
वार्षिक १७ लाख किलो लिटर आयात हुने डिजेल पछिल्ला वर्षमा १४ लाख किलो लिटरमा खुम्चिएको छ । पहिले वार्षिक ४/५ हजार वटा आयात हुने विद्युतीय गाडी पछिल्ला वर्षहरूमा १०/११ हजार आयात हुन थालेका छन् । जसरी नेपालमा विद्युतीय गाडीको प्रयोग बढेको छ, त्यसरी नै डिजेलको आयात पनि घट्दै गएको देखिन्छ ।
आर्थिक वर्ष २०७५/७६ मा १७ लाख १८ हजार ९५५ किलो लिटर आयात भएको डिजेल आर्थिक वर्ष २०८०/८१ मा १४ लाख ११ हजार ४४० किलो लिटर आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । भन्सार विभागकै तथ्यांक हेर्दा विद्युतीय गाडीको आयात पछिल्ला २/३ वर्षमा तीव्र रूपमा बढ्दै गइरहेको छ भने, इन्धनको आयात घट्दै गइरहेको छ ।
हेरौं डिजेल पेट्रोलको आयात
आर्थिक वर्ष २०७५/७६ मा १७ लाख १८ हजार ९५५ किलो लिटर डिजेल नेपाल भित्रिएको थियो भने ५ लाख ६७ हजार २८८ किलो लिटर पेट्रोल आयात भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा १५ लाख २७३ किलो लिटर डिजेल र ५ लाख १२ हजार ७१२ किलो लिटर पेट्रोल आयात भएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा १७ लाख १३ हजार ७४५ किलो लिटर डिजेल आयात हुँदा ५ लाख ९१ हजार ४५८ किलो लिटर पेट्रोल आयात भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा १७ लाख ५४ हजार ९३३ किलो लिटर डिजेल र ७ लाख ३८ हजार ५३६ किलो लिटर पेट्रोल आयात भएको देखिन्छ ।
तर, आर्थिक वर्ष २०७९/८० देखि डिजेलको आयात घटेको देखिन्छ । यस आर्थिक वर्ष मा १४ लाख ८ हजार ४९४ किलो लिटर डिजेल आयात भएको थियो । पेट्रोलको आयात भने केही बढेको देखिन्छ । यो आवमा ६ लाख ८० हजार ८०७ किलो लिटर पेट्रोल आयात भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा पनि डिजेलको आयात उस्तै रह्यो । यस आर्थिक वर्षमा १४ लाख ११ हजार ४४० किलो लिटर डिजेल आयात भएको थियो भने ६ लाख ८७ हजार ९३१ किलो लिटर पेट्रोल आयात भएको थियो । चालु आर्थिक वर्षको ७ महिनामा ७ लाख ३९ हजार १४७ किलो लिटर डिजेल र ४ लाख ३३ हजार ४४६ किलो लिटर पेट्रोल आयात भएको छ ।
नेपालमा विद्युतीय सवारीको आयात
आर्थिक वर्ष २०७५/७६ मा वार्षिक ४ देखि ५ हजार विद्युतीय सवारी सधान आयात हुँदै आएका थिए । तर, आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा विद्युतीय सवारी साधनको आयातमा भारी गिरावट आयो । जसको कारण थियो विद्युतीय सवारीमा लगाइएको कर ।
आर्थिक वर्ष २०७७/७८ मा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीको आयातमा ८० प्रतिशतसम्म कर लगाइदिए । त्यसअघि विद्युतीय सवारीको आयातमा खरिद मूल्यको १० प्रतिशत अन्तःशुल्क लाग्थ्यो भने, भन्सार सुल्क शत प्रतिशत छुट दिइएको थियो ।
गाडीको आयातमा लाग्ने शून्य अन्तःशुल्कलाई गाडीको क्षमता अनुसार ८० प्रतिशतसम्म पुर्याइएको थियो भने आयातमा लाग्ने १० प्रतिशत भन्सार महसुल बढाएर ४० प्रतिशत पुर्याइयो । यसले गर्दा वार्षिक ४/५ हजार आयात भइरहेको विद्युतीय गाडी ४/५ सयमा खुम्चिए । तर, आर्थिक वर्ष २०७८/७९ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उक्त अन्तःशुल्कलाई खारेज गरिदिए र ४० प्रतिशतको भन्सार शुल्कलाई १० प्रतिशतमा झारिदिए ।
अर्थमन्त्री पौडेलले अन्तःशुल्क खारेज गरेर भन्सार शुल्क घटाए लगत्तै नेपालमा विद्युतीय सवारीको प्रवेश ह्वात्तै बढेको देखिन्छ ।
हेर्नुहोस् ईभी आयातको तथ्यांक

आर्थिक वर्ष २०७४/७५ मा ५ हजार २३९ वटा विद्युतीय सवारी साधन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ४ हजार ७४५ वटा विद्युतीय कार, भ्यान र जीप आयात भएका थिए ।
तर, आर्थिक वर्ष २०७६/७७ मा केवल ५७५ वटा विद्युतीय कार, भ्यान र जीप आयात भएका थिए । जसको कारण विद्युतीय सवारीमा लगाइएको कार थियो । आर्थिक वर्ष २०७७/७८ मा विद्युतीय गाडीको आयात झन् खुम्चियो । यस वर्ष २४९ वटा मात्रै विद्युतीय कार, भ्यान र जीप आयात भएका थिए ।
आर्थिक वर्ष २०७८/७९ मा केही मात्रामा ईभीको आयात बढ्यो । यस आर्थिक वर्षमा १ हजार ८०७ वटा विद्युतीय कार, भ्यान र जीप आयात भएका थिए । आर्थिक वर्ष २०७९/८० देखि नेपालमा ईभीको आयात निकै तीव्र गतिमा बढेको देखिन्छ । यस आर्थिक वर्षमा कूल ४ हजार ५० वटा विद्युतीय कार, भ्यान र जीप नेपाल भित्रिएका थिए । र, २४४ वटा विद्युतीय मिनी र माइक्रो बस पनि भित्रिएका थिए ।
आर्थिक वर्ष २०८०/८१ मा नेपालमा ईभीको आयात करिब तीन गुणा बढ्यो । यस वर्षभरी कूल ११ हजार ७०१ वटा विद्युतीय सवारी साधनको आयात भएको थियो । यसका साथै ८७३ वटा विद्युतीय मिनी र माइक्रो बस पनि नेपाल भित्रिएका थिए । चालु आर्थिक वर्षको ७ महिनामा ६ हजार २५६ वटा विद्युतीय कार, भ्यान र जीप आयात भइसकेका छन् ।