
फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यपछि राजावादीहरू सल्बलाउँदा प्रमुख दलका शीर्ष नेता ‘काउन्टर’मा देखिएका छन् । ज्ञानेन्द्रको वक्तव्यपछि उत्साहित राजावादीहरूले निरन्तर प्रदर्शनलगायतका कार्यक्रम गर्दै आएका छन् ।
पूर्वराजा पोखरा घुमघामबाट आगामी २५ गते काठमाडौं फर्किँदा भव्य स्वागत गर्नेगरी राजावादीहरूले कार्यक्रम नै राखेका छन् । तर, राजावादीहरू हौसिइरहेका बेला नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले एक स्वरमा त्यसको प्रतिवाद गरेका छन् ।
संयोगले बिहीबार प्रमुख तीन पार्टीका शीर्ष नेता मधेश प्रदेशको महोत्तरी पुगेका थिए । एकैदिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीनैजनाले महोत्तरीबाट पूर्व राजाप्रति आक्रामक अभिव्यक्ति दिएका हुन् ।
अन्य विषयमा सत्ता र विपक्षमा बाँडिए पनि गणतन्त्रविरुद्ध पूर्व राजावादीहरू सक्रिय हुन खोजेपछि प्रमुख दलले रणनीतिक रूपमा प्रतिवाद गरेका छन् ।
तीन नेतामध्ये पनि प्रधानमन्त्री ओली सबैभन्दा आक्रामक देखिएका थिए ।
‘उहिले नेपाली जनताले फालेको राजतन्त्रलाई फेरि कताबाट, कहाँबाट उदिनेर ल्याउने रे ? कहाँबाट ल्याएर कहाँको कुर्सीमा राख्छन् अरे ? अनि मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईंहरू पनि कुर्सीमा बस्दा राजा हुनुभएको छ र ?,’ महोत्तरीमा बिहीबार सम्बोधन गर्दै ओलीले भने, ‘कुर्सीमा राख्दैमा राजा भइँदैन ।’
पूर्वराजा लोकप्रिय नै छन् भने संविधानअनुसार चुनाव लड्न ओलीले चुनौती दिएका छन् ।
‘छायाँ अगाडि सारेर होइन, लोकप्रिय हुनुहुन्छ भने चुनाव लड्न आउनुस् । तपाईंलाई जहाँसुकै पनि चुनाव लड्न खुला छँदैछ नि ! संविधानको बाटो समाउनुस् । संविधानअनुसार आउनुस्,’ ओलीले चेतावनी दिँदै भने, ‘पार्टी खोल्नुस्, खोलेकै छ भने त्यसलाई आफ्नो भन्नुस् । मेरो पार्टी भन्नुस् न । अलिकति टाउको निकाल्ला–निकाल्लाजस्तो पनि गर्ने, अलि अप्ठ्यारो पर्यो भने लुसुक्क पछाडि तानेर कछुवा तालले टाउको पनि लुकाउने ?’
राजतन्त्रलाई जनताले इतिहास बनाएको भन्दै ओलीले बेकारको तनाव बढाउने बाटोमा नलाग्न पनि सुझाव दिए । अब यस देशमा सामन्ती राजतन्त्र, जन्मँदै राजा हुने र जुनकसुकै क्षमता भए पनि जनता रैती भएर बस्ने प्रणाली हुँदैन । राजतन्त्र जनतालाई स्वीकार्य हुँदैन,’ ओलीले भने, ‘जनताले राजतन्त्र फालिसके । बेकारको तनाव बढाउने काम कसैले गर्न नखोज्नुस् । संविधान र लोकतन्त्रको बाटोमा आउनुस् । सबै समान छन् भन्ने मान्नुस् । सबैलाई अधिकार छ । फेरि राजा भएर रैती बनाउँछु । फेरि अढाइ सय वर्ष खान्छु भन्ने सपना नदेख्नुस् । बलमिच्याइँ र अराजकता अब चल्दैन ।’
ओलीमात्रै होइन, सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र अब इतिहास भएको टिप्पणी गरे । बिहीबार महोत्तरीमा कार्यकर्ता भेटघाट कार्यक्रममा देउवाले पूर्वराजाले ज्यादती गरेकै कारण गणतन्त्र आएको बताए । ‘राजा स्वयं नै कारक भएर नेपालमा गणतन्त्र आएको हो । राजाले सत्ता सम्हालेपछि नेताहरूलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे,’ देउवाले भने, ‘ज्यादती गरेपछि गणतन्त्र आएको हो । गणतन्त्र स्थापना हुनुमा राजा स्वयं कारण हुन् ।’
सत्तामा रहेका शीर्ष नेतृत्व मात्रै होइन, प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पूर्वराजा र राजावादी सल्बलाउन खोजेकोप्रति आक्रामक देखिएका छन् ।
जनतासँग माओवादी तराई–मधेश अभियानका क्रममा प्रचण्ड बिहीबार महोत्तरी पुगेका थिए । उनले पनि राजतन्त्र इतिहास भइसकेको भन्दै सामन्तवादका प्रेतहरूले टाउको उठाउन खोजेको बताए ।
‘नेपाली जनताको बलबाट राजालाई गलहत्याइए हो, तर सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुनेछन्,’ महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘नेपाली जनताले परास्त गरिसकेका तत्त्वहरूले कहिलेकाहीँ टाउको उठाउने प्रयास गर्ने गरेका छन् । इतिहास पछाडि फर्किँदैन । राजतन्त्र फर्काउने सपना नदेख्न म चेतावनी दिन्छु ।’
के भनेका थिए पूर्व राजाले सम्बोधनमा ?
फागुन ७ प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्रले आफूले राष्ट्रको हितका लागि उदारतापूर्वक राजगद्दी त्यागेको बताएका थिए । आफूले त्यागे पनि देशको इतिहास मेटिँदै गएको भन्दै ज्ञानेन्द्रले सबैलाई समेटेर जान आफू तयार रहेको बताएका थिए ।
‘राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं । हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा र सुख–सुविधालाई पनि त्याग गरेका हौं । त्यागले कसैको कद सानो हुने होइन । त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नुहुँदैन,’ ज्ञानेन्द्रले सम्बोधनका क्रममा भनेका थिए, ‘कतै कुनै पन र पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आशय पनि त्यही नै हो । इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उँभो लाग्दैनौं भन्ने कुराको हेक्का राखेर अघि बढौं ।’
पूर्वराजाको यो अभिव्यक्तिपछि राजतन्त्रवादी राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका विभिन्न स्थानमा र्याली गरेको छ । काठमाडौंबाहेक पोखरा, बुटवल, धनगढी र नेपालगञ्जमा राजावादीले राजतन्त्रका पक्षमा र्यालीसहितको प्रदर्शन गरेका छन् । साथै, फागुन २५ गते ज्ञानेन्द्र पोखराबाट फर्किँदा काठमाडौंमा भव्य स्वागतको तयारी गरिएको छ । पार्टीको नियमित आमसभा नै स्थगित गरेर राप्रपाले पूर्वराजालाई स्वागत गर्न विमानस्थलमा जान आह्वान गरेको छ ।

यो अभियानमा दुर्गा प्रसाईं पनि मिसिएका छन् । तर, यी दुई बाहेकका दल र समूह यो अभियानमा जोडिएका छैनन् । पूर्वराजाको अभिव्यक्तिपछि पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले गणतान्त्रिक देशमा पूर्वराजाले यस्तै हर्कत देखाइरहे सरकारले नियन्त्रणमा लिनुपर्ने अभिव्यक्ति दिएका थिए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि पूर्व राजाको अभिव्यक्ति र उनको सक्रिय हुने चाहनाप्रति आपत्ति जनाउँदै आएका छन् ।
सरकारका प्रवक्ताको चेतावनी
सत्तारुढ र प्रतिपक्षी दलका नेताको आक्रामक अभिव्यक्तिपछि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पनि सरकारले उदारता देखाएर ज्ञानेन्द्रलाई नागार्जुनमा राखेको बताए ।
‘नेपालमा सुरक्षाको प्रबन्ध गरेर नागार्जुनमा राखेका छौं, व्यवस्थाप्रति कटाक्ष गर्दै फेरि फर्किन्छु भन्ने हर्कत देखाउनु पूर्वराजाले हैसियत भुल्नु हो । हामीले देखाएको उदारतालाई बिर्सिनुहुन्न,’ गुरुङले भने ।
प्रवक्ता गुरुङले राजावादी मच्चिँदैमा राजतन्त्र नफर्किने पनि बताए ।
‘राजा आऊ, देश बचाऊ भन्नेलाई प्रश्न छ, राजाले कसरी देश बचाउँछन् ? कुन देश राजाले बचाएका छन् ? आफ्नो परिवारको रक्षा गर्न नसक्ने राजसंस्थाले देशको रक्षा गर्छ ?’ उनले भने, ‘राजावादी मच्चिएर हिँड्दैमा फर्किने होइन । राजतन्त्र फर्किने कुरा जन्मेको बच्चा आमाको गर्भमा फर्किने कुराजस्तै हो, जुन असम्भव छ ।’
पूर्वराजानिकट फणि पाठकले आइतबार दिउँसो ३ बजे पोखराबाट ज्ञानेन्द्र काठमाडौं आउने कार्यक्रम मात्र आफूलाई थाहा भएको जानकारी दिए । ‘आइतबार दिउँसो ३ बजे विमानमार्फत काठमाडौं आउने कार्यक्रम मात्र हामीलाई थाहा छ,’ पाठकले लोकान्तरसँग भने, ‘अन्य कार्यक्रम के छन्, आयोजकलाई नै थाहा होला ।’
फागुन २१ गते बसेको राप्रपाको पदाधिकारी बैठकले पूर्वराजाले प्रजातन्त्र दिवसको दिन गरेको सम्बोधनको स्वागत गरेको थियो । ज्ञानेन्द्रको सम्बोधनपछि संवैधानिक राजसंस्था पुनःस्थापनाका लागि नागरिकलाई जागरुक तुल्याउन देशभर कार्यक्रम गरिरहेको राप्रपाले जनाएको छ ।
ज्ञानेन्द्रको सम्बोधनपछि पहिलो काठमाडौं सवारीमा नागरिक समाजबाट फागुन २५ गते काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा हुने स्वागत कार्यक्रममा सहभागी हुन पनि राप्रपाले अपिल गरेको छ । विमानस्थलबाट पूर्वराजालाई र्यालीसहित उनी बस्ने निर्मलनिवाससम्म लाने कार्यक्रम छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजावादीको विरोध प्रदर्शनबाट कुनै दबाब महसुस नगरेको बताए । ‘उनीहरूले कसैलाई स्वागत गर्न र प्रदर्शन गर्न सक्छन् । तर, गणतान्त्रिक व्यवस्थामा संविधानले व्यवस्था गरेको विषय नै मूलभूत मान्यता हुन् । यस्ता मान्यता परिवर्तन नगरेसम्म कसैको इच्छाले हुँदैन,’ महतले लोकान्तरसँग भने, ‘हिजो पूर्वराजालाई मौका दिएकै हो । तर, पाएको मौका निरंकुश भएर उनैले गुमाएका हुन् ।’
कुनै समय कांग्रेसले संवैधानिक राजतन्त्र स्वीकारे पनि पूर्वराजाले जनताको अधिकार निमोठेपछि गणतन्त्रमा गएको उनी बताउँछन् ।
‘कांग्रेसले कुनै समय संवैधानिक राजतन्त्र स्वीकारेको हो । जनताको प्रतीक भएर बसे भने ठीक छ भन्यौं । तर, निरंकुश भए । जनताको अधिकार निमोठे,’ महतले भने, ‘यसैले आन्दोलनको बलमा गणतन्त्र ल्यायौं । यसबाट फिर्ता हुने स्थिति छैन । परिस्थिति पनि आउँदैन । हामी गणतन्त्रमाथि आस्था राख्ने र यसैलाई मुख्य विषय मानेका दलले राजावादीको विरोध प्रदर्शनबाट कुनै दबाब महसुस गरेका छैनौं ।’