
बधशालामा काट्न लागेको राँगो फुत्केर सडकमा आएपछि बिहीबार बिहान काठमाडौंको टेकु क्षेत्रमा आतंक मच्चिएको छ । बिहान साढे ६ बजेको समयमा राँगो मन्द्राउँदै टेकु दोभान क्षेत्रको सडकमा आएको थियो । विष्णुमती नदीको छेउछाउ रहेको बधशालाबाट फुत्केर राँगो सडकमा आएको थियो ।
मन्द्राउँदै आएको राँगोले टेकुमा रहेको फोहोर मैला संकलन केन्द्र नजिक २ वटा मोटरसाइकललाई लडाएको थियो । त्यसक्रममा मोटरसाइकलमा सवार २ जना सामान्य घाइते भएका छन् । बिहान ‘मर्निङवाक’मा हिँडेका मान्छेले राँगो मन्द्राएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अनियन्त्रित राँगोलाई वन कार्यालयका प्राविधिकको सहयोगमा डार्ट हानेर नियन्त्रणमा लिइएको थियो । वन प्राविधिकसहितको टोलीले राँगोलाई नियन्त्रणमा लिएर काठमाडौं महानगर प्रहरीको जिम्मा लगाइएको काठमाडौं प्रहरी प्रमुख, एसएसपी विश्व अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

अहिलेसम्म कसैले पनि दाबी गर्न नआएपछि राँगोलाई पशुको स्याहार गर्ने स्नहाज केयरलाई जिम्मा लगाइएको छ । मार हान्ने क्रममा राँगो फुत्केर सडकमा आएको हुनसक्ने प्रहरीको अनुमान छ ।
काठमाडौंमा संचालित बधशालामा राँगाभैंसीलाई यातना दिएर मारहान्ने गरिएको छ । त्यसरी मार हान्न लागिएका राँगाभैंसी बेलाबखत सकडमा आएर आतंक मच्चाउने गरेका छन् ।

यसअघि गत २०८० भदौ ६ गते बधशालाबाट भागेको भैंसी काठमाडौंको शंखमुलमा रहेको ज्ञान निकेतन स्कुलमा पसेर आतंक मच्चाएको थियो ।