
रुपन्देहीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा ‘फ्लड लाइट’ जडान शुरू भएको छ । देशकै ध्यान केन्द्रित गरेको क्रिकेट मैदानमा शनिबारदेखि ‘फलड लाइट’ जडानसहितका काम थालिएको हो । निजी क्षेत्रबाट निर्माण गरिएको पहिलो स्टेडियममा अबको एक महिनाभित्र रातिमा लाइट बालेर क्रिकेट प्रतियोगिता गर्न सकिने एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमका निर्देशक विनोद कुँवरले जानकारी दिए । ३० मिटर लम्बाइ भएका ५ वटा पोलमा १५ हजार वाटका ३० देखि ४० वटा बल्ब जडान गरिनेछ । लाइटको क्षमता अझै बढाउने तयारी रहेको कुँवरले बताए ।
तत्कालको लागि दुई वटा जेनेरेटरबाट ५ वटा पोलमा लाइट दिइने छ । मैदानमा तिलोत्तमा नगरपालिकाले विद्युत् जडानको प्रक्रिया अघि बढाइदिएको छ । पालिकाले ‘हाइ मस्क लाइट’ अघि बढाएको छ । ‘नर्मल मान्छेहरूको लागि अहिले पनि मैदान हेर्दा केही पनि नभएजस्तो देखिन्छ,’ कुँवरले भने, ‘तर धेरै काम भएको छ । फाइनान्सियल रूपले हेर्दा ५५ देखि ६० प्रतिशत काम सकिएको छ । भीआईपी विल्डिङको धेरै काम सकिएको छ । फ्लड लाइट सबैभन्दा खर्चिलो थियो त्यो पनि भयो भन्दा हुन्छ, त्यस्तै ग्राउन्ड पनि धेरै काम भएको छ । देख्दा चाहिँ ४० देखि ४५ प्रतिशत काम भएजस्तो देखिन्छ ।’
‘फ्लड लाइट’मा ७ करोड रुपैयाँ खर्च भएको छ । अब शुरू हुने सिट निर्माणको काम सकिन धेरै समय खर्चिन पर्दैन । घोषणाअनुसार ५ वर्षको योजना त्यहाँसम्म काम नपुग्ने अघि नै सकिने निर्देशक कुँवरले दाबी गरे । ‘यसले रुपन्देहीमा धेरै माथि लैजान्छ, स्थानीयदेखि, केन्द्र सरकार र नागरिकको भूमिका के रहन्छ भन्नेले ठूलो अर्थ राख्छ किनकि, बन्दैन कि भन्ने थियो, त्यो अब सकिएको छ,’ कुँवरले भने ।

मैदान निर्माणका लागि २०८० जेठमा शिलान्यास भए पनि असोजबाट मात्रै निर्माण शुरू भएको थियो । अस्ट्रेलियामा सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्दै आएका गुल्मीको मदाने गाउँपालिका– ४ म्यालपोखरीका कुँवरको लगानीमा तिलोत्तमा नगरपालिका– १७ दरखसहवामा क्रिकेट मैदान बनाउने सपना अब पूरा हुने बाटोमा छ । ६० करोड रुपैयाँ लगानीमा निर्माणाधीन रंगशालामा जग्गाका लागि मात्र ७ करोड खर्च भएको थियो । ४/४ तलाको २ वटा भवन (भीआईपी बक्स, प्लेयर बक्स, चेन्जिङ रुम र मिडिया बक्ससहित) निर्माण भइरहेको छ । जसमा तेस्रो तलाको काम भइरहेको उनले बताए ।
स्टेडियममा २५ हजार दर्शक क्षमताको प्यारापिट बन्नेछ ।
स्टेडियममा खेल सञ्चालनका साथै आवासीय सुविधासहित एकेडेमी सञ्चालन गरेर क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य विनोदको छ ।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमका म्यानेजर सूर्य कुँवरका अनुसार १९ वर्ष मुनिको विश्वकप खेलेको नेपाली महिला टोली र नेपाल प्रिमियर लिग (एनपीएल) टिम लुम्बिनी लायन्सले यही मैदानमा अभ्यास गरेका थिए । 'भारतबाट पनि केही क्लब स्तरीय टिम आएर यहाँ आएर खेलेका छन्,' उनले भने ।
अहिले मुख्य मैदान नजिकै अभ्यास मैदान निर्माणको काम पनि भइरहेको छ । अभ्यासका लागि ६ वटा पिच बन्दैछ । जसमा दुई वटा पिच सिमेन्टको र चार वटा माटोको बनिरहेको छ । ती काम पनि अन्तिम चरणमा पुगेको म्यानेजर कुँवरले जानकारी दिए ।

