राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगका प्रमुख भुवन के.सी. द्वारा शनिबार जारी कार्यतालिका अनुसार असार ८ गते उम्मेदवारी दर्ता र असार ९ गते मतदानको समय तोकिएको छ ।
कार्यतालिका अनुसार असार ६ गते राति महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने असार ७ गते राति ११ बजे अन्तिम नामावली सार्वजनिक हुनेछ ।
उम्मेदवारी मनोनयनका लागि असार ८ गते दिउँसो १ बजेदेखि फारम वितरण सुरु हुनेछ भने दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन पत्र दर्ताको समय तोकिएको छ । सोही दिन उम्मेदवारहरू विरुद्ध दाबी विरोध, जाँचबुझ र नाम फिर्ता लिने प्रक्रिया पूरा गरी राति ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
पार्टी सभापति र केन्द्रीय सदस्यहरू चयनका लागि असार ९ गते बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । मतदान सम्पन्न भएको दुई घण्टापछि नै मतगणना सुरु गरी परिणाम घोषणा गरिने कार्यतालिकामा उल्लेख छ ।
दोस्रो चरणको उम्मेदवारी तथा अन्य निर्वाचन कार्यक्रम भने पहिलो चरणको परिणामपछि मात्र सार्वजनिक गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचनका सम्पूर्ण प्रक्रियाहरू चितवनको औद्योगिक प्रदर्शनी केन्द्रमा रहेको सम्पर्क सचिवालयमार्फत सञ्चालन हुने केसीले जानकारी दिए