२९ जेठ २०८३, शुक्रबार

नबिल एसएसई फेलोसिपको आवेदन खुला, चैत २५ गतेसम्म आवेदन दिन सकिने

फागुन २६, २०८१
काठमाडौं
नबिल एसएसई फेलोसिपको आवेदन खुला, चैत २५ गतेसम्म आवेदन दिन सकिने

नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ ।

सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्यका साथ शुरू गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत् समाजमा सकारात्मक योगदान पुर्‍याउने सोच भएका व्यक्ति सहभागी हुन सक्नेछन् । इच्छुक व्यक्तिले आगामी चैत २५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गतको स्कूल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन भइरहेको नबिल एसएसई फेलोसिप कार्यक्रम ६ महिनासम्म सञ्चालन हुन्छ । जसमा १८ दिनको निःशुल्क आवासीय तालिम र एक वर्षको परामर्श कार्यक्रम समावेश छ । 

यसमार्फत् हालसम्म तीन वटा समूहका ५६ उद्यमीले तालिम लिइसकेका छन् भने ४५ सामाजिक उद्यममार्फत् १ हजार १८४ जनालाई रोजगारी दिइसकेको छ । कार्यक्रम अन्तर्गत हाल चौथो समूहका २० उद्यमीले प्रशिक्षण लिइरहेका छन्  भने पाँचौं समूहमा पनि देशभरिबाट आएका आवेदनबाट २० जना छनोट हुने नबिल बैंकले जनाएको छ ।

कार्यक्रममा सहभागिताका लागि केवल १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ । व्यवसाय शुरू गरिसकेका तथा नवीन उद्यमशीलता सोच भएका व्यक्तिले यस कार्यक्रममा आवेदन भर्न सकिनेछ । 

कार्यक्रममा सहभागिताका लागि नबिल स्कूल अफ सोसल इन्टप्रेनरसिपको फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सकिने बैंकले जनाएको छ । साथै, नबिल बैंकको वेबसाइटबाट फारम डाउनलोड गरी इमेलमार्फत् पठाउन पनि सकिन्छ ।
 
यस कार्यक्रममा जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, कला, सामुदायिक विकास, कृषि, ऊर्जाका साथै दिगो विकासका लक्ष्यसँग मेल खाने क्षेत्रमा काम गरिरहेका उद्यमी कार्यक्रममा सहभागी हुन सक्नेछन् । 

कार्यक्रमले विभिन्न क्षेत्रका उद्यमीलाई एकै ठाउँ ल्याइ अनुभवी मार्गदर्शक र उद्योग विशेषज्ञहरूबाट प्रशिक्षण दिने बैंकले जनाएको छ । नबिल एसएसईले सहभागीलाई उनीहरूको व्यवसाय विकास गर्न आवश्यक स्रोतहरू उपलब्ध गराउनुका साथै सम्बन्धित प्लेटफर्म र सञ्जालमा पहुँच स्थापित गर्न र वित्तीय पहुँचका लागि अवसर खोज्न सहयोग गर्दै आएको छ ।

नबिल एसएसई सामाजिक परिवर्तनको संवाहकका रूपमा स्थापित भइसकेको छ । नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल एसएसई कार्यक्रम तीन वर्षदेखि सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन् । 

नबिल एसएसई अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्समार्फत् हालसम्म एक सय १७ उद्यम स्थापना भई एक हजार दुई सयभन्दा बढी रोजगारी सृजना भइसकेको बैंकले जनाएको छ । 

फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातै वटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरसिप स्थापना भई सञ्चालन भइरहेको छ ।

नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । बैंकले विशेष गरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ । 

बैंकको उक्त प्रयासबाट विभिन्न समुदायका हजारौं मानिसहरूको जीवनमा सकारात्मक सुधार हुनुका साथै वातावरण संरक्षणतर्फ ठोस कदम अगाडि बढाउन सहयोग पुगेको बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्