१० साउन २०८३, आइतबार

रोल्पामा पहिरोमा पुरिएर दुई महिलाको मृत्यु, एक घाइते

साउन ९, २०८३
काठमाडौं
रोल्पामा पहिरोमा पुरिएर दुई महिलाको मृत्यु, एक घाइते

रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा पहिरोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शनिबार दिउँसो करिब १:१० बजे गाईबाख्रा चराइरहेका बेला माथिबाट एक्कासी पहिरो खस्दा गोठालासहित पशुचौपाया पुरिएका थिए । 

सुनछहरी गाउँपालिका–१ की करिब ५१ वर्षीया असौजी घर्ती मगर र करिब ३६ वर्षीया अमरा घर्ती मगरको शव पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी, प्रहरी निरीक्षक राजन चन्दले जानकारी दिए । 

घटनामा करिब ६० वर्षीय कुले घर्ती मगर घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको र उपचारका लागि सेरम स्वास्थ्य चौकी पठाइएको प्रहरी निरीक्षक चन्दले लोकान्तरलाई जानकारी दिए । घर्तीको अवस्था मध्यम रहेको बताइएको छ । 

पहिरोमा पुरिएका चार वटा बाख्रा र दुई वटा गाई निकालिएको छ । ती चौपाया मृत अवस्थामा निकालिएको प्रहरीले जनाएको छ । अन्य पुरिएका चौपायाको खोजी तथा निकाल्ने कार्य जारी रहेको छ ।

स्थानीयवासीका अनुसार गोठालामा तीन जना मात्र गएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्