पार्टी संगठन चलाउने कार्यकारी महामन्त्री समेत रहेका थापाले एक महिनामा कम्तीमा २२ वटा कार्यक्रममा सहभागिता जनाएका छन् । उनको कार्यक्रम काठमाडौंभन्दा बाहिरी जिल्लामा बढी केन्द्रित देखिएका छन् ।
थापाले १५ औं महाधिवेशनमा सभापतिमा उठ्नेगरी तयारी अगाडि बढाएका छन् । यस क्रममा उनले ठूला कार्यक्रम मात्रै रोजेका छैनन्, गाउँ कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्ने, माओवादी प्रभावित क्षेत्रमा माहोल देखाउनेदेखि भलिबल कार्यक्रम उद्घाटन समेतमा सहभागिता जनाएका छन् ।
शेखरले शक्ति प्रदर्शन गर्दै केन्द्रीय नेतालाई बोकेर हिँडिरहँदा थापा भने स–साना कार्यक्रम राखेर देश दौडाहा पुगिरहेका छन् । जिल्लामा कार्यक्रम लिएर औपचारिक पार्टी कार्यक्रमकाबीच स्थानीय कार्यकर्तासँग भेटघाट र छलफल गर्ने, मन्दिर मेला, चियापान, श्रद्धाञ्जलीसभा जस्ता कार्यक्रममा सहभागी हुने गगनको शैली देखिन्छ ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी कार्यकारी महामन्त्रीका रूपमा नियमित प्रक्रियाका काम भइरहेको बताउँछन् । ‘महामन्त्रीको हैसियतमा जानु नियमित प्रक्रिया हो । भ्रातृ, शुभेच्छुक संस्था महाधिवेशनको मुखमा छन् । विभाग बनेका छन् । सक्रिय छन् । कार्यकारी महामन्त्री भएकाले बोलाउनु स्वाभाविक हो,’ सिवाकोटीले भने, ‘एक सय दिने अभियानको अन्तिममा प्रदेश, जिल्ला, पालिकामा महामन्त्रीलाई बोलाइको छ । तालिकामा काम भएका छन् । महाधिवेशनलक्षित भन्दा नियमित प्रक्रियाअन्तर्गतका गतिविधि हुन्, जुन स्वभाविक छ ।’
कार्यक्रम नराख्दा झन् आलोचना हुने गरेको सिवाकोटीको भनाइ छ ।
‘महामन्त्री नहिँड्दा हिँडेन भन्ने आरोप लाग्छ । हिँड्दा महाधिवेशनकेन्द्रित भयो भनेर हुँदैन,’ सिवाकोटी भन्छन्, ‘२०४८ सालमा गिरिजाप्रसाद कोइरालाले समातेको जस्तो लय यसपटक महामन्त्रीले समाउनुभएको छ, जसको चौतर्फी प्रशंसा भएको छ ।’
यता सभापतिमा पराजित भएपछि ४० प्रतिशत मत पाएको आधारमा दोस्रो वरीयता मागेका शेखर प्रमुख पदमा छैनन् । एकपटकलाई मात्रै भनेर सभापतिमा उठे पनि पराजित भएपछि शेखरले फेरि महाधिवेशनको तयारी गरेका छन् । पछिल्लोसमय पार्टी संस्थापनले शेखरलाई औपचारिक कार्यक्रममा निम्ता गर्न छाडेको छ । तर, पार्टीको कार्यकारी भूमिकामा नभए पनि कोइरालाले केही न केही कार्यक्रम राखेर महाधिवेशनकेन्द्रित गतिविधि अगाडि बढाएका छन् ।
बेलायतबाट फर्किएलगत्तैदेखि नेता शेखर कोइरालाले देशव्यापी कार्यक्रमलाई तीव्रता दिँदै आएका हुन् । पुस २५ देखि माघ ४ गतेसम्म कोइरालाले बेलायत भ्रमण गरेका थिए । माघको तेस्रो साता पोखरामा अनुसन्धान प्रतिष्ठान गरेको कार्यक्रममा आफूलाई नडाकेपछि शेखरले आक्रामक अभिव्यक्ति दिएका थिए ।
त्यसपछि सो समूहले देशव्यापी कार्यक्रम गर्ने र शक्ति प्रदर्शन गर्ने नीति लिएको छ । यस क्रममा समूहका केन्द्रीय नेता बोकेर शेखरले शक्ति प्रदर्शन गर्न खोेजेका छन् । पछिल्लो एक महिनामा शेखरले प्रादेशिक राजधानीकेन्द्रित कार्यक्रमलाई जोड दिएका छन् ।
यस क्रममा शेखरले ७ वटा कार्यक्रम गरिसकेका छन् । प्रदेशका केन्द्रमा प्रभावशाली नेता उतारेर आफ्नो प्रभाव रहेको सन्देश दिनेगरी शेखर अगाडि बढेका छन् । मोरङ, भैरहवा, बुटवल र बाँकेमा दुवै नेताले आलोपालो कार्यक्रम राखेका छन् ।

शेखर निकटका नेता सञ्जय गौतम विचार समूहका नेता भएकाले शेखरको सक्रियता स्वाभाविक भएको बताउँछन् । ‘शेखर दाइ हाम्रो नेता हो । समूहको नेतृत्वका नाताले विभिन्न ठाउँमा जानु र कार्यक्रम गर्नु स्वाभाविक हो । यो अभियान महाधिवेशनको तयारी होइन, बरु महाधिवेशन समयमा हुँदैन कि भन्ने खबरदारी हो,’ गौतमले लोकान्तरसँग भने, ‘अधिवेशन टाढा भए पनि छिटो गरौं भनेर दिइएको दबाब हो ।’
नेता गौतमले महामन्त्रीसँग पनि शेखरको सम्बन्ध नबिग्रिएको दाबी गरे ।
‘शेखर दाइले केन्द्रीय सदस्य र जिल्ला सभापति लिएर हिँड्नु भएको होइन । स्वाभाविक रूपमा उहाँ विचार समूहको नेता भएकाले उहाँले नेतृत्व गर्नुभएको हो । महामन्त्रीका रूपमा गगनजीले नेतृत्व गरिरहनुभएको छ,’ गौतमले भने, ‘दुवैको मिसन एउटै छ । हाम्रो समूहमा कुनै विवाद छैन । गगनजीको पनि हाम्रै अभियान हो । एउटै कार्यक्रममा सहभागी नभए पनि यो शेखर र गगनको रणनीति एकै हो । हामीहरू एक ठाउँमा छौं ।’
अझै केही दिन व्यस्त तालिका
पछिल्लो एक महिनामा शृंखलाबद्ध देश दौडाहा गरेका थापाको यो महिनाभर व्यस्त कार्यतालिका छ । थापा सोमबार क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रमका लागि भैरहवा जाँदैछन्, जहाँ महामन्त्रीद्वय र विज्ञहरूले राजनीतिक, सांगठनिक सदस्यता सम्बन्धमा प्रशिक्षण दिँदैछन् ।
२१ गते संसदमा सहभागी हुने, २२ गते कांग्रेस मधेश प्रदेशका सभापतिकी छोरीको विवाहमा सहभागी हुन रौतहट जाने, २३ गते सिरहामा नगर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
फागुन २४ गते सिन्धुलीको १ नम्बर क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने, फागुन २६ गते धनगढीमा हुने सुदूरपश्चिम प्रदेश सम्मेलनमा सहभागी हुने र फागुन २८ गते नवलपरासी क्षेत्रीय सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको महामन्त्रीका सचिवालय सदस्य सविन मुडभरीले जानकारी दिए ।
बुटवलपछि शेखरको पनि लगातार देश दौडाहाको कार्यक्रम छ ।
सोमबार मोरङमा विराट गोल्डकपको उद्घाटन, २३ गते झापामा अगुवा कार्यकर्ता भेटघाट र २४ गते पार्टीको आप्रवासी विभागको आयोजनामा झापामै हुने कार्यक्रममा शेखर सहभागी हुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
एक महिनामा गगनका २२ कार्यक्रम
- माघ १६ र १७ गते, केन्द्रीय कार्यालय सानेपा ललितपुरः पार्टीको उद्यमशीलता र साना तथा मझौला, व्यवसायी विकास विभागले गरेको नेपाल स्टार्टअप साना तथा मझौला सम्मेलनमा सहभागी । कार्यक्रमको प्रमुख अतिथि सभापति शेरबहादुर देउवा थिए ।
- माघ २१ र २२ गते प्रशिक्षण कास्की : उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको केन्द्रीय नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको गरेको कार्यक्रममा सहभागी । ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिसहितलाई महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका विज्ञले प्रशिक्षण दिएका थिए ।
- माघ २२ गते मंगलबार, पर्वत : पर्वतको प्रदेश ख कार्यसमितिले गरेको प्रदेश सम्मेलनलाई सम्बोधन ।
- माघ २३ बुधबार : पोखराको विन्धबासिनी मन्दिरमा पूजा आराधना, पोखरामा जिल्ला सभापतिसँग छलफल, देशभरका सभापतिसँग पोखारामै छलफल ।
- माघ २४ गते बिहीबार : संसद बैठकमा सम्बोधन ।
- माघ २६ गते शनिबार, अर्घाखाँची : सम्पर्क समितिको कार्यक्रम : सम्पर्क अधिवेशन ।
- माघ २८ गते सोमबार चितवन : खैरहनीमा नगर सम्मेलनलाई सम्बोधन, वनभोज कार्यक्रममा सहभागी ।
- माघ २९ गते मंगलबार, लमजुङ : पूर्व सभापति भेषबहादुर पौडेलको बुवाको श्रद्धाञ्जली सभालाई सम्बोधन
- माघ ३० बुधबार, बुटवल : मुस्लिम संघको लुम्बिनी प्रदेश अधिवेशनलाई उद्घाटन ।
- फागुन १ गते काठमाडौं : सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा सहभागी ।
- १ गते राज्य व्यवस्था समितिको बैठकमा सहभागी ।
- फागुन २ र ३ गते काठमाडौंमा भेटघाटका कार्यक्रम ।
- फागुन ४ देखि ६ गतेसम्म परिवारसहित भारतको महाकुम्भ सहभागी : प्रयागराज, बनारससहितका घुमघाम
- फागुन ७ गते बुधबार पाल्पाः पूर्वखोला गाउँ कार्यसमितिले गरेको 'प्रथम लोकतान्त्रिक'महोत्सवलाई सम्बोधन । प्रदेश सभापति अमरसिंह पुनसहितका नेता सहभागी ।
- ९ फागुन शुक्रबार मोरङ : विराटनगर प्रचार विभागले गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी ।
- फागुन १० गते शनिबार, सल्यान : शनिबार बिहान रोल्पा, सल्यान र प्युठान जान सुर्खेत पुगेका थापालाई वीरेन्द्रनगर एयरपोर्टमा भव्य स्वागत, सयौं नेता कार्यकर्ताले थापा, खादा, मालासहित स्वागत गरेका थिए । सल्यान जिल्ला सम्मेलनलाई सम्बोधन, कार्यक्रममा लुम्बिनी कांग्रेस सभापति अमरसिंह पुनसहितका नेता सहभागी । सल्यानमा पनि हजारौं कार्यकर्ता सहभागी ।
- फागुन ११ आइतबार, रोल्पा : लिवाङमा जिल्ला सम्मेलनलाई सम्बोधन । माओवादीको प्रभाव क्षेत्रमा थापालाई पञ्चेबाजासहित स्वागत, नगर परिक्रमासहित कांग्रेसको शक्ति प्रदर्शन । रोल्पा पुगेर थापाले महाकुम्भमा ५८ करोडले दर्शन गरेको भन्दै पशुपति र मुक्तिनाथमा एक करोड भक्तजनलाई लानुपर्ने बताएका थिए ।
- भलिबल कार्यक्रम उद्घाटन : जिल्ला सम्मेलन अघि सोही दिन थापाले लिवाङमै भएको भलिबल प्रतियोगिताको उद्घाटन गरेका थिए ।
- फागुन १२ गते सोमबार, प्युठान जिल्ला सम्मेलनलाई सम्बोधन । कार्यक्रममा लुम्बिनीका सभापति अमरसिंह पुन, केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलसहितका नेता सहभागी थिए । कार्यक्रममा हजारौं सहभागी थिए । प्युठानको सभापछि थापाले सोही राति दाङको राप्ती गाउँपालिका सिसनियाँमा सम्बोधन गरेका थिए ।
- फागुन १३ गते भैरहवा : भारतको केआईआइटीमा मृतक भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको परिवारसँग भेट ।
- फागुन १४ गते बुधबार : शिवरात्रिका दिन बिहान ४ बजे श्रीमतीसहित पशुपति दर्शनमा ।
- फागुन १५ गते बिहीबार कास्की : नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको तेस्रो स्थापना दिवसको अवसरमा 'नेपालको आर्थिक परिदृष्य : नेपाली कांग्रेसको दृष्टिकोण अन्तरक्रिया कार्यक्रममा सहभागी भए । महामन्त्रीबाहेक यो कार्यक्रममा अर्थ क्षेत्रका विश्व पौडेलसहितका व्यक्ति सहभागी थिए ।
- फागुन १६ गते पोखराः नेपाल लिटरेचर फेस्टिभलको कार्यक्रममा सहभागी । यसै दिन सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाए पनि प्लेन डिले भएको भन्दै सहभागी भएनन् । बैठकमा प्लेनले नउठेर पार्टीको बैठकमा आएनन् ।
- फागुन १७ गते नेपालगञ्ज : डेमोक्रेटिक लयर्स एसोसियसन र पेशागत तथा बुद्धिजीवी विभागले गरेको 'संविधान संशोधन : आवश्यकता र चुनौती' विषयक कार्यक्रममा सहभागी । स्थानीय नेता कार्यकर्तासँग भेटघाट ।
पछिपछि शेखरका पनि नियमित कार्यक्रम
- माघ १७ गते बिहीबार, मोरङ : नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी केन्द्रीय विभाग र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनले विराटनगरमा आयोजना गरेको 'संविधान संशोधन आवश्यकता र चुनौती' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन ।
- कार्यक्रममा विभागकी प्रमुख डा डिला संग्रौला, केन्द्रीय सदस्य भीम पराजुली, कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीहरू– उद्धव थापा र केदार कार्की, मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बू, पूर्व केन्द्रीय सदस्य रामकृष्ण भट्टराई ।
- माघ २८ गते सोमबार, भक्तपुर : जीपी कोइराला फाउन्डेसनले गरेको 'राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति' विषयक विचार गोष्ठीलाई सम्बोधनमा शेखर प्रमुख वक्ता । कार्यक्रममा फाउन्डेसनकी केन्द्रीय अध्यक्ष सुजाता कोइराला, कांग्रेस केन्द्रीय सदस्यहरू एनपी साउद, सरिता प्रसाईं, डा गोविन्दराज पोख्रेल, डा. चन्द्रमोहन यादव, गोविन्द शाह, टेकप्रसाद गुरुङ, रमा कोइराला, मदनकृष्ण श्रेष्ठ, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेसहितका नेता सहभागी ।
- फागुन ६ गते मंगलबार, काठमाडौं : 'नेपाल प्रेस युनियन शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन' को उद्घाटन । एनपी साउद र डा चन्द्रमोहन यादव, संघीय सांसद डा सुनिल शर्मा र राजेन्द्र बजगाइँ, प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, कार्यक्रम संयोजक नकुल अर्याल
- फागुन ८ गते बुधबार, कर्णालीका सुर्खेत : सुर्खेतको एयरपोर्टमा शेखरको भव्य स्वागत । उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्लामा कर्णाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, जिल्ला सभापतिद्वारा शेखरको भव्य स्वागत ।
- नेपाली कांग्रेसको सुर्खेत पार्टी कार्यालयमा भेटघाट । भेटमा केन्द्रीय सदस्यहरू दीपक गिरी, जीवन शाही, सरिता प्रसाईं, जानकी सिंह, दिनेश कोइराला, पूर्व केन्द्रीय सदस्यहरू–हृदयराम थानी, दिनबन्धु श्रेष्ठ, डिल्ली रेग्मी र शिवराज जोशी सहभागी ।
- जिल्ला सभापतिहरू– खड्ग पोख्रेल– सुर्खेत, मणिराम रेग्मी–दैलेख, बेदराज सिंह–जाजरकोट, अम्ब शाही–कालिकोट,मोहनविक्रम सिंह– हुम्ला, कर्णबहादुर शाही–जुम्ला पनि सहभागी ।
- फागुन १० गते, शुक्रबार : सुर्खेत : नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय केन्द्रीय विभागले सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन । कार्यक्रममा जीवन शाही, सरिता प्रसाईं, रंगमती शाही, जानकी सिंह, पूर्व आप्रवासी समन्वय केन्द्रीय विभागका संयोजक दिनेश कोइराला, कर्णाली प्रदेश सभापति ललितजंग शाही, उपसभापति कालिबहादुर सहकारी, संघीय सांसद हृदयराम थानीसहितका नेता सहभागी ।
- फागुन ११ आइतबार, बाँके : बाँके विमानस्थलमा कोइरालाको भव्य स्वागत । बिहान ११ बजे बाँके कांग्रेस कार्यालयमा नेता कार्यकर्ता भेटघाट । केन्द्रीय सदस्यहरू सञ्जय गौतम, रंगमती शाही, मैकुलाल वाल्मीकि, दिनेश कोइराला सहभागी । लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल, बाँके कांग्रेस सभापति नारायण गौडेल, कोशी प्रदेश पूर्व मुख्यमन्त्री केदार कार्की उपस्थित
- बिहान ११ बजे : राप्ती सोनारी गाउँपालिकाको सम्मेलनलाई सम्बोधन ।
- फागुन १२ गते सोमबार, बाँके : नेपाल रिपब्लिक मिडियाले लुम्बिनी प्रदेशको नेपालगन्जमा आयोजना गरेको'म नागरिक म बनाउँछु नेपाल' कार्यक्रमलाई सम्बोधन ।
- फागुन १७ गते शनिबार, भैरहवा : भारतको केआईआइटीमा मृतक भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको परिवारलाई भेट्न नेतासहित उनको भैरहवास्थित निवासमा पुगे। लम्सालको परिवारसँगै भेट्दै कोइरालाद्वारा दोषीलाई हदैसम्मको कारवाही गराउन ध्यानाकर्षण गराउने आश्वासन ।
- फागुन १८ गते आइतबार, बुटवल : मीन विश्वकर्मा प्रमुख रहेको पार्टीको सूचना सञ्चार तथा प्रचार केन्द्रीय विभागको आयोजनामा 'राष्ट्र निर्माणमा युवाको योगदान–तथ्यमा आधारित प्रचार अभियान' विषयक कार्यशाला गोष्ठी कार्यक्रममा सहभागी । कार्यक्रममा नेता डा.मीनेन्द्र रिजाल, बालकृष्ण खाँणसहितका नेता सहभागी ।