२८ जेठ २०८३, बिहीबार
मनैदेखि समर्पित मंगल

कर्णालीले जन्माएका डा. मंगल रावल, जसको नेतृत्वमा बौरियो स्वास्थ्य विज्ञान प्रतिष्ठान

प्रधानपञ्चका छोरा समग्र कर्णालीकै स्वास्थ्य सुधारमा अनवरत क्रियाशील
फागुन १७, २०८१
सुर्खेत
कर्णालीले जन्माएका डा. मंगल रावल, जसको नेतृत्वमा बौरियो स्वास्थ्य विज्ञान प्रतिष्ठान

कर्णाली प्रदेशको हुम्ला जिल्लाको विकट सर्केगाडमा जन्मिएका डा. मंगल रावल जुम्लामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रूपमा कार्यरत छन् । उपकुलपतिका रूपमा उनको चार वर्षे कार्यकाल अबको केही दिनमा सकिँदैछ । जीवनको यो मोडसम्म आइपुग्दा उनले कति संघर्ष गर्नुपर्‍यो, कति विद्रोह गर्नुपर्‍यो भनीसाध्य छैन । 

उनै डा. रावलको नेतृत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बौरिएन मात्र, डाक्टर उत्पादनको हब बन्न पुग्यो । देशका विभिन्न जिल्लाबाट अहिले एमबीबीएस पढ्न जुम्ला पुग्नेको संख्या उल्लेख्य छ । कुनैबेला डाक्टरको अभावमा छट्पटाउने कर्णाली अहिले डाक्टर उत्पादन गरेर देशका विभिन्न जिल्ला पठाइरहेको छ । यसको प्रमुख श्रेय उनै डा. रावललाई जान्छ । 

यो चार वर्षे अवधिमा उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राण नै भरिदिएका छन् । उसो त जुम्लाका सबैजसो राजनीतिक दलको सहमति भएका कारण पनि प्रतिष्ठानको प्राण भर्न उनलाई सहज भयो । तर, कार्यकालको पहिलो दुई वर्ष भने उनलाई काम गर्न सकस भयो । एकीकृत समाजवादी पार्टीका नेता विरोध खतिवडा स्वास्थ्यमन्त्री थिए । उनले  राजनीतिक पूर्वाग्रहका कारण डा. रावललाई निलम्बन गरे । स्वास्थ्यमन्त्री खतिवडाको निर्णयविरुद्ध डा. रावलको टिमले उच्च अदालत पाटनमा चुनौती दियो । अदालतले स्वास्थ्यमन्त्री निर्णय उल्ट्याउँदै पुनर्बहाली गरिदियो । पुनर्बहाली त भयो तर, मन्त्री र सरकारको असहयोगले दुई वर्ष उनलाई काम गर्न निकै गाह्रो भयो । 

एमबीबीएस उद्‌घाटन समारोहमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिष्ठानका अधिकारीहरूसँग ।

२०४० साल साउन १५ गते साविक साया गाविस, हालको सर्केगाड गाउँपालिकाको वडा नम्बर ४ मा जन्मिएका डा. रावल चार दाजु र दिदीमध्येका कान्छा भाइ हुन् । उनको प्राथमिक शिक्षा गाउँकै शारदा प्राविमा भयो भने माध्यमिक शिक्षा २०२८ सालमा स्थापना भएको हिमज्योति माविमा भएको थियो ।

उनी सानैदेखि अध्ययनमा रुचि राख्थे । उनको घरपरिवार शिक्षित थियो । जसले गर्दा उनको घर परिवारले देखाएको शिक्षा प्राप्तिमा रुचिको आधार तयार पार्‍यो । उनी यति क्षमतावान थिए कि कक्षा तीनदेखि एसएलसीसम्मै हुम्ला जिल्ला टपर भए ।

उनको घरको आर्थिक अवस्था मजबुत नै थियो । उनका बुवा जयरुप रावल प्रधानपञ्च बनिसकेका थिए भने घरमा १५० भन्दा बढी भेडा पालेका थिए । यस्तै, उनको घरमा अन्न लिनका लागि गाउँलेको लाइन लाग्थ्यो । गाउँलेहरूले अन्न पैंचो लिन्थे । बाली पाकेको समयमा फिर्ता गर्ने गर्दथे ।

डा. रावलले कक्षा ९ मा ऐच्छिक गणित विषय लिएर पढे। गाउँमा शिक्षक नै पाइँदैनथिए । तराईतिरबाट शिक्षक लिने चलन थियो । उनलाई स्मरण छ, कक्षा तीनदेखि नै जिल्ला टपर भएका कारण उनले शिक्षकबाट कहिल्यै पिटाइ खाएनन् । बरु कक्षामा शिक्षकले सोधेको प्रश्न अरुले नजान्ने, उनले जान्ने भएका कारण उनलाई अरु विद्यार्थीलाई पिट्न लगाइन्थ्यो ।

उनीसँगै उनका दाइ पूर्णबहादुर रावल पनि एउटै कक्षामा अध्ययन गर्थे । दिउँसो मंगलले पिट्ने, त्यसको बदलामा साँझ पूर्णले उनलाई पिट्ने गर्थे । पूर्ण हाल सिमकोटमा सामाजिक सेवामा संलग्न छन् ।

एकपटक जुल्ली भन्ने उनको छिमेकी गाउँमा हैजा फैलियो । हैजाका कारण ३५ जना भन्दा बढीको मृत्यु भयो । छिमेकी गाउँमा कर्णालीको दूषित पानी पिउने गरेका कारण हैजा फैलिएको रहेछ, त्यो कुरा उनले धेरैपछि मात्रै थाहा पाए ।  उतिबेला हरेक घरमा देउता बसाल्ने, बाटोमा गेट बनाउने र पुडो फाल्ने काम गरिन्थ्यो । ‘छिमेकी गाउँका मानिसहरू हाम्रो गाउँको देवता शक्तिशाली भएको भन्दै हेराउन आउने गर्थे’, उनी सम्झिन्छन् ।

उनले २०५५ सालमा एसएलसी दिए । उतिबेला जिल्लाभरीबाट पाँच जना मात्रै उत्तीर्ण भएका थिए । ती पाँच जनामध्ये सदरमुकाम बाहिरका उनी मात्रै थिए । बाँकी चार जना सिमकोटको मानसरोवर माविका थिए । डा. रावल ६७ प्रतिशत अंकका साथ एसएलसीमा जिल्ला प्रथम बनेका थिए । 

त्यसपछि उनी काठमाडौंको अस्कल क्याम्पसमा भर्ना भए । त्यहाँ उनले आईएस्सी उत्तीर्ण गरे । एमबीबीएस पढ्नका लागि धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भए । उनको ब्याचमा ५० जना नेपाली थिए भने २५ जना भारतीय अध्ययनका लागि आएका थिए । उतिबेला यो संस्था नेपालकै सबैभन्दा राम्रो मेडिकल शैक्षिक संस्थाको रूपमा रहेको थियो । त्यहाँ पढ्न चाहनेहरूको संख्या ठूलै हुन्थ्यो तर सीमित कोटा भएका कारण प्रतिस्पर्धा गर्नुपर्थ्यो ।

सन् २००९ मा उनी सोही प्रतिष्ठानमा मेडिकल अफिसरको रूपमा इन्टर्नसिप गर्न थाले । त्यसको एक वर्षपछि उनी पाटन अस्पतालमा रिसर्च गर्न पुगे  । अक्सफोर्ड विश्वविद्यालयले उक्त रिसर्च गर्न लगाएको थियो । त्यसपछि वीर अस्पतालबाट उनले एमडी गरे, हाडजोर्नी स्पेशलिस्टको रूपमा ।

उनी धरानमा रहँदा सामाजिक उत्तरदायित्वका लागि चिकित्सक विद्यार्थी च्याप्टरको नेतृत्व गरेका थिए । शुरूमा उनको कोठामा नै यो संस्था खोलिएको थियो । उक्त संस्थाले अहिले पनि राम्रै काम गरिरहेको छ, धरानमा । उतिबेला सामाजिक उत्तरदायित्वका लागि चिकित्सक, हाम्रो स्वास्थ्य हाम्रो सरोकार नामक रेडियो कार्यक्रम पनि शुरू भएको थियो । हालसम्म पनि उक्त रेडियो कार्यक्रम सञ्चालनमा छ । यस्तै, उनको समयमा झापामा लाइब्रेरी पनि स्थापना गरिएको थियो।

डा. रावल वीर अस्पतालमा रेजिडेन्ट  एसोसिएसन अफ नेम्सको निर्वाचित अध्यक्ष थिए । त्यतिबेला एमआरआई मेसिन थिएन, राम्रो एक्सरे मेसिन थिएन । उनी नेतृत्वको संस्थाले २०१३ मा आन्दोलन गर्‍यो । फलस्वरूप दीक्षान्त समारोह शुरू भयो भने पदाधिकारी पनि नियुक्त भए । 

हार्वर्ड विश्वविद्यालयमा नेपाली चिकित्सकहरूसँग प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरक्रिया कार्यक्रममा उपकुलपति डा. रावल ।

संघको स्थायी डाक्टरका रूपमा २०१३ मा आठौं तहमा उनले नाम निकालेका थिए । २०१५ मा नवौं तहमा खुला प्रतिस्पर्धाबाट छनोट भए । उनलाई स्वास्थ्य मन्त्रालयबाट वीर अस्पतालमा पोस्टिङ गरियो । उनले जुम्ला जान खोज्दा जान मिल्दैन भनियो ।  र, त्यसपछि उनले त्यहाँ राजीनामा दिएर सन् २०१५ मै प्रतिष्ठानको स्थायी फ्याकल्टीमा नियुक्त भएर गए ।

उनी जुम्लामा जाँदा दिनमा औसत ४२ जना बिरामी आउने गरेका थिए । जम्मा तीन जना मात्रै एमडी चिकित्सक कार्यरत थिए । तर, अहिले भने एक सय भन्दा बढी विशेषज्ञ डाक्टर छन् भने ६०० जना भन्दा बढी त कर्मचारी र स्वास्थ्यकर्मी नै कार्यरत छन् ।

डा. रावल प्रतिष्ठानसँग स्थापना कालदेखि नै जोडिएका थिए । त्यतिबेला संविधानसभा सदस्यका रूपमा नरेश भण्डारी थिए भने एमालेका बलबहादुर महतसहित २८ जनाको समिति नै बनेको थियो ।

हाल प्रतिष्ठानमा एमबीबीएस अध्ययन भइरहेको छ । फार्मेसी, पब्लिक हेल्थ, नर्सिंङ, स्कूल अफ मेडिसिन गरि चार वटा महाविद्यालय स्थापना भइ ब्याचलर र एमबीबीएसमा अध्यापन भइरहेको छ । कोभिडको समयमा उनी प्रतिष्ठानको निर्देशक थिए । त्यतिबेला पीसीआर जाँचमा देशकै राम्रो अस्पतालको रूपमा यो अस्पताल चिनिएको थियो । कोभिडको समयमा जुम्लाबाट कर्णालीका दशवटै जिल्लामा स्वास्थ्यकर्मी खटाइएका थिए । 

आफू त्यहाँ उपकुलपति हुनुभन्दा अघि एउटा ब्याचलरको मात्रै अध्यापन हुने गरेको उनी बताउँछन् । त्यतिबेला बीपीएच, बीएन र एमडीजीपिलगायत एक विषयमा मात्रै अध्यापन हुने गरेको थियो । हालका प्रधानमन्त्री केपी शर्मा ओली त्यतिबेला पनि प्रधानमन्त्री थिए । उनी चिकित्सा शिक्षा आयोगको अध्यक्षसमेत थिए । 

‘मैले धेरै प्रयास गरेर प्रधानमन्त्रीज्यूलाई भेटें । उहाँलाई प्रतिष्ठानका बारेमा धेरै जानकारी दिएँ । उहाँले कुरा सुन्नुभयो र एमबीबीएस, एडीएमएसलगायतका  विषयको अध्यापन अनुमति प्राप्त भयो’, डा. रावल भन्छन् ।

रावल उपकुलपतिको भूमिकामा जाँदा तीस जना मात्रै शिक्षक थिए भने अहिले एक सय जना पुगेका छन् । उतिबेला अस्पतालको आम्दानी वार्षिक साढे पाँच करोड थियो भने अहिले तीस करोड पुग्ने गरेको छ ।

यूएनको महासभामा प्रस्तुतिपछि उपकुलपति डा. रावल ।

डा. रावलकै नेतृत्वमा प्रतिष्ठानले शैक्षिक उन्नयनका लागि  बेलायत, डेनमार्क, स्वीडेन, अमेरिका, चीन, मलेसिया लगायतका दर्जनौं विश्वविद्यालयसँग सम्झौता गरेको छ ।  बितेको एक महिनामा मात्रै अमेरिका र बेलायतका प्रतिष्ठित प्रोफेसरहरूले जुम्ला भ्रमण गरेका छन् । उनीहरुले कक्षा पनि लिएका छन् ।

‘अहिले अस्पतालमा स्वास्थ्यकर्मीको अभाव छैन । अन्यत्र काम गर्न नआउने स्वास्थ्यकर्मी जुम्ला आउन हानथाप गर्ने गर्छन् । यसको एक प्रमुख कारण भनेको उनीहरूको समयमै प्रमोशन हो । उनीहरूले प्रोफेसर बन्ने अवसर पनि पाउने भएका कारण प्रतिष्ठानमा स्वास्थ्यकर्मीको अभाव भने हुँदैन’, उपकुलपति डा. रावल भन्छन् । 

उनले लोकसेवा आयोगसँग बारम्बार स्थायी दरबन्दीका लागि माग गरे । पाटन अस्पतालपछि कर्णालीले मात्रै १७२ जनाको दरबन्दी पाउन सफल भयो । हाल पदपूर्ति भइसकेको छ ।

डा. रावलले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा एक घण्टाको लेक्चरल क्लास दिने अवसर पाएका छन् भने अमेरिका-नेपाल मेडिकल फाउन्डेसनको कार्यक्रमबाट एक करोड  ३३ लाख सहयोग संकलन गर्न सफल भएका छन् । त्यो रकमबाट अबको एक महिनामा प्रतिष्ठानमा ब्लड बैंक स्थापना हुनेछ ।

प्रतिष्ठानमा स्किल ल्याब पनि स्थापना हुने भएको छ । यसका लागि विश्व स्वास्थ्य संगठनले तीन करोड लगानी गरेको छ । यो ल्याब काठमाडौं युनिभर्सिटीपछिको दोश्रो ल्याब हो । यति मात्रै होइन, उनको अथाह मेहनत, आठबीस नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेना, त्यहाँका पूर्व र वर्तमान मेयर उपमेयर खड्गराज उपाध्याय, दीपा बोहोरा, तर्कबहादुर बडुवाल, कल्पना थापा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाह, पूर्वसभामुख राजबहादुर शाही, पूर्वसामाजिक विकासमन्त्री दल रावललगायतको सक्रियताका कारण दैलेखको राकम कर्णालीमा प्रतिष्ठानको स्याटेलाइट अस्पतालको रूपमा सञ्चालनको तयारी शुरू भएको छ । अबको केही दिनमै त्यहाँ अस्पताल सञ्चालन गर्ने तयारी प्रतिष्ठानको रहेको डा. रावल बताउँछन् ।

‘त्यहाँ कम्तीमा पनि नौ लाख जनसंख्याले लाभ लिनेछन् । जुम्लामा बिरामीको संख्या कम हुने र बिरामी नै कम भएका स्थानमा राज्यको बढी लगानी भयो भनेर आलोचना गर्नेहरूको संख्या पनि छ’, उनले भने, ‘त्यही भएर राकम कर्णालीको उक्त स्याटेलाइट अस्पताल प्रतिष्ठानको महत्त्वपूर्ण अंगको रूपमा स्थापित हुनेछ ।’

तत्कालीन विपक्षी दलका नेता एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग राकम कर्णालीकाबारे जानकारी गराउँदै उपकुलपति डा. रावल ।

उनका अनुसार प्रतिष्ठानका नाममा ४२ रोपनी जग्गा जाक्सीमा लिइसकिएको छ । उक्त जग्गामा तीनदेखि चार सय बेडको अस्पताल चलाउने सकिन्छ । एक अर्ब ७२ करोडको डीपीआर निर्माण भइसकेको छ । अब बजेटका लागि लबिङ गर्न शुरू गर्नुपर्ने उनको भनाइ छ । त्योभन्दा अघि राकम कर्णालीमा १५ शय्याको अस्पताल बन्दैछ । केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा १५ शय्याका अस्पताल निर्माण गर्ने भनेर देशैभरी शिलान्यास गरिएका ३७६ भवनमध्ये राकम कर्णालीको एक हो । 

‘मैले अस्पतालको नवनिर्मित भवन हेरें, त्यहाँ पचास बेडको अस्पताल चलाउन सकिने रहेछ । यो भनेको तत्कालका लागि हो । जाक्सीमा भवन निर्माण भएको खण्डमा चार सय बेडको अस्पताल हामी सञ्चालन गर्न सक्छौं । यसका लागि त्यहाँका जनसमुदाय, नागरिक समाज, राजनीतिक दल, नगरपालिकाको पुरानो र नयाँ नेतृत्व सबै सकारात्मक हुनुहुन्छ’, उनले भने, ‘प्रतिष्ठानको लाइफलाइन नै यो अस्पताल बन्नेछ भने प्रतिष्ठानको शाखा धेरै माथि जानेछ । तर, पालिकाले भने सबै नागरिकको स्वास्थ्य बीमा चाहिँ गराउनुपर्छ ।’

राकम कर्णालीमा अस्पताल सञ्चालनमा आएको खण्डमा दैलेख भएर जाने मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्गमा हुने दुर्घटनाका बिरामीलाई सुर्खेत पुर्‍यानुपर्ने अवस्था हुनेछैन भने अछामको पञ्चदेवल विनायक नगरपालिका, दैलेखको ठाँटीकाँध गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका, भैरवी गाउँपालिकादेखि कालीकोटको शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिका हुँदै बाजुरासम्मका अधिकांश नागरिक यहीँ उपचार गर्न आउनेछन् ।

विभिन्न अवरोधबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आजको अवस्थामा ल्याइपुर्‍याउन सफल भएकोमा डा. रावल सन्तुष्ट छन् । उनले प्रतिष्ठानलाई अब ग्रामीण स्वास्थ्यको केन्द्र बनाउने सपना बोकेका छन् । अफ्रिकाका केही स्थानमा यो मोडल लागू भइसकेको छ । कर्णालीमा पनि यो मोडल लागू भए विश्वव्यापी रूपमा चर्चा हुने सम्भावना रहेको उनी देख्छन् ।

ग्रामिण स्वास्थ्यका बारेमा बोल्दै उपकुलपति डा. रावल ।

कर्णालीलाई विश्वभरीका डाक्टरका लागि खोज केन्द्रको रूपमा विकास गर्न सकिने डा. रावल बताउँछन् । उनकी श्रीमती स्मृति महत पनि स्वास्थ्य क्षेत्रमै छन् । उनी वरिष्ठ कन्सल्टेन्ट प्याथोलोजिष्ट हुन् । उनी अहिले वीर अस्पतालमा कार्यरत रहेको डा. रावलले बताए । 

‘जुम्लामा चिकित्सक पठाइ हुनेमा धेरैको शंका थियो । तर, हामीले फूलफेजमा अध्यापन शुरू गर्‍यौं । यसलाई मैले जीवनकै ठूलो सफलताका रूपमा लिएको छु । उपकुलपतिको जिम्मेवारी पाएको चार वर्षमा प्रतिष्ठानलाई यो स्थानमा पुर्‍याउन पाएकोमा गर्व लागेको छ’, उपकुलपति डा. रावलले भने । 

salt training

कमेन्ट गर्नुहोस्