
बिहीबार बिहान नेकपा एमाले मोरङको कार्यालयमा एक महिला साडीचोलो लगाएर टेम्पु कुदाउँदै आइपुगिन् ।
एमाले मोरङको नयाँ नेतृत्वका लागि बुधवार मतदान भएको थियो । बिहीबार बिहानैदेखि मतगणना हुने भनिएकाले नेता/कार्यकर्ताको भीड लागेको थियो । केही गरगहना लगाएकी ती महिला राम्रो खानदानकै जस्ती देखिन्थिन् । टेम्पु रोकेर उनी मोरङकै बेलबारी नगरपालिका वडा नम्बर ११ का पूर्व वडाध्यक्ष राजन पोखरेलसँग कुरा गर्न थालिन् ।
टेम्पु कुदाउने ती महिलाबारे जिज्ञासा राख्दा पोखरेलले उनको संघर्षका बारेमा केही बताए । अनि उनैसँग कुरा गर्नुस् भनेर परिचय गराइदिए । ती महिला रहिछन्– मोरङको बेलबारी– ११ मा बस्ने निरु परियार ।
त्यसपछि एमाले पार्टी कार्यालय छेउमै रहेको लक्ष्मण दाइको चिया पसलमा बसेर उनको जीवन संघर्षबारे कुराकानी भयो ।
परिवारिक पृष्ठभूमि
अहिले उनले गरिरहेको संघर्षको केन्द्रमा छिन्, छोरी । उनको आशा-भरोसा वा भविष्यको सहारा जे भने पनि तिनै छोरी हुन् । उनी महेन्द्र मोरङ क्याम्पसबाट बीबीए आठौं सेमेस्टरको परीक्षा सकेर त्यसपछिको अध्ययनका लागि इन्ट्रान्सको तयारीमा छिन् ।
निरुका श्रीमान् पूर्वप्रहरी (भगौडा) रहेछन् । उनले श्रीमान् र छोरीको नाम खुलाउन चाहिनन् । श्रीमान् २०५८ सालमा माइती पक्षकै सहयोगमा विदेश गएका थिए । श्रीमान् वैदेशिक रोजगारीमा जाँदा छोरी ४ महिनाकी थिइन् ।
श्रीमानले विदेशमा कमाएको पैसा निरुले जोगाएर राखेकी थिइन् । उनीहरूको परिवार राम्ररी नै चलिरहेको थियो । उनी इटहरिमा बस्थिन् । श्रीमानले कमाएको र माइतीले दिएको पैसा जोडेर उनले सुनसरीमा जग्गा किनिन् । बैंकबाट ऋण लिएर त्यही जग्गामा उनीहरूले घर बनाए ।
सबै कुरा राम्रै चलिरहेको थियो । २०६५ सालमा नातामा बहिनी पर्ने युवती उनको घरमा बस्न आइन् । ती बहिनी जनता क्याम्पस इटहरिमा पढ्थिन् । त्यतिबेला निरुसँग मोबाइल फोन थिएन । विवाह गरेको १५ महिनामै श्रीमान् वैदेशिक रोजगारीमा गएका थिए । खासै कुराकानी हुन पाउँथेन ।

ती बहिनी आएपछि सीडीएमए फोनमार्फत श्रीमानसँग कुराकानी हुन थाल्यो । ती बहिनी पनि भिनाजु (निरुका पति)सँग कुरा गर्थिन् ।
कुरा गर्दै जाँदा निरुका श्रीमान् ती साली पर्ने युवतीसँग नजिकिएछन् । माइती पक्षले भनेपछि मात्रै उनले यो कुरा थाहा पाइन् । १८ महिना आफूसँग बसेपछि भाडाको कोठा खोजेर भाँडाकुँडा समेत दिएर ती बहिनीलाई बाहिर राखिदिइन् ।
वैदेशिक रोजगारीमा गएका श्रीमान स्वदेश फर्किए । घरजग्गा निरुको नाममा थियो । श्रीमानले त्यसलाई आफ्नो नाममा पास गरिदिन दबाब दिन थाले । भनेको नमाने बैंकको ऋण तिर्न नसक्ने भन्दै धम्की दिन थाले ।
श्रीमानको मुलघर उदयपुर हो । माइती पक्षका दाजुभाइले जग्गा २ जनाको नाममा राख्न भनेपछि संयुक्त पास गरेको उनले बताइन् । त्यसपछि श्रीमानले उनलाई एक्लो बनाउने प्रयास गर्न थाले ।
'उहाँको नाममा एकल नबनाए किस्ता तिर्न नसक्ने भन्दै धम्क्याउनुभयो । मैले दु:ख गरेर जोडेको सम्पत्ति नबिग्रिओस् भनेर उहाँकै नाममा गरिदिएँ,' उनले भनिन् ।
श्रीमानले घर आफ्नो नाममा गरेपछि गाईघाट जानुपर्छ भन्दै परिवारका आफन्त ल्याएर फकाउन थाले । उनले मानिनन् । छोरी भर्खर २ कक्षामा पढ्दै थिइन् । श्रीमानले शारीरिक यातनासमेत दिन थाले । उनी सहयोग लिन प्रहरी चौकीमा समेत पुगिन् ।
जीवनलाई अघि बढाउने प्रयास
निरुले टेम्पु कुदाउन थालेको ३ वर्ष भइसकेको छ । एकपटक टेम्पु दुर्घटना हुँदा उनी एक महिना अस्पतालमै बसिन् । अहिले उनी ४३ वर्षकी भइन् । श्रीमानले आफन्तहरू प्रयोग गरी कोठामा बन्धक राखेर घरजग्गा बेच्न मञ्जुरी गराए ।
'मेरो पसिना बगाएर बनाएको घर बेच्न दिन्न भनें, तर केही लागेन,' उनले रुँदै भनिन् । दुई महिनासम्म आलु, दाल, भुजा खाएर छोरी र आफूले प्राण बचाएको उनले बताइन् ।
त्यसपछि उनले सिलाइ-कटाइ सिकिन् । टेलरहरूसँग पुराना कपडा ल्याएर मशिन मागेर अढाई महिने कोर्स एक महिनामै पूरा गरिन् । त्यसपछि कपडा सिलाउन थालिन् । श्रीमानले सम्बन्धविच्छेदको मुद्दा आफैंले लगाए ।
'छोरीका लागि मिलौं भनेर प्रयास गरें, तर उहाँले मान्नुभएन,' उनले भनिन् ।
पैसा नभएका बेला मुद्दाको भारसमेत खेप्नुपर्यो । उनका माइती मोरङको कानेपोखरीको हरकपुरमा छन् ।
उनले इटहरिमा ट्रेलरमा काम गरिन् । इटहरिबाट लक्ष्मी मार्गमा आएर पनि आफूले सिकेको सीपलाई अगाडि बढाइन् । त्यहाँ आफन्तहरूले महिला समूहमा राखिदिए ।
आत्मनिर्भरताको बाटो
सिलाइ-बुनाइको आम्दानी अपुग भएपछि निरुले टेम्पु कुदाउन थालिन् । २ वर्ष भाडाको टेम्पु चलाइन् । पछि महिला समूहबाट किस्तामा ऋण लिएर टेम्पु किनेकी छिन् । अहिले दैनिक १ हजारदेखि २ हजार जति कमाउँदै आएको उनी बताउँछिन् ।
श्रीमानले ९० लाखमा घर बेचे पनि आफूलाई सम्बन्धविच्छेदका क्रममा ६ लाख मात्र दिएको उनले बताइन् । छोरी आफूसँग राख्न दिए मात्र पैसा दिने धम्की दिए । एकपटक छोरीलाई दार्जिलिङसम्म लगेर छाडे । उनले बल्लतल्ल खोजेर ल्याइन् ।
त्यसपछि ५ लाखमा ऐलानी जग्गा किनेकी छन् ।
'५ लाखमा जग्गा किनेपछि १ लाख बचाएर राखेको थिएँ,' उनले भनिन्, 'दु:ख गरेर जोडेको पैसा थपेर घर बनाएको छु ।' अहिले छोरीलाई राम्रो शिक्षादिक्षा दिएर आत्मनिर्भर बनाउने उनको सपना छ । त्यसैका लागि दिनरात नभनी संघर्ष गरिरहेकी छन् ।