
भारतको राजधानी नयाँ दिल्लीमा २७ वर्षपछि भारतीय जनता पार्टी प्रचण्ड जीतका साथ सत्तामा फर्किएको छ । चुनावमा अरविन्द केजरीवालको आम आदमी पार्टीले आशा गरेको नतिजाविपरीत परिणाम आएको हो ।
गत फेब्रुअरी ५ मा भएको निर्वाचनको मतगणना जारी छ । आठ सिटमा सीमित भारतीय जनता पार्टी (भाजपा)ले यसपटक ४८ सिट जित्ने आंकलन गरिएको छ भने आम आदमी पार्टी (आप) ६२ सिटबाट सिधै २२ मा झरेको छ ।
सन् २०१३ मा दिल्ली सरकारको बागडोर लिएर शिक्षा र स्वास्थ्यसम्बन्द्ध योजनामा सफलता पाएको आपलाई जनताले किन रुचाएनन् ? यसबारे भारतीय सञ्चारमाध्यमहरूले विभिन्न अनुमान गरिरहेका छन् ।
दश वर्षसम्म सत्तामा रहेपछि आम आदमी पार्टीले यसपटक सत्ताविरोधी लहरको सामना गर्नुपर्यो । शिक्षा र स्वास्थ्य क्षेत्रमा राम्रो काम गरे पनि खराब वायु गुणस्तर र यमुनाको प्रदूषित पानी असन्तुष्टिको ठूलो कारण बन्यो ।
अर्कोतर्फ, केजरीवालले निरन्तर भाजपाको केन्द्र सरकारले दिल्लीको काममा बाधा पुर्याइरहेको आरोप लगाउँदै आए । तर, जनताले यसलाई वास्तविक कारणभन्दा पनि ‘बहाना’को रूपमा लिएको चर्चा भारतीय सञ्चारमाध्यमहरूले गरेका छन् ।
मदिरा (रक्सी)को बिक्री वितरण, कर र नियन्त्रणसँग सम्बन्धित सरकारी नीतिसँग सम्बन्धित कथित मनी लन्डरिङ प्रकरण र शीश महल विवादले केजरीवालको छविमा ठूलो धक्का पुर्यायो ।
केन्द्रीय एजेन्सीहरूको जाँचमा पार्टीका धेरै नेताहरू पक्राउ परे । यसमा संजय सिंह, मनीष सिसोदिया र केजरीवाल आफैं पनि समावेश थिए ।
यी पक्राउका कारण सिसोदियाले उपमुख्यमन्त्री पद छोड्नुपर्यो र केजरीवालले पनि मुख्यमन्त्री पद छोड्नुपर्यो ।
कल्याणकारी नीतिको नाममा पार्टीले निःशुल्क बिजुली, पानी, महिलाका लागि निःशुल्क बस सेवा जस्ता योजना शुरू गरेको थियो ।
तर, जनताको भनाइमा पूर्वाधार विकास र त्यसको मर्मतसम्भारमा खासै परिवर्तन देखिएन । सडक र ढलको खराब अवस्थाले दिल्लीका जनता असन्तुष्ट थिए । विशेषगरी माथिल्लो र मध्यम वर्ग खराब आधारभूत सुविधाबाट पीडित देखिन्थे ।
आपको पराजयमा पार्टीका वरिष्ठ नेताहरू नै बागी हुनु पनि एउटा प्रमुख कारण मानिएको छ । प्रशान्त भूषण, योगेन्द्र यादव, मयंक गान्धी र कुमार विश्वासको केजरीवालसँगको असहमतिले आपलाई नोक्सान पुगेको छ । कैलाश गहलोत जस्ता ठूला नेताहरूले मन्त्री पदमा रहँदै राजीनामा दिनुले पनि पार्टीलाई क्षति पुर्यायो ।
सन् २०२२ को एमसीडी चुनावमा आम आदमी पार्टीको एकतर्फी जित भएको थियो । तर, यो जितले पार्टीलाई फाइदाभन्दा बढी नोक्सान पुर्यायो । पार्टीले दिल्लीमा विश्वस्तरीय सडक र स्वच्छ शहर बनाउने वाचा गरेको थियो, तर दुवै वाचामा खरो उत्रिन सकेन । यसपटक मतदाताहरूले आम आदमी पार्टीका विधायकहरूलाई सीधै जिम्मेवार ठहर्याए ।
यसअघि भएको लोकसभा चुनावमा दिल्लीमा आप र भारतीय राष्ट्रिय कंग्रेसले गठबन्धन गरेका थिए, तर, त्यसको लगत्तै उही दिल्लीमा दुवै पार्टी आमने-सामने भए । यसले जनतामा राजनीतिक दलबीचको एकताबारे गलत सन्देश गयो ।
अर्कोतर्फ, भाजपाले यसको फाइदा उठाउँदै दिल्ली चुनावमै नीतीश कुमारको जेडीयू र चिराग पासवानको लोजपा (रामविलास)लाई सिट दिएर जनतामा एकताको सन्देश दियो ।
भाजपाले बहुमत हासिल गर्ने पक्कापक्की भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा मुख्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै दिल्लीलाई मिनी-इन्डियाको संज्ञा दिए ।
‘दिल्ली केवल एउटा शहर होइन, यो मिनी-इन्डिया हो । यसले एक भारत श्रेष्ठ भारतको विचारलाई जीवन्त बनाएको छ । यहाँ दक्षिण, पश्चिम र पूर्वी भारतका मानिसहरू छन् । यो भारतको विविधताको रूप हो’, मोदीले भने ।
उनले दिल्लीका जनताले निर्णायक जनादेश दिएको बताए । ‘आज दिल्लीले भाजपालाई निर्णायक जनादेश दिएको छ । दिल्लीको कुनै वर्ग वा क्षेत्र छैन जहाँ आज कमल नफुलेको होस्’, प्रधानमन्त्री मोदीले भने ।
प्रधानमन्त्री मोदीले दिल्लीवासीको माया र विश्वासलाई विकासको रूपमा सयौं गुणा फिर्ता गर्ने प्रतिबद्धता जनाए । ‘हामी तपाईंहरूको मायालाई विकासको रूपमा सयौं गुणा फिर्ता गर्नेछौँ । यो दिल्लीको डबल इन्जिन सरकारको ऋण हो, जसले दिल्लीलाई दोब्बर गतिमा विकास गरेर चुक्ता गर्नेछ’, उनले भने ।