२८ जेठ २०८३, बिहीबार

महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह

फागुन १७, २०८१
पर्वत
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह

पर्वतका स्थानीय तहहरूले महिलालाई मादल बजाउने वाद्यवादनसम्बन्धी तालिम सञ्चालन गर्न थालेका छन्। महिलालाई स्वरोजगार बनाउने उद्देश्यले स्थानीय तहले वाद्यवादन तालिम दिन थालेका हुन्।

कतिपय स्थानीय तहले कृषि, पशुपालन, फलफूलखेती, होजियारी, क्षमता विकासलगायत लोकसेवा तयारी कक्षाहरू सञ्चालन गर्दै आएका देखेपछि कुश्मा नगरपालिका र मोदी गाउँपालिकाले महिलालाई मादल बजाउने तालिम सञ्चालन गरेका छन्।

कुश्मा नगरपालिकाले १२ वटा वडाका महिला सहकारी संस्था र आमा समूहमा आबद्ध २८ जना महिलालाई १० दिने तालिम दिएको छ। महिलालाई वाद्यवादनको सीप सिकाएर आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले मादल बजाउने तालिम सञ्चालन गरिएको उपप्रमुख स्वस्थानी रिजालले बताइन्।

‘मादल बजाउने सीप परम्परागत भए पनि आधुनिक गीत, सङ्गीत र उपकरणका कारण नयाँ पुस्ताले भुलिसकेको अवस्थामा तालिम सञ्चालन गरेका हौँ। यसले कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुका साथै स्वरोजगारका अवसर सृजना हुने विश्वास लिएका छौँ’, उनले भनिन्।

बेरोजगार महिलाहरू गाउँ, टोल, समाज र ग्रामीण क्षेत्रमा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रममा मादल बजाएर पनि आयआर्जन गर्न सकून् भन्ने मुख्य उद्देश्य रहेको उपप्रमुख रिजालले बताइन्। नगरको ७५ प्रतिशत लागत साझेदारी र महिला सहकारी संस्थाको २५ प्रतिशत साझेदारीमा मादल खरिद गरी महिला समूहलाई हस्तान्तरण गरिएको छ।

त्यस्तै, मोदी गाउँपालिकाले ‘अध्यक्षसँग दिदीबहिनी’ कार्यक्रमअन्तर्गत महिलालाई मादल बजाउने सीप सिकाउने भएको छ। फागुन २० गतेदेखि १० दिनसम्म तालिम सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले जानकारी दिइन्। बेरोजगार महिलालाई स्वरोजगार, सामाजिक योगदान तथा आत्मनिर्भर बनाउन पहिलोपटक तालिम सञ्चालन गर्न लागिएको उनले बताइन्।

मोदी गाउँपालिकाले महिला सहकारी संस्था, महिला समिति तथा आमा समूहमा आबद्ध महिलामध्ये एक–एक जनालाई छनोट गरी तालिम दिने तयारी गरेको छ। पालिकाले सूचना प्रकाशन गरेर तालिम लिन इच्छुक महिलालाई सम्पर्कमा आउन पनि आह्वान गरेको छ।

मादल बजाउन नजानेकै कारण ग्रामीण क्षेत्रमा मौलिक सांस्कृतिक भाकाहरू लोप हुँदै जान थालेको भन्दै तालिमले मौलिक भाका र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

हरेक कार्यक्रम र सभा–समारोहमा कलाकार बोलाउने र आधुनिक गीत बजाएर ‘स्पिकर’मार्फत मनोरञ्जन गर्ने प्रचलन हाबी भएकाले मौलिक संस्कृतिको जगेर्नाका लागि तालिम दिएर महिलालाई यसतर्फ आकर्षित गर्न खोजिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले बताए। दश दिनसम्म सीप सिकेपछि महिलाले जस्तोसुकै कार्यक्रममा पनि वाद्यवादकका रूपमा काम गर्न सक्ने उनको विश्वास छ।

‘हामीले लोकसेवा, शिक्षकसेवा, एसएलसी तयारी कक्षा, पशुपालन, बाख्रापालन, कुखुरापालन, मिनिटेलर मर्मत, कृषि तथा शैक्षिक विकासका तालिमहरू पनि दिँदै आएका छौँ। यसपटक महिलाहरूको धेरै माग भएकाले मादल बजाउने तालिम सञ्चालन गरेका हौँ’, पुरीले भने।

जिल्लाको महाशिला, पैंयूँ र विहादी गाउँपालिकामा शिक्षक सेवा आयोग र लोक सेवा आयोगको तयारी कक्षाहरू सञ्चालन गरिएका छन्। महिलाको क्षमता र नेतृत्व विकासका लागि स्थानीय सरकारले विभिन्न तालिम तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन्।

salt training

कमेन्ट गर्नुहोस्