
चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन एक्लै लड्ने घोषणा गरे पनि सत्तारुढ दल नेकपा एमालेले तालमेलको विषयलाई खुला राखेको छ ।
केन्द्रीय सत्तामा सँगै रहेका नेपाली कांग्रेस र एमालेले आफ्ना भ्रातृ संगठन नेविसंघ र अनेरास्ववियुलाई स्वस्थ प्रतिस्पर्धामा उतार्ने बताएका छन् ।
तर, एमालेले स्थानीय आवश्यकताअनुसार जिल्ला र क्याम्पस कमिटीलाई आफैं निर्णय गर्न सक्ने अधिकार दिएको छ । यस्तोमा सहयात्री दल कांग्रेसमाथि दबाब पर्न सक्ने देखिन्छ ।
त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र १०४० सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । तर, सत्तामा सँगै रहेको एमालेले नरम नीति लिए कांग्रेसले अब के गर्छ भन्ने दबाब परेको छ ।
बलियो प्रभाव रहेका क्याम्पसमा एक्लाएक्लै चुनाव लडे पनि आफू कमजोर रहेकोमा पनि मिलेर चुनाव लड्ने आशय प्रमुख दलका भ्रातृ संस्था र पार्टीका नेताहरूको छ ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय तहमा तालमेलको नीति नभए पनि क्याम्पसले चाहे मिलेर चुनाव लड्न सक्ने बताए ।
‘एक्लै स्ववियु चुनाव लड्ने एमालेको मूल नीति हो । केन्द्रीय तहमा हामीले कुनै संगठनसँग गठबन्धनको नीति बनाएका छैनौं,’ गौतमले लोकान्तरसँग भने, ‘तर, तल्लो तहमा स्थानीय आवश्यकतामा जिल्लातिर क्याम्पसले चाहे तालमेल गर्न सक्ने कुरालाई छाडेका छौं ।’
अनेरास्ववियुका अध्यक्ष समिक बडालले एक्लै चुनाव लड्ने पहिलो प्राथमिकता भएको बताए ।
‘सत्तामा कांग्रेस–एमाले सँगै छन् । तर, अनेरास्ववियु र नेविसंघले तालमेल नगरी स्ववियु चुनाव लड्ने नीति लिएका छौं । हामीबीच एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सहमति पनि छ,’ बडालले लोकान्तरसँग भने, ‘अरूले के गर्छन्, थाहा छैन । अनेरास्ववियु कोहीसँग पनि तालमेल नगरी आफ्नै संगठनको तागतमा चुनाव लड्छ र संगठन निर्माणमा दृढ भएर लाग्छ ।’
आंगिक र ठूला क्याम्पसमा प्रतिस्पर्धा गरे पनि अन्यमा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सकिने बडाल बताउँछन् ।
‘हामी माथिबाट थोपरिएको तालमेलको विपक्षमा छौं,’ बडालले भने, ‘स्थानीय स्तरमा आफ्नो आवश्यकताले १५/२० जना विद्यार्थी भएको ठाउँमा कसैले गर्नुभयो भने त्यो उहाँहरूको निर्णयको कुरा हो । तर, तालमेल हाम्रो घोषित नीतिमा छैन ।’
सत्तारुढ कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले पनि स्ववियु चुनावमा स्वच्छ प्रतिस्पर्धा गरेर जाने निर्णय गरेको थियो । कांग्रेसले नेविसंघ महाधिवेशनको तयारीलाई रोक्दै स्ववियु निर्वाचनमा लाग्न पार्टी पंक्तिलाई निर्देशन नै दिएको थियो ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक्लाएक्लै स्ववियु चुनावमा होमिन लागेको बताए ।
‘हामीलाई पार्टीले पनि एक्लाएक्लै चुनाव लड्न भनेको छ । हामी त्यही तयारीमा छौं,’ शेर्पाले लोकान्तरसँग भने, ‘तर, हामीजत्तिकै इमान्दार भएर कम्युनिस्ट पार्टीका भ्रातृ संस्थाहरू लाग्दैनन् कि भन्ने आशंका छ ।’
केन्द्रले तालमेल नगर्ने नीति लिएको बताए पनि तल्लो तहलाई खुला छाड्ने कुराले आशंका बढेको उनी बताउँछन् । ‘हामीसँग कुरा हुँदा पनि अनेरास्ववियुले एक्लाएक्लै स्ववियु चुनाव लड्ने भनेको छ । तर, कम्युनिस्ट पार्टीको बोलीमा भर पर्न सकिने अवस्था छैन,’ शेर्पाले भने, ‘उनीहरूले अन्य संगठनसँग क्याम्पस–क्याम्पसमा मिलेर जान सकिने विषयलाई खुला राखेको र त्यसैअनुरूप तयारी गरेको बुझेका छौं । तर, हामी एक्लै चुनाव लड्छौं ।’
गत चुनावमा माओवादीसँग मिले पनि धोका पाएको भन्दै कांग्रेसमा एक्लै चुनाव लड्नुपर्ने माग तीव्र छ । तर, एमाले अखिल क्रान्तिकारी वा अन्य साना संगठनसँग मिले नेविसंघलाई पनि तालमेलमा जान दबाब पर्ने देखिएको छ । स्ववियु निर्वाचनका लागि आज मतदाता सूची सार्वजनिक गर्ने कार्यतालिका छ । त्यस्तै, फागुन २७ गते ११ देखि २ बजेसम्म प्रत्यक्ष र समानुपातिकको उम्मेदवार मनोनयन गर्ने तालिका छ ।
संगठनहरूले उम्मेदवारी मनोनयनअघि क्याम्पसहरूमा आ–आफ्नो स्थिति बुझिरहेको एक विद्यार्थी नेताले जानकारी दिए । ‘उम्मेदवारी मनोनयनअघि संगठनको स्थिति बुझ्न एक हप्ताको समय छ । यो समयमा आफ्नो स्ट्रेन्थ कस्तो छ, बुझ्छौं,’ अनेरास्ववियुका एक नेता भन्छन्, ‘आंगिकमा आफू बलियो भएको र उपत्ययकाबाहिर पनि आफू बलियो वा कमजोर रहेको कलेजको हिसाब निकालिरहेका छौं । स्थिति मूल्यांकनपछि कसरी उम्मेदवार उठाउने तय गर्छौं ।’
चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान गर्ने कार्यतालिका छ । स्ववियु निर्वाचनमा यसपटक मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ । उम्मेदवारका लागि २८ वर्षको उमेरहद तोकिएको छ ।
माओवादीको क्रान्तिकारी पनि एक्लै प्रतिस्पर्धा गर्ने
नेकपा (माओवादी केन्द्र)निकटको अखिल क्रान्तिकारीले पनि एक्लै स्ववियु निर्वाचन लड्ने बताएको छ । तर, उसको पनि नीति कांग्रेस र एमालेभन्दा फरक देखिएको छैन ।
केन्द्रबाट तालमेलको निर्णय नलादिने भन्दै भूगोलको आवश्यकताका आधारमा क्रान्तिकारीले पनि तालमेलका लागि तल्लो पंक्तिलाई छुट दिएको छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले स्ववियु चुनाव एक्लै लड्ने बताए । तर, कलेजहरूले आवश्यकता महसुस गरे केही ठाउँमा तालमेल हुन सक्ने उनले बताए ।
‘हामीले स्ववियु निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेका छौं । अहिलेसम्म तालमेलबारे औपचारिक छलफल भएको छैन,’ सापकोटाले लोकान्तरसँग भने, ‘तर, स्थानीय तहमा आवश्यकता महसुस गरे इकाई कमिटीले तालमेल गर्न सक्नेछन् ।’