२८ जेठ २०८३, बिहीबार

मौलिक फागु संरक्षणमा जुट्दै तानसेनवासी

फागुन २९, २०८१
पाल्पा
मौलिक फागु संरक्षणमा जुट्दै तानसेनवासी

 मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती हो ।     
औँला काटी कलम बनावे रगतकी मसिया बनायी, यै हो ।     
हाय हाय रगत के मसिया बनावे सखियाँ ।     
धड्कन लाग्यो छाती हो ।     
फागु खेलन हो...हुरी खेलन..राजाको आँगनमा हुरी खेलन.....  
  
     
लोप हुन लागेका यी र यस्तै फागु गीत गाएर यहाँको तानसेन नगरपालिका–१३ छेर्लुङ्गका टोल–टोलमा तीन दिनदेखि सर्वसाधारण फागु खेलिरहेका छन् । 

पहाडी भेगका अधिकांश गाउँमा फागु पूर्णिमाको चार/पाँच दिन अघिदेखि यी गीत गाउने परम्परालाई यहाँका युवा र पाका पुस्ता मिलेर ब्युँताइरहेका छन् । उनीहरू यस्ता गीत गाउँदै टोलवस्तीमा पुगिरहेका छन् ।     
     
छेर्लुङ्गमा बिहीबार बिहानैदेखि युवा र पाका पुस्ता फागु गीत गाउँदै रमाइरहेको दृश्य देखिएको छ । उनीहरू ट्याम्को, ढोलक, मादल र मुजुराको तालसँगै लयबद्ध बनाउँदै, गाउँदै होलीको रङसँग रमाएका छन् ।     
     
आधुनिकता र प्रविधिको विकाससँगै होली खेल्ने प्रचलन बढेपछि मौलिक फागु हराउन लागेका बेला छेर्लुङ्गवासी भने परम्परा सरंक्षणमा जुटेको स्थानीय किशोर भट्टराईले बताए । 

उनले भने, ‘दुई/तीन दिनदेखि यहाँका युवा र पाका स्वतःस्फूर्त रूपमा सबै टोलमा समूह बनाएर उत्साहका साथ फागु सिकाउने, गाउने र नाच्ने गरिरहेका छन् ।’

फागु खेलेर संकलित केही रकम साथीभाइ मिलेर रमाइलो गर्ने र बाँकी रकम सामाजिक कार्यमा खर्च गर्ने गरिने उनले बताए । यहाँ त्रेता युगमा भगवान विष्णुका भक्त प्रह्लादको कथामा आधारित भई फागु गीत गाउने प्रचलन छ ।     
     
फागु गीत भाका र ठाउँ अनुसार फरक–फरक भएपनि टेम्को, ढोलक, डम्फु, मजुरा मादल बजाएर गीत अनुसार नाचिने स्थानीय धनबहादुर भट्टराई बताउँछन् ।

दुई दशक अघिसम्म पाल्पासहित पहाडी जिल्लाका विभिन्न गाउँ र टोलहरूमा यसरी गाइने मौलिक फागु अहिले सीमित समूह र टोलमा मात्रै देख्न पाइन्छ ।     
     
यहाँका चिदीपानी, भैरवस्थान, देउराली, खस्यौली, ख्याहा सोमादीको सर्देवा, बराङदीलगायतका गाउँमा टेम्को, ढोलक, डम्फु, मजुरा बजाएर फागु खेल्ने प्रचलन कायमै छ । यहाँ पाका पुस्ताले युवा पुस्तालाई सिकाउँदै आएका छन् ।     

salt training

कमेन्ट गर्नुहोस्