०८ असार २०८३, सोमबार
सरकारको उल्टो बाटो

डाउन पेमेन्ट बढेपछि हच्किन थाले ईभीका ग्राहक, 'ग्रीन इकोनोमी'मा नकारात्मक प्रभाव

फागुन २२, २०८१
काठमाडौं
डाउन पेमेन्ट बढेपछि हच्किन थाले ईभीका ग्राहक, 'ग्रीन इकोनोमी'मा नकारात्मक प्रभाव

नेपालमा विद्युतीय सवारी खरिद गर्दा न्यूनतम ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएपछि ग्राहक हच्किएका छन् ।

नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले गरेको व्यवस्था सोमबारदेखि कार्यान्वयनमा ल्याएको थियो ।

उक्त प्रावधानमा विद्युतीय र पेट्रोल दुवै सवारी खरिद गर्दा बराबररूपमा ४० प्रतिशत डाउन पेमेन्ट भुक्तानी गर्नुपर्ने उल्लेख छ ।

यसअघि विद्युतीय सवारीमा २० प्रतिशत मात्र डाउन पेमेन्ट गरे पुग्थ्यो भने बाँकी बैंक तथा वित्तीय संस्थाबाट फाइनान्स गराउन सकिने सुविधा थियो ।

राष्ट्र बैंकको नयाँ परिपत्रले विद्युतीय सवारी चढ्ने रहर गरेका मध्यमवर्गीय ग्राहक हच्किएका छन् ।

यसअघि विद्युतीय सवारी साधनको मूल्यको ८० प्रतिशतसम्म कर्जा बैंकहरूले प्रवाह गर्दथे । साधन खरिद गर्ने इच्छा भएकाहरूले २० प्रतिशतको न्यूनतम डाउन पेमेन्ट गरेर गाडी खरिद गरिरहेका थिए ।

अहिले कुनै गाडीको मूल्य ३० लाख रुपैयाँ रहेको छ भने ग्राहकले ६ लाख डाउन पेमेन्ट गरेर मासिक किस्ताबन्दीमा खरिद गर्न सक्दथ्यो । अब ३० लाखको गाडी खरिद गर्न १२ लाख न्यूनतम डाउन पेमेन्ट गर्नुपर्ने भएको हो ।

विद्युतीय सवारी खरिद गर्न खोजेका रिदम बुर्लाकोटीले लोकान्तरसँग भने, 'यो सरासर बेइमानी हो । अस्ति भर्खरसम्म २० प्रतिशत तिरेर बैंकबाट सहजै फाइनान्स गराउन मिल्थ्यो, अहिले ४० प्रतिशत तिर्नुपर्ने हुँदा निकैबेर सोच्नुपर्ने अवस्था आएको छ ।'

बुर्लाकोटी मात्र होइन, ईभी किन्न खोजेका धेरै उपभोक्ताहरू राष्ट्र बैंकले गरेको नयाँ प्रावधानबाट सन्तुष्ट छैनन् । 'हामीले मन परेको ईभी किन्न नपाउने ? यसअघि ८० प्रतिशतसम्म फाइनान्स हुँदा के समस्या थियो र ?' अर्का एक उपभोक्ताको आक्रोश छ ।

यो व्यवस्था गत फागुन १३ गते चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट गरिएको हो  ।

'ग्रीन इकोनोमी'सँग बाझिने निर्णय

सरकार आफैं र राष्ट्र बैंक लगायत विभिन्न सरकारी निकायहरूले अन्तर्राष्ट्रिय समुदायसँग धेरैपटक ग्रीन इकोनोमीको पक्षमा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, राष्ट्र बैंकले गरेको पछिल्लो व्यवस्थाले त्यसको ठीक उल्टो दिशा समातेको छ ।

हरित इकोनोमीलाई प्रवर्द्धन गर्ने भन्दै सरकारले चालू आर्थिक वर्षदेखि पहिलोपटक हरित करको पनि व्यवस्था गर्‍यो ।

कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित करको व्यवस्था गरिएको हो । वातावरण प्रदूषित गराउने वस्तु तथा क्रियाकलापलाई नियन्त्रित तथा निरुत्साहित गर्दै हरित अर्थतन्त्र प्रवर्द्धन गर्ने र राजस्वको दायरा विस्तार गर्न यो कर शुरू गरिएको हो ।

तर, एकातिर सरकारले हरित अर्थतन्त्रमा जोड दिइरहेको छ भने अर्कातर्फ विद्युतीय सवारीको प्रयोगलाई खुम्च्याउने नीति लिएको छ ।

हरित अर्थतन्त्र निर्माणका लागि स्वच्छ ऊर्जाको प्रयोगलाई पहिलो स्थानमा राख्ने गरिन्छ । स्वच्छ ऊर्जाका लागि नेपाल जलस्रोतमा ठूलो सम्भावना भएको देश हो । विद्युतलाई सरकारले अहिलेसम्म राष्ट्रिय अर्थतन्त्र निर्माण कार्यमा जोड्न नसकेको आरोप लाग्ने गरेको छ ।

नेपालमा अथाह सम्भावना रहेको जलविद्युतलाई प्रयोग गरेर औद्योगिक क्षेत्रसँगै यातायातमा पनि ऊर्जा खपत बढाउन सकिने सम्भावनालाई स्वार्थप्रेरित समूहको प्रभावले निस्तेज पार्न लागिएको विश्लेषकहरूको भनाइ छ ।

के भन्छ नाडा ?

विद्युतीय गाडीको व्यापारमा राष्ट्र बैंकले 'ब्रेक' लगाएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी बताउँछन् ।

उनले सरकारले यसबारे दीर्घकालीन रणनीति तय गर्न नसकेको र लहडमा निर्णय गर्ने गरेको आरोपसमेत लगाए ।

‘राष्ट्र बैंकले ईभीको बिक्रीमा स्पिड ब्रेकर लगाएको हो । ठूलो मात्रामा ईभीको बजारमा प्रभाव पर्ने देखिन्छ’, उनले भने, ‘सरकारको कहिल्यै पनि दीर्घकालीन रणनीति भएन । हामीले बारम्बार राज्यका निकायबाट लिइने नीतिहरू स्थिर हुनुपर्छ भन्दै आएका छौं, तर त्यो भएको छैन ।’

अटोमोबाइल्स व्यवसाय पटक-पटक सरकारको आर्थिक र राष्ट्र बैंकको वित्तीय नीतिको शिकार बनेको भन्दै अन्य व्यवसायीहरू पनि असन्तुष्ट देखिएका छन् । 

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत(सीईओ) राजनबाबु श्रेष्ठले नेपालमा विद्युतीय सवारीको इकोसिस्टमलाई नै राज्यको निकायले बिगार्न खोजेको आरोप लगाएका छन् ।

‘विद्युतीय सवारीका लागी हामीले जुन किसिमको इकोसिस्टम बनाएका छौं, त्यसलाई बिगार्ने अथवा राम्रो हुन नदिने नीतिगत व्यवस्था भएको छ’, श्रेष्ठले भने, ‘सरकार उल्टो बाटोमा हिँडेको देखिन्छ । यसबाट सरकारलाई केही फाइदा पनि छैन ।'

उनले यतिबेला बैंकमा पर्याप्त तरलता भएको भन्दै यस्तो अवस्थामा लिइएको निर्णय उल्टो रहेको बताए ।

'यो नयाँ व्यवस्था ल्याउनुपर्ने कुनै वैज्ञानिक आधार र कारण नै छैन, न अनुसन्धान नै छ । यो हचुवामा आएको नीति हो,' उनले भने ।

विद्युतीय सवारीलाई प्रवर्द्धन गर्नुपर्नेमा सवारी कर्जामा २० प्रतिशतको भारी बोकाएर व्यवसायलाई निरुत्साहित गरेको साइमेक्स इङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठ बताउँछन् । विद्युतीय गाडी बिक्रेतालाई मात्रै नभएर उपभोक्तामाथि पनि भारी बोकाएको उनको आरोप छ ।

‘व्यवसायीलाई मार पर्ने नै भयो, तर उपभोक्तालाई पनि ठूलो मार पर्ने देखिन्छ । कुनै ईभी खरिद गर्दा १५ लाख डाउन पेमेन्ट दिए पुग्थ्यो भने अब उपभोक्ताले ३० लाख डाउन पेमेन्ट तिर्नुपर्‍यो’, उनले भने, ‘उपभोक्तामाथि भार थपियो । यसले गर्दा जो कसैले ईभी खरिद गर्न आँट नगर्न सक्छ । पहिले वार्षिक हजारौं ईभी बिक्री हुन्थे भने अब सयमा झर्नेवाला छ ।’

आयातका क्रममा रसुवा भन्सारमा ईभी

अन्य राष्ट्रहरूमा कस्तो छ डाउन पेमेन्टको व्यवस्था?

विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा विद्युतीय सवारीको खरिदमा १० देखि २० प्रतिशतको डाउन पेमेन्टको व्यवस्था रहेको छ । अर्थात्, कर्जा अनुपात ८०/९० प्रतिशत रहेको छ ।

त्यस्तै, बेलायतमा पनि १० देखि २० प्रतिशतको डाउन पेमेन्टको व्यवस्था रहेको देखिन्छ । त्यसैगरी, जर्मनीमा २०-३० प्रतिशत, फ्रान्समा २०-२५ प्रतिशत, नर्वेमा १५-२० प्रतिशत, नेदरल्याडमा १०-२० प्रतिशत रहेको छ ।

चीनमा १० देखि ३० प्रतिशतसम्म, भारतमा १५-२५ प्रतिशत, क्यानडामा १०–२० प्रतिशत, अस्ट्रेलियामा १०–२० प्रतिशत, जापानमा २०–३० प्रतिशत, दक्षिण कोरियामा २०–३० प्रतिशत डाउन पेमेन्टमा विद्युतीय सवारी साधन खरिद गर्न सकिने व्यवस्था छ ।

विश्वका अधिकांश राष्ट्रहरूमा १० देखि २० प्रतिशतको  डाउन पेमेन्टमा सवारी खरिद गर्न मिल्ने व्यवस्था छ ।

बढ्दो विद्युतीय गाडीको आयात,खुम्चिँदो इन्धनको खपत

पहिला वार्षिक १७ लाख किलोलिटर आयात हुने डिजेल पछिल्ला वर्षमा १४ लाख किलो लिटरमा खुम्चिएको छ ।

वार्षिक ४/५ हजार आयात हुने विद्युतीय गाडी पछिल्ला वर्षमा १०/११ हजार आयात हुन थालेका छन् । यसले नेपालमा विद्युतीय सवारी साधनहरूको प्रयोग बढ्दै गइरहेको र त्यसले इन्धनको खपत घटाउँदै लगिरहेको देखाउँछ ।

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा १७ लाख १८ हजार किलोलिटर आयात भएको डिजेल आर्थिक वर्ष २०८०/८१ मा आउँदासम्म घटेर १४ लाख ११ हजार किलोलिटर पुगेको छ ।

भन्सार विभागकै तथ्याङ्क हेर्दा विद्युतीय गाडीहरूको आयात पछिल्ला २/३ वर्षमा तीव्र रूपमा बढ्दै गइरहेको छ भने इन्धनको आयात घट्दै गइरहेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा वार्षिक ४ देखि ५ हजार विद्युतीय सवारी सधान आयात हुँदै आएका थिए । तर, आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा विद्युतीय सवारी साधनहरूको आयातमा भारी गिरावट आयो । पछिल्लो समय त्यसको संख्या निकै बढेको छ ।

नेपालमा विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले इन्धनको खपतलाई घटाउनुका साथै देशको विद्युत खपतमा पनि ठूलो भुमिका निर्वाह गरिरहेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्