१६ असार २०८३, मंगलबार
रित्तिँदो पहाड, भरिँदो तराई

जनसंख्याको बढ्दो असन्तुलन– छिमेकी ६ पहाडी जिल्लाबराबर जनसंख्या एक्लै रुपन्देहीमा !

फागुन १२, २०८१
बुटवल
जनसंख्याको बढ्दो असन्तुलन– छिमेकी ६ पहाडी जिल्लाबराबर जनसंख्या एक्लै रुपन्देहीमा !

अवसरको खोजी र सहज जीवनयापनका लागि भन्दै रूपन्देहीमा बसाइँसराइको लहर चल्दा जनसांखिकी भार चुलिएको छ । लुम्बिनी प्रदेशका ६ पहाडी जिल्ला बराबर जनसंख्या एक्लै रूपन्देहीको पुगेको छ । 

लुम्बिनीका गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुमपूर्वको जनसंख्या लुम्बिनी प्रदेशको जनसंख्याको २३ प्रतिशत छ भने रूपन्देहीको एक्लै २२ प्रतिशत पुगेको छ ।

स्थायी रूपमा बसोबासका लागि मानिसहरू रूपन्देही ओइरिँदा औद्योगिक र व्यापारिक जिल्ला/शहरलाई जनसंख्या व्यवस्थापनले पिरोलिरहेको छ । 

राष्ट्रिय जनगणना वि.सं. २०७८ अनुसार रूपन्देहीको जनसंख्या ११ लाख २७ हजार ९५७ रहेको छ भने पहाडी ६ जिल्लाको जनसंख्या ११ लाख ९२ हजार २०५ छ । अनौपचारिकरूपमा रूपन्देहीमा १६ लाख मानिसको बसोबास रहेको बताइन्छ । १० वर्षअघि (२०६८) मा ७ लाख ८ हजार मानिस मात्र बसोबास गर्ने रूपन्देही अहिले नेपालको धेरै जनसंख्या भएको तेस्रो जिल्ला हो ।

१ उप–महानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका गरी १६ वटा स्थानीय तह रहेको जिल्लाको जनसंख्या वृद्धिदर २.३३ प्रतिशत छ । 

त्यसभित्र पनि जिल्लाको तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये सबैभन्दा बढी बसाइँसराइको चाप रहेको पालिकामा परेको छ । 

nullबुटवल उपमहानगरपालिकाको जनसंख्या १ लाख ९४ हजार हुँदा तिलोत्तमाको १ लाख ४९ हजार ४७९ पुगेको छ । अहिलेको जनसंख्या वृद्धिदरअनुसार नेपालको जनसंख्या ७८ वर्षमा दोब्बर हुने देखिन्छ भने तिलोत्तमाको जनसंख्या १८ वर्षमै दोब्बर हुने जनसंख्या वृद्धिदरको तथ्यांकले देखाएको छ ।

नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत छ भने तिलोत्तमाको ३.८ प्रतिशत पुगेको छ । नगरपालिकाको नक्सा शाखाका अनुसार पालिकामा मात्रै वार्षिक १ हजार १०० नयाँ घर थपिन्छन् ।

तिलोत्तमापछि बसाइँसराइ गरेर आउनेमा बाँकेको कोहलपुर र तेस्रोमा बुटवल उपमहानगरपालिका पर्छन् । कोहलपुरको वार्षिक जनसंख्या वृद्धिदर ३.३६ प्रतिशत र बुटवलको ३.२७ प्रतिशत छ ।

स्थानीय तहअन्तर्गत २५० गाउँपालिकाको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको अवस्थामा रूपन्देहीको कञ्चन गाउँपालिका देशकै सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको गाउँपालिकामा परेको छ । कञ्चनको जनसंख्या वृद्धिदर २.४१ प्रतिशत रहेको छ । 

वि.सं.२०६८ मा ३३ हजार ७२ रहेको कञ्चनको जनसंख्या अहिले ४२ हजार ५२८ पुगेको छ । त्यस्तै, जनसंख्या वृद्धिदर बढी भएको लुम्बिनी प्रदेशअन्तर्गतको दोस्रो गाउँपालिका दाङको राप्तीमा २.३६ प्रतिशत र तेस्रोमा बाँकेको वैजनाथ गाउँपालिकामा २.२४ प्रतिशत वृद्धिदर छ ।

जनसंख्या क्षेत्रका जानकार युवराज कँडेल बसाइँसराइले रूपन्देहीमा खेतीयोग्य जमिनको विनाश, भूमिको खण्डीकरण, वनमा चाप देखिएको बताउँछन् ।

अव्यवस्थित शहरीकरण र फोहोरमैला व्यवस्थापन पालिकालाई टाउको दुखाइ बनेको छ । बसाइँसराइको केन्द्रबिन्दु बने पनि बुटवलसहित विभिन्न नगरपालिकामा व्यवस्थित र योजनाबद्ध शहरीकरणका पहल हुन सकेका छैनन् ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमामा बसाइँसराइले अवसर र चुनौती दुवै थपेको बताए । ‘तिलोत्तमामा बस्ने पहाडतिरका मानिसहरूले अहिले पनि बसाइँसराइ प्रमाणपत्र ल्याउनुभएको छैन,’ मेयर खाँण भन्छन्, ‘चुनावमा मतदान गर्न पहाड नै जानुहुन्छ । यहाँ घर बनाएर बस्नुभएको छ । त्यसैले यहाँ वृहत् प्लानिङ गरेर अगाडि बढ्नुपर्ने देखिएको छ ।’

नगरपालिकामा आधारभूत पूर्वाधारका लागि पनि चुनौती थपिएको नगर प्रमुख खाँणको भनाइ छ । पहाडका स्थानीय तहले बसाइँसराइ रोक्न गाउँलाई नगर बनाउने सवालमा मेहनत गरिरहेका छन् । तर, ग्रामीण बसोबास र खेतिपातीमा निर्भरता खुम्चिँदै गएपछि बसाइँसराइको चक्र तीव्र गतिमा बढेको छ । कुनै बेला औलोको डरले बसोबासका लागि बुटवल भन्दा नाक खुम्चाउने गर्थे । तर, अहिले चकित बनाउने विकासले बुटवल र तिलोत्तमामा खाली जमिन भेट्टाउन समेत मुस्किल पर्न थालेको छ । एक दशकयता रूपन्देहीमा शहरीकरण तीव्र छ ।

रूपन्देहीको जनसंख्या वृद्धिदरले पहाड खाली हुँदै गएको संकेत गरिरहेको जनसंख्या र बसाइँसराइ क्षेत्रका अध्येता चेतन अधिकारी बताउँछन् । 

null

‘रूपन्देहीमा एउटा घर थपिनु भनेको त्यस आसपासका पहाडी जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका जिल्लामा एउटा घर खाली हुनु हो,’ अधिकारी भन्छन्, ‘पहाडमा उर्वर भूमि बाँझिएको र तराईमा खेतीयोग्य जमिन खण्डीकरण हुन थालेको देखिन्छ । विकास पहाड पसेको छ, तर मान्छे तराई झरेका छन् । यसले हामीलाई परनिर्भर बनाएको छ । पहाडका खेतीयोग्य जमिन जंगल बनेका छन् ।’

कुनै बेला व्यापारिक केन्द्रको पहिचान पाएको बुटवल लुम्बिनी प्रदेशको तत्कालीन मुकाम पनि हो । घ्यूसँग नुन साट्न र पहाडबाट युवाहरू रोजगारीका लागि भारत आवतजावत गर्न तत्कालीन बटौली (बुटवल) प्रमुख नाका थियो ।

वि.सं. २०५० को दशकपछि रूपन्देहीमा जनसंख्या तीव्र ढंगले विस्तार भएको हो । बुटवलको इतिहासका जानकार विमलबहादुर शाक्य पूर्व–पश्चिम र सिद्धार्थ राजमार्गजस्ता सम्पर्क बढाउने सडकमार्गका कारण रूपन्देही पहाडी जिल्लासँग जोडिएर आवत–जावत अभूतपूर्व बढेको बताउँछन् ।

‘वि.सं. २००७ मा बटौलीमा मुस्किलले १५/२० वटा नुन बिक्री गर्ने झुपडी थिए,’ शाक्य भन्छन्, ‘७५ वर्षको अवधिमा बुटवलको कायापलट भएको छ । व्यापारिक केन्द्र र बस्ती दुवै भरिँदै गएपछि बटौलीबाट बुटवल बन्यो । साँच्चै बुटवलमा तीव्रतर ढंगले जनसंख्या भरिएको २५/३० वर्ष भयो । यही बीचमा बुटवलले ठूलो छलाङ मार्‍यो ।’ 

पूर्वाधार विकास र आर्थिक गतिविधिको केन्द्र रूपन्देही बन्दा लुम्बिनी प्रदेशको आर्थिक विकासको सम्भावनालाई समेत जिल्लाले जोडेको शाक्यको भनाइ छ । विद्यार्थी भएर पढ्न बुटवल झर्ने र पछि यतै रोजगारी गर्ने कि वैदेशिक रोजगारीमा गएपछि बुटवलमा घर घडेरी जोड्ने सांस्कृति विकास भएको छ । बुटवलसहित विभिन्न शहर आफैं जोडिएर एउटै ठूलो शहर बनिसकेका छन् । यही क्रम अहिले पश्चिममा बुटवल–तिलोत्तमा–भैरहवा (सिद्धार्थनगर) एउटै शहर बनिसकेका छन् । 

यी शहरलाई महानगर बनाउने बहस चलेको छ । 

समाजशास्त्र तथा मानवशास्त्रका प्राध्यापक जीवनारायण अधिकारीले रूपन्देहीमा बसोबासका लागि लर्को लाग्दा साविक लुम्बिनी अञ्चलका पहाडी जिल्लामा भौगोलिक असन्तुलन र मानवीय सम्बन्ध समेत खल्बलिएको बताए ।

‘जुहाँ सुगमता र अवसर छ, त्यतै केन्द्रित हुँदै जाने मानवीय प्रवृत्ति हो,’ अधिकारी भन्छन्, ‘बढ्दो विश्वव्यापीकरण र त्यसले भित्र्याएको आधुनिकताले मानिसलाई सुविधाभोगी बनाउँदा बसाइँसराइ बढेको हो । पहाडबाट तराई, तराईबाट शहर र शहरबाट विदेशमा माइग्रेसन बढेको छ । पहाडबाट तराई झर्ने क्रम माओवादी आन्दोलन शुरू भएपछि बढ्न थाल्यो । मुलुकमा लोकतन्त्र आएपछि त यसको दर ह्वात्तै बढेर पहाड खाली नै हुने त होइन  भन्ने अवस्था सिर्जना भएको छ ।’

‘राज्यले पहाडमा गरेको ठूलो लगानी उपयोगविहीन बन्ने बाटोमा पुग्दैछ, अब पहाडलाई उत्पादनसँग जोड्ने योजना ल्याउन सक्रियता नदेखाए यो रोकिने छाँटकाट छैन,’ उनी थप्छन् ।

रोजगारीका लागि युवा विदेश गएपछि उनीहरूले पठाएको रेमिट्यान्स तराईमा घर घडेरी जोड्न खर्चिएका छन् । गुणस्तरीय शिक्षा र स्वास्थ्यको सहजताका लागि भनेर बसाईं सर्ने पनि उत्तिकै छन् । तहगत जनसंख्याको हिसाबले बागमती र मधेशपछि धेरै जनसंख्या भएको प्रदेश लुम्बिनी हो । 

null

लुम्बिनीको जनसंख्या ५१ लाख २२ हजार ७८ रहेको छ । महेन्द्र राजमार्ग निर्माणसँगै यहाँ जग्गा खरिदबिक्री शुरू भएको थियो । मध्यपहाडमा निरन्तर भइरहेको जनसंख्याको क्षतिले आउने दिनमा सामाजिक र राजनीतिक द्वन्द्व निम्त्याउने चिन्ता व्यक्त हुन थालेको छ । यसप्रति राज्य उदासीन देखिएको छ ।

अर्थशास्त्री डा. सुदनकुमार वली पहाडमा अर्थतन्त्र असन्तुलन र तराईमा जनघनत्व बढी हुँदा सेवा सुविधाको अभावसहित धेरै समस्या निम्तिने बताउँछन् ।

‘माइग्रेसन रोकेर रोकिने चिज होइन,’ डा. वली भन्छन्, ‘तर, राज्यले न्यूनीकरण गर्न सक्छ । जस्तै स्वास्थ्य, शिक्षा र रोजगारी मानिसको हकमा अहिले अनिवार्य शर्त हो । यी तिनै कुराको ‘अपरचुनिटी’ पहाडमा पनि देखाउन सके मानिसहरू रोकिन सक्छन् ।’ 

‘पहिलेको इकोनोमिक स्ट्रक्चर गाईवस्तु चराउने, बाख्रापालन र निर्वाहमुखी कृषि थियो । अहिले इकोनोमी ठयाक्कै चेन्ज भएको छ । अर्थतन्त्र जहाँ बलियो छ, त्यहीँ मान्छे जान खोज्छन्,’ वलीले भने । 

सिक्स लेन सडक, अन्तर्राष्ट्रिय विमानस्थल, सहज नाका, पर्यटकीय पूर्वाधार दुईवटा केवलकार, पूर्वपश्चिम राजमार्ग विस्तारको काम पनि बुटवललाई केन्द्रमा राखेर भइरहेको छ । 

जोखिमपूर्ण खुड्किलो मानिने सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबामा सुरुङमार्ग (टनेल) पूर्ण रूपमा सञ्चालनमा आएपछि झनै यसले पाल्पाको तानसेनसम्मलाई सहज मार्गबाट जोड्ने छ । 

१ हजार २०० शय्याको निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पताल, औद्योगिक क्षेत्र र ठूला लगानीकर्ताको आकर्षणले रूपन्देहीमा अझै चाप बढाएको छ । सोही कारण पनि तत्कालीन लुम्बिनी प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानी घोषणा गर्ने निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्