२९ जेठ २०८३, शुक्रबार
सुरुङ मार्ग सञ्चालन मोडालिटी

नागढुंगा सुरुङ सञ्चालनको खाका– वार्षिक ५० करोड खर्च हुने, कति पर्ला प्रयोग शुल्क ?

फागुन ४, २०८१
काठमाडौं
नागढुंगा सुरुङ सञ्चालनको खाका– वार्षिक ५० करोड खर्च हुने, कति पर्ला प्रयोग शुल्क ?

अबको पाँच महिनामा निर्माणको सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको नागढुंगा सुरुङ मार्ग सञ्चालन, मर्मत तथा व्यवस्थापनमा वार्षिक करिब ५० करोड खर्च हुने भएको छ ।

सुरुङ सञ्चालन गर्न मासिक ४ करोड १३ लाख ८९ हजार ५१ रूपैयाँ खर्च हुने सडक विभागले अनुमान गरेको छ । सडक विभागद्वारा गठित अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार वार्षिक ४९ करोड ६६ लाख ६९ हजार ८४० रूपैयाँ खर्च हुने उल्लेख छ । 

सात वर्षसम्म टोलबाट २ अर्ब ७० करोड ५२ लाख ७५ हजार ७९३ रूपैयाँ असुल हुने अनुमान गरिएकोमा त्यस अवधिमा कम्तीमा ७७ करोड १४ लाख १३ हजार ८६ रूपैयाँ घाटा हुने कार्यदलको निष्कर्ष छ ।

सडक विभागले २०८० साउन २१ गते परामर्शदाताले दिएको डिजाइन प्रतिवेदनलाई पुनः रिभ्यु गर्नका लागि अध्ययन कार्यदल गठन गरेको थियो । सोही कार्यदलले पेस गरेको प्रतिवेदनमा सुरुङ मार्ग सञ्चालन गर्न वार्षिक ५० करोड रूपैयाँ खर्च हुने उल्लेख गरिएको छ ।

सात वर्षअघि परामर्शदाता कम्पनीले वार्षिक २१ देखि  २५ करोड रूपैयाँ खर्च हुने अनुमान गरेको थियो । तर, सडक विभागले २०८० साउन २१ गते गठन गरेको अध्ययन कार्यदलले उक्त प्रतिवेदनमाथि समीक्षा गर्दै वार्षिक झन्डै ५० करोड रूपैयाँ खर्च हुने अनुमान गरेको छ । 

लोकान्तरलाई प्राप्त विवरण अनुसार सुरुङ मार्ग सञ्चालनका लागि समग्र व्यवस्थापकीय काममा परिचालन हुने जनशक्तिको पारिश्रमिकमा १ करोड ६० लाख ५२ हजार ४० रूपैयाँ मासिक तथा १९ करोड २६ लाख २४ हजार ४८० रूपैयाँ वार्षिक खर्च हुने अनुमान गरिएको छ ।

त्यसैगरी, विद्युत महसुलमा मात्रै मासिक ६९ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । बीमाको मासिक खर्च ८० हजार २६० रूपैयाँ, पोशाकमा मासिक  १६ हजार ५२, तालिम तथा प्रशिक्षणमा मासिक २० हजार, नियमित मर्मत सम्भारमा २१ लाख ३९ हजार ३ सय र फिल्ड तथा कार्यालय सञ्चालनमा मासिक ३ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

null

माथि उल्लेख गरिएका विद्युत, बीमा, पोशाक, तालिम, नियमित मर्मत, फिल्ड तथा कार्यालय सञ्चालनमा वार्षिक ११ करोड ३४ लाख ६७ हजार ३४७ रूपैयाँ खर्च हुने अध्ययन कार्यदलको अनुमान छ । 

त्यसैगरी,आवधिक मर्मत तथा सम्भारमा वार्षिक २ करोड १४ लाख २८ हजार ५७१ रूपैयाँ, आपतकालीन (इमर्जेन्सी) कार्यका लागि वार्षिक २० लाख रूपैयाँ, प्रोभिजनल सम (आपतकालीन कामका लागि) वार्षिक १ करोड रूपैयाँसहित ३ करोड ३४ लाख २८ हजार ५७१ रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यी तीन शीर्षकमा वार्षिक कूल ३३ करोड ९५ लाख २० हजार ३९८ रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमा मुनाफा १५ प्रतिशत अर्थात् ५ करोड ९ लाख २८ हजार ६० रूपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट)मा  ४ करोड ४१ लाख ३७ हजार ६५२ रूपैयाँ जोडेर कूल ४३ करोड ४५ लाख ८६ हजार ११० रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सात वर्षअघि परामर्शदाता कम्पनीले वार्षिक २१  देखि २५ करोड रूपैयाँ मात्र खर्च हुने प्रतिवेदन पेश गर्दा सुरुङ कार्यालय सञ्चालन, कर्मचारी तलब तथा प्रशासनिक खर्च शीर्षकमा ५ करोड, सीसीटीभी, ट्राफिक फ्यासिलिटी मनिटरिङ युनिटमा साढे ३ करोड, आपतकालीन उद्धार तथा सुरक्षामा ४ करोड, टोल संकलन तथा आर्थिक व्यवस्थापनमा साढे २ करोड, सुरुङ सरसफाई तथा मेन्टिनेन्समा ३ करोड, नियमित मर्मत तथा मशिनरी उपकरणमा साढे ४ करोड रूपैयाँ खर्च हुने अनुमान गरेको थियो । 

परामर्शदाताले विद्युत तथा सञ्चारमा २ करोड, अन्य अप्रत्याशित खर्चमा डेढ करोडसहित कूल २१ देखि २५ करोड रूपैयाँ अनुमानित खर्च हुने प्रतिवेदन दिएको थियो । 

सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्याल भने अध्ययन कार्यदलले अनुमानित गरेको खर्चलाई कसरी कटौती गर्न सकिन्छ भन्ने विषयमा कार्यदलमा छलफल भइरहेको बताउँछन् । 

‘५० करोड जतिको खर्च हुने अनुमान गरिएको भए पनि ४० करोड वा त्यसभन्दा पनि तल कसरी झार्न सकिन्छ भन्ने विषयमा कार्यदलमा छलफल भइरहेको छ’, अर्यालले लोकान्तरसँग भने, ‘कुन शीर्षकमा कति रकम घटाउन सकिन्छ वा टोलबाट के कति आय बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएपनि कुनै निर्णय भइसकेको छैन ।’

सात वर्षअघि साना गाडीसँग (कार, जीप, भ्यान) प्रतिकिलोमिटर २५ रूपैयाँ र ठूला गाडीसँग (बस, ट्रक) प्रतिकिलोमिटर ३५ रूपैयाँ शुल्क उठाउन परामर्शदाता कम्पनीले प्रस्ताव गरेको थियो । सुरुङमार्गमा मोटरसाइकल, टेम्पु र प्रज्ज्वलनशील पदार्थ बोक्ने ट्यांकर आदिको भने प्रवेश हुने छैन ।

सात वटा युनिट स्थापना हुने, १६० जना कर्मचारी खटिने 

सुरुङ मार्ग सञ्चालन गर्न कूल १६० जना जनशक्तिको आवश्यकता पर्ने कार्यदलले अनुमान गरेको छ । दिनरात निरन्तर सञ्चालन हुने हुनाले धेरैजसो कर्मचारीहरूलाई सिफ्टवाइज खटाउनु पर्ने तथा हरेक सिफ्टमा १/१ जना ब्याकअप समेत राख्नु पर्ने भन्दै कूल १६० जना जनशक्ति आवश्यक पर्ने विभागद्वारा गठित कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

समग्र व्यवस्थापन हेर्ने एक जना कार्यालय प्रमुख रहनेछन् । त्यसैगरी, ट्राफिक फ्यासिलिटी मनिटरिङ युनिट अन्तर्गत १३ जना, फ्यासिलिटिज मेन्टिनेन्स युनिटमा ९ जना, सिभिल वर्कस मेन्टिनेन्स युनिटमा ७ जना, सेक्युरिटी युनिटमा ४५ जना, टोविङ युनिटमा ८ जना, टोल कलेक्सन युनिटमा ५६ जना जनशक्ति आवश्यक पर्ने कार्यदलको प्रतिवेदनमा उल्लेख छ । 

त्यसैगरी, सिभिल वर्कर ५ जना, एकाउन्ट तथा फाइनाइन्स स्टाफ २ जना, कार्यालय सहयोगी तथा सरसफाइ स्टाफ १० जना, कुक ४ जना आवश्यक पर्ने उल्लेख छ ।

किनियो दर्जनौं सवारीसाधन 

सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनका लागि परामर्शदाताको प्रतिवेदनमा सिफारिस गरे अनुसार दर्जनौं सवारी साधन भने किनिएको छ । 

सुरुङ कार्यालयका प्रशासनिक कार्यहरू गर्न २ थान कार/जीप, कर्मचारीको गस्ती तथा सवारी अनुगमन गर्न २ थान मोटरसाइकल, सुरुङभित्रको धुलो तथा फोहोर सफा गर्न १ थान टनेल क्लिनिङ भेहिकल आवश्यक पर्ने परामर्शदाताले उल्लेख गरेका थिए ।

त्यसैगरी, सुरुङ बाहिरका सडक तथा टोल प्लाजाको सरसफाइ गर्न रोड स्वीपर १ थान, सुरुङको भित्तामा लगेको फोहोर तथा धुलो सफा गर्न हाइप्रेसर वाटर जेट गाडी १ थान, दुर्घटनाग्रस्त तथा बिग्रिएका गाडीहरू हटाउन रेस्क्यु एन्ड टोइङ भेहिकल १ थान आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा सुरुङभित्र आगलागी नियन्त्रण गर्न १ थान दमकल, आपतकालीन घाइतेहरूको उद्धार गर्न एम्बुलेन्स १ थान, सुरुङभित्र विद्युत तथा सञ्चार उपकरणहरूको मर्मत गर्न  १ थान गाडी आवश्यक पर्ने उल्लेख छ । 

विद्युत् आपूर्तिको आपतकालीन विकल्पका लागि १ थान मोबाइल जेनेरेटर, विद्युत आपूर्ति अवरुद्ध भएमा सुरुङभित्र प्रकाश प्रदान गर्न मोबाइल लाइटिङ उपकरण १ थान आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । 

उक्त सबै उपकरण खरिदमा त्यतिबेला ६ लाख ३५ हजार अमेरिकन डलर लागत लाग्ने अनुमान गरिएको थियो ।

नागढुंगा सुरुङ मार्ग परियोजना निर्देशनालयका उपनिर्देशक सञ्जय पन्थीका अनुसार ती सबै सवारीसाधन निर्माण गर्ने ठेक्का पाएका निर्माण व्यवसायीले नै किन्ने ठेक्का सम्झौता भएबमोजिम ठेक्का सम्झौता रकममै किनिएको छ । 

null

यस्ता छन् सुरक्षात्मक तथा आपतकालीन सुविधा

२ हजार ७१६ मिटर लामो सुरुङ मार्गमा विभिन्न सुरक्षात्मक तथा आपतकालीन सुविधाहरू स्थापना गरिएका छन् । सुरुङ मार्गमा सूचना तथा चेतावनी व्यवस्थापन अन्तर्गत आपतकालीन अवस्थामा प्रयोगका लागि १५ वटा आपतकालीन टेलिफोन, ५८ वटा पुस बटन अलार्म, ६६ वटा आगो पत्ता लगाउने यन्त्र र ६ वटा आपतकालीन सूचना बोर्ड  जडान गरिएका छन् ।

आगो निभाउने सुविधाहरू अन्तर्गत ५५ वटा अग्नि नियन्त्रण यन्त्र तथा ५५ वटा फायर हाइड्रेन्टहरू सुरुङमा राखिएका छन् ।  उद्धार तथा निकास व्यवस्थापनका लागि ३ वटा आपतकालीन निकास संकेत बोर्ड, एउटा  धुवाँ नियन्त्रण प्रणाली र ३ वटा उद्धार मार्ग व्यवस्था गरिएका छन् ।

त्यस्तै, अन्य महत्त्वपूर्ण सुविधाहरूमा १३ वटा दमकलका लागि हाइड्रेन्ट, २ हजार ६८८ वटा रेडियो सञ्चार सहायक उपकरण, एउटा रेडियो पुन: प्रसारण प्रणाली, एउटा सार्वजनिक सूचना प्रणाली, १३ वटा सीसीटीभी निगरानी प्रणाली र ३ वटा विद्युत आपूर्ति प्रणाली यूपीएस जेनेरेटर स्थापना गरिएका छन् ।

त्यसैगरी, सुरुङ प्रवेश मार्गहरूमा पनि विभिन्न सुरक्षात्मक तथा यातायात व्यवस्थापन सुविधा राखिएका छन् । ३४२ मिटरको पूर्व प्रवेश मार्ग र २ हजार २८१ मिटरको पश्चिम प्रवेश मार्गमा परिवर्तनशील सन्देश संकेत (भीएमएस) जडान गरिएको छ । यातायात व्यवस्थापन प्रणाली अन्तर्गत पूर्व र पश्चिम प्रवेश मार्गहरूमा तौल तथा गति मापन प्रणाली जडान गरिएको छ । 

उक्त प्रणालीले सवारी साधनको तौल तथा गति नियन्त्रण गर्नेछ । साथै, प्रत्येक प्रवेश मार्गमा एक/एक वटा उचाइ जाँच यन्त्र स्थापना गरिएको छ ।

सुरुङ मार्ग निर्माणका लागि सन् २०१९ सेप्टेम्बर २३ मा हाज्मा अन्डो कर्पोरेसनसँग ठेक्का सम्झौता गरिएको थियो । सन् २०२३ अप्रिल २६ मा निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा कोभिडसहित विभिन्न कारणले निर्माण सम्पन्न नहुँदा २०२५ अक्टोबर २५ सम्मका लागि म्याद थप गरिएको छ ।

काठमाडौं भित्रिने मुख्य नाकामा उक्त सुरुङ मार्ग निर्माण भएपछि नागढुंगामा हुने सवारी चाप कम हुने लक्ष्य राखिएको छ ।

पढ्नुहोस्, यो पनि :

नागढुंगा सुरुङमार्ग ५ महिनामा सरकारलाई हस्तान्तरण हुने, तर एक वर्षसम्म सञ्चालन नहुने खतरा !
 

salt training

कमेन्ट गर्नुहोस्