
औसत नेतृत्वले आफू पटमुर्ख र हास्यास्पद भएको थाहा पाउँदैन र आफ्नै कर्मले मूर्खताको उचाइ निरन्तर थपिरहेको हुन्छ - अज्ञात
उपरोक्त भनाइसँग समकालीन नेपाली समाजका अगुवाहरूको चरित्र हुबहु मेल खान्छ । कुन भूगोल र सामाजिक परिवेश हेरेर यस भनाइ प्रतिपादन भएको हो, थाहा छैन । तथापि यो विचार वा भनाइले हाम्रो समाजको प्रतिनिधित्व गर्छ । नेपाली राजनीतिले मञ्चन गरेको धाराबाहिक एकांकी बुझ्न अब केही पनि बाँकी छैन र उदांगिन पनि रहलपहल छैन ।
आजसम्म सत्तामा पुगेका जुनसुकै वादी हुन्, अपवादबाहेक सबैको पहिचान जगजाहेर नै छ । कोही पनि विशिष्ट र अलग छैन । जनअधिकार, सामाजिक न्याय र आर्थिक समुन्नतिको राजनीतिक बाटो मात्र फरक–फरक हो । बारम्बार सत्तामा पुगेर देखाएको व्यवहार उही हो । हाम्रा शास्त्रहरू भन्छन्, मूर्खताको मलामी जान सकिन्छ, जन्ती जान सकिँदैन ।
यसको मर्म के हो थाहा छैन, तर के भन्न सकिन्छ भने मूर्खतालाई दाहसंस्कार गर्न सकिन्छ, उत्सव मनाउन सकिँदैन ।
यतिबेला स्ववियु निर्वाचनको सन्दर्भ छ । देशव्यापी रूपमा विश्वविद्यालयहरू यसलाई सम्पन्न गराउने धपेडीमा छन् । विद्यार्थी संगठनहरू समेत त्यसैमा केन्द्रित छन् । स्ववियु विनिमयअनुसार हरेक वर्ष हुनुपर्ने निर्वाचन पछिल्लो समयमा हरेक दुई वर्षमा हुने प्रचलन स्थापित भएकोमा त्यसमा पनि विचलन आएको देखिन्छ । जेहोस्, यसपटक यसलाई सम्पन्न गर्ने तदारुकता देखाइएको छ । यसलाई सकारात्मकरूपमा लिनुपर्छ ।
हामीलाई थाहा छ, स्वतन्त्र विद्यार्थी युनियन नेपालको ऐतिहासिक र गौरवपूर्ण विद्यार्थी आन्दोलनको ठूलो उपलब्धि हो । पञ्चायती कालरात्रिको कुनै परवाह नगरिकन विद्यार्थी हकहितका लागि लामो, कठिन तथा निकै जोखिमपूर्ण संघर्षको प्रतिफलस्वरूप यसको स्थापना भएको थियो । त्यस दौरान धेरै विद्यार्थी अग्रजहरूले आफ्नो बहुमूल्य जीवन न्यौछावर गरेका थिए । निजी जीवनलाई अस्तव्यस्त तुल्याएका थिए ।
मूलतः स्ववियुले विद्यार्थीहरूका सामुदायिक हितलाई शैक्षिक प्रशासनसँग मिलेर या आवश्यक पर्दा संघर्षमार्फत अघि बढाउँछ, प्रवर्द्धन गर्छ । कहिलेकाहीँ यो संघर्ष शासन–सत्ताको विरोधतर्फ समेत सोझिन्छ र राजनीतिक आन्दोलनको रूपमा विकसित पनि हुन्छ । नेपालमा पटक–पटक त्यस्तो भएको छ । पञ्चायती व्यवस्था र शाही निरंकुशता ढलेको छ, पराजित भएको छ । तर, दुःखका साथ भन्नुपर्ने हुन्छ, नेपालको राजनीतिक इतिहासले विद्यार्थी आन्दोलनप्रति सदैव कृतघ्नता देखाएको छ ।
राजनीतिक परिवर्तनपश्चात विस्मृतिमा धकेल्न खोजेको छ । सहज राजनीतिक अवस्था आएपछि घनघोर अवमूल्यन गरेको छ । स्वयं विद्यार्थी आन्दोलनका अगुवाहरू सत्तामा पुग्दा समेत निकै तिरस्कृत र उपेक्षित भएका छन् । हामीले बुझ्नुपर्छ, आन्दोलनका अगुवाहरू सत्तामा पुग्नुले मात्र विद्यार्थी आन्दोलनलाई प्रतिष्ठित गर्दैन र सत्ता फेर्नु मात्र आन्दोलनको उद्देश्य होइन । हामीले एकपटक यसको उत्खनन, चर्चा र प्राण प्रतिष्ठा गर्नुपर्ने देखिन्छ । त्यसका लागि पनि स्ववियु निर्वाचन एउटा सशक्त माध्यम हो ।
परम्परा खण्डित
अहिले देशैभरी स्ववियु निर्वाचनको सिलसिला जारी छ । यसलाई मिनी 'जनमत संग्रह' मानिन्छ । राजनीतिक दलहरूले यस निर्वाचनमा भ्रातृ संगठनमार्फत आफ्नो शक्ति परीक्षण गर्दछन् । निर्वाचनमा प्राप्त परिणामको आधारमा दलहरूको शक्ति मापन हुन्छ र यसले भविष्यको राजनीतिलाई दिशा निर्देश गर्दछ । स्ववियुको स्थापना भएपछि आजपर्यन्त यही क्रम/उपक्रम चलिरहेको छ । यस्तै, स्ववियु निर्वाचनका सन्दर्भमा दलहरूका आ–आफ्ना आन्तरिक आयामहरू छन् । चुनाव घोषणा भएपछि दलको प्रमुख नेताले सरोकारवालामध्येका चुनिएका केही संस्थागत व्यक्तिहरूसँग गम्भीर अन्तरक्रिया गर्ने परिपाटी नै छ । यो परिपाटी कांग्रेस सभापति सुशील कोइरालाको निधनपश्चात खण्डित भएको छ । यत्रो वृहत् निर्वाचनमा वर्तमान नेतृत्वले कसैलाई पनि सामान्य राय परामर्शका लागि योग्य ठानेन ।
निर्वाचन घोषणापछि न पार्टी नेतृत्व, न त संगठनको नेतृत्वले जिम्मेवार र सरोकार राख्ने व्यक्तिहरूसँग रायपरामर्श गर्यो । न संगठनको आन्तरिक आयामलाई दृष्टिगत गरी आवश्यक संयन्त्र खडा गरी सरोकारवालालाई परिचालन गरियो । यस्तो विडम्बना आजसम्म देख्नु र भोग्नुपरेको थिएन । यसबाट संगठनमा महत्त्वपूर्ण र लामो समय काम गरेको अनुभवी एवं योग्य जमात थप योगदान गर्नबाट वञ्चित भयो । यसले निर्वाचनमा उपयोग गर्न सकिने पूर्ण सांगठनिक सामर्थ्यलाई क्षय गरेको छ । जसले देशभरका क्याम्पसहरूमा भद्रगोल सिर्जना भएको छ । पार्टी र संगठनभित्रको स्वेच्छाचारिताले सीमा नाघेको छ । अब यसलाई रोक्ने र संगठनलाई सही बाटो हिँडाउने कुनै सम्भावना तत्काल देखिँदैन । पार्टीका सीमित नेताले यत्रो ठूलो चुनावलाई समेत निजी उद्यम ठानेका छन् । अहिले पनि पार्टीका जिम्मेवार नेताको प्राथमिकता अर्कै छ ।
देशको राजनीतिमा नै संकट आउन सक्ने गम्भीर स्थितिमा पनि दलभित्रका सदस्यहरूमाथिको चरम विभेद र दुर्व्यवहार जारी छ । यो एकप्रकारले आत्मघाति र मूर्खतापूर्ण कार्य हो । अज्ञातले भनेजस्तो मूर्खताको कीर्तिमानी उचाइ निरन्तर छ । अरू दलको आन्तरिक आयाम फरक होला, तर नेपाली कांग्रेसले आन्दोलन र निर्वाचनमा दलको आन्तरिक व्यवस्थापनमा देखाउने कुशलता र कायम गर्ने एकता प्रदर्शन गर्न नसक्नुले यसको स्थापित परम्परा र सहअस्तित्वको मान्यतालाई नराम्ररी भत्काएको छ । अरु दल वा संगठनले जेसुकै गरुन्, कांग्रेस र यसको भ्रातृसंगठनले देखाएको व्यवहार संस्थागत मान्यता र परम्पराको प्रतिकूल छ ।
संस्थागत दादागिरी
प्रतिपक्षीहरूसँग मुकाबिला गर्नुपर्ने घडीमा संस्था स्वयंले आफ्ना सदस्यमाथि दादागिरी देखाउँदैन । तर, दुःखका साथ भन्नुपर्छ, यसपटक संस्था स्वयं दादागिरीमा उत्रेको छ र यस प्रवृत्तिलाई नेतृत्वको संरक्षण प्राप्त छ । यसले विद्यार्थी आन्दोलनलाई कहाँ पुर्याउँछ? हामीले जीवनसँग साटेर स्थापना गरेको लोकतान्त्रिक शासन प्रणालीको अस्तित्व के हुन्छ? के राजनीतिक वा सामुदायिक संस्थाहरू व्यक्ति विशेषका प्रभाव क्षेत्र हुन्? त्यहाँ अन्य सदस्यको उपस्थिति र भूमिका वर्जित हो? आज गम्भीर प्रश्न उठेको छ ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनले पुनःस्थापना गरेको बहुदलीय प्रजातन्त्र वृहत् जनभावनाको उद्वेलन र व्यापक जनसमर्थनको प्रतीक एवं अन्ततः परिणाम थियो । त्यसलाई लरतरो परिवर्तन मान्ने भूल कदापि गर्नुहुँदैन । त्यसको जग २००७ सालको जनक्रान्ति नै थियो । संसारमा दिग्विजय प्राप्त गरेको प्रजातान्त्रिक प्रणालीप्रति आस्था र विश्वास भएका नेपाली र अन्तर्राष्ट्रिय जगतको शुभेच्छा समेतको योगदानको नतिजा स्वरूप नेपालमा पुनः जनअधिकारको स्थापना भएको थियो । यो निरपेक्ष वा निशर्त भने थिएन । यसको अन्तर्यमा ठूलो जनअपेक्षा लुकेको थियो । र, अब भने जनताका दिन फर्के भन्ने भरोसा थियो । किनभने राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त त्यागी नेताहरू जनताको अगाडि उभिएका थिए । तिनै नेताहरूको अनुहार हेरेर जनताले आफ्नो भविष्यको रूपरेखा कोरेका थिए ।
एकप्रकारले सबै नेपालीको घर आँगनमा आशाको ज्योति जगमगाएको थियो । तीनदशकभन्दा लामो समयदेखि प्रजातन्त्रको किरण नदेखेको नेपाली जनताले एकैपटक जनअधिकार, स्वतन्त्रता र सुनौलो भविष्यको झलझलाकार उज्यालो देखेका थिए । पछौटे देशका गरीब जनता सामान्यतया निर्दोष हुन्छन् । उनीहरूले समाजका अगुवाहरूका कुरा सहजै पत्याउँछन्, शंका गर्दैनन् । आवश्यक परेको समयमा हरेकपटक र एकप्रकारले जीवनभर नै सहयोग गर्छन्, जीवन सुध्रिने अपेक्षा र आफ्ना सन्ततिले सुख पाउलान् कि भन्ने आशमा । किनभने मूलतः आन्दोलनकारी जनताले आफ्नो सर्वस्व न्यौछावर गरेका हुन्छन् । बदलामा समाजको उन्नति र आफ्ना सन्ततिको सुखद् भविष्य चाहेका हुन्छन् ।
यसैगरी, दलका सदस्यहरूले संस्था र देश सञ्चालनमा साझेदारी खोजेका हुन्छन् । २०४६ सालपश्चात् र अझ २०६३ पछि त नेपाली समाजमा राणा र पञ्चको जस्तै अस्वाभाविक दादागिरी बढ्न थाल्यो र राजनीतिमा प्रमुख दलका खास व्यक्तिहरू हावी भए । जसको सहउत्पादनको रूपमा अनेकन विकृतिहरू पैदा भए । दलका नेताहरूले विधि विधानभन्दा आफ्नो निजी स्वार्थलाई उच्च प्राथमिकता दिए । जसको सास्ती अहिले नेपाली जनताको थाप्लोमा बज्रिएको छ ।
हाम्रो भुक्तमान
जतिसुकै चित्त नबुझे पनि हाम्रो पुर्पुरोमा उही भुक्तमान लिपिबद्ध रहेछ, शायद । शास्त्रीय दृष्टिबाट हेर्ने हो भने पूर्वजन्ममा धेरै गतिलो वा पुण्य कर्म गरिएनछ भनेर बुझ्नुपर्ने हुन्छ । राजनीतिक परिवर्तनमा अजंगको भारी बोकेर स्थापित गराइएको शासन प्रणालीमा देखा परेका अनेकन विकृतिको भारी पनि बोक्नुपर्ने कस्तो विडम्बना हो? नेतृत्वको कार्यशैली र व्यवहार पटक्कै चित्त नबुझ्दा पनि त्यसैको श्रीपेच लगाएर हिँड्नुपर्ने कस्तो प्रारब्ध हो? यस्तो भुक्तमान दुनियाँका कुनै नागरिक वा दलका सदस्यले झेल्नुपर्दैन, शायद । तर हामी नेपालीहरू यही दुष्चक्रमा छौं । नजाने, कहिलेसम्म यस्तो भुक्तमान झेल्नुपर्ने हो थाहा छैन । तथापि, हामीसँग धेरैथरि विकल्प वा सुविधा छैनन् । स्ववियु निर्वाचन हाम्रो अगाडि छ । धेरै समूह र संगठन निर्वाचनको मैदानमा छन् ।
प्रजातन्त्र हाम्रो जीवनपद्धति हो । यसको विकल्प सुदृढ र समृद्ध प्रजातन्त्र वा लोकतन्त्र मात्र हो । त्यसैले हामीले यतिबेला प्रजातान्त्रिक मूल्य मान्यताको जगेर्ना गर्नुको विकल्प छैन । निर्वाचनमार्फत शक्ति आर्जन गरेर निरंकुशता वा तानाशाहीको प्रवर्द्धन गर्ने समूहहरू हाम्रा लागि किमार्थ पनि स्वीकार्य हुँदैनन् । नेपालको प्रजातान्त्रिक नेतृत्वले जतिसुकै मूर्खता देखाए पनि हाम्रो पुस्तासँग त्यो सुविधा छैन । हामीले देश, समाज, संस्कृति र पहिचान समेत जोगाउनुछ र नेपालको प्रजातान्त्रिक भविष्यलाई संरक्षण पनि गर्नु छ । तसर्थ, जसले जे बिगारे पनि थोरै भएपनि प्रजातन्त्रको प्राणलाई जोगाएर नेपालको राजनीतिक भविष्यलाई सुरक्षित गर्न निर्वाचनलाई निर्वाधरूपमा सम्पन्न गराउनुको विकल्प छैन । इतिहासले हामीबाट अपेक्षा गरेको भूमिका यही नै हो । त्यसैले हामी सबैले आ–आफ्नो ठाउँमा रहेर प्रजातान्त्रिक विचारलाई प्रवर्द्धन गरौं र निर्वाचनमा सकारात्मक भूमिका खेलौं ।
अन्त्यमा, अहिले होली पर्व चलिरहेको छ। शरद ऋतुको समापन र वसन्त ऋतुको शुभारम्भको प्रतीक स्वरूप विश्वभर मनाइने प्रेम,उल्लास र रंगहरूको पर्व होली अर्थात्, फागु पूर्णिमाको धेरै–धेरै शुभकामना !!