२७ जेठ २०८३, बुधबार

दमाहा बजाउनाका सिपालु बाहादुर्या दाइ

फागुन १०, २०८१
काठमाडौं
दमाहा बजाउनाका सिपालु बाहादुर्या दाइ

यी मेरा कान्छबा पड्या लगाऊ आफोई साइनु !
यो बज्न्या अरु केइ होइन बाहादुर्याको दाइनु !

साविकको रावतकोट गाविस वडा नम्बर ७, हालको भैरवी गाउँपालिका वडा नम्बर १ एकस्थित करिब पाँचवटा घरसहित ‘दमाई समुदाय’को बस्ती छ। तीमध्ये बाहादुर्या (बहादुरे) दाइ निकै हक्की स्वभावका कडा खाले हुनुहुन्छ। 

खाइलाग्दो ज्यान परेको लगभग ६०/६५ को उमेरमा पनि हट्टाकट्टा देखिने बाहादुर्या दाइ जवानीमा कस्तो हुनुहुँदो हो ? त्यसको अड्कल म केवल कल्पना मात्र गर्न सक्छु ।

दुई छोरा र तीन छोरीसहितको परिवार गाउँमै पाल्नलाई बाहादुर्या दाइले बालीगरे हिसाबमा काम गर्नुहुन्थो । पछि छोराहरू ठूला भइसकेपछि दुई छोरा भारतमा कमाउन हिँडे । तीमध्ये कान्छा छोराको यतै भारतमा मृत्यु भयो । त्यसै समयमा उहाँको श्रीमती (भाउजूको)पनि देहवसान भयो।  यो घटनापछि बाहादुर्या दाइको जीवनमा के के बित्यो, हामी केवल अनुमान मात्र गर्न सक्छौं । 

चुल्होमा आमा नभएपछिको पीडा छोराछोरीमा प्रत्यक्ष रूपमा परेको देखियो । छरछिमेकी र आफन्तको करबलमा बाहादुर्या दाइले दोस्रो विवाह गर्नुभयो । उहाँको अहिलेको श्रीमती (भाउजू) पनि दुःख पाएर त्यही गाउँ नजिकै माइतमै बस्नुभएको थियो। सबैको सल्लाह सहमतिमै दाइले दोस्रो विवाह गर्नुभयो । अहिले उहाँहरूको परिवार राम्रैसँग बसेको छ। त्यही उताबाट आमासँग आएका केटाकेटीहरू र केही बाहादुर्या दाइका पहिलो श्रीमतीबाटका सन्तानबीच त्यति फाटो पनि छैन।

कमाउन गएको छोरो गुमाउनु, श्रीमतीको अंगालो गुमाउनु, बाँकी छोराछोरीले आमाको काख गुमाउनु कति ठूलो बज्रपात थियो । 

कहिलेकाहीँ मेरो बुवासँग कुरा गर्दा उहाँ रुनुहुन्थ्यो। मेरो बुवा हक्की स्वभावको भएका कारण ‘पहिला स्वास्नी मेरो पनि मरेकै हो तेरो मात्रै हैन’ भनेर रुखो बोल्नुहुन्थ्यो । 

तर, मेरी आमाले बाहादुर्या दाइका कुरा सुन्थिन् र भन्थिन्, ‘जेठा यस्तै हो । अब हुने हार दैव नटार क्यार्छस् त ! आमाले उहाँलाई सम्झाउँथिन् ।

मेरी आमाको र बाहादुर्या दाइकी पहिलाकी श्रीमतीको निकै राम्रो सम्बन्ध थियो। फुपू-भतिजी भनेर एकअर्कालाई सम्बोधन गर्थे । 

गाउँमा देवता पुज्ने बेलादेखि लिएर विवाह व्रतबन्ध र मरुभागु भएको बेला बाहादुर्या दाइलगायत सिंगो दमाई बस्तीको निकै चर्चा हुन्थ्यो । हाम्रो समाजमा जुन चर्चा अहिले पनि छ । बाहादुर्या दाइले बजाएको दाइनो दमायो (दमाहा) छिमेकी गाउँका पनि मुक्तकण्ठले प्रशंसा गर्छन् अहिले पनि। 

अझै पनि याद छ, म कहिलेकाहीँ उहाँको दमाहा चोरेर बजाउँथें । बाहादुर्या दाइसँग जिस्किन्थेँ । नाभिस्थानमा रावतकोटको लास लगेर गएको बेला छिउँडी छुवाला र गमौडीका दमाइहरूसँग जुधेको समय नदेख्ने हाम्रोतिरका मान्छेहरु सायद कमै होलान्। जुधेको भनेको झगडा गरेको भनेको होइन, बाजा बजाएरै जुध्ने हो।

‘जब बाहादुर्या खुट्टा गज्याएर दाइनु बजाउन शुरू गर्छ तब छिमेकी छिउडी छुवाला र गमौडीका दमाइहरूको सातो जान्छ’ भन्ने कुरा मेरा बुवा बारबार भनिरहन्छन्। तत्कालीन समयमा अहिलेको जस्तो सञ्जाल र सञ्चारका साधन थिएनन् । गाउँमा मान्छे मरेको बेला डाँडातिर गएर छिमेकी गाउँका मान्छेलाई जानकारी गराउन खुट हाल्ने चलन थियो । हुन त यो चलन अहिले पनि विद्यमान छ । डाँडानिर गएर छिमेकी गाउँतिर फर्केर दमाहा बजाउनुलाई खुट हाल्नु भनिन्छ। 

लाहुर-परदेशबाट र जागिरबाट कोही आएको बेला उसको सम्मानमा नगरा हाल्ने चलन अहिले पनि छ। बाहादुर्या दाइ लगायतका दाइहरूले नगरा हालेको सम्झना मलाई बारबार आउँछ।

१०/१२ जनाको परिवार त्यसमा पनि हाट, भोट नगएका बाहादुर्या दाइले बालीघरे हिसाबमा काम गरी कसरी चलाएका छन् घर?

फलानाले यति वर्ष देशको सेवा गर्‍यो, यति वर्ष राजनीति गर्‍यो, यति देशलाई योगदान गर्‍यौं भनेर सबैको लेखाजोखा हुन्छ। करिब १० वर्षको उमेरदेखि लगातार अहिलेसम्म बाजा बजाइरहेका बाहादुर्या लेखाजोखा कसले गर्ने ? ५५/५६ वर्षदेखि उनी रावतकोटकै सेवामा तल्लीन् छन्।

तिनै बाहादुर्या दाइले र दमाई ठूल्बाहरूले सिलाएको सर्ट, कछ्छा, जाङ्घे, टोपी, ब्लाउज, दौरासुरुवाल, कुर्ता सुरुवाल, चोलो लगाएर हुर्किएको म र म जस्ता धेरै मान्छेहरूले दमाईवाणीको मूल्य चुकाउन यो जन्म त के अर्को जन्ममा पनि सक्दैनौं । 

यो ५५/५६ वर्षमा बाहादुर्या दाइले कतिको बिहेमा बाजा बजाए होलान् । कतिको मृत्युमा बाजा बजाएर घाट पुगे होलान् । कतिको स्वागतमा बाजा घन्काए होलान् । के कसैले राखेको छ यसको हिसाब ? पक्कै छैन, बाहादुर्या दाइ बेहिसाब बाँचिरहनुभएको छ आफ्नो जीवन । अहिले पनि दिनरात नभनी बाहादुर्या दाइले बजाउने दमाहा के साँच्चै राउतकोटको सेवा होइन र ?

मान्छेले जतिबेला देह त्याग्छ, ठीक त्यतिबेला दिनरात, घामपानी, निदभोक केही नभनेर ‘बाजो दिन’ निरन्तर हिँड्ने बाहादुर्या दाइको योगदानको मूल्य रावतकोटले कहिल्यै तिर्न सक्दैन । कुनै पार्टीको कार्यक्रममा बाजागाजासहितको र्‍याली ठाङी,कालसैनी, मस्टा, देउती, कोटेल, नरसिंम्ह्मा लगायतका थानपुजाइमा पनि ५५ /५६ वर्षदेखि बाहादुर्या दाइको सक्रिय उपस्थिति चानचुने हो र !

बाहादुर्या दाइनु रन्का आइगया छिउडिका!
तँ तिनकी सद्धरी निकाल रौं निकाल चिउँडिका!

रावतकोटबाट लास लगेर नाभिस्थानमा गएको समयमा छिउडीबाट आएको लासको जम्का भेट हुँदा रावतकोट र छिउडिका दमाहाहरूबीच प्रतिस्पर्धा हुँदाको दृश्यको मजा बेग्लै हुन्छ। छिमेकी गाउँका दमाईहरूले पनि बाहादुर्या दाइलाई निकै राम्रो सम्मान गरेको देखिन्छ। जीवनका करिब पाँच दशक दमाहा बजाएरै जीवन निर्वाह गरिरहेका बाहादुर्या दाइलाई लोभ छ न कुनै लालच । ज्याला र खलो मलाई कम पर्‍यो भनेर कहिल्यै गुनासो गर्दैनन् !

गोठे दमाई (ठूल्बा), चाउरा दमाई (ठुल्बा), बाहादुर्या  दमाई, हर्क दमाई, अम्मरे दमाई र रेशम दमाई, मिठ्ठु भतिजको टोली दमाहा लिएर निस्कियो भने विवाह व्रतबन्धमा रौनक छुट्टै हुन्थ्यो। छैठी, घरपैसो लगायतका कुनै पनि शुभ/अशुभ कार्यहरूमा निश्चित ज्यालाबिना जे दियो त्यसैमा सन्तुष्ट भएर जीवनका पाँच दशक नि:स्वार्थ सेवा गर्ने दमाईवाणीको जय जयकार रावतकोटले जति गरे पनि कम पर्छ।

जाहारकोट, दुल्लु,पादुका, बाँसी, खरीगैरा, डुग्री, छडुंग लगायतका छिमेकी गाउँका ईष्टमित्र दमाईहरूले रावतकोटका दमाईहरूको मुक्तकण्ठले प्रशंसा गर्नु हाम्रा लागि गर्वको कुरा हो ।

आँखा मिटिक नलाइकन रातभरी लास कुर्या !
अहिलेसम्म ढल्कियोन काँ छ बाहादुर्या ?

शारीरिक अस्वस्थता वा अन्य कुनै कारण बाहादुर्या दाइ मान्छे मरेको ठाउँ नपुग्दा यसरी उहाँलाई सम्झिन पुगेका एउटा काकाको यो गीत म बारबार सम्झिरहन्छु । निरन्तर आफ्नो पेशाप्रति कहिल्यै पनि झर्को नमानी, कुनै समयको मर्यादामा नरही हरसमय यसरी समग्र गाउँको सेवा गर्नु के चानचुने कुरा हो ?

म जति बाहादुर्या दाइको नजिक भएँ, उति उहाँबारे देखे/बुझेका सम्झिएँ । दमाईवाणीमा अग्रज बुवा, दाइ लगायत नयाँ-पुराना भाइबन्धुहरूप्रति मेरो उत्तिकै सम्मान छ । उहाँहरूको काम र पेसाप्रति म सधैं गर्व गर्छु । उहाँहरूप्रति सम्मानले निहुरिएको मेरो शीर सँधै निहुरिरहनेछ । 

salt training

कमेन्ट गर्नुहोस्