२३ असार २०८३, मंगलबार
पर्यटकको आवरणमा अपराध धन्दा

चिप्स र चकलेट दिएर निकटता बढाएपछि बालकको अपहरण, फिरन्ते भियतनामी १७ भाषाका जानकार

माघ २७, २०८१
काठमाडौं
चिप्स र चकलेट दिएर निकटता बढाएपछि बालकको अपहरण, फिरन्ते भियतनामी १७ भाषाका जानकार

फिरन्ते भियतनामी नागरिक माई होङ किन्हालौन बेलाबखत पाटन दरबारस्क्वायरस्थित कृष्ण मन्दिर घुम्न निस्कन्थे । उनी खासगरी बालबच्चाहरूसँग नजिकिन्थे । बच्चाहरूलाई मनपर्ने चिप्स र चकलेट खुवाएर आफूतिर आकर्षित गर्थे । उनको व्यवहारले बालबालिका उनीसँग सजिलै घुलमिल हुन्थे । 

तर, किन्हालौनको उद्देश्य अर्कै थियो जुन अवोध बालबालिकाले बुझ्दैनन्थे । गत बिहीबार उनी अन्य दिनजस्तै कृष्ण मन्दिर पुगे । त्यहाँ चेपाङ थरका चार वर्षीय बालक र उनका दाजु घुम्न आएका थिए । किन्हालौनले चिप्स र चकलेट किनेर दिए । सानो बालक चिप्स र चकलेटमा रमाउन थाले । 

दाजुलाई अर्कै सामान किन्न पठाएका बेला उनी भाइलाई (अपहृत बालक) बोकेर टाप कसे । केहीबेर बच्चा हराएको भनेर खैलाबैला मच्चियो । किन्हालौन बच्चालाई कृष्ण मन्दिर नजिकैको ढालचा चोकबाट ट्याक्सीमा हालेर भागिसकेका थिए । बच्चाकी आमा कृष्ण मन्दिर वरपर आफ्नो सन्तान खोज्न थालिन् ।

फेला नपरेपछि उनी प्रहरी प्रभाग मंगलबजार पुगिन् । मंगलबजार प्रहरीले माथिल्लो निकाय जिल्ला प्रहरी परिसर ललितपुरमा जानकारी गरायो । सूचना रिले हुँदै काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयसम्म पुग्यो ।

अपहृत बालको खोजीका लागि टिम बनाएर प्रहरी खोजीमा लाग्यो । बच्चासँग कृष्ण मन्दिरमा जाने दाजुलाई सोधपुछ गर्‍यो । बच्चाका दाजुले एक जना दाइ (भियतनामी)ले चकलेट र चिप्स किनिदिएको बताएपछि प्रहरीले बच्चा अपहरण भएको हुनसक्ने आशंका गर्‍यो । सीसीटीभी फुटेज हेर्दा किन्हालौन बिहीबार राति ८:४४ मा बच्चा लिएर ट्याक्सी चढेको पत्ता लाग्यो । प्रहरीले बच्चाकी आमालाई सीसीटीभी फुटेज देखायो । तर, उनले ठम्याउन सकिनन् । 

प्रहरीले ट्याक्सीबारे बुझ्दा उनले इनड्राइभमार्फत ट्याक्सी बुक गरेको तथ्य खुल्यो । उनी कृष्ण मन्दिरबाट शुरूको ट्याक्सी चढेर झम्सिखेल पुगेका थिए । त्यहाँबाट अर्को ट्याक्सी चढेर सुन्धारास्थित श्रीगुरू होटलमा पुगेर बसे । 

प्रहरीले उक्त होटलमा पुगेर सबै कुरा सोधीखोजी गर्‍यो । त्यहाँबाट पनि किन्हालौन कलंकी पुगेको खुल्यो । उनले काठमाडौंबाट वीरगञ्ज जाने ६६१८ नम्बरको बसको ‘बी’ ३ र ४ नम्बरको सीट बुक गराएका थिए । प्रहरीले उक्त बसको काउन्टरमा गएर सोधपुछ गर्‍यो । किन्हालौनको नम्बरमा फोन गर्दा उनले कलंकीस्थित मकालु पेट्रोलपम्प नजिक रहेको इलामेली गेष्ट हाउस बसेको जानकारी गराए । 

दुई वटा सीट बुक गराएकाले पक्कै पनि बच्चा किन्हालौनसँगै रहेको निष्कर्षमा प्रहरी पुग्यो । उक्त गेष्टहाउसमा छापा मार्दा कोठा नम्बर १०७ मा चार वर्षीय बालकलाई बन्धक बनाएर राखेको अवस्थामा फेला पार्‍यो । प्रहरीले बालकको सकुशल उद्धार गर्‍यो ।

जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोली बालकको उद्धारमा खटिएको थियो । किन्हालौनलाई ल्याएर सोधपुछ गर्दा उनी काठमाडौंबाट वीरगञ्ज हुँदै पञ्जाब जाने तयारीमा थिए । 

प्रष्ट नेपाली बोल्ने भियतनामी नागरिक किन्हालौनले आफूलाई विभिन्न १७ भाषा आउने बताए । आफू पहिलोपटक सन्, २०२३ डिसेम्बर २७ मा नेपाल आएर ११ दिन बसी भारतको नयाँ दिल्ली गएको बयान किन्हालौनले प्रहरीमा दिएका छन् । दोस्रो पटक सन् २०२४ अप्रिल २७ मा भारतको पञ्जाबबाट सडक मार्ग हुँदै नेपाल आएर विभिन्न स्थानमा बस्दै आएका थिए । 

किन्हालौनले बयान दिए अनुसार नेपालमा बस्दा उनी स्वयम्भूस्थित एक होटलमा दुई महिना, ठमेलस्थित अर्को होटलमा एक हप्ता बसेपछि बानेश्वर कात्यानी चोकमा रहेको ग्राण्ड अलफ्रेन्स्को ब्वाइज होस्टलमा विगत ६ महिनादेखि बस्दै आएका थिए । 

प्रहरी बयानमा किन्हालौनले आफू लामा भाषा सिक्न स्वयम्भू, कपन, बौद्ध लगायतका विभिन्न गुम्बाहरूमा जाने गरेको बताएका छन् । उनी कहिलेकाहीँ घुमफिरका लागि पाटन दरबारस्क्वायरस्थित कृष्ण मन्दिर जाने गरेका थिए ।

घुमफिरकै क्रममा सन् २०२५ डिसेम्बर २५ मा क्रिसमस मनाउने सिलसिलामा उनी कृष्ण मन्दिर प्रांगणमा पुगेका थिए । त्यहाँ उनले बच्चा (अपहरणमुक्त बालक)को दाजु सँग भेटघाट गरेका थिए । त्यहाँ उनले चाउचाउ र चिप्सहरू खुवाएका थिए । निटकता बढाउन उनले पटकपटक दाजुभाइलाई भेट्ने गरेका थिए । 

एकैपटक उनले अपहरण गर्ने योजना अनुसार गत बिहीबार राति चार वर्षीय बालक लिएर भागेका थिए । 

भियतनामको चाईवाङ सिटी स्थायी ठेगाना भएका किन्हालौनको उमेर २३ वर्षको मात्रै हो । उनले प्रहरी बयानमा आफू नेपाली, हिन्दी, अंग्रेजी लगायत १७ भाषामा दख्खल राख्ने बताएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, एसपी काजी कुमार अचार्यका अनुसार किन्हालौनमाथि विशेष अनुसन्धान गर्नुपर्ने देखिन्छ । उनको मोबाइलमा थुप्रै भारतीय आधारकार्डहरू फेला परेका छन् । 

‘उसले बच्चा अपहरण गर्‍यो । तर, परिवारसँग कुनै फिरौती मागेको छैन । अर्को कुरा बच्चा लैजानुपर्ने आधार देखिँदैन । बच्चाकै पनि भारतीय नक्कली आधारकार्ड बनाएको देखिन्छ’, एसपी आचार्यले लोकान्तरसँग भने,‘हामी अनुसन्धानमै छौं ।’ 

salt training

कमेन्ट गर्नुहोस्