०२ असार २०८३, मंगलबार
प्राविधिकमा बढुवाको जाम

सशस्त्रका सवारी चालकहरूमाथि विभेद– भर्ना भएको १५ वर्षसम्म एउटै पदमा !

फागुन २०, २०८१
काठमाडौं
सशस्त्रका सवारी चालकहरूमाथि विभेद– भर्ना भएको १५ वर्षसम्म एउटै पदमा !

सशस्त्र प्रहरीका प्राविधिक जवानहरू भर्ना भएको १५ वर्ष बित्दा पनि एउटै पदमा कार्यरत छन् । सिपाहीतर्फ नियमित बढुवा हुँदा प्राविधिकतर्फका सवारी चालक (जवान)हरू डेढ दशकसम्म एउटै पदमा कार्यरत रहन बाध्य छन् ।

भर्ना भएकै पदमा सेवानिवृत्त हुनुपर्ने हो कि भन्ने चिन्ता उनीहरूमा देखिन्छ ।

यसअघि २०७८ मा भएको बढुवामा तत्कालीन नेतृत्वको नजिककालाई ‘टपक्क’ टिपेर अगाडि लगिएको थियो । त्यसो गर्दा नियमित ढंगले बढुवा हुनुपर्नेहरू अन्यायमा परेका थिए ।

२०७८ कात्तिक ७ मा प्राविधिकतर्फका २५ जनालाई सहायक हवल्दारमा बढुवा गरिएको थियो । 

तत्कालीन नेतृत्वले आईडी नम्बर ५२१४९ का बालकृष्ण बस्नेत, ५२१९९ का रामशरण थापा र ५२१७० का भुवन गुरुङलाई माथि तानेको थियो । उनीहरूलाई अगाडि ल्याएपछि बाँकीलाई सिरियल्ली बढुवा गरियो । 

null

शैलेन्द्र खनालको पालामा गरिएकाे बढुवा

तत्कालीन समयमा सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी शैलेन्द्र खनाल थिए ।

२०७० कात्तिक ३ गते जवानमा भर्ना भएकाहरू सहायक हवल्दारमा बढुवा हुँदा २०६६ फागुन १८ मा भर्ना भएकाहरूलाई छुटाइयो । त्यतिबेला २५ जनालाई बढुवा गरिएको थियो । ग्रेडिङ समेत नहेरी गरिएको बढुवाको असर अहिले तल्लो तहसम्मै देखिएको छ । अन्यायमा परेका प्रहरी जवानहरूको काम गर्ने ऊर्जा समेत घटेको देखिन्छ ।

‘आफ्ना मान्छेलाई टपक्क टिपेर माथि लगियो । वरिष्ठता, शैक्षिक योग्यता, अनुभव केही हेरिएन,’ एक प्राविधिक प्रहरी जवानले लोकान्तरसँग भने, ‘२०६६ मा भर्ना भएका हामी अहिलेसम्म उही पदमा छौं ।’

बढुवाका लागि निश्चित क्राइटेरिया नबन्दा आफूहरू मर्कामा परेको उनको गुनासो छ ।

‘बढुवाको कुनै क्राइटेरिया भएन । पहुँच भएकाहरू मात्र माथि जाने अवस्था भयो । नेतृत्वले कम्तीमा निश्चित क्राइटेरिया बनाएर थिति बसाल्दिए हामीजस्तो अन्यायमा अरू कोही पनि पर्नुपर्ने थिएन,’ ती जवानले थपे ।

null

आन्तरिकलाई बेवास्ता गर्दै धेरै पदमा भर्ना लिँदा बढुवाको जाम

सशस्त्र प्रहरी बलले प्राविधिकतर्फ जवान मात्र होइन, हवल्दार, वरिष्ठ हवल्दार हुँदै डीएसपीसम्मै सिधै भर्ना लिँदै आएको छ । यसरी सिधै भर्ना लिँदा आन्तरिक बढुवामा जाम सिर्जना भएको छ ।

२०६६ देखि हालसम्म ९ जनाले सशस्त्र प्रहरी बलको नेतृत्व सम्हालिसके । तर, तल्लो तहका प्राविधिक जवानको हकहितका लागि काम हुन सकेन । ‘जवानमा सँगै ड्युटी गरेकाहरू वरिष्ठ हवल्दार भइसके, उनीहरूलाई सलाम गर्नुपर्छ,’ एक प्राविधिक जवानले भने, ‘साधारणतर्फ हेर्ने हो भने त जवानमा भर्ना भएकाहरू असई, सई, इन्स्पेक्टर र डीएसपी भएर गुल्मपतिसमेत भए । हामी भने जवानमै घर जानुपर्ने अवस्था आयो ।’

अर्का एक प्रहरी जवानका अनुसार लाइट सवारी चालकमा भर्ना भएका कतिपयले हेभी सवारी चलाइरहेका छन् । हेभीको लाइसेन्स भएकाहरूलाई हेभी चलाउन लगाइएको हो ।

तर, हेभीमै भर्ना भएर बढी सेवा सुविधा लिनेहरू लाइट सवारी चलाएर बसेका छन् । लाइटमा भर्ना भएर हेभी चलाएकाहरूलाई सेवा सुविधामा लाइटभन्दा पनि पछाडि पारिएको उनको गुनासो छ ।

‘हेभीमा भर्ना भएकाले लाइट सवारी चलाएर पनि हेभीकै सेवासुविधा लिँदै आएका छन्,’ ती जवानले भने, ‘लाइटमा भर्ना भएकालाई हेभी सवारी चलाउन लगाइए पनि सुविधा लाइटबराबर पनि छैन । हामी निकै अन्यायमा छौं ।’

आईजीपी भन्छन्– ‘म जानकार छु, बढुवाको प्रस्ताव गरिसकेको छु’

सशस्त्र प्रहरी बलका वर्तमान महानिरीक्षक (आईजीपी) राजु अर्यालले जिम्मेवारी सम्हालेदेखि नै तल्लो तहका सुरक्षाकर्मी खुशी देखिएका थिए । मातहत युनिटका सुरक्षाकर्मीको पीरमर्का बुझ्ने र समाधान गर्ने हुटहुटी आईजीपी अर्यालमा शुरूदेखि नै देखिएको थियो । सकभर आफ्ना सहयोगीलाई नचिढ्याउने र बहुमतकै सल्लाहमा निर्णय गर्ने उनको शैली छ ।

प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय हुँदै विभिन्न संसदीय समितिमा पनि अर्यालले औंला उठाउने ठाउँ दिँदैनन् । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी मुख्यालयको निरीक्षणका बेलामा अर्यालको प्रशंसामा लामो समय खर्चिएका थिए । 

आईजीपी अर्यालले प्राविधिक जवान विशेषगरी चालकहरू बढुवालगायत आन्तरिक सेवासुविधाबाट वञ्चित भएको बारेमा आफू जानकार रहेको बताए । संगठन व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर प्राविधिक जनशक्तिको बढुवा र सेवासुविधा बढाउने प्रस्ताव आफूले गृह मन्त्रालयसमक्ष गरिसकेको उनले बताए ।

‘मैले संगठनको नेतृत्व लिनुअघि नै बढुवा बिग्रिएको रहेछ । ओएनएम गरेर उनीहरूको दरबन्दी मिलान गरी बढुवा गर्ने प्रस्ताव गृहमा गरेको छु,’ अर्यालले लोकान्तरसँग भने, ‘तल्लो तहको मर्का बुझेरै ओएनएम गर्न लगाएको हुँ ।’ 

ओएनएम स्वीकृत भएपछि बढुवा हुने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्