश गएरै धन सम्पत्ति कमाएर समाजमा राम्रो स्तर बनाउन सकिने धारण बन्दै गएको देखिन्छ । जसले गर्दा नेपालमा काम गर्ने र नेपालमै बस्नेहरूलाई मनोवैज्ञानिक दबाब सिर्जना भइरहेको छ ।
‘विदेश गएरै समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुन्छ । समाजले इज्जत दिन्छ भन्ने धारणा बनिरहेको छ’, मल्लले लोकान्तरसँग भने, ‘यो निकै नराम्रो कुरा हो । यसले हाम्रो समाजलाई झन् बिगार्दै लगिरहेको छ । नेपाली समाजको विशेषण र बुझाइ सतही हुँदै गएको छ । गहिरो बुझाइ र विशेषण नभएकाले नेपाली समाजमा भाइरल कुराहरूको मात्रै चर्चा हुने र स्थान पाउने गरेको छ ।’
नेपालमा गरिने कामलाई हेर्ने दृष्टिकोण नै कमजोर भएकाले विदेशिने ट्रेन्ड बढ्दै गइरहेको श्रम तथा आप्रवासन विज्ञ डा. गणेश गुरुङ बताउँछन् । स्वाभाविकरूपमा श्रमिकले हक, अधिकार, वृत्ति विकास, बिमा, सुरक्षा, सम्मान लगायतका पक्षहरूको खोजी गर्ने र त्यसको प्राप्ति मुस्किल देखिएपछि मानिसहरू विदेशिने गरेको उनको भनाइ छ ।
‘नेपालमा काम गर्दा एउटा श्रमिकले खोज्ने भनेको राम्रो तलब, सुरक्षा, वृत्ति विकास, हक अधिकार, बिमालगायत हो । भारत–बंगलादेशबाट नेपालमा आउने श्रमिकहरूलाई अन्य पक्षसँग मतलब हुँदैन । काम पनि नेपालीहरूभन्दा बढी नै गर्ने गर्दछन्’, डा. गुरुङले भने, ‘नेपालीहरू पनि विदेशमा गएर त्यसरी नै काम गर्ने हुन् ।’
नेपाली समाजलाई स्वस्थ बनाउनका लागि पाठ्यक्रममा सुधार गर्न जरुरी रहेको समाजशास्त्री डा. मल्लको भनाइ छ । सानै उमेरदेखि नेपाली समाजका उदाहरण र नेपाली समाजकै परिश्रमका कुराहरू पाठ्यक्रममा समेट्दै गएमा नेपालीहरूले नेपालीलाई हेर्ने दृष्टिकोणमा केही भिन्नता आउने उनको भनाइ छ ।
‘समाजलाई कस्तो बनाउने भन्ने कुरा समाजमा रहने व्यक्तिहरू, त्यहाँको वातावरण र शिक्षाले निर्धारण गर्ने हो । त्यसैले हामीले पाठ्यक्रमबाटै सुधार गरेर लगेर जानुपर्छ’, डा. मल्ल भन्छन्, ‘जनचेतनाको स्तर पनि निकै माथि उकास्नुपर्ने छ । यसका लागि स्थानीय तहबाटै जनचेतनाका कार्यक्रमहरूका साथै समाजमा उदाहरण स्थापित गर्नुपर्ने हुन्छ ।’