
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्लभ खनिजको उत्खनन् र विकासका लागि अमेरिकासँग सहकार्य गर्न मस्को तयार रहेको बताएका छन् ।
उनले युक्रेनबाट कब्जा गरिएका भूमिहरू डोनेट्स्क, लुहान्स्क, खेरसोन र जापोरोझिएका खनिज भण्डारहरूको संयुक्त अन्वेषणमा अमेरिकालाई साझेदार बन्न प्रस्ताव गरेका हुन् ।
यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेनसँग दुर्लभ खनिज उत्खनन् सम्झौताका लागि प्रयासरत छन् । तर, खनिजको विषयमा अमेरिका र युक्रेनबीच भइरहेको वार्ता आफ्नो सरोकारको विषय नभएको पुटिनले बताएका छन् ।
सोमबार साँझ रुस–१ टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले युक्रेनको दुर्लभ खनिज भण्डारको वास्तविक मूल्य अझै प्रस्ट नभएको उल्लेख गरे ।
युक्रेनमा रहेको खनिजको वास्तविक मूल्य प्रस्ट नभएकाले अमेरिकाले रुससँग कुराकानी गर्नुपर्ने उनको आशय थियो ।
दुर्लभ खनिजहरूको महत्त्व विभिन्न आर्थिक क्षेत्रहरूमा रहेको बताउँदै पुटिनले त्यसको विकासका लागि रुसले आफ्नै स्रोत व्यवस्थापन गर्ने उल्लेख गरे ।
अन्तर्वार्ताका क्रममा उनले भनेका छन्, 'तथापि, अमेरिका हामीसँग सहकार्य गर्न इच्छुक भए निजी तथा सरकारी कम्पनीहरूसँग मिलेर संयुक्त रूपमा काम गर्न सक्छौं ।'
रुस दुर्लभ खनिज सम्पत्तिको हिसाबले विश्वकै प्रमुख राष्ट्रहरूमध्ये एक मानिन्छ । पुटिनका अनुसार, मस्कोले अन्तर्राष्ट्रिय लगानीकर्तासँग मिलेर आफ्ना स्रोत विकास गर्ने योजना बनाइरहेको छ ।
यसमा रुसले कब्जा गरेको करिब २० प्रतिशत युक्रेनी भूमि पनि पर्ने पुटिनले जनाएका छन् । रुसले ३ वर्षअघि युक्रेनमा आक्रमण गरेर डोनेट्स्क, लुहान्स्क, खेरसोन र जापोरोझिए कब्जामा लिएको थियो ।
फोर्ब्स पत्रिकाका अनुसार युक्रेनको खनिज स्रोतहरूको कुल मूल्य करिब १५ ट्रिलियन डलर रहेको छ, जसको लगभग आधा भाग रुसद्वारा नियन्त्रण गरिएका क्षेत्रहरूमा अवस्थित छ ।
रुसले दुर्लभ खनिज क्षेत्रमा अमेरिका जस्ता प्रतिस्पर्धी राष्ट्रहरूसँग सहकार्यको संकेत दिए पनि यो प्रस्तावलाई अमेरिकाले कसरी लिन्छ भन्ने विषय अहिलेसम्म स्पष्ट छैन ।
यदि सहकार्य सम्भव भएमा यसले दुर्लभ खनिज बजारमा चीनको वर्चस्व घटाउने महत्त्वपूर्ण कदम हुन सक्ने रुसी समाचार संस्था रसिया टुडेले जनाएको छ ।
तीन वर्षदेखि जारी रुस-युक्रेन युद्धको समाधानका लागि यसअघि अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच महत्त्वपूर्ण खनिज पदार्थहरूको पहुँचसम्बन्धी सम्झौता हुने समाचार बाहिरिएको थियो ।
अमेरिका र युक्रेनबीच पटक-पटक भइरहेको वार्ताले निष्कर्ष दिन नसकेपछि उत्पन्न तनावपूर्ण वातावरणबीच दुई देशबीच यस्तो सम्झौता हुन लागेको बताइएको थियो ।
गत शुक्रबार राति एक सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले भनेका थिए, ‘यो सम्झौताले हाम्रो सम्बन्धलाई बलियो बनाउन सक्छ । मुख्य कुरा यसको प्रभावकारिता कसरी हुन्छ, त्यसमा ध्यान दिनु हो । म न्यायोचित परिणामको अपेक्षा गर्दछु ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि छिट्टै सम्झौतामा हस्ताक्षर हुने दाबी गरेका थिए ।
युक्रेनसँग युरोपकै सबैभन्दा ठूलो टाइटानियम भण्डार रहेको दाबी गरिएको छ, जसको प्रयोग विमान र नौसेना जहाजका लागि मिश्रित धातु उत्पादनमा हुन्छ ।
त्यस्तै, विद्युतीय सवारी साधनका ब्याट्रीका लागि अत्यावश्यक लिथियम पनि युक्रेनमा प्रशस्त मात्रामा पाइन्छ । उच्च प्राविधिक उद्योग, रक्षा र स्वच्छ ऊर्जाका लागि आवश्यक दुर्लभ खनिजहरू समेत युक्रेनमा छन् ।
वाल स्ट्रिट जर्नलले शनिबारसम्ममा सम्झौता हुन सक्ने भन्दै समाचार प्रकाशित गरेको थियो । तर, युरोपेली नेताहरूको हस्तक्षेपका कारण अमेरिका-युक्रेनबीच हुने भनिएको दुर्लभ खनिज सम्झौता पर धकेलिएको छ ।
यसैबीच, रुसी राष्ट्रपति पुटिनले अमेरिकालाई आफूसँग सहकार्य गर्न आग्रह गरेका हुन् । यसको जवाफ ट्रम्पले दिइसकेका छैनन् ।
ट्रम्प र म्याक्रोंबीचको भेटवार्ता
अमेरिकी राष्ट्रपति ट्रम्प पछिल्लो समय रुसको पक्षमा देखिन थालेपछि युरोपसँगको सम्बन्धमा दरार आउन थालेको छ । युक्रेनमाथि रुसले गरेको आक्रमणको ३ वर्ष पूरा भएको छ ।
पछिल्लो समय ट्रम्पले रुसको समर्थन गर्न थालेका छन् । त्यसैबीच, अमेरिकाले संयुक्त राष्ट्रसंघ (यूएन)मा रुससँगै उभिने निर्णय गरेको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले वाशिङ्टन भ्रमणका क्रममा ट्रम्पलाई युक्रेन युद्धबारे ठोस सुरक्षा ग्यारेन्टी दिन आग्रह गरेका थिए, तर ट्रम्पले कुनै स्पष्ट प्रतिबद्धता जनाउन मानेनन् ।
बरु, ट्रम्पले आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको सम्भावित वार्तालाई प्राथमिकतामा राखेको संकेत दिए ।
वाशिंगटनमा अमेरिकी प्रतिनिधिहरूले रुसको आक्रमणको खुलेर निन्दा गर्न अस्वीकार गर्दै ‘यथाशीघ्र युद्ध अन्त्य’ को प्रस्ताव पारित गर्न अग्रसरता लिएका थिए । बहुमत देश युक्रेनकै पक्षमा रहेको भएपनि युक्रेनको पक्षमा प्रस्ताव पारित हुनबाट रोक्न रुसले भिटो लगाएको थियो ।
ट्रम्पले बेलायत र फ्रान्सजस्ता युरोपका प्रभावशाली देशहरूलाई नजरअन्दाज गर्दै युक्रेन मामिलामा आफ्नो छुट्टै बाटो समात्न खोजिरहेका छन् ।
म्याक्रोंले ट्रम्पलाई मनाउने प्रयासस्वरूप फक्स न्यूजमा अन्तर्वार्ता दिएका थिए ।
अन्तर्वार्तामा उनले ट्रम्पको कूटनीतिक शैलीलाई ‘गेम चेन्जर’ भनी प्रशंसा गरेका थिए भने ट्रम्प पुनःनिर्वाचित भएर आएपछि रुससँग भइरहेको वार्तालाई 'सकारात्मक' भनेका थिए ।
ट्रम्पले आफूलाई ‘डिल मेकर’का रूपमा चिनाउँदै आएका छन् । उनले आफूले रुससँग वार्ता गरेर युक्रेनका लागि आर्थिक फाइदाजनक सम्झौता गराउन सक्ने दाबी गरेका छन् ।
उनले युक्रेनका दुर्लभ खनिज तथा बहुमूल्य धातुहरू उत्खनन्को अधिकार अमेरिकालाई दिन सके युद्धपश्चात देश पुनर्निर्माणमा ठूलो सहयोग पुग्ने तर्क गरेका छन् ।