१० साउन २०८३, आइतबार
पोखरा कोटीहोम विवाद

महानगरलाई नेपाल ट्रष्टको पत्र- कोटीहोम रद्द गर्ने आधार छैन, ट्रष्टको जग्गाबारे महानगर बोल्न मिल्दैन !

माघ २९, २०८१
पाेखरा
महानगरलाई नेपाल ट्रष्टको पत्र- कोटीहोम रद्द गर्ने आधार छैन, ट्रष्टको जग्गाबारे महानगर बोल्न मिल्दैन !

‘विवादित धर्मगुरु’ विजय कृष्णमूर्तिको मानव सेवा फाउण्डेसनले पोखरामा आउँदो वैशाखमा गर्ने भनिएको महायज्ञ (कोटीहोम) विवादित बनेको छ । एकातिर महानगरभित्रका रुखहरू जथाभावी काटिएका छन् भने अर्कोतिर विजयले जसरी पनि महायज्ञ गर्ने भन्दै ‘धर्मका लागि अधर्म पनि गर्न तयार छु’ भनेपछि यो विषय झन् पेचिलो बन्दै गएको छ । 

यसअघि फाउण्डेसनलाई महायज्ञ सञ्चालन र रुख कटानका लागि अनुमति दिएका निकाय समेत एक अर्कालाई देखाउँदै पन्छिन थालेका छन् । यसैमा नेपाल ट्रष्टको कार्यालयले पोखरा महानगरपालिकालाई लेखेको पत्रले झन् विवाद र अन्योल बढ्ने देखिएको छ । 

फाउण्डेसनले पर्यटकीय क्षेत्र लेकसाइडमा एक महिना लामो महायज्ञ गर्ने भनेपछि अहिले पोखरामा विरोध भइरहेको छ । पर्यटकीय गन्तव्य रहेको स्थानमा त्यति लामो समयसम्म यज्ञ गर्न उपयुक्त नहुने स्थानीयको भनाइ छ । स्थानीयको विरोधपछि महानगरपालिका पनि ‘यही लाइन’मा आइपुगेको छ । 

रुख कटानपछि विवादमा तानिएको फाउण्डेसनलाई कोटीहोमका लागि अनुमति नदिएको महानगर प्रमुख धनराज आचार्यले बताउँदै आएका छन् ।

‘कोटीहोम पोखरामा हुँदैन । त्यति लामो समयसम्म पोखराजस्तो पर्यटकीय क्षेत्रमा कोटीहोम गर्न अनुमति दिएको छैन । फेवातालको किनार कोटीहोम लगाउने ठाउँ पनि होइन’, महानगर प्रमुख आचार्यले भन्दै आएका छन्।

माघ २० मा बसेको महानगरको ४२औं कार्यपालिका बैठकले नेपाल ट्रष्टलाई जग्गा भाडामा दिने निर्णय रद्द गर्न पत्र पठाउने निर्णय गर्‍यो । निर्णय अनुसार महानगरले माघ २३ मा नेपाल ट्रष्टलाई पत्र पठायो । 

पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ट्रष्टलाई अनुमति रद्द गर्न महानगरले अनुरोध पत्र पठाएको थियो । साथै, महानगर क्षेत्रमा आफ्नो अनुमतिबिना कुनै पनि व्यक्ति वा संस्थालाई कुनै प्रकारको अनुमति नदिन समेत ट्रष्टलाई अनुरोध गरेको थियो । 

जसको जवाफ पठाउँदै ट्रष्टले आफ्नो स्वामित्वमा रहेको जग्गाको अधिकार आफैंसँग हुने बताएको छ । नेपाल ट्रष्टको कार्यालयले महानगरलाई पत्रको जवाफ पठाउँदै निर्णय रद्द गर्न मिल्ने कानूनी आधार नरहेको बताएको छ । ट्रष्टले आफ्नो स्वामित्वमा रहेको जग्गा ऐन, नियमावली तथा कानून बमोजिम दिने व्यवस्था रहेकाले जग्गा भाडामा उपलब्ध गराउनका लागि कुनै पनि निकायबाट स्वीकृति लिन आवश्यक नरहेको पत्रमा उल्लेख गरेको छ । 

null‘मानव सेवा फाउण्डेण्सनले यस कार्यालयको खातामा रकम जम्मा गरेर अनुमति लिइसकेको अवस्थामा राजश्व रकम फिर्ता गरी कुनै पनि कार्यक्रम रद्द गर्ने कानूनी आधार नभएको’, पत्रमा भनिएको छ । 

तर, महानगर प्रवक्ता मोतिलाल तिमिल्सनाले महानगरको क्षेत्रभित्र रहेको विषयमा महानगरको अधिकार हुने बताउँछन् । ‘फेवाताल किनारमा महायज्ञ गर्न महानगरले दिँदैन, जहाँ गर्न भन्नुभएको छ त्यो ठाउँमा महानगरले स्वीकृति दिँदैन । महानगरपालिकाभित्रको कुरा महानगरको क्षेत्रधिकार भित्र पर्छ’, प्रवक्ता तिमिल्सिनाले भने, ‘नेपाल ट्रष्टबाट आए पनि, जहाँबाट आए पनि महानगरको स्वीकृतिबिना गर्न पाइँदैन । अब उहाँले (विजय कृष्णमूर्ति) स्वीकृति नलिई गर्नुहुन्छ भने उहाँहरूको कुरा हो । हामी कानुन अनुसार अघि बढ्छौं ।’

महायज्ञको विषय विवादित बन्दै गएपछि फाउण्डेसनले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्‍यो । पत्रकार सम्मेलनमा विजय कृष्णमूर्तिले पोखरामा जसरी पनि कोटीहोम गर्ने जिकिर गरे । उनले आफू धर्मका लागि अधर्म गर्न समेत पछि नपर्ने चेतावनी दिए । 

त्यसपछि महानगर प्रमुखको सचिवालयको आधिकारिक सामाजिक सञ्जाल टिकटकमा प्रमुख धनराज आचार्यले कानूनभन्दा माथि रहेर कसैले फुर्ति गर्न नहुने अभिव्यक्ति दिएको भिडियो राखिएको छ ।

‘कार्यपालिकाले निर्णय गरिसकेको छ । बिनाअनुमति म कार्यक्रम गर्न सक्छु भनेर कसैले धाकधम्की, फुर्ति, कानूनभन्दा माथि छु भन्ने कुराहरू नगरेको राम्रो । अनुमति दिने काम महानगरले गर्दैन’, भिडियोमा महानगर प्रमुख आचार्यले भनेका छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्