
विभेद भोग्दै र देख्दै हुर्किइन् गीता चौधरी । शिक्षामा पहुँच अभिभावकको देन भयो । उनका साथीहरू अधिकांश कमलरी थिए । सात छोरीमा माइली सन्तानको रूपमा जन्मिएकी गीताले लैङ्गिक विभेद खेप्दै हुर्किनुपर्यो ।
दोहोरो विभेद खेप्दै हुर्किएकी उनी सानैदेखि यसविरुद्ध आवाज उठाउने स्वभावकी थिइन् । जसको श्रेय उनको अभिभावकलाई जान्छ । बालविवाहको विरुद्ध उनले सानैदेखि आवाज उठाइन् । यही स्वभावले उनलाई अभियन्ताको रूपमा जन्मायो । आदिवासी जनजातिको हकअधिकारका लागि काम गर्ने बनायो । महिला, युवा क्षेत्र र सही ढंगमा आरक्षण हुनुपर्नेमा उनको आवाज उठ्यो । त्यही क्षेत्रमा काम गरिरहँदा उनलाई रैथाने ज्ञानको विषय उठाउन जरुरी लाग्यो ।
आदिवासीले पूर्वकालदेखि सम्हाल्दै आएका सीप र ज्ञान कसरी पुस्तान्तरण गर्ने भन्नेमा उनी सोचमग्न भइन् । सरकारले जनजातिका लागि कार्यक्रम र योजना ल्याउँथ्यो । जुन पर्याप्त रूपमा प्रभावकारी थिएन । रैथाने ज्ञान पुस्तान्तरण हुने विषयमा सोच्दा उनलाई लाग्यो यो विद्यालयमा शिक्षामा समावेश हुन जरुरी छ ।
‘जबसम्म विद्यालयमा शिक्षा छिर्दैन त्यो शिक्षालाई मान्यता दिँदैन । हामीसँग हाम्रो हजुरबुबा, आमा, पूर्वजहरूले सबै काम गर्दै आइरहनुभएको छ । नेपालमा त्यत्रो समुदाय छ, सबै समुदायसँग आ-आफनो ज्ञान सीप छ । त्यही कुराले नै नेपाल चिनिएको हो’, उनले भनिन् ।
यही ज्ञान विश्वसामू चिनाउनका लागि सबैभन्दामध्ये विश्वविद्यालयमा शिक्षा रहेको उनको बुझाइ छ । यही क्रममा रैथाने सीप सिकाउने विश्वविद्यालय स्थापनाका लागि आवाज उठाउँदै हिँडेकी छिन् । सरकारले यसका लागि अध्ययन समिति पनि बनाएको छ । यहाँसम्म आउनका लागि गीता र उनीसँगै हातेमालो गर्ने अभियन्ताले सहज बाटो भने पाएका होइनन् ।
विश्वविद्यालय स्थापना भन्ने बित्तिकै प्रश्न आउँछ दिशानिर्देशको विषय । के आधारमा विश्वविद्यालय स्थापना गर्ने ? त्यही क्रममा उनले छिमेकी देश भारतमा रहेको इन्दिरा गान्धी राष्ट्रिय जनजाति विश्वविद्यालयको उदाहरण भेटिन् । इन्दिरा गान्धी विश्वविद्यालय जस्तै विभिन्न देशमा आदिवासीको ज्ञान र सीपलाई जोगाउन पढाइ हुन्छ । विश्वमा पढाइ हुने विषय नेपालमा किन नहुने भन्ने उनलाई लाग्यो ।
‘विश्वव्यापी रूपमा यो पढाइ हुने रहेछ त नेपालमा किन नहुने ? कुनैपनि देशलाई विकास गर्नका लागि हेर्ने हो भने, स्वतन्त्र आत्मनिर्भर हुनका लागि त्यो देशका केही कोर कुरा चाहियो । त्यो यही रैथाने कुराबाट आउँछ । यो सबै चाहिँ मैले कतै मुभेन्ट गर्दै जाँदा हाम्रा कुरा शिक्षासँग जोडिएन भने त्यो दिगो रूपमा जाँदैन भन्ने बुझेँ’, गीता भन्छिन् ।
यही क्रममा उनले रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल २०७९ मा दर्ता गरिन् । यो संस्थाले आदिवासी जनजातिको क्षेत्रमा काम गर्छ । यसैक्रममा आदिवासीको विषयमा काम गरिरहेका अन्य विज्ञसँग उनको चिनजान भयो । अनौपचारिक रूपमा प्रतिष्ठान स्थापना भएको ६ वर्ष भइसकेको छ ।
प्रतिष्ठानले विश्वविद्यालयमा शिक्षा समावेश गर्नका पहल थाल्यो । सरकार र विभिन्न विश्वविद्यालयसँग छलफल गर्यो । तर, छलफल परिणाममूखि भएन । उनलाई लाग्यो, यस्ता शिक्षाको लागि सम्बन्धन नदिए बेग्लै विश्वद्यिालय किन नखोल्ने ? पछिल्लो समय रैथाने अभियान बढ्न थालेको छ । यसमा उनी हर्षित छन् । कतै न कतै प्रतिष्ठानको भूमिको रहेको अनुभव छ ।
रैथाने ज्ञानको लागि बेग्लै विश्वविद्यालाय खोल्ने अभियानमा लागेपछि पर्यटन मन्त्रलायले थोरै रूचि देखायो । गत चैत ८ गते पर्यटन मन्त्रालयले यसबारे बुझ्न प्रतिष्ठानसँग छलफल गर्यो । छलफलपछि मन्त्रालयले २० गते अध्ययन समिति गठन गर्यो । प्रतिष्ठानले जेठमा प्रतिवेदन बुझायो । अहिले अध्ययन समितिलाई तयारी समिति बनाइएको छ । तर, आर्थिक रूपमा भने सरकारको साथ नभएको उनको भनाइ छ ।
‘बजेट पनि छैन, केही पनि छैन । समिति मात्र गठन गरेको छ। । उनीहरूले फलोअप पनि गर्दैनन् । जस्तो संरचना कस्तो हुने, कसको अन्डरमा बसेर काम गर्ने हामीले केही विचार त बनाएका छौं । सबैको स्वामित्व हुन सकोस् भनेर लागिरहेका छौं’, गीताले भने ।
विश्वविद्यालय स्थापना हुन सके त्यहाँ शिक्षक को हुन्छ त ? यसमा अध्येता, खोजकर्ता, अभ्यासकर्ताहरू स्रोत हुन सक्ने उनको भनाइ छ ।
‘जोसँग सीप छ, उहाँहरू शिक्षक हुन सक्नुहुन्छ । जस्तो; मेरो आमा त्यो विश्वविद्यालयको प्रयाक्टिकल शिक्षक हुन सक्नुहुन्छ । अध्येता, अभ्यासकर्ता, कथावाचकहरू सबै हाम्रो शिक्षक हुनसक्छ’, उनले भनिन् ।
२०४९ सालमा कञ्चनपुरको शुक्लाफाँटमा जन्मिएकी गीताको परिवार न्यून आयश्रोत भएको परिवार थियो । शिक्षा आवश्यक छ भन्ने अभिभावकलाई थाहा थियो । तर, गाउँमा विद्यालय थिएन । बच्चाबच्ची पढ्ने भएपछि उनका बाबालाई लाग्यो शिक्षाका लागि गाउँमा विद्यालय आवश्यक छ । उनको अगुवाइमा गाउँलेको साथ पाएर प्राथमिक विद्यालय शुरू भयो ।
अभिभावकको साथ र बालापनदेखि विभेद भोगेकी उनलाई पढ्ने हुटहुटी सानैदेखि आयो । पछि, स्नातक तहका लागि काठमाडौंमा छात्रवृत्ति पाइन् । २०७६ मा कानूनमा स्नातकोत्तर सकिन् ।
‘कानून पढ्नुको कारण सायद मैले देखेको, भोगेको विभेद नै होला । बच्चादेखि नै बालविवाह रोक्नुपर्छ, अरु सामाजिक विभेद हुनुहुँदैन भनेर लागेँ । त्यस्तो सोंच आयो । युवा अवस्थामा पनि म यो अभियानमा लागिरहेँ । त्यसपछि मैले मेरो जीवन अभियन्ताका रूपमा बिताउँछु भन्ने सोचेँ’, उनले भनिन् ।
कामकै सिलसिलामा उनी २०१८ मा इक्वेडर देशको सरायाकु भेगमा घुम्न पुगेकी थिइन् । आदिवासी बसोबास रहेको सो स्थल बचाउनका सरायाकुहरूले २० वर्ष लामो संघर्ष गरेका थिए । अहिले सो क्षेत्रलाई इक्वेडर सरकारले मान्यता दिएको छ । सो स्थानमा प्रकृतिलाई चोट पुर्याउने कुनै कार्य गर्न पाइँदैन । यसैलाई उदाहरण दिँदै भन्छिन्- आदिवासी विकास विरोधी नभई जैविक विविधताको संरक्षण गर्ने समुदाय हो ।
‘आदिवासी जनजाति विकास विरोधी हुन् भन्ने कुरा आउँछ । होइन, हामी स्थिरता र जैविक विविधताको कुरा गर्छौं । अहिले दिगो विकासको कुरा गरिरहेका छौं । तर, ६० प्रतिशत जैविध विविधताको संरक्षण कसको ज्ञानबाट भइरहेछ त? आदिवासी जनजातिबाट’, गीता भन्छिन् ।
रैथाने सीप र ज्ञानको विषयले निश्चित समुदायलाई मात्र फाइदा नभई सबैलाई फाइदा पुर्याउने उनको भनाइ छ । कति समुदायसँग जडिबुडीको ज्ञान छ । त्यस ज्ञानलाई पुस्तान्तरण गर्न सकिने उनी बताउँछिन् । हरेक जनजातिसँग भएको सीपलाई शिक्षाबाट पुस्तान्तरण गर्नुपर्ने उनको जोड छ । यसका लागि आफ्नो जरा छोड्न नहुने उनी बताउँछिन् ।
‘हामी विकास विरोधी होइनौं । तर, ओर्जिनालिटी बचाइराख्नुपर्छ । आधुनिकतासँगै हामीले हाम्रो रुट बिर्सिन हुँदैन । रुखको बीचबाट काटेर, म हाँगा काटेर पलाउँछु भन्न मिल्दैन । कुनै पनि स्टेटले मिल्दैन । मेरो पहिचान के हो ? भन्नका लागि त नेपालले त्यो रुट बचाउन पर्यो’, उनी भन्छिन् ।