०७ साउन २०८३, बिहीबार

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अपील

फागुन १, २०८१
काठमाडौं
नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अपील

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगविरुद्ध निरोधात्मक विधि प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपील गरेका छन् । 

एक सन्देश जारी गर्दै मन्त्री पौडेलले नेपालमा हुने मृत्युको लगभग तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको भन्दै यसमा जलवायु परिवर्तन तथा बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको उल्लेख गरेका छन् ।

यसै समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागितासहित अभियानका रूपमा स्थानीय तहबाट स्वास्थ्य प्रवर्द्धनात्मक, प्रतिकारात्मक एवं उपचारात्मक सेवालाई व्यवस्थित गर्न आवश्यक भएको महसुस गरे पछि आफूले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना बनाएको उनले बताए ।

‘हामीले हाम्रा स्वास्थ्य संस्थाहरूमा सेवा तथा उपचारको गुणस्तर अभिवृद्धिका लागि यथासम्भव प्रयत्नहरू गरिरहेका छौं', उनले सन्देशमा भनेका छन्, ‘साथसाथै निरोधात्मक विधि अन्तर्गत नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने हाम्रो प्रयत्न जारी छ ।’

मन्त्री पौडेलले यसैलाई ध्यानमा राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगहरूको पहिचान अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ 

। यो अभियानमा नेपालभित्र बसोबास गर्ने ३० वर्ष भन्दा माथिका नागरिकलाई हरेक स्थानीय तहका स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग एवं शरीरको उचाई र तौलको अनुपात समयमै पहिचान गरि उल्लिखित नसर्ने रोगको रोकथाम तथा व्यवस्थापन गर्ने लक्ष्य राखेर फागुन महिनाभर अभियान थालिएको बताएका छन् ।

मन्त्रालयले हरेक वर्ष यो अभियानलाई निरन्तरता दिने भएको छ । मन्त्री पौडेलले नेपालमा नसर्ने रोगको भार कम गर्न र स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने कार्यमा हातेमालो सबैमा सन्देशमार्फत अपीलसमेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्