०७ असार २०८३, आइतबार
लुम्बिनीका अर्थशास्त्री

स्थानीय अर्थतन्त्रको आधार बुझेका डा. सुदन

फागुन २४, २०८१
बुटवल
स्थानीय अर्थतन्त्रको आधार बुझेका डा. सुदन

स्थानीय अर्थतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय पुँजी निर्माण गर्नुपर्छ भन्ने मान्यता राख्छन्, अर्थशास्त्री डा. सुदनकुमार वली । आन्तरिक पुँजी जुटाउँदै सामाजिक सुरक्षासहित स्थानीय अर्थतन्त्रको उत्थान गर्न डा. वली लुम्बिनी प्रदेशभित्रका सम्भावनाको खोजीमा केन्द्रित छन् । प्रदेशको ‘लोकल इकोनोमी’ उकास्दै राष्ट्रिय अर्थतन्त्रसँग मानवीय पुँजीलाई जोडनुपर्ने प्रस्ट मान्यता राख्ने डा. वली प्रदेशका योजना निर्माणमा मिहीन ढंगले विश्लेषण गर्ने क्षमता राख्छन् । 

‘जतिसक्दो लोकल इकोनोमीलाई डेभलप गर्नुपर्छ,’ डा. वली भन्छन्, ‘हाम्रोजस्तो सानो अर्थव्यवस्था भएको कन्ट्रीमा विकासका लागि अबको एजेन्डा भनेको आर्थिक गतिविधिलाई पुनरुत्थान गरेर ‘नेसनल इकोनोमी’सँग जोड्ने हुनुपर्छ । सोहीअनुसार हाम्रा नीति, योजना र उपलब्ध स्रोतसाधनलाई वितरण गर्न आवश्यक छ ।’ संविधानले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवादउन्मुख एवं समृद्ध अर्थतन्त्र विकास गर्ने उद्देश्यअनुसार उनले यो विषयमा छलफल, बहस र कलम चलाउँदै आएका छन् । 

राष्ट्रिय अर्थतन्त्रमा लुम्बिनी प्रदेशको १४.५ प्रतिशत योगदान छ । ८ खर्ब १४ अर्ब रुपैयाँ बराबर लुम्बिनीको अर्थतन्त्रको ‘साइज’ हो । अहिले लुम्बिनी राजस्वको स्रोतको ‘प्रेसर’ मा हुँदा लुम्बिनीको आन्तरिक राजस्व पुग–नपुग १६ प्रतिशत मात्र छ । प्रदेश ८५ प्रतिशत संघको वित्तीय हस्तान्तरणमा आश्रित हुनुपर्ने अवस्था छ । 

‘यो सीमितताको कारणले प्रदेशले सोचेजस्तो काम गर्न सकेका छैनन्,’ उनी भन्छन्, ‘तर, पनि प्रदेशमा धेरै राम्रा काम भएका छन् । जुन कामलाई हामीले नजरअन्दाज गरिरहेका छौं । हामीसँग उपलब्ध निजी स्रोत भनेको २७ अर्ब रूपैयाँको हो । त्यसमा हामीले घाटाको बजेटको अभ्यास गरेका छौं । वित्तीय स्रोतको ‘ग्याप’लाई पूरा गर्ने स्रोत हामीसँग छैन ।’

लुम्बिनीको अर्थतन्त्रलाई बलियो बनाउने आधारहरू सरकारले अघि सारेको छ, जसमा कृषि, पर्यटन र उद्योग प्राथमिकताका क्षेत्रमा छन् । पहिलो कुरा नागरिकलाई खाद्य सुरक्षाको छ । लुम्बिनी प्रदेशमा तराईका ६ जिल्ला छन्, जहाँ उर्वर खेतीयोग्य भूमि छ । त्यहाँ राम्रो उत्पादन हुन्छ । पहाडमा ५ वटा जिल्ला छन्, जसलाई फलफूल, तरकारीदेखि लिएर अर्ग्यानिक भिलेजका रूपमा विकास गर्न सकिन्छ । एउटा हिमाली जिल्लालाई पूरै अर्ग्यानिक जिल्ला बनाउने गरी वि.सं. २०७७ देखि कुनै पनि विषादी बेच्न नपाइने व्यवस्था गरिरराखिएको छ ।  

लुम्बिनीसँग पर्यटन क्षेत्रमा विश्व समुदायमा ख्यातिप्राप्त ‘टुरिस्ट साइड’ छन् । बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनी,  हिन्दू धर्मालाम्बीको स्वर्गद्वारी, सुपादेउराली, भैरवस्थल लगायत थुप्रै स्थान छन् । यही सिलसिलामा कर्णाली प्रदेश र लुम्बिनीले बर्दिया हुँदै कर्णालीसँग पर्यटन जोड्ने गरी साझा प्रतिबद्धता गरेका छन् । गण्डकी प्रदेशसँग पनि सम्झौता भएको छ । प्रदेशबीच सह–अस्तित्व स्वीकार गर्दै साझा मुद्दा उठाएर अध्ययनका आधारमा काम भइरहेका छन् । यी कुराहरूको पृष्ठभूमिमा पनि डा. ओली भेटिन्छन् ।

प्रदेश सरकारले आन्तरिक र बाह्य ऋण लिन पाएको छैन । बाह्य स्रोत ल्याउन नसक्दा संघीय सरकारसँग आश्रित हुनुपरेको छ । प्रदेशको आन्तरिक स्रोतको दायरा पनि कमजोर भएको अवस्था छ । त्यसमा संघबाट पनि वित्तीय समानीकरण  अनुदान कटौती हुन थालेको छ । लुम्बिनीमा समग्रमा सकारात्मक काम हुँदा–हुँदै केही चिजहरू स्रोतको सीमितताले गर्दा प्रदेश ‘प्रेसर’मा छन् । तर, अब भाग्न सक्ने ठाउँ पनि छैन, किनभने प्रदेशले हिजो गरिरहेको अभ्यासलाई सुधार गर्नुपर्छ भनेर अहिले सरकार लागिरहेको छ । त्यसका लागि प्रदेशले दोस्रो आवधिक योजना तयार गरेको छ । 

प्रदेशको आवधिक योजनामा टेकेर नीतिहरू बनेका छन् । आयोजनाहरूको जति बजेट परे पनि कतिपय क्षेत्राधिकार बाहिरका आयोजना भए । कतिपय अहिले प्राथमिकता कम भएका आयोजनामा बजेट ‘एलोकेट’ गरियो । कतिपय चिजहरू संघ, प्रदेश र स्थानीय तहले एउटै काम गर्दा त्यसमा ‘ओभरल्यापिङ’ भयो भन्ने उनको बुझाइ छ ।

‘हामीसँग सीमित स्रोत छ । त्यसलाई व्यवस्थित गरिनुपर्छ । उच्चतम प्रतिफल हुने गरी लगानी गरिनुपर्छ । र, योजना छनोट प्रक्रियामा एकअर्कामा तादम्यता नमिल्ने गरी भएको अभ्यासलाई ‘कन्ट्रोल’ गरिनुपर्छ,’ वली भन्छन् ।

प्रदेशले आयोजना बैंकको पनि काम शुरू गरेको छ । ६० प्रतिशत योजना आयोजना बैंकबाट आउने परिकल्पना छ । त्यो भएपछि प्राथमिकताभित्र रहेका आयोजना बन्छन् । ४० प्रतिशत नयाँ तरिकाले आउनेलाई ठाउँ दिनेगरी योजना अघि बढेको छ । ‘प्रोजेक्ट बैंक’को गाइड लाइन र ‘एनुअल प्लानिङ’ को गाइड लाइनको ‘ड्राफ्ट’ तयार भएको छ । छलफल गरेर टुंग्याउने कोशिशमा प्रदेश सरकार छ । 

देश संघीयतामा गयो । राजनीतिक संघीयता आयो, तर मुलुक वित्तीय र प्रशासनिक संघीयतामा प्रवेश नै नगरेको उनले बताए । 

null

‘राजनीतिक संघीयताका आधारमा अभ्यास गर्‍यौं, तर आर्थिक गतिविधिलाई सोहीअनुसार चलायमान गराउन सकेनौं । मेरो बुझाइ के छ भने ‘डेमोक्रेसी टु डेभलपमेन्ट थेसिस’ छ । डेमोक्रेसीलाई केन्द्रमा राखेर काम गरें । ‘मुभमेन्ट वा आन्दोलन त्यसका लागि थियो । अहिले हामी उहाँहरूले नै गरिदिए हुन्थ्यो भन्ने खोजिरहेका छौं, जुन गलत छ । हामीभन्दा अघिल्लो पुस्ताले गरेको आन्दोलन स्वतन्त्रताका लागि थियो,’ उनले भने ।

बीस वर्षपछि नेपाललाई समृद्ध बनाउने हो भने आज जन्मेको बच्चामा लगानी गर्नुपर्ने उनको बुझाइ छ । आज त्यो बच्चालाई नैतिक, व्यावहारिक शिक्षा दिए मात्र २० वर्षपछि उत्पादनसँग जोडिन्छ । त्यसले दिने ‘आउटपुट’ बल्ल शुरू हुन्छ । संविधानले समाजवादउन्मुख अर्थतन्त्र भनेको छ । सोहीअनुसार राज्यका निर्देशक सिद्धान्तहरू रहेका छन् । 

सक्षम स्मार्ट र सीपयुक्त मानवीय पुँजी भएपछि त्यसले अर्थतन्त्रलाई उठाउँछ । २० वर्षपछिको परिकल्पना गर्ने हो भने आजै लगानी गर्नुपर्ने उनको धारणा छ । 

‘ठूलो र महत्त्वपूर्ण मानवीय पुँजी नै हो । त्यसकारण अहिले प्रदेशको प्रोजेक्टअन्तर्गत लुम्बिनी प्राविधिक विश्वविद्यालय र लुम्बिनी प्रादेशिक अस्पतालले हेस्थ र स्किलको संयोजनबाट मानवीय पुँजी विकास गर्दैछन् । यी कार्यक्रमको तत्काल रिजल्ट नआउन सक्छ । तर, दीर्घकालीन रूपमा यो प्रभाव फरक हुन्छ,’ उनले भने ।

प्रदेशप्रति अहिले उठेका प्रश्नहरूलाई उनी स्वाभाविक देख्छन् ।

‘सतप्रतिशत सही अभ्यास भएका छन् भनेर म पनि भन्दिनँ,’ उनी भन्छन्, ‘त्यसका पछाडि निर्वाचन प्रणाली र राजनीतिक अस्थिरता कारण हो । संघमा केही भइहाले प्रदेशमा पनि त्यसको कम्पन आइहाल्छ । माथि संघमा डिपेन्ड हुनुपर्‍यो । स्थानीय तहमा त्यस्तो हुँदैन । पालिकामा प्रत्यक्ष कार्यकारी हो ।’

समग्रमा हेर्दा दैनिक व्यवहारमा हेर्दा केही नभएजस्तो देखिन्छ । तर, धेरै राम्रा काम भएको उनको तर्क छ । साथै, प्रदेशको अभ्यासलाई सुधार गर्दै जानुपर्ने उनले बताए ।

‘विश्वमा कहीँ पनि नेपालको जस्तो मोडलको संघीयता छैन । नेपालको बिल्कुलै नयाँ अभ्यास हो । समाजवादउन्मुख अर्थतन्त्र भनिए पनि यसको डिरेक्सन नै पत्ता लागेको छैन । चाइना र अमेरिकाका आ–आफ्नो समाजवादको मोडेल छन् । तर, हाम्रो समाजवादको मोडेल प्रस्ट छैन । अहिलेसम्म नेपालको आर्थिक क्रियाकलापको र अर्थव्यवस्थाको विषयमा कहीँ पनि उठेको पाइँदैन,’ उनले भने ।

अर्थतन्त्रको विषयमा कुरा गर्दा हाम्रो डिरेक्सन कता जाने हो, त्यसमा प्रस्ट हुनुपर्ने उनको बुझाइ छ । संवैधानिक अर्थव्यवस्थाको विषयमा प्रस्ट नहुने हो भने यो भुमरी देशमा चलिरहने वलीले बताए । 

वली लुम्बिनी प्रदेश योजना आयोगका सदस्य हुन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका वली प्रदेशको आर्थिक नीति, योजना र सोसँग सम्बन्धित कार्यक्रमको अध्ययन तथा अनुसन्धान गरिरहेका अर्थशास्त्री हुन् ।

रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ६ का उनले विद्यालय तहको पढाइ गाउँमै सकेका थिए । वलीले एसएलसी लिवाङबाट गरे । उच्च शिक्षा काठमाडौंबाटै पढेका उनले विद्यावारिधि चीनको बेइजिङबाट पूरा गरेका थिए । 

कमेन्ट गर्नुहोस्