०३ असार २०८३, बुधबार
स्थिर हुँदै सिरिया

धर्मनिरपेक्षताको बाटोमा असदबिनाको सिरिया, साढे दुई महिनामा के-के भए ?

फागुन १५, २०८१
काठमाडौं
धर्मनिरपेक्षताको बाटोमा असदबिनाको सिरिया, साढे दुई महिनामा के-के भए ?
राष्ट्रिय संवाद सम्मेलनमा सहभागी हुने क्रममा सिरियाका राष्ट्रपति अहमद अल-शारा । तस्वीर: ओमार अल बाम/डीडब्ल्यू

गत मंसिर २३ गते (डिसेम्बर ८)मा सिरियामा १३ वर्षे लामो गृहयुद्धको अन्त्य भयो । विद्रोहीले देश कब्जा गरेपछि तत्कालीन राष्ट्रपति बशर अल असदविरुद्ध चलिरहेको गृहयुद्ध अन्त्य भएको थियो । असद भागेर रुस पुगेका थिए । 

त्यसपछि सिरियामा हयात तहरीर अल-शाम (एचटीएस) को नेतृत्वमा अन्तरिम सरकार गठन भयो भने अहमद अल-शारा अन्तरिम राष्ट्रपति बने । उनले असदविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए । 

राष्ट्रपति भएलगत्तै उनले सह-अस्तित्व र एकताको प्रचार गरिरहेका छन् । उनले सिरियाको नेतृत्व गरेको अढाई महिनासम्म भइसकेको छ । यसअघि अल-कायदा जस्ता चरमपन्थी समूहसँग राम्रो सम्बन्ध रहेको मानिएका शारा अहिले सिरियालाई समावेशी र धर्म निरपेक्ष देशको वकालत गर्छन् । शाराले आफ्नो सरकार समावेशी रहेको र निष्पक्ष चुनावको बाटोमा अघि बढिरहेको दाबी गर्छन् । 

राष्ट्रिय संवाद सम्मेलन 
सिरियामा यसै हप्ता राष्ट्रिय संवाद सम्मेलन आयोजना गरियो । नयाँ सरकार र देशको भविष्यका लागि सिरियाली नागरिकबाट उनीहरूको विचार संकलन गरिएको थियो । 

ती विचारहरू राजधानी दमास्कसस्थित असद बस्ने महल (अहिले जनता महल नामाकरण गरिएको)मा संकलन गरियो । त्यहाँ देशभरीबाट ६ सय प्रतिनिधिको सहभागिता रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

'यो साँच्चै अवर्णनीय अनुभूति हो,' उक्त सम्मेलनमा सहभागी भएका बानियासका फोटोग्राफर अम्मार अलजीरको भनाइ उदृत गर्दै डीडब्ल्यूले लेखेको छ, 'केही समयसम्म हामी जनता महलमा छौं भनेर विश्वास नै लागेन । यो वास्तवमा असदको महल थियो । अहिले यो हाम्रो भएको छ ।

अलजीरले असद बस्ने महलमै जनताले आफ्नो भविष्य निर्धारण गर्ने कार्यक्रम गरेको कुरालाई नै आशावादी बन्नुपर्ने कारण रहेको बताएका छन् । 
'मैले यहाँ विविधता देखेको छु,' उनले भने, 'पुरुष र महिला, युवा र वृद्ध, विभिन्न पृष्ठभूमिका मानिस, मुस्लिम, क्रिश्चियन, द्रुज, सबै यहाँ छन् । यो खुशीको कुरा हो ।'

'छलफलमा कुनै पनि कुरामा सीमा लगाइएको थिएन,' छलफलमा सहभागी भएका एक प्रतिनिधि अला घानेमले डीडब्ल्यूसँग भनेका थिए, 'यो विषयमा मात्र छलफल गर्नुपर्छ भनेर हामीलाई पहिल्यै कुनै निर्देशन दिइएको थिएन ।' छलफलका क्रममा केही असहमति रहेको भएपनि ती निकै सम्मानजनक रहेको घानेमको भनाइ छ । 

विश्वभर रहेका १० हजार भन्दा बढी सिरियाली नागरिकले अनलाइनमार्फत आफ्नो विचार व्यक्त गरेका थिए । प्रायः अधिकांशले धर्मनिरपेक्ष देश बनाइनुपर्ने वकालत गरेका छन् । 

उक्त संवादमा आफूलाई निम्तो नगरिएको कुर्द समूहहरूले दाबी गरेका छन् । त्यस्तै प्रतिनिधि छनोट गर्दा पारदर्शिता नदेखाइएको भन्दै अन्य आलोचना पनि भएका छन् । 

'सिरियाको भविष्य निर्माण एक दिने कार्यक्रममा सीमित हुन सक्दैन,' सहभागी अबू जैनेदिनको तर्क छ, 'आज संवादको लामो यात्राको शुरूआत हुनुपर्छ ।'

यद्यपि, राष्ट्रिय संवाद सम्मेलनका परिणाम लागू गर्नैपर्ने गरी बाध्यकारी नहुने तयारी समितिको भनाइ छ । 

सम्मेलनको अन्त्यमा तयार पारिएको एक वक्तव्यमा सबै प्रकारका भेदभावको अस्वीकार, मानव अधिकारको सम्मान र शान्तिपूर्ण सह-अस्तित्वको सिद्धान्त र धर्मनिरपेक्षतामा जोड दिइएको थियो । 

शान्तिप्रक्रियालाई कुर्द समूह र इजरायल दुवैको डर 
सिरियाली सरकार अझै पनि सिरियाली कुर्द समूहसँग संघर्षमा रहेको छ । कुर्द समूहले युद्धको समयमा सिरियाको उत्तरपूर्वी भागमा नियन्त्रण गरेका थिए । एकीकृत सिरियामा कुर्द नियन्त्रित भू-भाग अझै पर्छ कि पर्दैन भन्ने कुरा अहिलेसम्म स्पष्ट छैन । 

कुर्द नियन्त्रित सिरियाको उत्तरपूर्वी भाग लाई रोजावा (पश्चिमी कुर्दिस्तान) भनिन्छ । यो क्षेत्र इराकी कुर्दिस्तानसँग जोडिएको छ र त्यहाँ तेल उत्पादन क्षेत्र छन् ।

सन् २०१२ मा गृहयुद्ध शुरू भएपछि कुर्दहरूले यस क्षेत्रलाई स्व-घोषित स्वायत्त क्षेत्रको रूपमा सञ्चालन गरिरहेका छन् । असदको शासनले कहिल्यै पनि यसलाई स्वायत्तताको मान्यता दिएको थिएन । असदको पतनपछि पनि यसको उक्त क्षेत्रको भविष्य अझै अनिश्चित रहेको बताइएको छ । 

सिरियाली कुर्द समूह सिरियाको संस्थापन शक्ति र आफ्नो उत्तरी छिमेकी टर्कीसँग एकैपटक लडिरहेका छन् । 

दशकौंको गृहयुद्धपछि अलिअलि तंग्रिन थालेको सिरियामाथि इजरायलले आक्रमण गर्न छोडेको छैन । यसले नयाँ संक्रमणको प्रक्रियालाई अप्ठेरो बनाइरहेको भन्दै सिरियन नागरिक रुष्ट देखिन्छन् । 

हालै सम्पन्न राष्ट्रिय संवाद सम्मेलनको अन्तिम वक्तव्यमा पनि इजरायलले दुख दिएको भन्दै आलोचना गरिएको थियो । 

पछिल्लो समय इजरायली प्रधानमन्त्रीको बेन्जामिन नेतन्याहूले सिरियामा आफ्नो सैन्य अभियानलाई तीव्र पारेका छन् ।

इजरायलले आफूलाई भविष्यमा हुने खतरा निस्तेज पारेको बताउने गरेको छ । गत मंगलबार दिउँसो दक्षिणी दमास्कसको आकाशमा इजरायली ड्रोनहरू देखिएका थिए । त्यसको केही घण्टापछि जहाज आएर दमास्कस र दक्षिणी सिरियाका केही ठाउँमा हमला गरेका थिए । 

इजरायली सेनाले आफ्ना नागरिकमाथि खतरा पैदा गरिरहेका सैन्य ठाउँमा ती आक्रमण गरेको बयान दिएको थियो ।

अन्तर्राष्ट्रिय दबाब  
पछिल्लो समय अन्तर्राष्ट्रिय समुदायले संक्रमणकालीन सरकारमाथि समावेशी सरकार नबनाएको भन्दै दबाब सिर्जना गरेको छ । समावेशी सरकार बनाए मात्र सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउन सकिने भन्दै कतिपय देशहरूले आवाज उठाएका छन् । 

युद्धको पृष्ठभूमिबाट भर्खर राष्ट्रपति बनेका शारा अन्तर्राष्ट्रिय समुदायको माग पूरा गर्नुपर्ने दबाबमा देखिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यी सबै कुराहरूले युद्धले ध्वस्त भएको सिरियाको भविष्य अझै अनिश्चित रहेको देखाउँछन् । 

एक साताअघि सिरियाका विदेश मन्त्रीले मार्च महिनाको शुरूमा प्रतिनिधिमूलक सरकार चयन गरिने घोषणा गरेका थिए । 

नयाँ सरकार आएपछि पनि राष्ट्रपति नै रहिरहने सुनिश्चितता भएका अल-शाराले गत जनवरीमा भनेका थिए, 'हामीले हाम्रो विविधता प्रतिबिम्बित गर्ने समावेशी संक्रमणकालीन सरकार बनाउनेछौं र त्यसले स्वतन्त्र र निष्पक्ष चुनाव गराउनेछ ।'

सिरियाको गृहयुद्धमा प्रोक्सी लडाईं गरिरहेका अमेरिका र रुस यतिबेला युक्रेन युद्ध अन्त्य गर्नेबारेको बहसमा व्यस्त छन् । दुवै देशले सिरियाली भूमिमा एक अर्का-विरुद्ध लडेका थिए । रुसले असदलाई काँध थापेको थियो भने अमेरिकाले विद्रोहीलाई सहयोग गरिरहेको थियो । 

गत डिसेम्बर ८ मा विद्रोहीले सिरिया कब्जा गर्नुभन्दा केही पहिला असद भागेर रुस पुगेका थिए । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले असदले अहिलेसम्म रुसमै शरण लिइरहेको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्