
पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।
अभियानको १२औं दिन शनिबारसम्म १३ लाख किशोरीहरूले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मी, स्वयंसेवक, सहयोगी विद्यालय लगायत सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । माघ २२ गते शुरू भएको अभियान फागुन ६ गतेसम्म चल्नेछ ।
अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीहरूलाई स्थानीय तहमा रहेका केन्द्रमार्फत खोप प्रदान गरिएको छ ।
अबको अवधिमा छुटेकाको पहिचान गरी खोप प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । अभियानका क्रममा करिब १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।