२० असार २०८३, शनिबार
यातायात ऐनको नयाँ मस्यौदा

मोटरसाइकलको पछाडि बस्नेलाई हेल्मेट– यात्रुको सुरक्षाका नाममा व्यापारिक स्वार्थ

फागुन २५, २०८१
काठमाडौं
मोटरसाइकलको पछाडि बस्नेलाई हेल्मेट– यात्रुको सुरक्षाका नाममा व्यापारिक स्वार्थ

मोटरसाइकलको पछाडि बस्ने यात्रुले पनि अनिवार्य रूपमा हेल्मेट लगाउनुपर्ने कानूनी व्यवस्थाबारे पुनः एकपटक चर्चा शुरू भएको छ ।

यातायात व्यवस्था ऐनमा व्यवस्था भएर पनि कार्यान्वयन हुन नसकेको यो प्रावधानबारे विगत १० वर्षमा कम्तीमा आधा दर्जनभन्दा बढीपटक बहस भइसकेको छ ।

कतिपयले यसलाई हेल्मेट व्यवसायीको व्यापारिक स्वार्थका कारण चलखेल भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को मस्यौदामा मोटरसाइकल चालक र पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने उल्लेख छ ।

उक्त मस्यौदा सार्वजनिक भएपछि पुनः यसको चर्चा चुलिएको हो । यसलाई मन्त्रालय र कानून कार्यान्वयन गर्ने निकाय ट्राफिक प्रहरीले स्वागतयोग्य भनेका छन् । हेल्मेटको व्यवसायभन्दा पनि नागरिकको सुरक्षा प्राथमिकतामा राख्नुपर्ने ती निकायहरूको राय छ ।

हेल्मेट व्यवसायीहरू पनि मस्यौदामा भएको उक्त प्रावधानको खुलेर स्वागत गर्छन् । तर, उपभोक्ता संरक्षणकर्मीहरूले यसलाई व्यापारीको स्वार्थअनुकूल ल्याइएको व्यवस्था भन्दै आलोचना गरेका छन् ।

उसो त मोटरसाइकलमा बस्ने दुवैले सुरक्षाका लागि हेल्मेट लगाउनुपर्ने कानून यसअघि नै बनिसकेको थियो । सवारी तथा यातायात व्यवस्था ऐन , २०४९ को दफा १३० मा यसबारे प्रस्ट उल्लेख छ ।

त्यसको उपदफा २ मा भनिएको छ, 'मोटरसाइकल तथा अन्य त्यस्तै दुईपांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनु पर्छ ।'

null

यसबारे पटक-पटक चर्चा चल्ने गरेको भएपनि कार्यान्वयन भने हुन सकेको छैन ।

यात्रुको सुरक्षाका लागि यसलाई महत्त्वपूर्ण मानिए पनि भएकै व्यवस्था कार्यान्वयन नगरेर पुनः अर्को व्यवस्था गर्न खोजिनुले चलखेल भएको हुन सक्ने आशंका गर्ने ठाउँ प्रशस्त छन् ।

सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को मस्यौदाको दफा ४२ उपदफा ३ मा यसको पुनः व्यवस्था गरिएको हो ।

उक्त उपदफामा भनिएको छ, 'मोटरसाइकल तथा अन्य त्यस्तै दुईपांग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने छ ।'

null

पछिल्लो समय दुई पांग्रे सवारीलाई राइड शेयरिङका लागि प्रयोग गर्ने गरिएकाले पनि यात्रुको सुरक्षाका लागि हेल्मेट जरुरी भएको सरोकारवालाहरूको तर्क छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो समय मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेमध्ये ठूलो संख्या पछाडि बस्ने यात्रुहरू रहेको देखिन्छ ।

हेल्मेटले ज्यान जोगाउने भएकाले यो नियम आवश्यक रहेको कार्यालय प्रमुख विनोद घिमिरे बताउँछन् ।

घिमिरेले लोकान्तरसँग भने, 'यात्रुले आफ्नो सुरक्षाका लागि यो व्यवस्था गरिएको हो भनेर बुझ्नुपर्छ । हामीले पहिलादेखि नै यो लागू गर्न प्रयास गरिरहेका थियौं, तर विविध कारणले हुन सकेको थिएन ।'

उनले ट्राफिक प्रहरीले लिने क्लासमा पनि दुवैले हेल्मेट लगाउनुपर्ने विषयमा प्रशिक्षित गर्ने गरिएको बताए ।

'यसलाई कतिपयले व्यापारिक स्वार्थ पनि भन्ने गरेका छन्, तर हाम्रो लागि हाम्रो नागरिकको सुरक्षा मुख्य कुरा हो । जो-जसले यसलाई गलत नियतका साथ परिभाषित गर्छन्, हामीले उनीहरूको सुरक्षालाई पनि ध्यान दिनुपर्छ ।'

के भन्छन् हेल्मेट व्यवसायी ?

नक्साल र माइतीघर दुई ठाउँमा हेल्मेट स्टोर राखेर व्यवसाय गरिरहेका हेल्मेट्स नेपालका सञ्चालक रमण श्रेष्ठले यो प्रावधानले व्यवसाय वृद्धि गर्ने भएपनि सुरक्षा पहिलो प्राथमिकतामा रहनुपर्ने बताएका छन् ।

'विगतमा पटक-पटक यसबारे चर्चा पनि भएको थियो । अहिले राइड शेयरिङको चलन बढिरहेको छ । यात्रुले आफ्नो सुरक्षालाई ध्यान दिने हो भने दुईवटा हेल्मेट हुनु अनिवार्यजस्तै हो । हामीले व्यवसाय बढ्ला भनेर ठूलो अपेक्षा राखेका छैनौं,' श्रेष्ठले लोकान्तरसँग भने ।

यस्तो प्रावधानले केही बढी हेल्मेट बिक्री हुने भएपनि उनले आजकल प्रायः सबै घरमा २/३ वटा हेल्मेट पहिल्यै हुने गरेकाले त्यति ठूलो व्यवसाय नबढ्ने अनुमान गरे ।

उनी विगत ८ वर्षदेखि यो व्यवसाय सञ्चालन गरिरहेका छन् ।

त्यस्तै, भक्तपुरमा राइडर च्वाइस नेपाल नामको हेल्मेट स्टोर चलाउने अर्का व्यवसायी वविन मानन्धरले हेल्मेटको संख्यामा भन्दा  गुणस्तरमा बढी ध्यान दिनु आवश्यक रहेको बताए ।

'बाइक किन्दा शोरुमले नै फ्रीमा हेल्मेट उपलब्ध गराउँछ, त्यो गुणस्तरयुक्त हुँदैन । अधिकांशले त्यही हेल्मेटले काम चलाइरहेका छन् । त्यस्ता हेल्मेट जति लगाए पनि यात्रु सुरक्षित हुँदैन, मुख्य कुरा उपभोक्ताले सरकारले तय गरेको मापदण्डका आधारमा गुणस्तरीय हेल्मेट लगाउनुपर्छ,' मानन्धरले भने ।

उनले यस्तो कानूनी प्रावधानले आफ्नो व्यवसाय केही बढ्ने भएपनि गुणस्तरलाई लिएर यसबारे चर्चा नहुनु ठीक नभएको बताए ।

स्पीड लिमिट भएको सडकमा अनावश्यक !

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले कुनै अध्ययन नै नगरी यसको मस्यौदा ल्याइएकाले यो व्यापारिक स्वार्थअनुसारको चलखेल भएको बताएका छन् ।

उनले लोकान्तरसँग भने, 'नीति निर्माण तहमा हेल्मेट कम्पनीहरूको ठूलो प्रभाव छ । यसबारे कुनै अध्ययन नै नगरी, कसैको प्रभावका आधारमा कानून बनाउनु गलत हो ।'

उनले यसका लागि मोटरसाइकलको इञ्जिन क्षमता, सडकको स्पीड लिमिटजस्ता विषयहरूलाई पनि हेरेर कानून निर्माण गर्नुपर्ने बताए ।

'असनमा चलेको मोटरसाइकलमा पछाडि बस्नेले हेल्मेट लगाउनु पर्ला त ? चक्रपथमै जम्मा ५० किलोमिटर प्रतिघण्टा स्पीड लिमिट छ । सुरक्षाका लागि भन्दै स्पीड लिमिट तोकेको होइन र ? फेरि हेल्मेट किन चाहियो ? बरू तीव्र गतीमा सवारी कुदने हाइवेमा यस्तो प्रावधान ल्याए हुन्न ?,' उनको प्रश्न छ ।

उनले यस्तो प्रावधान ल्याएर व्यापारी पोस्ने अनि चोरी बढ्यो, क्राइम बढ्यो, पछाडि बस्नेले कसैको सिक्री चोर्‍यो, पहिचान गर्न सकिएन भनेर पुनः उल्ट्याउने चलखेल रहेको बताए ।

यसबारे हामीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यातायात व्यवस्था शाखा प्रमुख शंकरसिंह धामीलाई पनि सोधेका थियौं । उनले नयाँ ऐनको मस्यौदामा यसबारेको प्रावधान थप प्रस्टताका साथ राखिएको बताए । 'यातायात व्यवस्था ऐनमा त यो प्रावधान पहिल्यैदेखि थियो, नयाँ ऐनको मस्यौदामा पनि राखिएको छ । यो नागरिकको सुरक्षाका लागि राखिएको हो,' उनले भने ।

ऐनमा व्यवस्था भएपनि यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

'हामीले उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राखेर यस्तो व्यवस्था गरेका हौँ,' धामीले भने, 'यसबारे धेरैपटक सकारात्मक र नकारात्मक चर्चा चल्यो । पटक-पटक कार्यान्वयनको प्रयास गरिए पनि हुन सकेन । अब यो कार्यान्वयनमा आउँछ ।'

विश्व स्वास्थ्य संगठनको पनि चासो

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि यसबारे पटक–पटक चासो व्यक्त गर्दै आएको छ । डब्ल्यूएचओले २ वर्ष अगाडि एक दस्तावेज प्रकाशित गर्दै मोटरसाइकल दुर्घटनामा गम्भीर चोटपटक तथा मृत्युदर घटाउन गुणस्तरीय हेल्मेटको प्रयोग एक प्रभावकारी उपाय रहेको बताएको थियो ।

त्यसयता पनि पटक-पटक चासो व्यक्त गर्दै आइरहेको छ । मोटरसाइकल दुर्घटनाबाट हुने मृत्युदर कम गर्न, संयुक्त राष्ट्रसंघको 'सडक सुरक्षा कार्यान्वयनको दशक २०२१-२०३०'अन्तर्गत चालक र यात्रु दुवै जनालाई हेल्मेट अनिवार्य गराउने लक्ष्य राखेको छ । नेपालले पनि त्यसको अनुमोदन गरिसकेको छ ।

डब्ल्यूएचओले हेल्मेटको गुणस्तरलाई पनि कडाइका साथ नियमन गर्नुपर्ने बताएको छ । गुणस्तरीय हेल्मेट उपलब्धताको सुनिश्चितता सरकारले गर्नुपर्ने उक्त दस्तावेजमा उल्लेख गरिएको छ ।

भिडियो :

salt training

कमेन्ट गर्नुहोस्