
हावा चल्ने सुख्खा मौसम शुरू नहुँदै देशका विभिन्न भागमा आगलागीका घटना भएका छन् ।
मध्यमाघदेखि नै देशका विभिन्न भागमा आगलागीका घटना शुरू भएका हुन् । गत वर्ष फागुन–चैत महिनामा भएजस्तो आगलागी यसपटक माघ महिनादेखि नै शुरू भयो ।
काभ्रेको महाभारतस्थित जंगलमा लागेको आगो नियन्त्रणका लागि हेलिकप्टरबाट पानी हाल्नुपर्ने अवस्था आयो । शिवपुरी जंगलमा लागेको आगो नियन्त्रणका लागि संसद्मा पटक–पटक कुरा उठ्यो ।
गत वर्ष नागार्जुन जंगलमा लागेको आगो नियन्त्रणका लागि पनि हेलिकप्टरबाट पानी हाल्नुपरेको थियो ।
जंगलमा लागेको आगो नियन्त्रणका लागि स्रोत–साधन र पूर्वाधारको अभाव अहिले पनि छ ।
आगलागीका ठूला घटना नियन्त्रण गर्न कति हम्मे पर्दछ भन्ने उदाहरण अमेरिकाको क्लालिफोर्नियाको हालैको घटना काफी छ । विश्वको महाशक्ति राष्ट्र अमेरिकालाई समेत त्यो आगलागी नियन्त्रण गर्न हम्मे पर्यो ।
नेपालमा आगलागी नियन्त्रणका लागि पर्याप्त पूर्वाधार र स्रोत साधन छैनन् । शहरी क्षेत्रमा सीमित दमकल छन्, ती पनि पूर्ण क्षमतामा सञ्चालन हुँदैनन् । आगलागी समयमा नियन्त्रण नहुँदा जनधन र पर्यावरणीय क्षति हुने गरेको छ ।
जंगलमा लाग्ने आगो एउटा पक्ष भयो, शहर र घरमा हुने आगलागी नियन्त्रण समेत चुनौतीको विषय बनेको छ ।
माघको अन्तिम साता काठमाडौंमा आगलागीका दुईवटा घटना भए– एउटा सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा र अर्को कमलपोखरीको म:म पसलमा । कमलपोखरी घटना ग्यास विस्फोटका कारण भएको थियो । ग्यास विस्फोटमा आगलागी भएर मानवीय क्षति हुने क्रम बढ्दो छ ।
कमलपोखरीको घटनामा २ जनाको मृत्यु भयो भने ९ जना कीर्तिपुर अस्पतालमा उपचाररत छन् ।
शहरका घना बस्तीमा पुग्ने साँघुरो बाटो र ट्राफिक जामका कारण आगलागी नियन्त्रण गर्न चुनौती बन्ने गरेको छ । फागुन–चैत–वैशाखजस्तो आगलागीको जोखिम बढी हुने मौसम आइरहेको समयमा आगलागी नियन्त्रणका लागि तीनै तहका सरकारले समयमै पूर्व तयारी गर्नु आवश्यक छ ।
विगत वर्षहरूमा देशका विभिन्न भूभागमा भएका आगलागीका घटनाबाट पाठ सिकेर समयमै पर्याप्त तयारी गर्नुपर्छ । स्थानीय सरकारले पनि आगलागी नियन्त्रणका लागि रणनीति बनाउन जरुरी छ ।
विकासको नाममा गाउँका अग्ला डाँडामा भ्यूटावर बनाउने भाउँतो छाडेर स्थानीय तहले साझेदारीमा भएपनि दमकलको व्यवस्था गर्नु आवश्यक भएको छ ।
आगलागीका घटना बढ्ने समयमा सिंहदरबारस्थित खानेपानी मन्त्रालयबाट बजेको खतराको घण्टीतर्फ सरकार सचेत भएर आवश्यक पूर्व तयारीमा लागोस् ।